“लेखिदिएँ भने मैले कलमको टुप्पो तिखारेर कविता

प्रहार गर्न सक्छ सत्ताधारी युगका खलनायकहरूमाथि

फुकाइदिएँ भने नेलहरू कैदी कविताहरूको

उधिन्न सक्छन् सिङहरू

मानव प्रजातिका महानायकहरूलाई

खोलिदिएँ भने प्रेसर कुकर बमको बिर्को

पड्कन सक्छन् मेरो कविताहरू

र भत्काउन सक्छ नोकरहरू जन्माउने दरबारहरू

ओकलिदिएँ भने कविताको ज्वाला

भस्म पारिदिन सक्छ कैदी जन्माउने कारागारहरू”

राधिका कल्पितका कविताहरू पढ्दै गर्दा अनुभूत भयो साँच्चै बरफका पनि कोइलाहरू हुँदा रहेछन् । प्रगतिशील र प्रजातान्त्रिक सोच, समय र सन्देशको खोक्लो स्वरूपलाई कविले चरर चिरेकी छन् । पर्दाफास हुन्छ बौद्धिकताको प्रसाधनले श्रृङ्गारिएको मानवीय मन र मस्तिष्कको असली चित्र । कविताका भावहरूमा डुब्दै गएपछि समाज, समय र सम्बन्धको यथास्थितिलाई महसुस गर्दै गएँ ।

म सोच्न विवश भएँ, किन आजको युगमा पनि नारीका कलमबाट आगो ओकल्ने कविताहरू जन्मन्छन् ? आधुनिक समयमा शिक्षित, सुसंस्कृत, सभ्य, चेतनशील र  बौद्धिक महिलाहरूको मन मस्तिष्कमा आखिर बरफका कोइलाहरू किन सल्किन्छन् ? के हाम्रो समाज हामीले सोचेको जस्तै प्रगतिशील छ ? हाम्रो व्यवहार, आचरण के साँच्चै प्रजातान्त्रिक छ ? समानता र समताको नारा गुन्जिएको पनि कैयौँ वर्ष भयो तर पनि किन नारी मन आन्दोलित छ ? शिक्षा र प्रविधिको स्वर्ण युगमा पुगेका हामी किन थाहै नपाई वा जानिजानि अर्को वर्ग, लिङ्ग, जात, धर्म, वादप्रति विभेदपूर्ण व्यवहार गर्न पुग्छौँ ?

हिउँ जस्तै मुलायम छ नारी हृदय । दया, माया, क्षमा, प्रेम, कोमलता र धैर्य जस्ता गुणहरूलाई समेटेर शक्तिशाली भएकी नारीको हृदय साँच्चै हिउँ जस्तै मुलायम, नरम र कोमल छ । आखिर कसले ती हिउँलाई बरफ बन्न बाध्य पार्यो । कल्पितका कवितामा प्रायः विसङ्गत र विकृत मन मनस्थिति, विभेदयुक्त समाजप्रति आक्रोश ओकलेकी छन् । नारी अस्तित्व र चेतनाको हुङ्कार नै कल्पितका कविताका बलिया पाटाहरू हुन् । कवितामा स्वपहिचान, स्वाभिमान र अस्तित्वको हुङ्कार छ । अन्याय र अत्याचारको चिस्यानले कठ्याङ्ग्रिएको मनको गर्तबाट झ्याली पिट्दै कविताहरूले विद्रोह गरेका छन् । नारीलाई हेर्ने असम्यक् दृष्टिप्रति कवि कटाक्ष गर्दै भन्छिन् –

“कुन अवतार लिऊँ म ?

