नेपालको पूर्वीद्वार, भारतसँगको एउटा भौगोलिक सीमानाको आधार, हामी मेची नदी तरेर पानीटङ्की पुग्यौँ । पिजुमा सिक्किमसम्मको पूर्जी लिएर सिलिगुडी हुँदै हिमालयका हरिया पर्वत शृङ्खलाहरूका बीचमा रहेको कालोपत्रे नागबेलीहरूमा उफ्रिँदै र हल्लिँदै टिस्टाको तिरैतिर लाग्यौँ । टिस्टालाई देखाउँदै के.पी. सर भन्दै हुनुहुन्थ्यो– “यो टिस्टा नदी र तमोरको शिर एउटै हो, कञ्चनजङ्घा ।”

मैले पिजुको प्वालबाट हेरेँ । त्रिशुली र टिस्टाको पानीको हिँडाइ पनि सायद एउटै रहेछ । डाँडाको काखे बाटो, कहिले तेर्सिन्थ्यो । कहिले ओरालो जस्तो कहिले उक्लिएको जस्तो लाग्ने ।

२०७१ साउन २२ गते रमपो खोला तरेर हामी रमपो बजारस्थित चेकपोष्ट पुग्दा विहानको लगभग ९ः३० बजेको थियो । के.पी. सर सबैका परिचय–पत्र बोकेर चेकपोष्टतिर अघिअघि लाग्नुभयो । हामी पछिपछि लाग्यौँ । चेकपोष्टको प्राङ्गडमा उभिएर बिन्दु सर, “यो कुन पहाड हो ? यसको नाम के हो ? योचाहिँ ?”, भन्दै सोधिखोजी गर्न थाल्नुभयो । रमपोको पूर्वमा पाखिम, पश्चिममा तुरुङ, उत्तरमा टुका जित्लाङ र दक्षिण–पश्चिम अलि पर इन्द्रकिल पहाड, यी पहाडको बसाइ हेर्दा मलाई लाग्यो– “पहाडै पहाडले हातेमालो गरेर हामीलाई अहिले बाँधिरहेका छन् ।”
पूर्व सिक्किम र पश्चिम बङ्गालको सीमानाको रूपमा रमपो रहेछ ।

रमपोबाट अमरजङ्ग हाइड्रोपावर, सिन्ताङ बजार, रानीखोला हुँदै बत्तीस माइलपूर्व–उत्तर हुँदै मल्ली बजार, औषधी कारखानाबाट नौ माइल हुँदै हामी दिनको १२ः३० बजे गान्तोक बजार आइपुग्यौँ । आहा ! नगबेली साँघुरा कुइनेटा बाटाहरूकोे सहर । अनारका गुट्टीजस्तै गान्तोके घरहरू ।

शर्मा होटलमा खाना खाँदै मैले कविता दिदीलाई सम्पर्क गर्न थालेँ । अर्कातिर यात्राभरिको रमाइलो मान्छे नरपति सर पेम्पा लामालाई सम्पर्क गर्दै हुनुहुन्थ्यो । मैले मणिपुरका भवानी अधिकारीलाई पनि सम्पर्क गरेँ । यतिमात्र होइन, सुरेन्द्र लिम्बु, भीम राई ‘परदेशी’, बुद्घि तेम्बे ‘माइला’, हङ्कङमा रहेका भयवादी देश सुब्वा र साब्लाबुङे राजकुमार राईलाई पनि सम्पर्क गरेँ । तर कसैसँग सम्पर्क हुन सकेन ।

हामी नेपाली साहित्य परिषद्बाट फर्किंदा बेलुकाको सात बज्नलागेको थियो । सिमसिम पानी पर्दै थियो । पानीमा रुझ्दै हामी बसेको होटल मङ्गोमा सिक्किम विश्वविद्यालय नेपाली विभागका तत्कालीन विभागिय प्रमुख डा. कविता लामा र उपप्राध्यापक देउकुमार सुब्वा आउनुभयो । यो परिचय विस्तारको अनौपचारिक अवसर पनि थियो । मेरो भने कविता दिदीसँग भयवाद अध्ययन प्रतिष्ठानको कामले गर्दा चार वर्ष अघिदेखि कै चिनारी थियो ।

