मुल्ला नसरूद्दिनलाई छिमेकको बिहेमा जानु थियो । बिहे भोजमा बोलाएपछि नजाने भन्ने कुरा पनि भएन । त्यो पनि एउटै गाउँठाउँको उत्सव !
अघिल्लो पटक त्यो घरमा ऊ यस्तै कुनै भोजमा गएको थियो । भोज खाएर निस्कँदा उसले आफ्नो चप्पल गायब भएको पायो ।
यसपाला पनि त्यही क्रिया दोहोरिएला भनेर उसले जुक्ति निकाल्यो । कोटको भित्री खल्तीमा उसले चप्पल हाल्यो र भोजभवनमा छिर्यो ।
भोजभवनमा निमन्त्रणा गर्ने व्यक्ति नै स्वागतार्थ उभिएका थिए । कोटको भित्री गोजी भुक्क उचालिएको देखेर स्वागतार्थ व्यक्तिले जिज्ञासापूर्वक सोध्यो, ‘ओहो, खल्ती त निकै उचालिएको छ । कुन किताब त्यसरी राख्नु भएको महाशय ?’
नसरूद्दिनले सोच्यो, यो त मेरो चप्पलकै पछाडि रहेछ !
फेरि उसले सोच्यो, मलाई मान्छेले निकै विद्वान र किताब पढिरहने मान्छे सोच्छन् । आफ्नो इज्जत त फाल्नु भएन ! उसलाई त्यो भ्रम रहिरहन दिनुपर्छ ।
त्यसपछि उसले ठूलो स्वरमा भन्यो ताकि भोजनमा आएका सबैले उसको विद्वता सुन्न सकून्, ‘भुक्क उठेको यो चिजको नाउँ चाहिँ विवेक हो ।’
भोजमा डाक्ने मान्छे भावविभोर हुँदै भन्यो, ‘अहो, महाशय कति सुन्दर ! कति रोचक विषय ! तपाईंले यो चिज कुन पसलमा पाउनुभयो ?’
‘खासमा भन्ने हो भने मैले त यो जुत्ता पसलमा फेला पारेको हुँ !’ मुल्ला नसरूद्दिनले ढुक्कका साथ जवाफ दियो ।
इद्रिस शाह संकलित मुल्लाका कथाबाट
०००
एक पटक मुल्ला नसरूद्दिन एउटा पसलमा केही किन्न भनेर पुग्यो ।
ग्राहक आइपुगेकामा पसलेले भन्यो, ‘आउनोस् हजुर, आउनोस् । के दिऊँ ?’
‘तुना छ तुना ?’ मुल्लाले सोध्यो ।
‘छ ।’
‘छाला छ त ?’
‘छ नि हजुर, किन नहुनु ?’
‘पालिस नि ?’
‘त्यो नि छ, दिऊँ ?’
‘जुत्ता छ ?’
‘त्यो चैं छैन हजुर ?’
‘जुत्ता बनाउन चाहिने सबैथोक छ, अनि जुत्ता चैं नहुने कस्तो पसल हो यो ?’ मुल्ला नसरूद्दिन चिच्याउँदै पसलबाट बाहिरियो ।
०००
गाउँको चिया दोकानमा बिहानीपख ठिकठाक भिड थियो ।
अरूका गफ सुनेर मुल्ला नसरूद्दिनले दिक्क मान्यो र सोच्यो, आफू पनि केही गफ ठोकौँ न !
ठुलो स्वरमा उसले सबैको ध्यानाकृष्ट गराउँदै भन्यो, ‘म अँध्यारोमा पनि देख्न सक्छु ।’
सबको मुन्टो मूल्लातिर फर्कियो ।
मुल्ला तनक्क तन्किएर चिया दोकानको एउटा कुनामा उभिइरहेको थियो ।
एक जनाले भन्यो, ‘हैन, के सुन्नु परेको ? हिजै मात्र तिमी बाटामा हिँड्दा लालटिन बोकिरहेका थियौ त !’
