बालखैदेखि केटीहरूलाई यो गर्नु हुन्छ, त्यो गर्नु हुन्न । यहाँ जानु हुन्छ, त्यहाँ जानु हुन्न । यसरी बस्नु पर्छ, त्यसरी हुँदैन । यसरी खानु पर्छ, त्यसरी हुँदैन । खुलेर हास्नु हुँदैन । प्याच्च बोल्नु हुँदैन । नारी त धर्ती हो । धर्तीले जस्तै गरी सहनु पर्छ । संयमित बन्नु पर्छ । यस्तै यस्तै अनेकौं कुरा सिकाइन्छ । दिल खोलेर हाँस्दा कस्तो छाडा भएको भनेर गाली खाएको अनुभव मेरी सय वर्षकी बुढी हजुरआमादेखि सानी छोरीसम्म हरेकमा भेटिन्छ ।

केटाहरूलाई केही भन्दै नभनिने भन्न खोजिएको होइन तर विशेषगरी छोरीहरूलाई समाज (त्यो समाजमा म पनि पर्छु) ले गर्नुहुन्छ भन्दा पनि धेरै कुरा गर्नुहुन्न भनेर घोकाउँछ । नारीलाई जन्मेदेखि नै आजीवन यस्तै अनेकौं नियम घोकाइन्छ, पढाइन्छ । म पनि यही समाजको हिस्सा । यस्तो गर्दिनँ भनेर आफूलाई रोक्दारोक्दै पनि बेलाबेलामा छोरीलाई भनिहाल्छु, यो नगर त्यो नगर भनेर । जसरी मेरो बाआमाले म अनि मेरी दिदीलाई भन्नु हुन्थ्यो ।
नारीवादको दोस्रो लहरको शंखनाद गर्ने फ्रान्सेली लेखिका तथा दार्शनिक सिमोन द बोवुआरले भनेजस्तै । बोवुआर अर्थात् २० औं शताब्दीकै अत्यन्त प्रतिभाशाली नारी हस्ताक्षर । उनले भनेजस्तै बालखैदेखि हामीलाई ‘स्त्री’ बन्ने प्रशिक्षण दिइएको हो, दिइरहेको छ, सायद भविष्यमा पनि यही क्रम चलिरहन्छ । चित्रकारले कुनै चित्र बनाएजस्तै, कुमालेले माटोलाई आफूले चाहेजस्तो आकारमा भाँडामा ढाले जस्तै हरेक देश, समाज घरपरिवारले पनि महिलालाई ‘स्त्री’ बनाएका हुन् । कोही पनि जन्मदै स्त्री बनेर जन्मिदैनन्, उनीहरू बनाइएका हुन् । उनीहरूमा स्त्रीत्व भरिएको हो ।

बोवुआरको जन्म फ्रान्सको हुनेखाने परिवारमा भएको थियो । कुनै समय यस्तो पनि थियो, जतिबेला बोवुआर भिक्षुणी बन्ने सपना देख्थिन् तर जीवनका उतारचढावसँगै उनको सपना फेरियो । भिक्षुणी बन्छु भन्ने बोवुआर नास्तिक भइन् । धर्मको नाममा त कहिले संस्कृतिको नाममा समाजले युवतीहरूलाई ‘स्त्री’ बन्न बाध्य बनाएको देखेरै उनी नास्तिक बनिन् । बोवुआर अध्ययनशील र पढाइमा तीक्ष्ण थिइन् । लेखपढमा निकै धेरै समय बिताउँथिन् । उनको सोच्ने, विश्लेषण गर्ने क्षमता बढ्दै गयो ।

बिस्तारै बोवुआरले कलम चलाउन थालिन् । उपन्यास, कथा संग्रह, आत्मकथा, निबन्धलगायत उनका धेरै कृति प्रकाशित छन् । उनको हरेक कृति जीवन, प्रेम र महिला वरिपरि घुमेको छ । तर उनको सबैभन्दा चर्चित कृति भने ‘सेकेन्ड सेक्स’ हो । बोवुआरको व्यक्तिगत अनुभवमा आधारित भएर पनि यो सम्पूर्ण नारीहरूको प्रतिनिधित्व गर्ने पुस्तक हो । बोवुआरको यो पुस्तकले आधुनिक नारीवादी आन्दोलनको शंखनाद गरेको हो भनेर भन्दा पनि अतियुक्ति हुन्न ।