दीपक सुवेदी

सबै साथीहरूले आ–आफ्ना योजना र उद्देश्य सुनाउनुभयो । समसामयिक साहित्यकाबारे धेरै छलफलहरू भए ।

सिक्किमबाट नेपाली साहित्यलाई उठाइरहेका सानु लामा (कथाकार), रुद्र पौडेल(समालोचक एवं उपन्यासकार), शान्ति क्षेत्री (नारीवादी), सुधायम राई र पुष्पाशर्मा (नारीवादी), चुन्निलाल घिमिरे (रङ्गकर्मी), थिरुप्रसाद नेपाल (हास्यव्यङ्ग्यकार), प्रविण राई ‘जुमेली’ (कवि), ध्रुव लोहागुन (नाटककार), सानुभाइ शर्मा, प्रद्युम्नलाल श्रेष्ठ, राजेन्द्र भण्डारी, पेम्पा लामा आदिका विधागत योगदानका बारे कविता दिदीले जनकारी गराउनुभयो । मलाई यस्तो लाग्यो– ‘चिन्तनशील यहाँका स्रष्टाहरू साहित्यको विधागत चिन्तनमा पनि हामीभन्दा माथि रहेछन् र साहित्यसँग समाज, संस्कृति र राजनीतिको सम्बन्धका बारेमा पनि हामीभन्दा निकै सचेत रहेछन् । तर हामीमा त भाषा र भाकाप्रति मजाक गर्नेहरूले नै निराश हुनुपर्ने प्रशस्त ठाउँहरू बनाइदिएका रहेछन् ।’

सिक्किमको अर्को नाम इन्द्रकिल पर्वत रहेछ । यहाँको जनसङ्ख्या सवा छ लाख, जसमा नेपालीहरू ६९ प्रतिशत रहेछन् । मिक्स कल्चरमा हुर्केको सिक्किम, यहीँबाट संवत् १८३८ तिर लेप्चाहरू नेपालको फिक्कलस्थित रम्फोकमा गएर बसोवास थालेका रहेछन् । सिक्किम र दार्जिलिङमा यिनीहरूको सङ्ख्या ठूलै रहेछ । नेपालमा भने लेप्चा लोपोन्मुख जाति आदिवासी समुदायमा पर्दछन् । बौद्घ धर्म मान्ने, प्रकृतिको पूजा गर्ने र कञ्चनजङ्घा हिमालप्रति अगाध आस्था राख्ने यिनीहरू नेपालमा भने राज्यको उपल्लो निकायमा पुग्न सकेका छैनन् । तर यता त सरकारी अड्डादेखि राजनीति, व्यापार, कला, संस्कृति र साहित्यमा पनि यिनीहरूको बाक्लो उपस्थिति रहेछ ।

साउन २३ गते, विहान ६ बजे । पानी सिमसिम परिरहेको थियो, हामीले गान्तोक सहरलाई छोड्दा । कतै कतै एकादुई मानिस फाट्टफुट्ट आङ् तान्दै थिए । गान्तोक पूरै उठेकै थिएन । उठोस् पनि कसरी, बेलुका हामी एघार बजे सुत्दा पनि गान्तोक बजार तन्नेरीझैँ थियो । अब सायद, सहरी क्षेत्र सकिएछ । पिजु लाग्यो सिङ्टाङ्गबाट पश्चिमतर्फ उकालै उकालो ।

नाम्चीका चारधाम (बद्रीनाथ, जगन्नाथ, रामेश्वर र द्वारिकानाथ) साँच्चै शोभनीय स्थल रहेछन् ।

‘मेरो घडीले ल है ९ः५५ देखायो ।’, सान्दुप्चेमा पुग्दा विष्णु भन्दै हुनुहुन्थ्यो । यहाँ गौतम बुद्घको अवतार मानिने गुरू रिम्पुतेको सालिक ४ करोड ३७ लाख ४४हजार दुई रूपयाँको लगानीमा निर्माण सम्पन्न गरी दलाई लामाद्वारा सन् १९७३ मा उद्घाटन गरिएको रहेछ । नाम्चीका चारधाम (बद्रीनाथ, जगन्नाथ, रामेश्वर र द्वारिकानाथ) साँच्चै शोभनीय स्थल रहेछन् । हामी नाम्चीका यी धाममा रहँदा मैले मोबाइल हेरेँ, १०ः४५ भएको थियो ।