रातमा राग जगाउँदा रतिझैँ बन भन्छौ

झिसमिसे हुन नपाउँदै फेरि सतीझैँ बन भन्छौ

घरी सबै सहेर बग्ने पवित्र गङ्गा बन भन्छौ

तिम्रो मन बहलाउनुपर्दा फेरि चङ्गा बन भन्छौ

पानी बन भन्छौ तिमीलाई रिस उठ्दा

आगो बन भन्छौ तिमीलाई चिसो हुँदा

तिमी राम बन्दा हनुमान बन भन्छौ

तिमी मान्छे बन्दा भगवान् बन भन्छौ

जब चपाउनुपर्छ गरिबीको चिउरा

फलाम बन भन्छौ

जब चोट लाग्छ तिमीलाई

मलम बन भन्छौ

कसरी फेरूँ म हरदम स्वरूप ?”

नारीलाई केवल ‘अल्लादीनको चिराग’ सम्झिने र आफ्नो इच्छाअनुसार रूप र कर्म परिवर्तन गराउन खोज्ने, नारीलाई भोग गर्ने बस्तु मात्र देख्ने आँखाहरूलाई  कल्पितले बढो गम्भीर प्रश्न तेर्स्याएकी छन् । आखिर नारीले कुन रूप लिने ? शक्ति र सत्ताका नजरमा सदैव नारीहरूलाई दोस्रो लिङ्ग ठान्दै आएको अवस्था आजपनि उस्तै छ। महिला, पिछडिएका वर्ग र सीमान्तकृत समूहहरूको सामूहिक आवाज उठाएकी छन् कल्पितले । दम्भ र शक्तिको उन्मादले दृष्टिविहीन भएका सत्ताप्रति कविको कविता गोला बारुद भन्दा कम छैनन् । नारी छुट्टै अस्तित्व नदेख्ने आँखालाई आइमाई कवितामा मीठो झटारो हानेकी छन् कविले । आइमाईलाई हेर्ने साँघुरो घेराभन्दा अलि माथि उठ्न कवि अनुरोध गर्दै भन्छिन् –

“ए ! अहम्ले उन्मत्त कामदेवहरू

पञ्च इन्द्रियभन्दा अलि माथि उठेर

छुने प्रयास गर छैटौँ इन्द्रियलाई पनि

मैनको मादक मूर्तिभन्दा अलि बढी

सम्मान गर्ने गर मन मस्तिष्कलाई पनि

गाजलु नजर, नसालु अधर र छिनेको कम्मर मात्र हैन स्वास्नीमान्छे

योनीधारी विवेकशून्य प्रजाति मात्र पनि हैन स्वास्नीमान्छे

चेतना र चैतन्य पनि हो स्वास्नीमान्छे

अनि शारदा पनि हो स्वास्नीमान्छे ।”

इतिहासमा आमालाई देवीको स्थानमा राखेर पूजा गर्ने आज आमाकै सन्तानलाई आमाको परिभाषा रटाउनु पर्दा, नारी शक्तिको सीमालाई घोकाउनु पर्दा कवि मन कति रोयो होला । डिजिटल युगको डरलाग्दो अवस्थालाई कविले आफ्ना भावनाहरू मार्फत् बढो रोचक ढङ्गले पोखेकी छन् । कविले नारीहरूलाई शृङ्गारको कारागारबाट जुरुक्क उठाउन खोजेकी छन् । स्वतन्त्रताको चेतनाबोध गराउँदै आत्मसम्मानको खातिर कवि ज्वाला फुक्छिन्-

“कठै ! यी जन्मजात बाँधाहरू

कल्पना नै छैन स्वतन्त्र हुनुको

खुल्ला हातगोडाहरू

खुल्ला निधार अनि केशहरू

निजी  विचार अनि भेषहरू

शरीरलाई खुल्ला जेलमा जस्तै

नयाँ युगको नवीन दासत्वलाई

संस्कारको खोलभित्र

मौलाइरहेको बाँधा प्रथा

खुसीखुसी स्विकार्छन्

भुइँबाट उखेलिएर

गमलामा सजिन चाहन्छन् ।”

चेतनाशून्य अवस्थामा रहेका नारीहरूलाई चेतनाको पाठ दिन सफल छन् कल्पितका कविताहरू। हरेक कविताका शब्दहरूमा नारी हृदय पोखिएको छ ।

