सौरभ कार्की

सौरभ कार्की

सन् १८०१ मा नेपोलियन बोनापार्टले “जस्टिन एण्ड जूलियट” उपन्यासका अज्ञात लेखकलाई पक्राउ गर्न आदेश दिए। त्यसअघि पनि उक्त उपन्यासका लेखक पटक पटक कारावासमा परिसकेका थिए। भनिन्छ “जस्टिन एण्ड जूलियट” को पहिलो भाग ‘जस्टिन’  ती लेखकले जेलमा बस्दा दुई हप्तामा लेखेर सिद्याएका थिए। करिब करिब बत्तीस वर्ष उनी जेलमा बसे। आफ्नो सिर्जना कारागारमै बसेर पुरा गर्दथे र आफ्ना  यौन र अपराधले भरिएको नाटक मञ्चन पनि त्यहीँ गर्दथे। यसकारण उनको कारागार जीवनलाई सन् १८०९ पश्चात एकान्तवासमा रुपान्तरण गरियो, जहाँ उनलाई कापी र कलमबाट विमुख गरियो तथा सम्पूर्ण नाटकीय मञ्चनहरूमा उनलाई बन्देज लगाइयो। सन् १८१४ मा जब उनको मृत्यु भयो त्यसबेला पनि उनी कारागारकै जीवन बिताइरहेका थिए। ती नेपोलियनका अपराधी थिए – “मार्की डि स्याड” जो फ्रान्सेली क्रान्तिताका “नागरिक स्याड” भनेर चिनिन्थे।स्याडिजम कालान्तरमा उनकै नामबाट चर्चित भयो।

 

स्याडका साहित्यिक विशेषता

मार्की डि स्याडका रचनाहरूमा यौनिक उदारता पाइन्छ। हिंसा, अपराध र अत्यधिक पीडाको जगमा यौनिक कल्पनाहरूलाई प्रस्तुत गर्नु उनको विशेषता रहेको छ। उनको रचनामा महिला र केटाकेटीप्रति हिंसा, पीडा , दु:खकष्ट र अपराधसँगै समाजिक मान्यता र धर्मप्रति प्रहार पाइन्छ। सामाजिक बन्धन, धार्मिक मूल्य-मान्यता र नैतिकतालाई पर हुत्याएर अरुको पीडामा आनन्द लिनुलाई नै त यसकारण स्याडिज्म भन्ने गरिन्छ । उनको साहित्यजस्तै उनी स्वयम् त्यस्ता अपराधहरूमा भागिदार रहे। उनको जीवन नै अनैतिकता र अपराधले भरियो। यस्ता यावत् कुराहरूका कारण उनका विरोधी उनलाई बलात्कारी र यौनदुराचारी भन्न रूचाँउछन्। स्याडका समर्थकहरू भन्छन्- अनैतिकतालाई कलात्मक तरिकाले प्रस्तुत गरियो भने यसले जसको पनि सत्य डगमगाउँछ। यही शैलीलाई मडर्न पोर्नोग्राफीले पछ्याइरहेको छ र करोडौं मानिसलाई आकर्षित पनि गरिरहेको छ। पोर्नो इण्डस्ट्रीकै केही व्यक्तिहरू भने स्याडलाई उनको कृतिमा पुरुषको तुलनामा महिलालाई बढी यौनप्रति जिम्मेवार र उनीहरूलाई हिंसाको सिकार बनाएर मज्जा लिन चाहेको भन्ने आरोप लगाउँछन्।

स्याडका  मुख्य रचनाहरू जस्टिन, जूलियट, द हन्ड्रेड ट्वान्टी डेज अफ सोडोल, फिलोसोफी इन बेडरुम रहेका छन्। कतिपय उनका रचनाहरू नष्ट गरियो। उनका अप्रकाशित कृतिहरू उनका छोराले जलाइदिएको पनि भन्ने गरिन्छ।

 

