शान्तिमा क्रान्ति र क्रान्तिमा शान्ति भरिदिनसक्ने शक्ति भएको कलम जुन व्यक्तिमा छ लेखक त्यही हो । सच्चा लेखकको लेखमा चुम्बकीय शक्ति हुन्छ र देश, जाति, संसारलाई समेत आफूतिर खिचेर ल्याइदिनसक्छ ।

उसले भक्ति–रसमा लेखोस् त पाठकको मन ऐले नै घरबार छोडेर भक्तिमै जीवन बिताऊँ जस्तो हुन्छ । करुणमा लेखोस्, हेर्नेको आँखाबाट आँसु बहन थाल्दछ । शृङ्गारमा लेखोस्, वृद्धको शरीरमा पनि नवजीवन आउँछ । वीररसमा लेखोस्, बलिदानको निमित्त बेदीमा जान सब तैयार हुन्छन् ।

यस्तो खूबी जुन लेखकमा छ वस्तुतः सफल लेखक त्यही हो ! यस्तै लेखकहरूको पृथ्वीमा आवश्कता हुन्छ कदर हुन्छ । यस्तै लेखक संसारका विभूति हुन् । कागत मसीको बरबाद गर्ने जो कोही मानिसलाई म लेखक भन्न सक्तिनँ । ती ता केवल छापाखानाका ग्राहक मात्र हुन् ।

जुनसुकै देशमा पनि सफल लेखकहरू राज्यका प्राणवायु हुन् । त्यसकारण चतुर राजनीतिज्ञहरू यिनीहरूलाइ ठीक स्थानमा राखेर आफ्नो हरेक कार्यमा यिनीहरूबाट ठूलो सहायता पाउँछन् । जो शासक राजनीतिमा अनभिज्ञ छन् ती यिनीहरूलाई प्रत्येक विषयमा बाधा दिन्छन्, चिढाउँछन्, दबाउँछन् ।

फलतः केवल कन्दुकलाइ भूमिमा पछारेझैँ हुन्छ । ऊ झन् उफ्रन्छ र आफूलाई समेत टपेर माथि पुग्दछ । जहाँसम्मन् शासक र लेखकको बीचमा पारस्पारिक मेल रहन्छ त्यहाँसम्मन् त्यो देशमा सम्पूर्ण कला, विज्ञान, वाणिज्यको अतुल वृद्धि भएर गइरहेको हुन्छ ।

जब यी दुईको बीचमा वैमनस्य बढ्न थाल्छ अनि त्यस देशको नाशको दिन आयो भनेर जाने हुन्छ– जसरी दर्शनढुङ्गो र चकमकको संघर्षमा झुलो जलेर भस्म हुन्छ ।

फेरि लेखकहरू बडा टेढा हुन्छन्, चाहे घरमा एक गाँसको सावगास नहोस् । यिनीहरूलाई ठूलो जतनले जुक्तिले आफ्नो राहमा ल्याउनुपर्छ । एउटा तोपको नालमा जति शक्ति छ त्यसको कैयौँ गुना बढ्ता तागत लेखकको एक बित्ताको कलममा हुन्छ ।

जुन काम परमाणु बमले गर्न सक्दैन त्यही काम लेखकको कलम गर्न समर्थ हुन्छ । फेरि अर्को दृष्टिकोणबाट हेरौं ता लेखकको त्यही लेखनी मिस्री मिलाएको मक्खन जस्तो हुन्छ– अति सुन्दर, अति नरम, अति मधुर ।

लेखकहरू बाउँठा र टेढा मात्र होइनन् अतिशय अभिमानी पनि हुन्छन् । अभिमान त हुनुपर्छ । स्वाभिमान नभएको लेखक थाङ्नो लुगा अथवा रोगी च्याङ्ग्रो जस्तो हो । तर आफ्नो अभिमान समुद्रले वडवानललाई जस्तो गरेर दबाएर राख्नुपर्छ, ज्वालामुखी पहाडले जस्तो भूकम्प गराउने होइन– आगो, खरानी, धूवाँको मुस्लो फ्याँक्ने होइन । यत्रतत्र अभिमानका ज्वाला फिँजाएर हिँड्ने लेखकको सुयश त्यसैको आँचमा परेर भस्मीभूत हुन्छ ।