मुल्लाले किञ्चित विचलित नहुँदै भन्यो, ‘मूर्ख, म पो देख्छु त ! तँ त देख्दैनस् । मसँग ठोक्किएलास् र मुन्टो जोत्लास् भनेर तेरा लागि लालटिन बोक्ने गर्छु ।’
०००
मुल्ला नसरूद्दिनले सिन्ध (हिन्द)का बारेमा निकै सुनेको थियो । उसलाई ‘सुनको चिडिया’ भम्रण गरूँ गरूँ लाग्यो । त्यसपछि ऊ अप्ठेरा घाटी पार गर्दै इन्डिया आइपुग्यो ।
ऊ यति थाकेको थियो, यति तिर्खाएको थियो कि उसलाई ढुंगा भेटे, ढुंगै, माटो भेटे माटै खाऊँ झैँ भएको थियो ।
मुल्ला नसरूद्दिनको गाउँमा कि त फलफूल हुन्थ्यो कि त मासु मात्र हुन्थ्यो । भारतमा जस्तो सागसब्जी, तरकारी भन्ने हुँदैनथ्यो ।
आलसतालस भएर ऊ एउटा रूखमुनि बस्यो । केहीबेर सुस्ताएपछि उसले अलि पर एक जना मानिस डालोमा केही हरियो चिज अघिल्तिर राखेर बेच्न बसेको पायो ।
पक्कै केही फलफूल होला भनेर ऊ डालेछेउ पुग्यो । उसले पूरै डालोको दाम सोध्यो र जति भन्यो, त्यो ज्यादै सस्तो थियो । ‘इन्डियामा त कति सस्तो फलफूल !’ उसले सोच्यो ।
‘अचार हाल्ने विचार गर्यौ कि क्या हो ?’ विक्रेताले सोध्यो । मुल्लाले केही जवाफ दिएन । मुल्ला बोल्ने अवस्थामा थिएन । त्यसैले हतार हतार चाँदीको सिक्का दियो । खाद्यान्नले खाद्यान्न साटिने बेलामा सिक्कामै कसैले सामान किनिरहेकामा विक्रेता खुसी भयो र घरतिर लाग्यो ।
मुल्लाले डालो बोकेर एउटा रूखमुनि बस्यो र खान थाल्यो । डालो थियो, खुर्सानीको । उसको इलाकामा खुर्सानी भन्ने चिज पाइँदैनथ्यो । त्यसैले उसले यसलाई फलफूल ठानेको थियो । पिरोले ऊ रातोपिरो भए पनि खान छाडेन । र्.याल सिँगान भइसक्दा पनि खान नछाडेपछि वरपरका मानिस भेला भए र डालो छाडेर पानी पिउन दबाब दिन थाले ।
‘यो फल पक्कै पनि शैतानको फल हुनुपर्छ,’ मुल्लाले गुनासोको स्वरमा वरपर रमिता हेरिरहेकालाई भन्यो ।
छेउको एउटा भद्रले भन्यो, ‘बेवकुफ, तैंले खोर्सानीको नाउँ सुन्या थिनस् ? यो त यस्तो फल हो कि दिनभरि खान बस्यो भने साँझ नपर्दै मरिन्छ ।’
‘म त यो फल खाई नसिध्याई यहाँबाट एक उठ्दिनँ, दुई उठ्दिनँ !’ मुल्ला नसरूद्दिनले हठ गर्यो ।
यो सुनेपछि भद्र मानिसले थप्यो, ‘सुन् भाइ, यो त तरकारीमा हालेर खाने फल हो, यत्तिकै चपाउने हैन । छाड्, तुरून्तै खान छाडिहाल् ।’
‘मलाई बेवकुफ भन्ठान्या हो कि क्या हो, दाइ ?’ मुल्लाले जवाफमा भन्यो, ‘म थोडै यो खुर्सानी खाइरहेको छु ? म त बेफ्वाँकमा खर्चिएको सिक्का खाइरहेको छु नि !’
०००
एक पटक मुल्ला नसरुद्दिन इलाकाकै धनी मानिसलाई भेट्न भनी गयो ।
‘के कामले आयौ नसरुद्दिन ?’ धनिकले सोध्यो ।
‘पैसा माग्न आए हजूर,’ नसरुद्दिनले भन्यो, ‘मलाई पैसाको साह्रै आवश्यकता प-यो ।’
‘त्यस्तो के आवश्यकता प-यो ?’
