“औँठी खै ?”

औँठी ? अघिल्लो साँझ आउँलामा अटेन भनेर उसले मलाई दिएकी थिई । मैले कान्छी आउँलामा लगाएको याद छ । त्यसपछि कता गयो याद छैन ।

“मैले तिमीलाई दिएको हुनुपर्छ ।”

आफ्नो गोजीमा भएको चस्मा खोज्दै हिँड्ने मान्छे औँठीको बारेमा कसरी याद गर्नु । त्यो पनि एक दिन अघिको कुरा ।

“लगाएको लुगामा हेर ! खल्टिमा पो छ कि?”

“कुन लुगा लगाएको थिएँ ?”

“आफ्नो लगाएको लुगा पनि याद हुन्न ?”

“तिम्लाई हुन्छ ?”

“किन हुन्न ?”

“त्यसो भए के लगाएको थियौ ?”

“पिङ्क ज्याकेट र कालो ट्राउजर !”

“अनि मैले के लगाएको थिएँ ?”

औँठी मैले हातमा लिएको याद छ । फोन्डे भन्ने चिजको गनाउने तातो झोलसँगै पाउरोटी चोपेर खाँदै गर्दा उसले लगाउन दिएकी हो । मलाई शरीरमा लुगा बाहेक केहि लगाउन मन हुन्न । लाइहाले पनि लामो समयसम्म लगाउन सक्दैन । बिहेको औँठी पनि छ । मैले लाएको छैन । ऊ लगाउँछे । उसले आफ्नो औँठी साँघुरो भएकोले मलाई दिएकी थिई । कान्छी औँलामा अटे पनि झर्छ भनेर फिर्ता गर्न खोजेको थिएँ । एक छिन लाइरहन भनेपछि लगाएको थिएँ ।

“सायद हिजो बसेको ठाउँमा छुट्यो होला !”

अघिल्लो दिन स्विट्जरल्याण्ड  कान्टरस्टेगमा   बसिएको थियो । माटेरहर्नको पृष्ठभूमि भएको चेरमाटको सुन्दर तस्बिर देखे देखि नै चेरमाट आउने मन थियो । तर चेरमाटको मौसम प्राय सधैँ खराब नै हुन्थ्यो । अनि यसपालि कसोकसो साताभरि नै घाम देखाएको थियो । संयोगले हाम्रो बिदा पनि थियो । तर एकै दिनमा चेरमाट सम्मको ६ घण्टा बढीको यात्रा गर्नु भन्दा बाटामा बास बसेर आउन ठिक भनेर हामी लगभग बीच जस्तो पर्ने कान्टरस्टेग बसेका थियौँ । वरपर हिउँमा पुरिएका चुचुराबीच निलो पानीको तालको चित्र मनमा कोरेर हामी ओसिनेनजे तालतिर लागेका थियौँ । ताल सम्मको बाटो हिउँ चिप्लेटी खेल्नेहरूले भरिएको थियो । नखेल्ने हामी जस्ताका लागि “आइस वाक” भनेर हिउँकै बाटो हुँदै तालसम्म हिँड्ने बाटो बनाइएको थियो ।

कान्डर्स्टेगः जमेको तालमाथि हिँड्दै मान्छेहरू

हिमालको चेपमा भएको ओसिनेनजे हिउँले भरिएको थियो । निलो पानी भएको ठाउँमा जमेको हिउँ थियो । मान्छेहरू जमेको तालमाथि चिप्लेटी खेलिरहेका थिए । कोही तालको एक किनारबाट अर्को किनार हिँडिरहेका थिए । उसलाई ताल किनारको रेष्टुरेन्टमा राखेर म पनि हिँड्न गएको थिएँ । गर्मीमा आउँदा तालको सिरानतिर देखिएका झरना जमेका थिए । झरना नजिक पुग्दा थाहा भयो अघिल्तिर हिउँ देखिएको झरनाको भित्रभित्रै पानी बगिरहेको रहेछ । आरोहणको रहरले गर्दा क्र्याम्पुन अर्थात काँडे जुत्ता पनि किनेको थिएँ । त्यो जुत्ताको प्रथम प्रयोग मैले तालको जमेको हिउँमै गर्न पाएको थिएँ । पातला हिउँ भएको ठाउँमा न हिउँको सतह तल खस्छ कि भन्ने मनमा चिसो पनि पसेको थियो । त्यसैले मान्छे हिँडेका पाइलाहरु पछ्याउँदै तालको यात्रा सकेको थिएँ । त्यो सब सकेर साँझ आफू बसेकै ठाउँमा खाना खाँदा उसले हातको औँठी दिएकी हो ।

“फेरि त्यै बाटो जाने ?”