फेरि कतिपय लेखकहरू स्वयं आत्मप्रशंसा र अर्काको कटु आलोचना गर्छन् । यस्तो व्यवहार ता सर्वथा अनुचित हो, लज्जाजनक हो । सम्पूर्ण लेखकहरू आफ्ना आफ्ना कार्य यही संसारमा छोडेर जान्छन् । भविष्यका विचारवान्, निष्पक्षपाती आलोचकहरूले ती सबैको गुण र अवगुण दूधको दूध पानीको पानी गरेर छुट्टयाइदिइहाल्छन् नि ।

अहिले कुनै लेखकले पनि आफ्नो तारीफको झ्याली पिटेर हिँड्नु पर्दैन । पित्तल हो कि, जलप हो कि, सुन हो, सुन भए कुन दागको हो पछिपछिका सुनारहरूले कसीमा दलेर चासनीमा दाँजेर धमाधम बताउन थाल्छन् । अहिले हामीले ‘यो मेरो अकबरी सुन हो’ भनेर के गर्ने ?

अब लेखकको शैली कस्तो हुनुपर्छ भन्ने विषयमा विचार गरौं । शैली बालकको तोतेबोली जस्तो— उति मीठो उति सरल । मैदानको नदी जस्तो एक प्रवाहले बहेर गएको । आकाशको मेघ जस्तो ठाउँ ठाउँमा नवीन विचारको बिजुली झल्केको ।

साना साना वाक्य र सजिला सजिला शब्द प्रयोग भएको शैली, त्यही शैलीमा आफ्नो मौलिक विचार प्रकट गर्न सक्ने शक्ति, यी दुई कुरा लेखकले पाउनुपर्ने प्रसाद या वरदान हो । जो जति ठूलो लेखक छ उसको शैली र भाव उही अनुपातमा सरल हुन्छ । सरलता यो एउटा ज्यादै ठूलो गम्भीर गुण हो ।

क्लिष्ट लेखक लोकप्रिय हुँदैन । संसारका कुनै भाषाभाषीले पनि उसलाई सर्वोच्च स्थान दिन सक्दैन । तै, शब्दको क्लिष्टतासम्म ता कोषले हटाउन सक्छ । तर भावको क्लिष्टता भने फलामको चिउरा जस्तो हुन्छ ।

आफ्नो विचार देशमा कसैले बुझ्न सकेनन् भने त्यो दोष देशको होइन, लेखकको हो । संस्कृत साहित्यमा कालिदास किन सर्वश्रेष्ट कवि ठहरिए ?— सरल शैली, सरल भाव । मेरो भनाइ भाव गहिरो नहोओस् भन्ने होइन, गहिरो होओस् तर धमिलो पानीमा होइन, निर्मल जलमा तल पिँधसम्म छर्लंग देखियोस् ।

जस्तै, ठूलाठूला महात्माको जीवनमा सरलता झल्किएको हुन्छ, त्यस्तै सफल लेखकको लेखाइमा पनि सरलता नै देखिएको हुनुपर्छ ।

लेखकले प्रत्येक दिन आफ्नो केही समय अध्ययनमा पनि लगाउनुपर्छ । तर जुन किताब पठन गरिन्छ, मनन गरिन्छ, त्यो ज्यादै उच्च र महान् विचारको हुनुपर्छ । गन्दा उपन्यास छुनु पनि पाप हो ।