दाम्पत्य जीवनभित्रको बेमेललाई कविले बढो काव्यात्मक तवरले चिरफार गरेकी छन् । सम्भोगमा कतै सम देख्दिनन् कवि र मधुरात्रिको समयमा हुने असंमेद्य क्रियाकलापहरूबाट उत्पन्न हुने परिस्थितिलाई  छर्लङ्ग पार्न निकै नौला र पृथक् बिम्बहरू उठाएकी छन् कविले । हरेक जोडीले  एकर्काका संवेदनालाई छामेर, एकर्काका भावनालाई महसुस गरेर र एकर्काका मनोविज्ञानलाई बुझेर मात्र मधुरात्रिमा डुब्न चाहने नारी हृदयलाई यसरी  पोखेकी छन्-

“ज्ञात होस् हाम्रा साझा भोक

साझा  भोजन साझा भान्सा

जानौँ एकर्काका मन पर्ने नपर्ने स्वादहरू

तीतो गुलियो

टर्रो पिरो

अमिलो नुनिलो

सुख्खा वा झोलिलो

यस्तो नहोस् कि

भोली खाँदै गरेको भाग छोडेर तपाईँ अन्तै जानुहोस्

असफल र बेढङ्गको भान्सेलाई झैँ मलाई ग्लानि नहोस्

कहीँ तपाईँ अघाएर डकार्दा म भोकै नरहूँ

कतै तपाईँ यौनावेगले हुँकारिदा

म डरले नभागूँ ।”

यौन मनोविज्ञानलाई निकै कलात्मक कलेवर दिइएको यो कविता बढो पठनीय छ ।

“न बन्नु नदीमा” कविको संवेदना अझ उच्च कोटिको देखिएको छ ।

“नदीले कहिल्यै बुझेन –

बग्नुको अर्थ मुहान बिर्सनु होइन

छुट्नुको अर्थ यादहरू मेटिनु होइन

सागरमा मिसिनुको अर्थ मौलिकता रेटिनु होइन ।”

‘विधवा र वर्षा’ होस् या ‘शरीरको सौदा’ नारीका सङ्घर्ष र चुनौतीलाई भद्दा मजाक गर्ने समूहप्रति आगो ओकलेकी छन् कविले । फेरि कविले बरफका कोइला तताएकी छन् ‘रत्नाकर डाँकु हुने मन छ’ भन्ने कवितामा । कवि सम्पूर्ण जिम्मेवारीलाई तिलाञ्जलि दिएर आफ्नालागि निर्बन्ध भएर बाँच्न चाहेकी छन् , हाँस्न चाहेकी छन् । वास्तवमा स्वतन्त्रताभित्रको बन्धनबाट मुक्त हुने सपना बुनेकी छन्, स्वच्छन्दताको मीठो हावामा बहन खोजेकी छन् । नारीले भोगेका जीवन, नारीका सङ्घर्षको सजीव चित्रण कवितामा पाइन्छ।

तर सङ्ग्रहमा विविधता फेरि उत्तिकै छ । प्रेमिल कविताहरू पनि बडो सुन्दर भएर आएका छन् । नारीका कुमारी सपनाहरूलाई कविले कति स्वादिलो गरी उजागर गरेकी छन् । सुन्दर भविष्यको कल्पनामा फल्दै गरेका प्रेमका सपाट चित्रहरू छन् । साँच्चै भन्नुपर्दा पानी बरफका कोइला बन्नु भन्दा अगाडिको वास्तविक स्वरूपमा कवि मन सलल बगेको पनि भेटिन्छ कल्पितको कविताभित्र । यौवन कालमा निर्माण गरेको ‘कागजको डुङ्गा’ चढेर देखेको सपनामा मस्किएको पनि भेटिन्छ मायालु मन । ‘उसको मन जितेको मेरो कविता कोरिँदै कविले ‘को होला त्यो’  भनेर प्रश्न पनि सोधिएको छ ।