जस्टिन वा मिस्फर्ट्यून्स अफ भर्ट्यू

जस्टिन वा मिस्फर्ट्यून्स अफ भर्ट्यू मार्की डि स्याडको श्रृङ्खलाको पहिलो अध्याय हो।  यस कथा नैतिक र अनैतिक गुण अँगालेका दुई बहिनीहरूको कथा हो। नैतिकताको दुर्भाग्यका कथा जस्टिनको संघर्षशील जीवनका रुपमा प्रस्तुत गरिएको छ। यस कथामा स्याडले कथाको धाराप्रवाहमा उपान्यासकी प्रमुख पात्र जस्टिनका पीडाहरूमा उनले सर्जक र उनका पाठकहरूले अनुभूत गर्नै काव्यात्मक आनन्दहरू घोलेका छन्। कथाको पूर्वार्द्धमा जस्टिन र उनकी दिदी जूलियट अचानक एउटा कालो यथार्थबाट गुज्रिन पुग्छन्। रातारात उनीहरूका पिता कंगाल हुन पुग्छन् । जसले गर्दा उनीहरू देश छाडेर भाग्न बाध्य हुन्छन्। त्यही पीडामा उनीहरूकी आमाको पनि देहान्त हुन्छ। ती दिदी-बहिनीका बाटा त्यतिबेला छुट्टिन्छ जतिबेला उनीहरूको आश्रय लिने अन्तिम विकल्प पनि बन्द हुन्छ। पन्ध्र वर्षीया जूलियट आफ्नो निर्णय गर्ने क्षमतामा अब्बल हुन्छिन्। उनले एउटा विकल्प देख्छिन्, जुन नैतिक गुणलाई अवमूल्यन गर्ने खालको हुन्छ। बाह्र वर्षीया जस्टिन जो आफ्नी दिदी भन्दा बिछ्ट्टै राम्री छिन्, अनैतिक बाटोमा हिँड्न रुचि लिन्नन् । जब उनीहरू अनाथालयबाट निकालिन्छन्, जूलियट आफ्नी बहिनीको आँशु पुछ्न चाहन्छिन्। तर उनले के बुझेकी छन् भने जस्टिन एउटी मूर्ख केटी हो, जसलाई सम्झाउन सकिदैन। जूलियट तर्क गर्छिन्। यति राम्रो अनुहार र कलिलो उमेर जुन उनीहरूलाई प्राप्त भएको छ, त्यो भोकै मर्नलाई होइन। उनीहरूले आफ्नो यौवनको प्रदर्शन गर्न सके सारा सुखसयल र सफलता उनीहरूकै हातमा छ। जस्टिनलाई यो विचार मन पर्दैन। उनी भन्छिन्, स्वयंलाई छलेर, अनैतिक बाटोमा हिँडेर हामी भगवानसँग कसरी आँखा जुधाँउन सक्छौँ ? अनैतिक र पथभ्रष्ट भएर मलाई हिँड्नु छैन।