१४ महिना लगाएर बोवुआरले सन् १९४९ मा लेखिभ्याएको यो पुस्तक महिलाबारे विद्यमान समाजमा महिलालाई गरिने व्यवहार मात्रै होइन, इतिहासभर महिलामाथि भएका व्यवहारको इतिवृत्तान्त हो । यो पुस्तक दुई ओटा खन्डमा प्रकाशित छ । पहिलो खन्डमा बोवुआरले नारी को हो भनेर प्रश्न गरेकी छिन् । महिला किन उपेक्षित छिन्, आमा भएकै कारण कारण महिला कसरी उपेक्षित बनिन्, मातृत्वसँग बाँधिइन् भन्दै बोवुआरले यसमा महिला र पुरुषको शरीरिक बनावटको तुलना गरेकी छन् ।

यो पुस्तकमा बोवुआरले समाजमा नारीबारे व्याप्त ऐतिहासिक, जैविक र मनोवैज्ञानिक धारणाहरूलाई समेटेको छ । पुरुषले महिलाबारे बनाएका पितृसत्तात्मक मिथकका साथै हरेक स्वरुपमा नारी प्रेम र लैंगिक विभेदलाई यसमा छर्लङ्ग बनाइएको छ । महिलाको नारीको अस्तित्वलाई भन्दा पनि सारलाई महत्त्वपूर्ण ठान्ने धारणा उनले चर्को स्वरमा विरोध गरेकी छन् । महिलाबारे समाजमा व्याप्त सबै मिथकहरूमाथि उनी प्रहार गर्छिन् । सिग्मन्ड फ्रायड, अल्फ्रेड एड्लर, फ्रिडरिख इन्गेल्ससम्मका कयौं विद्वानहरुको धारणा नकारेकी छन् ।

पुरुषत्वलाई सम्पूर्ण मानव मान्छ हाम्रो समाजले ।यसलाई समाजले मानवताको आर्दश मापदन्ड बनाएको छ । पुरुषले ‘म एउटा पुरुष हुँ’ भनेर भन्नै पर्दैन । तर महिलाको धारणाहरू सबै नारीत्वमै आएर टुङ्गिन्छ । उसका धारणाहरूको कुनै अर्थै हुन्न । पुरुषको शरीर संसारसँग प्रत्यक्ष अनि सामान्य तवरले जोडिन सक्छ तर महिलाको शरीर अवरोध हो । उसको लागि एउटा जेल हो भन्छिन् बोवुआर ।

पुस्तकमा बोवुआरले महिलाको उद्विकासका दुई तत्त्वको व्याख्या गरेकी छन्, उत्पादनमा सहभागिता र प्रजननका कारण उत्पन्न दासत्वबाट मुक्ति । मातृत्वका कारण महिला जनावरहरूजस्तै शरीरमै अल्झिरहेको अनि पुरुषलाई पनि नारी र प्रकृतिमाथि हैकम जमाउन सहज भएको उनको भनाइ छ । पुरुष भन्नेबित्तिकै सधैं व्यवस्था र उज्यालो बुझिन्छ । अनि महिला भने अस्तव्यस्त अनि अध्याँरो । पुरुष आफ्नो सर्वोच्चताका कारण संसारमा सधैं सफल हुन्छ । तर परिवार, समाजलाई चलायमान राख्न पुरुषले महिलालाई सधैं थिचेर राख्छ अनि यसैगरी पितृत्वलाई अक्षुण्ण राख्छ । पुस्तकमा बोवुआरले प्राचीन ग्रिस र रोममा महिलाको अवस्थाको तुलना गरेकी छन् ।

बोवुआरका अनुसार मानवता भन्ने चिज नै पुरुषवादी हो अनि पुरुषले महिलालाई आफैँसँग दाँजेर उसको चित्रण गर्छ । नारी स्वतन्त्र प्राणी होइन… संयोग अनि नगन्य हो । पुरुष विषय हो, निरपेक्ष हो अनि महिला भने ‘अरु’ । पुरुषको हैसियत घटेर नारीको स्तरमा आउनु भनेको नारी पुरुषसम्बन्धी पारस्परिक बुझाइको सिद्धान्तकै उल्लंघन हो । यसले उपल्लो दर्जाको पुरुष हैसियतमै संकट निम्त्याउँ । सधैं पुरुष ‘स्वयम्’ हुन्छ अनि महिला ‘अरु’ । २० औं शताब्दीभर नै नारीको परिचय के हो भन्दा पनि के होइनसँग जोडियो । नारी अपरिचित हो । अन्य व्यक्ति, मानिस, देश र वर्गसँगको अन्तरक्रियामा नारीलाई उपेक्षितको रुपमा उभ्याउन बाध्य बनाउँछ । तर महिलाको हकमा यो सापेक्षता र परस्परतालाई वेवास्ता गरिएको बोवुआर पुस्तकमा भन्छिन् ।