‘बा फ्रेमभित्र पसेपछि’ कविता मार्फत् कविको निर्दोषपना र अबोधता छताछुल्ल पोखिएको छ । कतै कवि बाल्यकालको दसैँमा डुबुल्की लगाउन पुग्छिन् त ‘कतै कर्फ्यु लागेको रातमा’  बेवारिसे लासमाथि बलात्कार भएको देख्छिन् ।

कतै समय, सन्दर्भ र परिस्थितिले कविको कोमल हृदयमा विश्वासको जालो फैलिन पुग्छ । समाजभित्र जब कविले अराजक मान्छे देख्न थाल्छिन् कविको मनमा बरफका कोइलाहरू डरलाग्दो गरी पड्किन थाल्छन् –

“ग्रहदशा र भाग्यरेखा हेर्न निहुँमा

मुसारिरहन्छ युवतिका नरम हत्केला

अनि हेरेर टुँडालहरूमा रतिक्रिया

बाफिँदै ओर्लन्छ गौरीघाटतिर

र नाङ्गो लास हेर्दै, गर्छ हस्तमैथुन

पोलेको मासुको गन्धको लामो सास तान्दै

उक्लन्छ गौशालाको महम्मद महसुरको होटल

दन्काउँछ बिफ बिरयानी र फर्कन्छ कोठामा।”

यो कविता पढ्दा पाठकको मन बिथोलिन पुग्छ । बारम्बार म पनि सोच्न बाध्य भएँ । यस्तै मनस्थिति बोकेर हिँड्ने जत्थाले न आमा देख्छ, न छोरी, न बहिनी न दुधे बालिका । अहो ! कति भयङ्कर छ मानवभित्रको दानवीय पाटो । किन हुन्छ साना नानीहरूमाथि बारम्बार बलात्कार भन्ने प्रश्नको केही हदसम्म भए पनि उत्तर भेट्टाएँ झैँ भयो र मैले पनि भने हो ‘सायद यो सहरमा साँच्चै एउटा यस्तो मान्छे छ’ ।

कविको विचार, दृष्टिकोण  यति सशक्त र खुल्ला रूपमा आएर आफ्ना भावनालाई व्यक्त गर्दागर्दै  पनि अनगिन्ती कविताको हत्यारा बन्नु परेको पीडा कवि पोख्छिन् । नारी लेखकका चुनौती, सङ्घर्ष र समर्पणको गाथा बढो काव्यिक तवरले उद्घोष गर्न पुगेकी छन्  ‘कविको आत्मस्वीकृति’ कविता मार्फत् ।

“धेरैचोटि आफ्नै कल्पनाबाट गर्भवती भएर

जन्माएर कविता छोडेर आएकी छु अनाथालयमा

कतिचोटि जन्माएर नाजायज कविता

लोकलाजका डरले

मारिदिएकी छु शिशु कविताको घाँटी थिचेर

कतिचोटि जाँतोमा पिसिदिएकी छु

आन्दोलन गर्न उक्साउने कविताहरूलाई

कतिचोटि अँगेनामा पोलिदिएकी छु

खूब मन सल्काउन आउने कविताहरूलाई

कतिचोटि ढिकीमा कुटेर मस्यौरा बनाइदिएकी छु

युग बदल्छु भन्दै जुलुस निकाल्ने कविताहरूलाई ।”

वर्तमान युगको छली व्यवहारबाट उत्पन्न भएको अवस्थाका प्रायः कविताहरू जन्मिएका छन् । विसङ्गति, असम्यक् स्पर्श, भाव, मनोविज्ञान र असम्यक दृष्टिले नारी हृदयलाई उद्वेलित गर्दा उब्जिएका आक्रोशहरू प्रचण्ड रूपमा अभिव्यक्त गरिएको कविताहरूको सङ्ग्रह रहेछ बरफका कोइलाहरू ।