चित्रकारहरूमध्ये सबैभन्दा खराब चरित्र भएकामा गनिइन्छन्, पाब्लो पिकासो । उनले महिलाहरूमाथि गर्ने गरेको एउटा टिप्पणी निकै कुख्यात छ । उनी भन्थे, ‘यो संसारमा दुई किसिमका महिला हुन्छन् । पहिलो, देवी अनि दोस्रो भने डोरम्याट !’
२० औँ शताब्दीका केही महानतम् कला सिर्जना गर्ने पिकासोलाई केहीले जिनियस उपनाम दिन्छन् । उनलाई २१ औँ शताब्दीको लेन्सले हेर्ने हो भने उनी जत्तिको घामड चित्रकार कोही छैनन् भन्ने लाग्छ ।
पिकासोका नाती ओलिभर विडमेर पिकासोसँग द अब्जर्भर नामक पत्रिकाले गरेको कुराकानीमा आफ्नो बाल्यकालमा हजुरआमा मेरी थेरेस वाल्टरले निकै मिठा कुरा सम्झने गरेको स्मरण गर्छन् ।
त्यसो त पिकासोले छोरी माया जन्मनेबित्तिकै मेरी थेरेसलाई छाडेका थिए । तापनि, जीवनभर हजुरआमाले पिकासोका बारेमा यसरी कुरा गर्थिन्, मानौँ, पिकासोसँगै छिन् । पिकासोसँग मानौँ बात मारिरहेझैँ उनले धेरै कुरा स्मरण गर्ने गर्थिन् ।
पिकासोले पछि बेली नृत्याङ्गना ओल्गा खोख्लोभासँग बिहे गरेका थिए । खासगरी श्रीमती मेरी घरमा नभएको मौका पारेर पेरिसमा १९२७ मा बिहे गरेका थिए । ओल्गा त्यो बेला १७ वर्षकी थिइन् भने पिकासो ४५ वर्षका थिए । यसरी २८ वर्षको उमेर अन्तरका बाबजुद ओल्गा पिकासोप्रति मोहित भइन् ।
ओल्गाको प्रेरणाले नै आफूले द ड्रिम शीर्षकको चित्र १९३२ मा कोर्न सकेको पिकासोले बताउने गरेका थिए । तर लगत्तै उनले ओल्गालाई छाडेर डोरा मार नामक फोटोग्राफर तथा चित्रकारसँग बस्न थालेका थिए ।
नाति ओलिभरले हजुरबुवालाई सम्झँदै भनेका छन्, ‘मेरा हजुरबुवा स्त्री भनेपछि हत्ते गर्थे । उनको हरेक स्त्रीसँगको प्रेम सम्बन्ध निकै राशलीलापूर्ण मान्न सकिन्छ । मेरी हजुरआमालाई यो कुरा थाहा थियो । ज्यादै प्रतिभाशाली मानिस स्त्रीका मामिलामा ज्यादै कमजोर हुन्छ भन्ने बुझेकाले उनले कहिल्यै पनि हजुरबालाई नराम्रो मानिनन् ।’
माया जन्मनेबित्तिकै डोरा मारसँग पिकासो सल्केको मेरीलाई थाहा थियो । यदि आफू एक नम्बरकी स्त्री हुन सक्दिनँ भने तेस्री, चौथी बनेर बस्न नसक्ने भन्दै पिकासोलाई पारपाचुके दिएकी थिइन् ।
डोरा मारलाई भने पिकासोले ज्यादै यौन हिंसा गर्ने गर्थे भन्ने विभिन्न प्रमाणमा देखिएको छ । तर नाति ओलिभर भन्छन्, ‘ज्यादै प्रतनिभाशाली मानिसहरू अप्ठेरा हुन्छन् । तिनीहरूसँगको सम्बन्ध ज्यादै अप्ठेरो हुन्छ । कतिपय कुरा मन नपरे पनि स्वीकार्नु पर्ने हुन्छ । उनीहरू जे कुरा पनि अलि बढी नै माग गर्ने, अपेक्षा गर्ने हुन्छन् । यौनका मामिलामा पाब्लो अलि बढी नै माग गर्ने रहेछन् भन्ने उनको जीवन नियाल्दा थाहा हुन्छ ।’
पछिल्लो समय मीटूको अभियान चलाउनेहरूले पाब्लो पिकासोको विगत पनि समीक्षा हुनुपर्ने बताइरहेका छन् । अमेरिकाको न्युयोर्कस्थित द ब्रुकलिन म्युजियमले हालै एउटा प्रदर्शनी गरेको थियो, जसको शीर्षक थियोः इट्स पब्लोम्याटिक ! प्रदर्शनीमा उनको जिनियसपनासँगै उनको महिलाप्रतिको दुर्व्यवहारको समेत चर्चा गरिएको थियो ।
पिकासोमाथि केही वर्षअघि नेसनल जियोग्राफिक न्युज च्यानलले द जिनियसः पिकासो शीर्षकको बायोग्राफी बनाएको थियो । त्यसको निकै चर्चा भए पनि त्यसले मीटू अभियानलाई नसमेटेको भन्दै आलोचना भएको थियो । यतिबेला बिबिसीले भने उनको महिला हिंसाका कोणलाई समेट्दै नयाँ शृंखला बनाउँदैछ, पिकासोः द ब्युटी एन्ड द बिस्ट ।
सो डकुमेन्ट्रीमा १९७३ मा पिकासोको निनधन हुँदा संसारैले दुःख मानेको बताएको छ । २० औं शताब्दीको कला नै मरेझैँ उनको निधनमा दुःख व्यक्त गरिएको थियो । उनले दुई वटा विश्वयुद्ध झेले, त्यो बेलाको आतंक, आशा र दुःख बेहोरे । उनको कला ज्यादै क्रूर देखिएला तर त्यसले भोगाइको सुन्दरता पनि उत्तिकै देखिएको छ । उनको निजी जीवन पनि द्वैधताको नमुना हो ।
नाति ओलिभर भन्छन्, ‘जब तपाईं विगतको मूल्याङ्कन वर्तमानमा गर्न थाल्नुहुन्छ, त्यहाँ अप्ठेरो अवस्था आइलाग्छ । ५० वर्षअघि मरेको मान्छेलाई यतिबेला हिलो छ्याप्नु साह्रै हिम्मतिलो काम हो भन्ने मलाई लाग्दैन ।’
बिबिसीले पिकासोको अँधेरो पक्ष समेटेर उनको वास्तविक मूल्याङ्कन गरेकामा भने ओलिभर खुसी छन् । उनी भन्छन्, ‘मेरा हजुरबाको व्यक्तिगत जीवन, उनका विविध आयाममा टिप्पणी गर्न सक्नुहुन्छ । गर्नोस् पनि । तर उहाँको योगदानलाई भने तपाईंले बिर्सन पाउनु हुन्न ।’
पिकासोको निधनपछि मेरीले ६८ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । मेरीको जीवनमा पिकासो अगाडि पनि कोही पुरूष थिएनन्, पछि पनि कसैसँग उनले बिहे गरिनन् । पिकासोको नयाँ शैली जन्माउन उनले भूमिका खेलेको दाबी स्वयं पिकासोले गर्थे ।
नाति ओलिभर भन्छन्, ‘जब जब म प्रदर्शनीमा जान्छु र मेरी थेरेस शीर्षकको चित्र हेर्छु, आहा.. मेरी हजुरआमा भनेर खुसी हुन्छु । उनलाई हजुरबाले अमर बनाइदिए । यो देख्दा चाहिँ उनका सयौँ गल्ती माफ गरिदिन्छु ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।