सन् १९७९ मा रिलिज भएको एक बार फिर सोही नाउँको उपन्यासमा आधारित फिल्म हो । यही वर्ष भारतमा ‘जय सन्तोषी माँ’जस्तो धार्मिक फिल्मले तहल्का मच्चिने गरी व्यापार गरेका बेला त्यसको ठीक विपरीत एउटी विवाहिता महिलाले अन्यत्र माया खोज्ने विषयमाथि बनेको अलि बोल्ड फिल्म हो ।

फिल्म शुरू हुँदै जाँदा फिल्मको क्रेडिट शुरू हुन्छ र फिल्म ‘एक बार फिर’ नामक उपन्यासमा आधारित रहेको जनाउ दिन्छ । फिल्म हेर्दा पनि यसको उपन्यास तत्त्व देखिन्छ तर उपन्यासका लेखक वा अन्य विषयमा केही जानकारी पाइँदैन ।

जानकारहरूका अनुसार, बेलायतमा पूरै सुटिङ भएको पहिलो फिल्म हो । फिल्ममा एउटा सफल अभिनेता र एक पारम्परिक पत्नीको असंगत सम्बन्धका बारेमा छ । जब लोग्ने आफ्नै लोकप्रियतामा मग्न हुन थाल्छ, पत्नी एक्लिन थाल्छे । एक्लोपनबाट भाग्दै गर्दा नचाहँदा नचाहँदै पनि एउटा विवाहेत्तर सम्बन्ध बन्न पुग्छ ।

फिल्मको कथा कल्पना (दीप्ति नवल) को हो । ऊ एउटी मध्यम वर्गीय युवती हो । उसको विवाह फिल्मको सफल स्टार महेन्द्र कुमार (सुरेश ओबराय)सँग हुन्छ । कल्पना विवाहपछि निकै उत्साहित हुन्छे । उसका केही सपना छन् तर महेन्द्र भने आफ्नै संसारमा मग्न छ । बिहे पछि पनि यो जोडीले राम्रोसँग समय बिताउन पाउँदैनन् । महेन्द्रलाई ग्ल्यामर संसार मन पर्छ तर कल्पना भने त्यो ग्ल्यामर संसारसँग एकाकार हुन सक्दिन ।

एक पटक फिल्मको सुटिङको क्रममा महेन्द्र लन्डन जानुपर्ने हुन्छ । नवविवाहिता पत्नीलाई लिएर ऊ लन्डन जान्छे तर त्यहाँ ऊ एक्लो हुन्छे । लन्डन विश्वविद्यालयमा कला अध्ययन गरिरहेका एक जना युवा विद्यार्थी विमल (प्रदीप वर्मा) सँग परिचय हुन्छ । एक पटक कल्पनाको चित्र बनाउन दिन विमलले अनुरोध गर्छ र कल्पनाले स्वीकार पनि गर्छे । चित्र बनाउने क्रममा उनीहरूबीच पटक पटक भेट हुन्छ । महेन्द्रको उपेक्षाका कारण आफूभन्दा कम उमेरको विमलप्रति कल्पना आकर्षित हुन थाल्छे ।

समयक्रममा यी दुईबीच शारीरिक सम्बन्ध कायम हुन्छ र कल्पनालाई जीवनमा नयाँ उत्साह र चरम आनन्द भएको महसुस हुन्छ । त्यसअघि उसले कहिल्यै त्यस्तो अनुभूत गरेकी थिइन । कलाप्रेमी कल्पनाले पछि अभिमानी फिल्म स्टार पति महेन्द्रसँग सम्बन्ध त्याग्ने निर्णय गर्छे । उसले शान सौकत, सम्पत्ति छाडेर उटा साधारण कलाकार विमललाई माया गर्न थाल्छे । त्यति मात्र होइन, लोग्ने छाडेर ऊ विमलकी हुन्छे ।

सुरेश ओबराय, दीप्ति नवल, सइद जाफरी, प्रदीप वर्मा, कल्पना पाण्डे, जुबेर जकारिया फिल्मका मुख्य कलाकार छन् । संगीत रघुनाथ सेठले दिएका छन् भने अनुराधा पौडवाल, भूपिंदर, सुरेश वाडकरले गीतमा स्वर दिएका छन् ।

फिल्मको विषय अलि बोल्ड थियो । त्यसो त यो फिल्म रिलिज गर्न दिन भारतमा समस्या नै भएको थियो । फिल्मले समाजमा अश्लीलता र अवैध सम्बन्धलाई बढाउने तर्क गरिएको थियो । तर 28 जुलाई 1979 का दिन लन्डनमा यसको प्रिमियर गरिएको थियो ।

नायिकाका रूपमा दीप्ति नवलको यो पहिलो फिल्म थियो । सन् १९७८ मै उनले श्याम बेनेगलद्वारा निर्देशिन जुनून फिल्ममा अभिनय गरेकी थिइन् । त्यो फिल्ममा उनको सानो भूमिका थियो । पहिलो फिल्म नै उनले किन यति बोल्ड विषयमा अभिनय गरिन् भन्ने तपाईंलाई चासो हुनसक्छ । दीप्तिका पिता न्युयोर्कस्थित सिटी युनिभर्सिटीमा पढाउँथे । त्यहीँ हुर्किंदा उनमा समाजका कयौँ चालचलनप्रति विद्रोह पलाएको बुझ्न सकिन्छ । यो फिल्म भारतभरि व्यापक रूपमा चल्न सकेन । किनभने, माथि नै भनिसकियो, त्यो समय भनेको जय सन्तोषी माँजस्ता फिल्मको थियो । विवाहेत्तर सम्बन्धलाई सामान्य दर्शकले पचाउने कुरै थिएन । तर यो फिल्मले उनलाई वैकल्पिक धारका फिल्महरू निर्देशन गर्नेहरूबीच लोकप्रिय भने बनायो ।

आज हामी सटर्डे सिनेमामा यही बोल्ड सिनेमा अवलोकन गर्नेछौँः