
पूर्वदेखि पश्चिमसम्म लमतन्न परेका हिमश्रृङ्खलाहरू, तरेली परेका हरिया पहाड, पखेराहरू र तिनीहरूलाई फनक्क घुमेर बगेका कञ्चन नदिहरू ! तराईका समथर फाँटहरूलाई एकैपटक एउटै फ्रेममा राखेर तस्बिर खिचाउन मन छ भने पश्चिम नेपालको ऐतिहासिक ठाँउ तानसेन (पाल्पा) पुग्नु भए हुन्छ । नेपाल सांस्कृतिक र प्राकृतिक सम्पदामा त धनी छँदै छ, भौगोलिक र भौगर्भीक रूपमा पनि उत्तिकै विविधतापूर्ण छ । दक्षिणबाट उत्तरतिर केही घन्टाको यात्रा गर्नु भयो भने मात्र पनि तराईको हफ्हप्ती गर्मीबाट चिसो हिमालको सिरेटोमा पुग्न सकिन्छ । हरेक आधा घण्टाको यात्रामा फरक हावापानी, भूगोल, फरक माटो र चट्टानलाई स्पर्श गर्न सकिन्छ ।
उचाई बढ्दै गएसँगै मनमा अनेक जिज्ञासा र कौतुहलता पनि बढ्दै जानेछ । जस्तो कि किन नेपालको उत्तरमा यति धेरै गगनचुम्बी हिमालहरू छन् ?, किन पहाडका डाँडाकाँडाहरू एकै किसिमका छैनन् ? किन यहीँ संसारको गहिरो कालीगण्डकी खोँच छ ?, किन अग्ला पहाडभित्र फराकिला उपत्यकाहरू छन् ? किन नदीका छेउछाउमा विशाल फाँटहरू छन् ? चुरेभावर क्षेत्र यति संवेदनशील किन छ ? तराईका फाँटहरू कहिलेदेखि यति उर्बर छन् ?, आदि इत्यादि ।
प्रश्न सुन्दा ‘कस्तो बच्चाको जस्तो कुरो गरेकाे’ भन्ने लाग्नसक्छ तर जिज्ञासा र प्रश्नहरू सुरूमा बच्चाजस्तै हुन्छन् । निर्दोष । तर त्यसको उत्तर खोज्ने हो भने यसले संसारमा नँया आयम ल्याइदिन सक्छ । नवीन चमत्कार गरिदिन सक्छ । हो, यस्तै बालसुलभ प्रश्नहरूको जवाफ खोज्ने क्रममा एक १० वर्षे बालिकाले आफ्नो हजुरबा-आमासँग काठमाडौँदेखि मुक्तिनाथसम्म गरेको रोमाचक यात्राको कथा हो प्राध्यापक डाक्टर तारानिधि भट्टराईद्वारा लिखित बालकथा, “पृथ्वी माताका कथाहरू (STORIES ABOUT MOTHER EARTH)” ।
पूर्वी नेपालको भोजपुर जिल्लामा जन्मिनु भएका डा. भट्टराईले आधारभूत तहको शिक्षा भोजपुरबाटै लिनुभयो । घरबाट विद्यालय जादाँ-आउँदा आफ्नो आँखैअगाडि देखिने कुभ्भकर्ण हिमश्रृङ्खलाहरू, तिनलाई छपक्क छोप्न आइपुग्ने सेता बादलका पर्दाहरू, साँघुरा बाटामा भेटिने रङबिरङ्गका चट्टानहरू देख्दा सधैँ उहाँको मनमा कौतुहल भइरह्यो । त्यसछि उहाँको परिवार झापा झरेपछि भने त्यहाँको दृश्यले उहाँलाई थप आश्चर्यकचित बनायो । त्यहाँ न ती विशाल हिमश्रृङ्खला थिए न धुप्पी र सल्लाका पहाडहरू नै । थिए त केवल फराकिला फाँट, समथर भू-भाग । त्यसबेला उहाँको मन-मस्तिष्कमा पृथ्वी कसरी बन्यो ? हिमाल कसरी बने ? पहाड र तराई किन छ ? भन्ने जस्ता अनगिन्ती प्रश्नहरू थिए । जिज्ञासाहरू थिए । तर त्यसको जवाफ दिन सक्ने मान्छे कोही थिएन ।