नारी उपेक्षित हुनुको खास कारण ऐतिहासिक घटनाक्रम वा सामाजिक रुपान्तरण होइन । यो आंशिक रुपमा नारीको शरीरसँग जोडिएको छ । समाजका अन्य उपेक्षित समूह सीमान्तकृत समूह बन्छन् । तर महिलाहरूले मिलेर अल्पमत समेत कहिले बनाउन सक्दैनन् । मध्यम वर्गकै भएपनि महिलाहरुको पहिचान पुरुषसँगै जोडिएर आउँछ कामकाजी वर्गको महिला भनिदैंन । लिंगको वर्गिकरण जैविक तथ्य हो, मावनीय इतिहास होइन । समग्रमा नारी ‘उपेक्षित’ हो उसको स्वायत्त इतिहास नै छैन ।
यो पुस्तककोे एउटा वाक्य निकै प्रख्यात छ, ‘कोही पनि जन्मदैं स्त्री भएर जन्मिदैंनन्, उनीहरुलाई बनाइन्छ ।’ हरेक समाज अनि परिवारले स्त्रीहरुमा आफूलाई अनुकुल हुने खालका गुणहरु भरिदिएर (कोचिदिएर भन्दा पनि अतियुक्ति नहोला) प्रत्येक बालिकालाई स्त्री बन्न बाध्य पारिदिएको हो भन्छिन् बोवुआर । एक हिसाबले सोच्दा तपाईलाई पनि त्यस्तो लाग्दैन ? महिला र पुरुषको जन्मजातै एउटै हुन्, प्रजननमा एक अर्काको परिपूरक हुनु बाहेक दुबैमा केही भिन्नता छैन । दुबैका क्षमता, इच्छा, गुण, विशेषताहरु लगभग उस्तै हुन्छन् । तर कहिले धर्मको नाममा त कहिले संस्कृतिको नाममा समाजले युवतिहरुलाई ‘स्त्री’ बन्न बाध्य बनाइन्छ ।
जुन सुकै धर्ममा पनि नारीको पुजा गरिन्छ । धर्मले नारीलाई पुज्ने कुरालाई बोवुआरले पनि नकारेकी छैनन् । तर धर्म नारीमाथि शासन गर्न पुरुषले बनाएको एउटा हतियार भएको उनको तर्क छ । सिमोन आजीवन नास्तिक बन्नुको एउटा कारण यो पनि हो । ‘सेकेन्ड सेक्स’को मुख्य तर्क नै इतिहासको हरेक काल खन्डमा हरेक देश, धर्म अनि संस्कृतिमा नारीलाई दोस्रो स्थानमा पुरुषको तुलनामा तल्लो दर्जामा राखिएको छ भन्ने हो । महिलाको अस्तित्व पुरुषत्व र अस्तिव जोगाउने उसका गतिविधिहरुसँग जोडिएर आउने गरेको छ ।
चाहे शारीरिक होस् या भौतिक वा बौद्धिक जीत सबै कुरामा पुरुष आफ्ना सीमाहरु तोडेर अगाडि बढ्न अनि आफ्नो परिवेश, माहौललाई आफ्नो मुठ्ठीमा राख्न सक्षम छ । वा भनौं समाजले उसलाई त्यसो गर्न दिएको छ । तर महिला सधैं मातृत्वसम्बद्ध दायित्वको दास बनेर त्यसैको आसपास बेरिएर, खुम्चिएर, बाँधिएर रहन्छिन् । पुस्तकमा सिमोनले महिलाको नियति के छ ? उनीहरु सधैं दासत्वमै किन बाँच्न बाध्य छन् ? वनमा खुला हरिण झैं नाच्ने महिलाहरुको पाउमा दासत्वको सिक्री कसले बाँधिदियो ? भन्नेलगायत प्रश्नहरुको उत्तर दिएकी छिन् ।
सेकेन्ड सेक्समा बोवुआरले ग्रिसका दार्शनिक प्लेटोको आलोचना पनि गरेकी छिन् । उपल्लो वर्गमा जान दुबै लिंगले आफूलाई पुरुरुष जस्तै गरी प्रशिक्षित गर्नु पर्ने, पुरुषले जस्तै गरी बाँच्नु पर्छ भन्ने प्लेटोको धारणा छ । तर प्लेटोको यस धारणाको बोवुआर कटु आलोचक हुन् । यसलाई उनी लैंगिक विभेद भन्छिन् । पुरष वा पुरुष जस्तै व्यवहार गर्नेले मात्रै शासन गर्न सक्छ भन्छन् प्लेटो ।