दुई बहिनीहरूको बाटो छुट्टिन्छ। जतिबेलासम्म जूलियटले दर्जनौं मानिसलाई बर्बाद र आवाद गर्न भ्याइसकेकी हुन्छिन्, त्यतिबेलासम्म जस्टिन कयौं दुर्भाग्यको सिकार भई सक्छिन्। हो, यही जस्टिनले भोगेको परिस्थितिमा स्याडले चलाखीपूर्ण ढङ्गले त्रासदीपूर्ण र हृदयविदारक तवरले स्याडिष्टहरुका लागि रोमाञ्चकता भरेका छन्। उनको पीडा , यौनदुराचार, हिंसा र दुर्भाग्यबाट सिर्जना भएका तमाम परिस्थितिहरूमा स्याडका पाठकहरूले मनोरञ्जन लिन्छन्। त्यति मात्र नभएर पीडितहरू पटक-पटक दुर्भाग्यको सिकार हुने र पीडकहरूले प्रोत्साहन पाउने स्याडको अर्को विशेषता हो। जस्टिनको कथाको अन्त्य त्यतिबेला हुन्छ, जतिवेला उनको नैतिक बाटोको दुर्भाग्य अप्रत्याशित उनकी दिदीसँगको भेटमा टुङ्गिन्छ- एउटा दर्दनाक मृत्युलाई अँगीकार गरेर। पटक–पटकको दुर्भाग्यमा उनको नैतिकता कहिल्यै डगमगाउँदैन। अफ्ठ्यारो परिस्थिति, हिंसा, बलात्कार, यौनदुराचार जति सहे पनि उनले कहिले पनि अनैतिक बाटो हिँडेकाहरूप्रति आभार हुनुपर्दैन। उनी जीवनभर याचना गर्छिन्, माफ माग्छिन्,  भगवानसँग र भगवान जस्तै मानिसहरूसँग जो स्वर्ग र नर्कको उनको मान्यतासँग सहमत छैनन्। जो उनको नजरमा पापले लिप्त छन्।

तर अन्त्यमा उनकी दिदीले उनको मद्दत गर्छिन्, जो स्वयं अनैतिक बाटोको रासमा टेकेर त्यहाँसम्म पुगेकी छन्। त्यस क्षण जस्टिन उनको दुर्भाग्यको सिलसिला अन्त्य भएको स्मरण गर्छिन् तर अनायाश उनी झल्याँस्स हुन्छिन् कि उनी आफ्नै दिदी जो अनैतिक बाटोमा हिँड्न उक्साउँथिन्- उनकै आश्रयमा – उनीप्रति कृतज्ञ हुनुपरेको छ। त्यसैबखत एउटा ठूलो हावाहुरी आउँछ र त्यो दुर्घटनामा जस्टिन मारिन्छिन्। जस्टिनको खेल यहीँ समाप्त हुन्छ। स्याड यसलाई भन्छन् – “नैतिकताको दुर्भाग्यपूर्ण अवशान ।”

 

जूलियट

जूलियटको कथामा स्याडले उनलाई अनैतिक, अत्यधिक यौनकुण्ठा भरिएको र हत्याराका रुपमा चित्रण गरेका छन्। तर पनि स्याड भन्छन्- उनी सफल र खुसी छिन्। तेह्र वर्षको उमेरमा उनी एक वयस्क महिलको यौन दुराचारमा  सहभागी हुन्छिन्। ती महिला उनको लागि प्रेरणा बनेर आएकी हुन्छिन्, जसले जूलियटलाई नैतिकता, धर्म, मुक्ति, पापजस्ता मानव निर्मित कुरको केही अर्थ नभएको र यस्ता कुराले मानिसलाई कमजोर मात्र बनाउने गरेको बताउँछिन्। स्याडले यस उपन्यासमा सामाजिक मान्यता,  भगवान्, मुक्ति, माया-प्रेम र तमाम नैतिकताको पाटोको गम्भीर उपहास गरेका छन्। उनका पात्रहरूले यस्ता यावत् सम्पूर्ण चिजलाई हलुङ्गो साबित गरिदिएका छन्। जूलियट र उनको विचारधारीहरूको बर्बर अपराधहरूको घनघोर व्याख्या हो – स्याडको यो उपन्यास।

जूलियटले आफूले बिताएको समयमा प्रशस्त मानिसहरुलाई बर्बाद र आवाद गर्दछिन्। विभिन्न हत्याको श्रृङ्खलामा सहभागी हुन्छिन्। उनको जस्तै समान विचारधारा भएका मानिसहरूको संसर्गमा रहन्छिन्। ती त्यस्ता मानिसहरू हुन्छन् जो आफ्ना स्वजनहरूप्रति व्यभिचार राख्दछन्, हाडनातामा करणी गर्दछन्, हत्या र अपराधमा हात रङ्गाएर बसेका हुन्छन्।