उच्चशिक्षाको क्रममा उहाँ विश्वका विभिन्न मुलुका उत्कृष्ट विश्वविद्यालयमा पढ्नुभयो । भूगर्भ शास्त्रमा विद्यावारिधि गर्नुभयो । र करिब तीन दशक त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउनुभयो । यसै सिलसिलामा उहाँले नेपालका अधिकांश भूभाग आफ्नो पाइतालाले नाप्नुभयो । नेपालको भौगोलिक र भौगर्भिक इतिहासका अनेक रहस्यहरू खोतल्नुभयो । भूगर्भका विद्यार्थीहरूलाई कक्षा कोठामा मात्र होइन फिल्डमै रात-दिन बसेर पढाउनुभयो, सिकाउनुभयो । सर्वसाधरण जनतालाई बुझाउनुभयो । तर अनवरत रूपमा भू-विज्ञानमा यति धेरै काम गर्दा पनि उहाँको मन सन्तुष्ट भने हुने सकेन । उहाँले आफूले जानेको ज्ञान, सिकेको सिप युवापुस्तालाई त धित मर्नेगरी सिकाउनु भयो तर स्कुले उमेरका साना बालबालिकाहरूलाई भने यो कुरा कसरी सिकाउने भन्ने कुराले उहाँलाई सधैँ सताइरह्यो । किनकि, आजभन्दा ५०/५५ वर्ष पहिले उहाँको दिमागमा यो भूगोलको बारेमा, माता पृथ्वीको बारेमा जे जति प्रश्नहरू अनुत्तरित थिए, ती प्रश्नहरू आज पनि अनुत्तरित नै छन्, कम्तिमा ती साना बालबालिकाका लागि । त्यसैले, उनीहरूले सहज तरिकाले बुझून् र आफ्ना साथीभाइहरूलाई पनि बुझाउन सकून् भन्ने हेतुले आफ्नो ढल्कँदो उमेरको प्रवाह नगरी केही औपचारिक, केही अनौपचारिक सिकाइको भरमा विज्ञानमा आधारित बालसाहित्य लेख्न कम्मर कँस्नुभयो । फलस्वरूप यो पुस्तकको जन्म भयो । उहाँले यस बाल साहित्यलाई नेपालमा त्रिभुवन विश्वविद्यालयमा भूगर्भ शास्त्रको स्थापना गर्ने स्वर्गीय प्रध्यापक डा. माधवप्रसाद शर्मालाई समर्पित गर्नुभएको छ।
“पृथ्वी माताका कथाहरू (STORIES ABOUT MOTHER EARTH)” को सबभन्दा सबल पक्ष भनेको नै विज्ञानका जटिल तथा क्लिष्ट शब्दहरूलाई ज्यादै सरल र मधुर तरिकाले लेखिनु हो । एक १० वर्षे बालिका ‘साकुर’ जसको आमा नेपाली र बाबु जापनिज हुनुहुन्छ । उनी आफ्नो नेपाल बसाइको क्रममा हजुरबा-आमासँग चितवनको सौराह घुम्न निस्किन्छिन् । देवघाटको सङ्गममा स्नान गर्ने क्रममा उनले कालीगण्डकी नदीको बगरमा केही गोलाकार आकर्षक ढुङ्गाहरू भेट्छिन् जसमा साना चम्किला गुलाबी रङका पथ्थरहरू टाँसिएका हुन्छन् ।
उनलाई ती गुलाबी रङका पथ्थरहरू यति आकर्षक र रहस्यमय लाग्छ कि उनी त्यसको पहाड खोज्ने अठोटमा पुग्छिन् । हजुरबा-आमालाई पनि नातिनिसँगको यो पहिलो भेट केही यादगार होस् भन्ने चाहनुहुन्छ र नातिनी साकुराको रोमाञ्चक खोज यात्रामा सहयात्री बन्न पुग्नुहुन्छ । कालीगण्डकी नदीलाई पछ्याउँदै जाँदा उनीहरू रिडी पुग्छन् र त्यहाँ झन् अर्को आश्चर्यको ढुङ्गा भेट्छिन् । जुन चिल्लो, गोलाकार र कालो हुन्छ । अनि रहस्यको कुरा, त्यसभित्र अलौकिक कलाकृति कुँदिएको हुन्छ ।
साकुरालाई यस कुराले झन् सोच्न बाध्य बनाउँछ । त्यस कालो रहस्यमयी ढुङ्गाको पहाड खोज्ने कालीगण्डकीको तीरैतीर जोमसोम मुक्तिनाथसम्म पुग्छन् । यात्राको क्रममा विभिन्न बाधाव्यवधानहरू आइपर्छन् तर त्यसबाट हार नमानी साकुरा र उनको हजुरबा-आमा आफ्नो लक्ष्यसम्म पुग्नुहुन्छ । त्यो गुलाबी पहाड र कालो रहस्यमयी ढुङ्गा (सालीग्राम) को पहाडसम्म पुग्छन् ।
कथा यत्तिमै सीमित भने हुँदैन । साकुरालाई ती गुलाबी ढुङ्गाहरू कसरी बने ? कालीगण्डकीको तीरमा सालीग्राम किन पाइयो ? अन्त किन पाइँदैन ? भन्ने जस्ता प्रश्नले लखेटिरहन्छ । त्यसपछि उनी जापान फर्किन्छिन् र १५ वर्षपछि पुनः कालिगण्डकीको यात्रामा निस्किन्छिन् । तर योपालि प्रश्नवाचक आँखाहरू बोकेर होइन, त्यसको जवाफहरू बोकेरमात्र फर्किन्छिन् ।