दार्जिलिङबाट ५५ किलोमिटर पश्चिमदक्षिणमा मिरिक पर्दोरहेछ । झापाली खेती, इलामे केटी, ताप्लेजुङको तोङ्बा र सुकुटी भन्ने लोकआहानमा रहेको इलाम र दार्जिलिङको सीमावर्ती सन्दकपुर तीन हजार ६ छैँसट्ठी मिटरको उच्चइमा पर्दोरहेछ रहेछ ।
एकताका सुधपाती नै दार्जिलिङमा सरकारी स्कुलका शिक्षक रहेछन् । वि.स. १९८१ मा उनीहरूद्वारा नै उद्घाटन गरिएको भानुभक्त पाठशालाको छेउमा नै रहेछ नेपाली साहित्य सम्मेलन । जहाँ नाटककार तथा कलाकार इन्दिरा ओझा ‘क्षेत्री’, गोपीचन्द्र प्रधान, डा. रूद्रराज मास्के, डा. सूर्य गिरी, धनहाङ् सुब्वा, डी.डी. गुरmङ, मेघमणि दाहाल, चन्द्रकुमार राई, चन्द्र शर्मासँगै हामी साँझ ५ः२० सम्म रह्यौँ ।

टाढा देखिने हिमालको सेतो फेटा, पहाडको हरियो भोटो पहिरिएर ठिङ्ग उभिएको सिक्किम सिरानमा रहेछ भने दार्जिलिङ पहाडको कम्मरमा रहेछ । घाम कलिलै थिए । हामी लेडेनला रोड हुँदै चौरस्तामा उक्लियौँ ।

प्रकृतिले आफ्नो सुन्दरतालाई जम्मा पारेर छप्लक्कै खन्याए जस्तो । जोनाथन वेटले आफ्नो कविता ‘द सङ अफ द अर्थ’ (धर्तीको गीत) को अन्त्यमा– “पोएटी इज द प्लेस, होयर वी सेभ द अर्थ”(कविता नै त्यो ठाउँ हो, जहाँ हामी पृथ्वीलाई सुरक्षित राख्छौँ ।) यसै ठाउँलाई हेरेर लेखेका पो हुन् कि, जस्तो लाग्ने ।

कञ्चनजङ्घाको शीतल छहारी तल महाभारत पर्वत श्रृङ्खलाको क्रीडाभूमि दार्जिलिङको चौरस्ता चोकैमा रम्घाको पाखामा उदाएका भानु भेटिए । आहा ! दौरा–सुरुवाल अनि बिर्खे टोपीमा ठाँटिएर रामायण बोकी कतै पाठका लागि निक्लेका बेला हामीलाई नै पर्खे जस्तो । गोर्खाल्यान्डका लागि न उठ्न न सुत्न नै सकेको पर्वतकी रानी दार्जीलिङको मुटुमा साहित्य, कला संगमलाई लिएर बिन्दु दाहाल, ओमप्रकाश गौतम, नरपति पाण्डे, विष्णु न्यौपाने, हेम अधिकारी, के.पी ढकाल र म २०७१ साउन २४ गते विहान ७ :३० बजे उभिरहेका थियौँ ।

मानिसहरू ओहर–दोहर गरिरहेका थिए । एक हुल फागुन्डा फूलाइरहेका केटाकेटीहरूको भीड थियो । केही विद्यार्थीहरू आ–आफ्ना विद्यालयका पोशाक लगाएर सायद स्कुलबसको पर्खाइमा थिए । मैले वरिपरि हेरेँ, बरबटे कमानको लङ्गडालाई । एकताका लैनसिंह बाङ्देलले लेखेका थिए– “यहाँ स्कुल जान सामेल भएका केटाहरूले लङ्गडालाई विरक्त पार्थे ।” मैले यताउति हेरेँ तर आज कतै यहाँ भुइँभालु थिएन ।