कान्डरस्टेगबाट लोचेनवर्ग टनेल भन्ने सुरुङ भएर हामी चेरमाट पुगेका थियौँ । पहिलो पटक त्यसरी टनेलमा गुड्ने रेलमाथि गाडि राखेर यात्रा गरेकाले हो या के हो असाध्यै डर लागेको थियो । रेलमा पालैपालो गाडी गुडाएर लगेपछि ब्रेक लगाएर गाडी भित्रै बस्नु पर्थ्याे । अनि रेल गुडेर सुरुङ पार गराएको थियो । सुरुङको मुखसम्म त सबै रमाइलो थियो । तर सुरुङमा पस्ने बित्तिकै चुक घोप्टेको जस्तो अँध्यारो भएको थियोः पुरै कालो, सर्ल्लक्कै कालो । पकाएको चुक निक्कै नै कालो हुन्छ । त्यसैले धेरै अँध्यारो भन्नुपर्दा चुक घोप्टे जस्तो भन्ने चलन छ । त्यही चुक घोप्ट्याएको अँध्यारोमा गाडीभित्र बसिएको थिया । ट्रेन बिस्तारै गति बढाउँदै थियो । अन्त्यको कुनै ठेगान थिएन । अँध्यारोमा अनिश्चित अवधिको निरन्तर यात्राले यस्तो अत्त्यायो कि बाहिर निस्किने बित्तिकै बाँचियो भन्ने महसुस भयो । अनि त्यो सुरुङबाट तल उपत्यका जाने बाटो पनि जेरी जस्तै घुमेको । मुनि पुग्दा सम्म हालत खराब भएर गाडी रोकेको पनि थिएँ । औँठी खोज्न फेरि त्यही बाटो जाने मनै थिएन ।

चेरमाटसम्म गाडी लैजान पाइँदैन थियो । ट्रेन या सटल चढेर जान मिल्थ्यो । चेरमाट भित्रको सार्वजनिक यातायातको रूपमा प्रयोग गरिने ट्याक्सी पनि विद्युतीय थिए । वातावरणीय प्रभाव कम गरेरै पनि प्रकृतिको दोहन कसरी गर्न सकिन्छ भनेर स्विस सरकारले जानेको छ भनौँ । रेल स्टेसन बाट अलि पर जाने बित्तिकै सहर बीचबाट बग्ने माटेर भिस्पा नदिका दुई किनारामा सडक अनि नदीको मुहान तिर चेरमाटको प्रख्यात माटेरहर्नको चुचुरो देखिन्थ्यो । माटेरहर्न संसारको सबै भन्दा सुन्दर चुचुरो मानिन्छ । आमादब्लममा संसारका सुन्दर चुचुरोको सूचीबाट आमा दब्लमलाई तल झारेर माटेरहर्नलाई माथि पारेको सुनेको थिएँ । त्यति बेलै देखि चेरमाट जाने रहर थप बढेको थियो । सगरमाथाको पदयात्रा सकिनु र चेरमाटको यात्रा हुनु लगत्तै हुन पुग्यो । चेरमाट वरपरको सानो पदयात्रा गरेर मनमा बसेको चेरमाटको तिर्सना मेट्ने प्रयास गरेँ । तल बस्ती अनि पृष्ठभूमिमा माटेरहर्नः गज्जबको दृश्यले यो ठाउँ कुनै परि कथाको देश जस्तो लागेको थियो । दिनको उज्यालोको त्यही दृश्य हेरेर मन बुझाइयो ।

माटेरहर्नको काखमा बसेको चेरमाट सहर अनि माटेर्हर्नको चुचुरो । माटेरहर्न चढ्नका लागि अप्ठेरा चुचुराहरु मध्येमा पर्छ । गाइड सहित ३००-४०० जना र विना गाइड ३ हजार ५०० जनाले वर्षेनी यो चुचुरो चढ्ने प्रयत्न गर्छन् ।

 