जूलियट उपन्यासमा स्याडले केही वास्तविक जीवनका समकालीन पात्रहरुको पनि प्रयोग गरेको  भन्ने तथ्यहरूले प्रस्तुत गरेका छन्।  यस कथाभरि यस्तै हिंसा, अपराध, यौनका आसन र क्रीडा भरिएको छ। नैतिकतालाई चुनौती दिएर जूलियट हिँडेको बाटोलाई स्याडले सही साबित गराउन खोजेका छन्। स्याड भन्छन् – भाग्य, विधाता वा ब्रहमाण्ड शक्ति अन्त्यमा जे भए पनि जब त्यसले अपराध गर्नेहरूलाई यही तरिकाले व्यवहार गर्दछ भने हामी किन जूलियट हिँडेको बाटो नहिँड्ने ?

यसकारण यसलाई केही व्यक्ति अपराधिक पृष्ठभूमिको क्रान्तिकारिता भन्छन् जसले समाज र धर्मका हरेक मान्यतालाई चुनौती दिएको छ। कोही यसलाई यौनसंहिता भन्न रुचाउँछन् त कोही यौन साहित्यमा बरु मर्यादा हुने तर यो त केवल घृणित अपराधको सिलिसिला भएको जहाँ एकै किसिमको अपराध र हिंसा पटक – पटक दोहरिरहने भन्ने टिप्पणी  गर्दछन्।

 

स्याडिजमको साहित्यिक मर्म

कतिपय लेखकहरुमा स्याडको प्रभाव परेको पाइन्छ भने कतिपय उनका आलोचकहरू पनि छन्। कतिले उनलाई अनैतिकता र त्रासदिको शेक्सपियरको संज्ञा दिन पनि भ्याए। कति मार्की डि स्याडलाई अनावश्यक नायक बनाउन जरुरत नभएको बताउँछन्। सानो साहित्यिक धार चर्चा गर्दछ – जब तपाई सामाजिक मर्यादा, सामाजिक मूल्य-मान्यता र सामाजिक बन्देज भत्काउनु हुन्छ अनि तपाईंले के पाउनु हुन्छ ? एउटा छुट्टै समाजको सह-अस्तित्व। यस्तो समाज जुन करकापमा,  लाखौं सामाजिक नियम र कानुनको बन्देजले गर्दा कहिले पनि समान हैसियतमा आउन उत्साहित गरिएको हुँदैन। तर यो त छायाजस्तै बनेर बसेको हुन्छ। यो जीवन्त मानिसको नाङ्गो रुप हो। यसको आफ्नै कथा, पात्र र नायकत्व छ। मानिसहरू एकपक्षीय विश्लेषण गर्छन् र सामाजिक मान्यातासँग विरोधाभाष हुनासाथ उनीहरुको घाँटी निमोठ्छन्। उनीहरू यिनीहरूको अस्तित्वप्रति निर्मम हुन्छन्। जबकि यस्ता चिजहरू पनि समाजमा बराबर घटित भइरहेका हुन्छन्। मानिसहरु यौन, हिंसा, बलात्कारका कथाहरू पढ्छन्। पात्रहरूप्रति निर्णायक पनि हुन्छन् र उनीहरूप्रति सहानुभूति पनि राख्दछन्। न्याय र अन्यायको तर्क गर्नु स्वाभाविकै हो तर बराबर मानिसका लागि यी विषयहरू नै मनोरञ्जनका विषय हुन्। पीडाहरूमा पनि मानिस आफ्नो मनोरञ्जन खोजिरहनछन्। यस्तै कुराले उनीहरूलाई उद्वेलित गरिरहन्छ र अधिकांश समाजले पाशविक ठहराएका भावनाहरू जागृत भइरहन्छ। यस्ता मानिसहरू नै स्याडिष्ट हुन् र प्रायः मानिसहरू जीवनमा यस्तै दौरबाट गुज्रिरहेका हुन्छन्।