भुइँबाट उठ्दै गरेको कुहिरोले विस्तारै हामीलाई छुँदै थियो । वरपरका धूपीका सिन्केपातबाट जलबिन्दु चुहिरहेका थिए ।

सबै व्यस्त देखिन्थे । बाटाका छेउमा भएका फलैँचाहरूमा कोही ध्यानमा निमग्न थिए त कोही योगामा व्यस्त देखिन्थे । पसलहरू फाट्टफुट्ट खुल्दै थिए । भुइँबाट उठ्दै गरेको कुहिरोले विस्तारै हामीलाई छुँदै थियो । वरपरका धूपीका सिन्केपातबाट जलबिन्दु चुहिरहेका थिए । अलि प….र धूपीका गाछीमा अलिकति घाम अडेस लागेजस्तै देखिन्थे ।

नेपाली साहित्यमा बौद्घिक चिन्तनको आँटिलो प्रवेश आयामेली आन्दोलन यहीँबाट उठेको थियो । सन् १९६३ मा इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वरबल्लभले नेपाली साहित्यमा विचार, शैली र भाष ापक्षमा परिवर्तन ल्याउन तेस्रो आयाम यहीँबाट उठाएका थिए । यो ठाउँ अहिले पनि त नेपाली साहित्य र स्रष्टाका लागि तीर्थस्थल नै भएको छ । चौरस्ताको मौलिक सुगन्ध र प्रकृतिको छटामाझ यसरी आफू उभिएर सम्झनाको दियो बाल्दामात्रै पनि यहाँको सौन्दर्य समीकरण भई जीवनको यो क्षणमा अलौकिकताको अनुभूति भयो ।

“दीपकजी, एक क्लिक ।” क्यामेरा मलाई दिँदै ओम सरले भन्नुभयो । भानुको सालिक छेउछाउमा केही तस्बिरहरू लियौँ । यहाँ हामीले करिब पन्ध्र मिनेट बितायौँ । सबै साथीहरू मेल रोडतिर लाग्नुभयो । बिन्दु सर र म पनि पछि लाग्यौँ । साँच्चै लैनसिंह, हिमालका टाकुराहरूमा भने प्रथम किरण पर्नासाथ पर्वतराजले यहाँ रमाइलो सुनको मुकुट लाएजस्तो देखियो । बाटाघाटामा पनि एकाबिहानै हिँड्ने दूधवालाहरू काँधमा दूधको ढुङ्ग्रो लिएर घरघरमा गइरहेका जस्ता पनि देखिए ।

हामी मेल रोड ओरालै ओरालो लाग्यौँ । रोडको छेउमा रहेको रोयल प्यालेस हुँदै बिहानको ८ः३० बज्दा हामी पश्चिम बङ्गालका राज्यपाल पद्मजा नाइडुको स्मृतिमा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीद्वारा सन् १९७५ नोबेम्वर २१ मा समर्पित जिओलोजिकल पार्कमा थियौँ । पार्ककै पछि रक गार्डेन तेन्जिङको समाधी स्थल । माथिबाट क्रमशः न्यूजिरल्यान्ड, बेलायत, नेपाल र भारतका अङ्कित राष्ट्रिय झण्डाहरू उठाएर सगरमाथा चढ्दै गरका तेन्जिङलाई देख्दा गर्वले मेरो छाती फूलेर आयो ।

सागरमाथा नेपालको पहिचानमात्रै नभएर विश्वकै शिर हो । यस शिरमा पहिलोपटक पुग्न सफल पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी हिमाल इतिहासका अमर पात्र हुन् । तर यो गर्वले धेरै समय मेरो मथिङ्गलमा फक्रन पाएन ।