हाम्रो यात्राको चरम विन्दु त्यही थियो । फर्कने दिन सामान मिलाउँदै गर्दा औँठीको खोजी भएको थियो । बिहेमा दिएको औँठी जति खोजे पनि भेटिएन । सबै लुगाको गोजी र सम्भावित सबै ठाउँ हेर्दा पनि भेटिएन । अनि अघिल्लो साँझ बसेको होटेलमा मेसेज गरेर त्यहाँ जाने निधो भयो । तर फेरि त्यही सुरुङ पार गरेरै जान मन थिएन । वैकल्पिक बाटो फेरि पायक पर्ने कतै पनि भेटिएन । त्यसपछि सुरुङ कै बाटो फर्कने भयौँ ।

सुरुङ पहिले पार गर्दाको अनुभवले गर्दा यसपालि अँध्याराका लागि तयार नै पनि थियौँ । सुन्नलाई गीत अनि खेल्नलाई फोनमा तास थियो । त्यसैले सुरुङको अँध्यारो पनि चाँडै कटे जस्तो भयो । लगत्तै होटेल पुगियो ।

“मैले साहुनीलाई उनीहरू नआए सम्म म लगाउँछु भनेकी थिएँ । आउनुहोला भन्ने त थियो तर यति चाँडै भन्ने अनुमान थिएन ।”

मैले होटेलकी परिचारिकालाई औँठीको कुरा गर्ने बित्तिकै उसले हात कमाउँदै आफ्ना औँलाबाट औँठी झिकी । न चोरेको भन्लान् भन्ने सोचेर हो, ऊ साह्रै आत्तिएकी थिई । मलाई पनि नराम्रो लाग्यो । पछि भेटिएको औँठी गाडीमा बसेकी उनीलाई सुम्पेर सधन्यवाद केही पैसा दिन भित्र पसेँ । दोस्रो पटक उनी धेरै सम्हालिएकी थिइन् । धन्यावाद दिँदै बिदा मागेँ ।

“तिम्ले त्यस्तो बेला पनि मायाले बनाएको औँठी म कहिल्यै गुमाउन चाहन्न ।”

“अनि तिम्रो छोरा भयो भने बुहारीलाई दिनलाई पनि दिन्नौ ?”

“दिन्न । बरु सुनको चुरा बनाइदिन्छु ।”

“अनि त्यो पारिवारिक गहना दिनु र नयाँ दिनु त फरक कुरा भइगयो नि !” हिन्दी सिनेमाका नायकहरूले आफ्ना पारिवारिक औँठीले प्रस्ताव गरेका दृश्यहरू मनमा घुमाउँदै सोधेँ ।

“हैन, यो त मसँगै लैजाने हो । म नरहँदा पनि मलाई यो लगाई दिनु ।” उसले हाँस्दै भरिएका आँखाले मलाई हेर्दै भनी ।

 

ग्रिन्डेलवाल्ड फ्रिर्स्टको आकाश मार्ग र वरपर हिउँ चिप्लेटीमा मग्न मानिसहरू

यात्राको सबै भन्दा ठूलो खड्को यही औँठी हराउनु थियो । हुन त मैले चाँडै नै त्यो हराएको स्वीकार गरिसकेको थिएँ । मनमनै एक दिन आफै त यो संसारबाट हराइन्छ भने यहीँ भेटाएको औँठी हराउनु ठूलो कुरो पनि भएन भनेर सोचिसकेको थिएँ । तर भावना र लगाव भन्ने चिजले निर्जीव पत्थर र धातुको औँठीलाई पनि धेरै अमूल् बनाइदिँदो रहेछ । बिहेको औँठी पो त ! त्यो पनि अभावका बेला जोहो गरेको औँठी ।

हामी फर्कँदाको बाटो छोटो बनाउन बस्ने भनेको ग्रीन्डेलवाल्ड जाँदै थियौँ । बाटामा इन्टरलाकेनका ताल देखियो । त्यसलाई छोडेर लाउटरब्रुनेनको सडकतिर मोड्दा बाटो अघि युङफ्राउयोख देखियो । युरोपको चुचुरो भनिने यो हिमाल उस्तो अग्लो हैन । ४.१५८ मिटरको यो चुचुरो सँगै ४११० को मोन्स र ३९६७ को आइगर पनि छ । यी तीनै चुचुरा भन्दा माथि (४७२८) त गोक्यो ताल (ताउजुङत्सो) नै छ । चुचुराहरुको कुरा गरेर साध्य छैन । ग्रिन्डेलवाल्ड हाम्रो गोड्यानका तालहरु भन्दा मुनिका ३ प्रसिद्ध चुचुरा जाने बाटो मध्येको एक हो ।

