संशय

रोहिणी रसिक

छन्द:शार्दूलविक्रीडित
गणः म स ज स त त गुरु
विश्रामः छ र बाह्र अक्षरमा

छाला होइन चेतना प्रमुख हो जाने कहाँ दुख्छ र
उस्तै देख्न सके समान दुनियाँ मान्छे कहाँ झुक्छ र
सच्चा कर्म गरे विधर्म नरहे आनन्द भन्दा पर
हामी मिल्न सके रुपान्तरणका संभावना छन् तर।

माया मोहित मानवाकृतिहरू हौं चेतनाका जड
यो वा त्यो परिवेशको जब भयौं बोकेर आडम्बर
आ-आफ्नै अधिकारका विषयले लढ्छौँ बनी निर्दयी
हाम्रै कारण मर्दछौँ यदि भने के अर्थ मान्छे भई।

आफ्नो इज्जत खोज्नु पूर्व उसको सम्मानका खातिर
सक्छौं बन्न भलो बुझेर दुनियाँ सत्कर्म गर्ने गर
आ-आफ्नै परिवेशबाट नउठे देखिन्न धेरै पर
छोडी दम्भ यथार्थ बुझ्न सकिए संसार बुझ्थ्यौँ तर।

भाषा भेष जमीन जात जनिने च्यातेर आभ्यान्तर
विद्या बुद्धि विवेक शिल्प क्षमता बोकेर हेर्दा पर
भेट्ने छौँ अनमोल स्नेह समता मान्छे भई हेर त
सानो चित्त हुँदैन राख्नु मुटुमा फेरिन्छ लौ फेर त ।

उस्तै छन् नवरङ्ग पल्लवहरू झङ्कार संगीतका
उस्तै छन् पदचाप इन्द्रियहरू सञ्चार संप्रीतका
कोही पश्चिम पूर्वका अलिकता सम्झेर चारैतिर
हामी उठ्न सके हुँदैन झगडा जाने हुनेथ्यो तर।

हामी आपस धर्मका विषयले फाटेर के फाइदा
आफ्नै कारण दाजुभाइ समका काटेर के फाइदा
छन् उशृङ्खल किन्तु गन्न सकिने अन्तर्य फ्याक्यौँ पर
हामी मानव हौँ बुझेर दगुरे झन् शान्ति मिल्थ्यो तर। ६

सारा विश्व छ साँगुरो यति बुझी हामी उठेनौँ भने
जुट्नेले सबथोक पाउछ यहाँ जानी जुटेनौं भने
हाम्रो दम्भ सकिन्छ जल्छ क्षणमा हुन्छौँ खरानी यदि
ठानेनौँ सब मिल्नु पर्दछ भनी होला सबैको खती।

बिराटनगर

 

रुग्ण देश

रमा खतिवडा

 

छन्दःउपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा)
गणः त त ज गुरु गुरु
ज त ज गुरु गुरु
विश्रामः पाँच अक्षरमा

यो देश लुट्ने सब भ्रष्ट आए
मिलेर आफ्नै ढुकुटी बनाए
झन् दु:ख पीडा थपिँदै छ आज
कुकर्मले नै थलियो समाज ।

भोका र रोगी निमुखा रुँदैछन्
अकाल मर्छन् न त ओखती छन्
नारी बलात्कार अझै छ बढ्दै
छ राष्ट्र झन् झन् विकराल बन्दै ।

काटेर बोटै पहिचान खोज्छन्
फुटेर भाइ किन द्वन्द्व रोज्छन्
देख्ने नसक्ने कति यातना छन्
अशान्त यो देश हुँदै छ झन् झन्

दोषी खुला भो थुनिँदैन भित्र
छ त्रास घट्छन् घटना विचित्र
छन् व्यस्त नेता पद तान्नलाई
छ देशमा तस्करको रजाइँ ।

उद्योगधन्दा अलपत्र नै छन्
अझै समस्या कति जन्मिदैछन्
नेताहरूले जनता रुवाए
अखण्ड यो राष्ट्र चिरेर खाए ।

हाम्रो सिमाना मिचिँदैछ आज
पसेर वैरी गरिदिन्छ राज
सम्झेर माटो मुटु चस्स दुख्छ
विकास भन्दा नि बिनाश हुन्छ।

सन्तान टाढा परदेशमा छन्
चुहिन्छ छानो घर भत्किँदै छन्
जन्ती मलामी अब भेटिँदैनन्
कथा पुराना अब लेखिँदैनन् ।

पोखरा

 

मिलौँ सबै

कपिल किशोर घिमिरे

छन्द:पञ्चचामर
गण:ज र ज र ज गुरु
विश्रामःआठ अक्षरमा

लुटेर देश यो अझैँ पुगेन लुट्न खोज्दछौ
जलेर आँत रापले गलेर कष्ट भोग्दछौ
दिमाग छैन के अझैँ सडेर बस्न जेलमा
कडा हुनेछ दण्ड त्यो हुँदा त कैद नेलमा।

गरे विकाश देशमा हुनेछ साम देशको
मिलेर दाजु भाइले गरेर काम देशको
लडेर हुन्न है सधैँ विनाश मात्र हातमा
मिलेर पो हुनेछ है विकाश साथ साथमा।

छ धेर सुक्ख देशमा कहाँ छ त्यो विदेशमा
बसेर काम त्यै यहाँ गरे हुने स्वदेशमा
सिकेर सीप ज्ञान नै प्रयोग त्यो गरे यहाँ
हुनेछ स्वर्गझैँ सबै जुटेर शान्ति भै यहाँ।

छ मिल्नुमै मजा मिलौँ सधैँ सबै खुसी हुँदै
स्वदेशको विकाशमा सँगै बसौं सधैँ
मरेर के छ लानु नै लगेर को गयो कतै
मिलेर काम हुन्छ है सधैँ सधैँ मिलौँ सबै।
दाङ