महिलाले पुरुषलाई गरिने व्यवहार पाउन पुरुष जस्तै गरी बाँच्नु पर्छ भन्ने विचारको बोवुआर चाँहि कट्टर विरोधी हुन् । महिला र पुरुषबीच जैविक अन्तर भएपनि दुबैलाई एक समान व्यवहार गर्नु पर्छ भन्ने तर्क उनको छ । यी दुई लिंग बीचको जैविक अन्तरकै कारण महिलालाई दबाउनु अन्यायपूर्ण र अनैतिक भएको पुस्तकमा उनी भन्छिन् ।
बराबरी र समानता एउटै नभएको भन्दै बोवुआरले पुरुष सरह व्यवहार पाउन महिलाहरुले पुरुषकै जस्तो व्यवहार गर्न आवश्यक नभएको तर्क राखेकी छिन् । पुरुषको तुलनामा महिला कमजोर छन् भनेर हरेक सांस्कृति वा धर्ममा सिकाइएको छ । तर बोवुआरले यो मान्यता कसरी जन्मियो भनेर प्रश्न गर्छिन । कुन लिंग बढी शाक्तिशाली छ भनेर निर्धारण गर्न के मापदन्ड प्रयोग गरिएको भन्दै मूल्य मान्यताका आधारमा महिलाले आफ्नो शरीरबारे केही धारणा बनाउने ?
सिमोनका अनुसार पुरुषको तुलनामा महिला सधैं गौण हुन्छिन् । पुरुषको छायाँमा महिलाको अस्तित्व दबेको छ । यो गौणताको व्याख्या सिमोनले सरल रुपमा गरेकी छिन् । इतिहासको हरेक कालखन्डमा आर्थिक, सामाजिक, राजनीति, धार्मिक स्तरका हरेक घटनाक्रमलाई महिलाप्रति पूर्वाग्रही भएर पुरुषको हित र रुचीअनुसार लेखिएको छ ।
विवाहले महिलालाई झनै दास बनाएको छ । महिलालाई पनि पुरुषजस्तै आफू सक्रिय, प्रभावशाली र मौन कसरी बन्ने भन्ने थाहा छ । तर भातभान्सा, घरको सरसफाई अनि घर मिलाउँदा मिलाउँदै उसको सबै समय सकिन्छ । आफूले केही नगरेको भनेर या कराउँछे चिच्याउँछे । यसरी नै सारा जीवन बित्छ । तर उसको विद्रोहले अवस्थामा खासै सुधार ल्याउँदैन भन्छिन् बोवुआर ।
बोवुआर जाँ पल सात्र्रको अस्तित्ववाद, माक्सर्वाद, मनोविश्लेषण र हेगलबाट असाध्यै प्रभावित थिइन् । यिनीहरुकै प्रभावमा सिमोनले मानवीय इतिहासभर नै नारीको ‘अब्जेक्टिफिकेशन’ गरिएको अनि पश्चिमा दार्शनिक विचारधारा यसैबाट प्रेरित भएको उनी भन्थिन् । सेकेन्ड सेक्स आउँदा ताका सिमोन आफूलाई नारीवादी भनेर कहिले पनि भनिनन् । न त अरुले सो उपमा दिँदा त्यसलाई स्वीकार गरिन् ।
समय बित्दैगर्दा यो नारीवादको आगोलाई दनदनी बाल्ने इन्धन बनिदियो । विवाह र मातृत्वबारे पूर्वाग्रही भएको भन्दै बोवुआर र सेकेन्ड सेक्स दुबैले व्यापक आलोचना पनि खेप्नु पर्यो । पुस्तक निजी अनुभवमा आधारित भएको भनेर बोवुआरले गाली पनि खाइन् । तर यो पुस्तकले विश्वभरका असंख्य महिलाको लागि आवाज उठाएको छ ।