ग्रिन्डेलवाल्ड दोश्रो पटक आइएको थियो । मौसम नखुलेका बेला कुहिराको काग भइएको थियो । यसपटक एकदमै सुन्दर लाग्यो ।

माटेरहर्न जस्तै देखिने भनिएको आइगरको उत्तर फेदिमा रहेको यो बस्तीमा हामी पुग्दा १२ बजिसकेको थियो । छिप्पिएको घाम बल्ल यो उत्तरी उपत्यकामा परेको थियो । जता हेर्यो रमाइलो थियो । झन् केबलकार चढेर ग्रिन्डेलवाल्ड फर्स्टसम्म उक्लँदा त तलबाट देखिने वन माथिको छुट्टै संसार देखियो । त्यहाँ मान्छेको ताँती पनि गज्जबको थियो । प्राय हिउँ चिप्लेटीमा मस्त थिए । बाखआल्पजे नामक तालसम्मै जाने मन थियो तर पहरामा तल देखिने गरी ग्रिलका फल्याकहरू राखेर बनाइएको बर्दाली जस्तो क्लिफ वाल्क गर्यौं । क्लिफ वाकमा पनि मान्छेको ताँती नै थियो । धेरैले भिडियो बनाइ रहेका थिए । केबलकार बिसौनीकै रेस्टुरेन्टमा एक छिन खाना खाईवरी वरपर डुल्यौँ र तलतिर लाग्यौँ ।

हामी ग्रीन्डेलवाल्ड आउँदा बस्ने होटलमा चेकइन गर्ने समय भएको थिएन । गाडी त्यतै राखेर हामी बस चढेर तल बजार झरेका थियौँ । फर्कँदा भने कोठा तयार भइसकेको थियो । गैँडाको नाकको सिँग जस्तै देखिने माटेरहर्न र माटेरहर्न जस्तै देखिने आइगर यस अघि शिल्टहर्न चढ्दा मुरेन बाट हेरेको थिएँ । यसपालि त्यसै आइगर देखिने लजमा बास बस्न पुगेका थियौँ । उत्तर तिरबाट हेर्दा आइगर फरक देखिन्थ्यो । लगभग नुर्त्से जस्तो । झ्याल अनि ढोकाबाट अघाउन्जेल आइगर दर्शन गरेर समय बितायौँ । भातको रहर मेटाउन भारतीय होटल बाट खाना मगायौँ । अन्तिम साँझ त्यसरी नै बित्यो ।

भोलिपल्ट बिहानै बाहिर निस्किने वा ननिस्किने भन्ने दोधारे मनस्थितिबिच म एक्लै १० बजे सम्म बाहिर निस्किन मिल्ने अनुमति मिल्यो । अघिल्लो साँझमै कोमुटमा हिँड्नका लागि बनाइएका बाटाहरू र लाग्ने समय देखेरै सविताको मन मरिसकेको थियो । मलाई भने कुनै यस्तो विन्दुमा पुग्नु थियो जहाँ बाट उपत्यकाको राम्रो दृश्य देख्न सकियोस् । बसआल्प भन्ने विन्दुसम्म गाडी पनि चल्ने र त्यहाँबाट दृश्यहरू पनि सुन्दर देखिने कुरा पत्ता लगाए पछि त्यो दिशामा हिँड्ने मन भयो ।

 

आइगरको उत्तरी दिशामा स्थित ग्रिन्डेलवाल्ड सहर

विहान घाम उदाइ सकेको थिएन । अलि पर जङ्गलको सानो बाटो छिचोलेर काँडे जुत्ता लगाएँ । लगत्तै चित्तलहरुको बथान अघिल्तिर बाट दगुरे । त्यो सायद तिनको हिँडडुलको बाटो रहेछ । विहानै म आएको हुँदा उनीहरु थोरै बाटो मोडेर माथिल्तिरको ठूलो जँगलतिर लागे । फोनमा जति सक्दो दृश्यहरु खिचेँ । मनै आनन्दित भयो । यो दृश्यको विकल्प भनेको होटेलको विछौना बाट आइगर र तलको बस्ती हेर्ने थियो । त्यो भन्दा यो कति हो कति सुन्दर । अनि जाँगर गरेर हिँडेकोमा आफैलाई स्याबासी दिएँ ।