‘मलाई हात्ती किन्नु प-यो ?’ नसरुद्दिनले दृढता साथ भन्यो ।
‘कस्तो अचम्मको कुरा गरेको !’ धनी मानिसले हाँस्दै भन्यो, ‘तिमीसँग पैसा छैन भने हात्ती किन किन्नुप-यो ? फेरि पैसै नभएको मानिसले हात्ती पाल्न सक्छ र ?’
‘हजुर म पैसा माग्न आएको हुँ,’ मुल्ला नसरुद्दिनले भन्यो, ‘सुझाव माग्न आएको होइन ।’
०००
एक दिन एक जना मन्त्रीले बादशाहका सामुन्ने मुल्ला नसरूद्दिनको निकै प्रशंसा गर्यो । उसलाई निकै लायक मानिस भएको बतायो । बुद्धिमा ऊ जत्तिको कोही पनि नभएको भन्दै बादशाहलाई सुनायो ।
बादशाहले भन्यो, ‘अँ, उसका बारेमा मैले निकै सुनेको छु । म उसलाई प्रधानमन्त्री बनाउन चाहन्छु । त्यसलाई यहाँ बोलाऊ ।’
मन्त्रीले नसरूद्दिनलाई लिएर राजाका सामुन्ने हाजिर गरायो ।
मुल्ला नसरूद्दिनलाई देखेपछि बादशाह निकै खुसी भयो र भन्यो, ‘म तिमीलाई प्रधानमन्त्री बनाउन चाहन्छु । जनतालाई खुसी पार्न तिमीसँग उपाय के छ ?’
मुल्लाले भन्यो, ‘यसको त एउटै तरिका छ महाराज ! जनताको खुनपसिना चुसेर जुन सम्पत्ति हजुरले जम्मा गर्नु भएको छ, त्यो बाँडिदिनुस् । त्यो पाउनेबित्तिकै उनीहरूको जीवन सहज हुन्छ र खुसी हुन्छन् ।’
जनता खुसी बनाउने यति सरल सूत्र थाहा पाएर बादशाह चकित भए । त्यसो त बादशाहले यस्तो उत्तरको अपेक्षा भने गरेका थिएनन् ।
(विष्णु नागरद्वारा संकलित ‘मुल्ला नसरूद्दिन के किस्से’बाट ।)
०००
अनि, बादशाहले मुल्ला नसरूद्दिनलाई प्रधानमन्त्री बनाइदियो ।
प्रधानमन्त्री भएपछि हरकोही ऊसित मित्रता गाँस्न चाहन्थ्यो ।
कसैले भन्यो, ‘तपाईं त बडो भाग्यशाली हुनुहुँदोरहेछ । हरकोही साथी जो बन्न चाहन्छ !’
मुल्लाले जवाफमा भन्यो, ‘आज त हरकोही साथी बन्न चाहन्छ । यो राम्रो कुरा पनि हो तर मेरो वास्तविक साथी त त्यो बेला थाहा हुन्छ, जुन बेला मलाई बादशाहलाई अपदस्त गरिदिन्छन् ।’
०००
उक दिन बादशाहले मुल्ला नसरूद्दिनलाई सोधे, ‘मुल्ला, मेरा जनतालाई सबैभन्दा खुसी के कुराले हुन्छ होला ?’
‘हजुर जुन दिन स्वर्गबासी हुनुहुनेछ, त्यो दिन जनता निकै खुसी हुनेछन्,’ सिधासिधा उसले जवाफ दियो ।
०००
एक पटक मुल्ला नसरूद्दिनको आँखामा केही झ्याँस पस्यो । आँखा चिलाएपछि उसले अगाडिका हरेक कुरा धमिलो देख्न थाल्यो ।
हरेक दिन मुल्ला नसरूद्दिनले बादशाहलाई ठट्टामा उडाउने गर्थ्यो । आज भने बादशाहले काम पायो । बादशाहले भन्यो, ‘के हो मुल्ला, तिमीले त आज हरेक चिज दुई वटा देख्न थाल्यौ रे, बधाई छ है ! अब तिमीसँग त एउटा गधा थियो, अब दुई दुई वटा देख्ने भयौ !’
जवाफमा मुल्लाले भन्यो, ‘ठीक भन्नुभयो हजुरले । तपाईंको पनि दुईको साटो चार वटा गोडा देखिराछु ।’
०००
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।