उनी एक कुशल भूगर्भशास्त्री बनेकी हुन्छिन जसलाई पृथ्वीको उत्पत्तिदेखि लिएर हाम्रो हिमालहरू कसरी बने ? खोला कसरी बने ? खोँच र उपत्यका कसरी बने ? जस्ता सवालहरूको वैज्ञानिक जवाफ दिनसक्ने बनेकी हुन्छिन् । उनमा यो विज्ञता आउनुमा १५ वर्ष पहिले हजुरबा-आमासँग गरेको त्यही कालीगण्डकी मुक्तिनाथको यात्रा नै हो । यी प्रश्नहरूको सरल जबाफ तथा साकुराको रोमान्चक यात्रा बुझ्नका लागि पनि जिज्ञासु बालबालिकाले पढ्नै पर्ने पुस्तक बनेको छ यो ।
यस कथाका केही सबल पक्षहरूमा, यसले १०-१५ वर्षका बालबालिकाहरूले बुझ्ने गरी भूगर्भका जटिल प्रश्नहरूको सरल जबाफ दिनेछ । साथै, यो कथा पढेपछि साना बालबालिकाहरूलाई जिज्ञासु बनाउने, यात्रा गर्न सिकाउने छ । प्रश्न गर्न सक्ने र त्यसको हल खोज्न सक्ने बनाउने छ । मनका उठेका प्रश्न, जिज्ञासाहरूको प्राथमिक स्रोतसम्म पुगेर त्यसको वास्तविक जानकारी हासिल गर्नुपर्छ भनेर प्रेरित पनि गर्छ यस कथाले ।
नेपाल साँस्कृतिक तथा धार्मिक हिसाबमा मात्र हैन, भौगोलिक र भौगर्भिक सम्पदामा पनि उत्तिकै धनी छ । यसको महत्त्व जन-जनमा पुर्याउनु पर्छ भन्ने कुरा यस कथामा उजागर गरिएको छ । नेपालको रिडी कालीगण्डकी क्षेत्रलाई धार्मिक तथा साहासिक पर्यटनमा मात्र सीमित नराखेर भू-पर्यटन (जियोटुरिजम) को रूपमा पनि विकास गर्न सक्ने कुराको दरिलो प्रमाण छ यसमा । हामीले हाम्रो प्रकृतिक सम्पदा र सम्पत्तिको जगेर्ना गर्नुपर्छ र यसलाई भावीपुस्ताका लागि पनि छोड्नुपर्छ भन्ने कुरा छ यसमा।
किताबमा समावेस भएका चित्रहरू वास्तविक दृश्यसँग हुबहु मिल्ने छन् । त्यसले बालबालिकालाई त्यो ठाँउसम्म जाने इच्छा पैदा गर्छ । यो पुस्तकले बालबालिकहरूमा यात्रा गर्ने बानीको विकास गराउन सक्छ । यसले उनीहरूलाई प्रश्न गर्न सकाउँछ, र त्यो प्रश्नको हल आफैँ खोज्न लगाउँछ ।
थप केही भइदिए जस्तो लागेका कुराहरू – काठमाडौँदेखि मुक्तिनाथसम्म यात्रा गरिरहँदा पाठक आफू कस्तो ठाउँमा पुगेको छु भन्ने थाहा पाउन पुस्तकै बिच वा अन्त्यमा यस कथाको पात्रले यात्रा गरेको ठाउँको एउटा नक्सा भएको भए राम्रो हुने थियो । र, हाल पुस्तक अङग्रेजी भाषामा मात्र उपलब्ध छ, यो पुस्तकलाई नेपाली भाषामा पनि प्रकाशन गर्न पाए अझ धेरै पाठकमाझ पुग्ने थियो र यो पुस्तक लेखिनुको औचित्य अझ धेरै पूरा हुने थियो ।
नेपाली बालसाहित्यमा यस पुस्तकले नयाँ आयाम ल्याउने कुरामा दुई मत छैन । यस पुस्तक पढेपछि बालबालिका सोच्न सक्ने, तार्किक प्रश्न गर्न सक्ने र प्रश्नको सही जवाफ खोज्न सक्ने बने पुस्तक लेखिनुको मर्म पूरा भएको मानिने छ ।
(लेखक त्रिभुवन विश्वविद्यालय, भूगर्भशास्त्र केन्द्रीय विभागमा स्नातकोत्तर पढ्दैछन् ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