बाटो सकियो । काँडे तार छिचोल्न मन लागेन । तलतिर सडक थियो । त्यतै लागेँ । आइगरको चुचुरो तिर चन्द्रमा देखियो । त्यहि अझ बढि देखिन्छ कि भनी अघि बढेँ । झरना देखियो । झन् खुशी भएँ ।

“बसआल्प बाट आइगर, मोन्स र युङ्गफ्राउ तिनै चुली देखिन्छ ।” झरना बाट केहि पर हिँडेपछि भेटिएका स्वीस बुढाले भने ।

बुढा आफ्नी श्रीमतीसँग २ हजार ६८१ मिटरको फाउलहर्नका लागि उक्लेका रहेछन् । म भने जति सकिन्छ परको लागि उक्लेको थिएँ । पहिले चन्द्रमा अनि पछि मोन्सको लोभले मलाई अधि बढायो । तिनै चुलीको गज्जबको दृश्य हेर्ने मन थियो । त्यतिले मेरो ग्रिन्डेलवाल्डमा हिड्ने सपना पनि पुरा हुन्थ्यो । अनि त्यसैले स्वीस आल्पका तीन मोती आइगर, मोन्स र युङ्गफ्राउको अभुतपूर्व दर्शन पनि गराउँथ्यो । बाटाभरि गफ गर्दै अघि बढ्यौँ । नेपाल र सगरमाथाका कुरा भए ।

पर्वतारोहीहरू माझ नेपालका मान्छेहरू भनेका कुनै तीर्थस्थलका मान्छे जस्तो लाग्छ होला । त्यसैले नेपाल सुन्ने बित्तिकै उनीहरूको अनुहारमा बेग्लै चमक आउँछ ।

“ऊ त्यो माथि देखिने बस आल्प हो ।”

मसँग धेरै समय नभएको बताएपछि स्विसबुढाले छोटो बाटो बाट मलाई बसआल्प देखिने ठाउँ सम्म पुर्याए । त्यसपछि म त्यहाँको सुन्दरतामा रमाउँदै अघि बढेँ । यति बेला सम्म चारै दिशामा हिउँ देखिने भइसकेको थियो । आइगरको छायालाई घामले मेटाइसकेको थियो । केही छिनमा बसको हर्न पनि सुनियो । म बसआल्पको उकालोमा लाग्दा पहेँलो बस पनि देखियो । म बससँगै तल ओर्लन पाइने भएकोमा खुशी हुँदै झन् तेजले माथि लागेँ ।

बसआल्प पुगेर चारैतिरको दृश्य क्यामेरामा कैद गरेँ । हतारमा जे जति देखिन्थ्यो हेरेँ । फाउलहर्नको चुचुरो पनि नजिकै लाग्थ्यो । तर फेरि अरु कुनै दिन आउने वाचा गरेर तल ओर्लने तरखरमा लागेँ । बस खासमा ११ बजे देखि मात्रै चल्नु पर्थ्यो तर होटेलको सामान पुर्याउन आएको बसले मलाई तल लग्न मान्यो ।

गोजीमा नगद पैसा पनि थिएन । तर बसमा कार्डले तिर्न मिल्ने व्यवस्था समेत रहेछ । दँग परेँ । चक्कामा सिक्री लाएर हिउँमा नचिप्लिने बनाएइएको थियो । सडकमा हिउँ चिप्लेटी खेल्नेहरु पनि थिए । बाटामा वाकीटकीमा कुरा गर्दै चालक तल ओर्लँदै थियो । होटेल नजिक पुगे पछि सधन्यवाद विदा मागेँ ।

“ह्याँ बाट अलि तल पुग्यो भने उपत्यकाको राम्रो दृश्य देखिन्छ ।” मोन्सब्लिक भनिने ठाउँमा पुगे पछि मैले सवितालाई भनेँ ।