साँच्चै कुम्भराज, इतिहासमा लेखिए जस्तै दुःखको कुरा, हामीले गर्व गरेजस्तो नेपाल र नेपालीलाई खुसी बनाएका तेन्जिङले पछि भारतीय नागरिकता लिए । आफूलाई भारतीय भने । दोस्रो नेपाली आरोही नवाङ गोम्बु र आङकामी शेर्पा पनि तेन्जिङकै बाटो हिँडे । तर, सन् १९६५ मा भारतीय सेनाका एमएस कोहलीको नेतृत्वमा २१ आरोहीसहित खुम्जुङ–१, सोलुखुम्बुकाफू दोर्जी शेर्पा भने चौथो आरोहीका रूपमा पहिलोपटक नेपाली भएरै सागरमाथा चढे । भारतले उनलाई नागरिकतासहित सरकारी सुविधा दिने प्रलोभन दियो । उनले म नेपाली नै भएर जन्मिएँ नेपाली नै भएर मर्छु भने । भारतको सबैभन्दा ठूलो खेल पुरस्कार अजुर्न पनि दियो । तर उनले नेपाली रहनुमै गर्व गरे । नेपाली भएरै मरे । तेन्जिङका नाममा त कवि तथा लोकगायक धर्मराज थापाले “हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमालचुचुरा, गम्केर बजाउ खैँजडी झम्केर नाचमुजुर…….” भनेर गीत नै गाए । तर फू दोर्जी शेर्पा, जसको इतिहास अलिखित छ । न त अहिलेसम्म उनको नाममा कुनै गीत नै गाइयो ।

रञ्जितले शिरको ढाकाटोपी दुवै हातले मिलाउँदै भने– “डल्लै नेपालबाट आउनुभएको रहेछ । म पनि पन्ध्र वर्षको हुँदा यहाँ आएको थ्यो । अहिले ओसी काटेँ ।”

“घर नेपाल हो, हजुर…. नेपाल तीन लम्बरमा जग्गा छ, जमिन छ, खान लाउन राम्रो पुगे नेपाल छोडेर किन मुग्लान पस्नु पथ्र्यो ? आफू १६ वर्षको हुँदा दोरलिङ पसेको । तर दिनदशाले गर्दा पहाड फर्कन सकिनँ…।” यसरी आफूलाई मन परेको बेला सोध्ने मानिसलाई जीवन कहानी सुनाउने लङ्गडालाई एकताका लैनसिंह बाङ्देलले यहीँ भेटेका थिए ।

हामीले पनि यसरी नै आफ्नो जीवनकहानी सुनाउने झापा (चारआली) का रञ्जित गुरुङलाई लाई भेटायौँ । तर उनको जीवनकहानी लङ्गडाको जस्तो दुःखी हैन गर्विलो छ । पिजुपार्ककै छेउमा घरजम र होटल गरी आफ्ना जीवनका पचास बसन्त बिताएका रञ्जितले शिरको ढाकाटोपी दुवै हातले मिलाउँदै भने– “डल्लै नेपालबाट आउनुभएको रहेछ । म पनि पन्ध्र वर्षको हुँदा यहाँ आएको थ्यो । अहिले ओसी काटेँ ।”

सडकमुनि–माथि रञ्जितका जस्तै घर, पसल, होटल, रेस्टुराँ थिए । अहिले त जहाँ लङ्गडाभन्दा पनि धेरै असल र धनी मानिसहरू रहेछन् । जहाँ ऐश्वर्यका निम्ति उनीहरूसित अनेक साधन पनि रहेछन् । यी मानिसहरूले लङ्गडाजस्तो घस्रीघस्री माग्नु पनि पर्दैन रहेछ । दार्जिलिङको यस बसाईमा मलाई लाग्यो– ‘यहाँ त बौद्घिकतालाई आफ्नो स्वार्थपूर्तिको लाइसेन्स पनि बनाउँदा रहेनछन् । तर हामी त पाइला नै मेटेर उभिन चाहाँदा रहेछौँ र बाटो नै भत्काइरहँदा रहेछौँ ।’

कुहिरो डम्म थियो । साउन २५ गते, दिनको ११ बजे, पानी परी नै रहेको थियो । रञ्जितकै होटलमा खाना खाएर हामी दार्जिलिङबाट ओरालै ओरालो, बतासे डाँडा, सुकिया पोखरी हुँदै सिमानै सिमाना फर्कियौँ । जहाँ कहिले कविता राजनीति जस्तो बनिरहेको त कहिले राजनीति कविता जस्तो बन्न नसकेर चेप्टिरहेको छ देश ।