स्टेन्डाल फूल नाउँले लेख्ने यथार्थवादी फ्रेञ्च साहित्यकार म्यारी-हेनरी बिले २३ जनवरी १७८३ मा फ्रान्सको ग्रेनोबलमा जन्मेका थिए। उनका बाबु शेरुबिन बिले ग्रेनोबल उच्च अदालतका वकिल थिए। सात वर्षकै उमेरमा उनकी आमाको देहान्त भएकाले उनलाई जीवनमा एक्लोपनको अनुभव भइरह्यो ।

पिताको कडा अनुशासनमा बस्न कठिन अनुभव भएकाले घरबाट उम्कने प्रयासमा सन् १७९९ मा साहित्य र गणित अध्ययन गर्न भनी म्यारी हेनरी बिले प्यारिसतिर लागे। प्यारिसमा बसेर नाटककार बन्छु भन्ने सोच राखेर घरबाट हिँडेका बिले आफ्ना नातेदारको जोडमा इटालीमा फ्रेञ्च कोर्ष अध्ययन गरी सेकेण्ड लेफ्टिनेन्ट भए । केही समयपछि त्यस डफ्फाबाट उनले राजीनामा दिए र रसिया आक्रमण गर्ने अभियानतर्फको फ्रेञ्च डफ्फामा प्रवेश गरे । सन् १८०२ मा १९ वर्षीय बिले प्यारिस फर्के र स्टेन्डाल फूल नाउँले साहित्यिक कर्ममा लागे । उनले अष्ट्रियामा पनि काम गरे । इटालेली देशभक्तसँग साँठगाँठ गरेको अभियोगमा १८२१ मा उनी अस्ट्रियाबाट निष्कासित गरिए । १८३० देखि आफ्नो जीवनकालको अन्तिम दिनसम्म उनी सिभिटाभेक्किआमा फ्रान्सेली राजदूत थिए ।

उनको पहिलो उपन्यास अर्मान्स (Armance) सन् १८२७ मा प्रकाशित भएको थियो । रातो र कालो (The Red and the Black, 1830 ) र चार्टर हाउस पर्मा (The Charterhouse Parma, 1839) उनका प्रसिद्ध कृति हुन् । फ्रान्सेली यथार्थवादी आन्दोलनमा उनले स्टेन्डाल फूल नाउँ नै प्रयोग गरेका थिए। जीवनभर प्राय अपरिचित स्टेन्डाल भावना र शिल्पमा आधुनिक थिए। समकालीन पाठकले स्टेन्डालको जीवनकालमा उनको यथार्थवादी शैलीलाई पहिचान गर्न सकेनन् । स्टेन्डालको ऐतिहासिक परिवेश तथा रोमान्सेली यथार्थवादी शैलीको मूल्याङ्कन बिसौँ शताब्दीको प्रारम्भतिर मात्र भयो। उनी पात्रको व्यङ्ग्यात्मक मनोवैज्ञानिक र यथार्थवादी विश्लेषण गर्ने रोमान्सेली युगका मौलिक र आधुनिक उपन्यासकार हुन् ।

२३ मार्च १८४२ मा फ्रान्सको प्यारिसमा स्टेन्डालको देहान्त भएको थियो ।