बसआल्पबाट देखिने ३ चुचुराः आइगर, मोन्स र युङफ्राऊ

होटेल बाट चेकआउट गरेर हामी लाउटर ब्रुनेनको उपत्यकामा गयौँ । अलि माथि वाँगेन थियो । वाँगेनबाट मोन्सब्लिक सम्मको पदयात्रा अनि त्यहाँबाट आल्पसश्रृङ्खलाको खोँचमा बसेको उपत्यका गज्जबको देखिन्थ्यो । स्वीजल्र्याण्डका सुन्दर तीन चुली मध्ये मोन्स र युङफ्राउ मज्जैले देखिन्थ्यो । आइगर चाहिँ छेकिन्थ्यो । घर फर्कनअघि समेटिन सकिने त्यो गन्तव्य समेट्यौँ र बाटो लाग्यौँ ।

‘यदि भोलि नतिजा सुखद आयो भने खुशी मनाउन हिँडेको भनाैँला अनि दुःखद आयो भने दुख भुलाउन हिँडेको भनौँला’ मनको दोधार सवितालाई सुनाएँ ।
ज्युरिकमा खाना खान रोक्न अघि मनमा अनेक त्रासहरु भरिएका थिए । भोलिपल्टको डक्टरको भेटमा के नतिजा आउने हो भन्ने पिरलो थियो । गुगलका खोजीहरुले कहिल्यै आशा दिन्थे त कहिल्यै मनै हल्लाउने गरी पिरोल्थे । विहान एक खालको सुखद सुरुवात भए पनि साँझ सम्म छटपटिले बसीखानु हुन्थेन ।

दिनदिनको त्यो तनावको मुक्तिका लागि पनि अभ्यस्त परिवेशबाट टाढा हुनु थियो । फेरि विवाहको वर्षगाँठका लागि बिदा लिएर बसेका पनि थियौँ । अनि बिना काम घरैमा बसेर डक्टर भेटको दिन कुर्नु निकै कष्टकर हुने थियो । यात्राभरमा भुलेको मन यात्राको अन्त तिर चाहिँ फेरि धरमराएको थियो ।

भोलिपल्ट डक्टरले सुखद समाचार दिन सकेनन् । त्यसपछिका दिनहरुमा थप जाँचहरु गर्दा पनि अन्ततोगत्वा सकारात्मक कुरा कतैबाट आएन । बिस्तारै हामीले पनि नियतिलाई स्वीकार्यौं । हुन त हामीले त्यो गुमायौँ जो हामीसँग छँदै थिएन । होला भन्ने सम्म थियो । राता थोपाहरूले सातो लगिरहेका बेला राता फाल्साहरुले झन् के गरे होलान् ? म त खासमा साक्षी मात्रै थिएँ । सबै उसैले भोगेकी थिई । तर फेरि उसलाई मैले भोगिरहेको थिएँ। अनि उ जस्तै सहज भएर पोखिरहेको चाहिँ थिएन । नचाहेर भन्दा पनि नआएर त्यसो गर्न सकेको होला । अनि नभएको दुःख देखाएर सहानुभुति बटुल्न पनि थिएन ।

‘यात्राले गर्भावस्तामा नकारात्मक असर पुर्याएको कहीँ कतै प्रमाण भेटिएको छैन ।’ डाक्टरले सुनाएकी थिइन्, ‘तपाईंहरू गएर केही नराम्रो भइहाल्यो भने नगएको भए हुन्थ्यो भन्ने पर्ला । तर फेरि नगएरै पनि नराम्रो भयो भने पनि यात्रा नगरेकोमा पछुतो होला ।’

हामीले यात्रा अघिको सावधानीका लागि परामर्श लिएरै यात्रा थालेका थियौँ । त्यो यात्रा नगरेका भए पनि दिनदिनको छटपटिले हामीलाई सहज पक्कै हुँदैन थियो । धन्न यात्राका लागि निर्णय गर्याैं र केही गन्तव्य मात्रै भए पनि भेटिए । अब छुटेका गन्तव्य त त्यसै पनि छुट्ने नै थिए । अनि छुट्न सक्ने गन्तव्यका पिरलोमा भेटिने गन्तव्य नै पनि नभेट्न हामीले स्वीकारेनाैँ । चेरमाटको यात्रा यस्तै भेटिएका र नभेटिएका गन्तव्यको सँगालो भयो ।

वेङ्गेनबाट देखिने लाउटरब्रुनेन उपत्यकाको तिलस्मी दृश्य