फेरि अर्को कुरा, लेखकले धेरै समय अध्ययनमा मात्र बिताइरहनु पनि हुँदैन । यसो गर्नाले अर्काको विचारले आफ्नो मस्तिष्क भरिन्छ र आफ्नो कल्पनाशक्तिको दिनप्रतिदिन ह्रास हुँदै जान्छ ।

लेखकको अधिकांश समय अनुभव, चिन्तन, लेखनमा नै लगाएको हुनुपर्छ । अनुभव दुई किसिमका हुन्छन्, प्राकृतिक र सामाजिक । प्राकृतिक अनुभव, प्रकृतिका प्रत्येक वस्तु जस्तै— चौपाया, पक्षी, कीट पतंगादी, वृक्ष, पुष्पादि, जलस्रोत, हिमालय, इन्द्रधनु, अरुण, क्षितिज इत्यादि हजारौं कुराको अवलोकन र निरीक्षण गर्नु हो ।

सामाजिक अनुभवचाहिँ यता राजदरबारदेखि लिएर किसान घरबारसम्मको, उता योगीको कुटीदेखि लिएर गणिकाको कटीसम्मको, जहाँसम्म हुन सक्छ ज्यादा जानिफकार हुनु हो ।

जति जति अनुभव बढ्दै जान्छ उति उति नयाँ नयाँ कल्पना पनि स्फुटित हुँदै आउँछ । अनुभव कल्पनाको आधार हो । कल्पना अनुभवको सार हो यानी अनुभव दूध र कल्पना मक्खन हो ।

हुन त हो, मनुष्य मात्र संयमी हुनुपर्छ । झन् उसमाथि लेखक, प्रख्यात ताराको त के कुरा । तर संसारभरका लेखकहरूलाई चरित्रपटमा अङ्कित गरेर हेर्यो भने धेरैजसो पतित नै देखिन्छन्–कोही सुर्तीमा, कोही सुरामा, कोही सुन्दरीमा ।

लेखकहरूमा प्रतिभा हुन्छ, अध्यवसाय हुन्छ, उदारता हुन्छ । तर प्रयाशः चरित्र, आचार, आदर्श हुँदैन । नैतिक दृष्टिबाट हेरेको पक्षमा (प्राचीन लेखक गतात्माहरूलाई यहाँ किन व्यर्थ आह्वान गरूँ ?) अधिकांश अर्वाचीन लेखकहरू बेपत्ता हुन्छन् ।

जे होस्, चन्द्रमाको कलङ्कलाई ज्योत्स्नाले ढाके झैँ यिनीहरूको दोषलाई पनि कलाले छोप्दछ र अन्तमा यिनीहरू संसारभर पीयूष वर्षा गरिदिन्छन् ।

प्रायः सब लेखकहरूको अन्तःकरणमा म सारा ठाउँमा प्रसिद्ध होऊँ, मलाई संसारले चिनून्, मेरो प्रशंसा स्कूल, कलेज, घर–घरमा होओस्, मेरो मृत्युको पश्चात् पनि मलाई कसैले नबिर्सिऊन्, म कालान्तरसम्म अमर भइराखेँ भन्ने यही आन्तरिक आशा हुन्छ ।

यसैमा झुण्डिएर उनीहरू अविच्छिन्न परिश्रम गरेर किताब लेख्छन्, प्रकाशन गर्छन् । मुखले ता उनीहरू यो मेरो परिश्रम केवल भाषा–सेवाको निमित्त हो भन्दछन् । तर त्यो उनीहरूको बनावटी कुरा हात्तीको देखाउने दाँत हो ।

संसारमा निःस्वार्थ सेवा गर्ने पुरुष ता लाखमा एक होला – त्यही पनि मुश्किलले । अनुसन्धानबाट संस्कृत भाषामा यस्ता ग्रन्थहरू प्राप्त भएका छन् । जसमा ग्रन्थकारको नाम छैन !!

म त तिनै लेखकलाई मान्दछु जसलाई आफ्नो प्रख्याति र अमरत्वको कत्ति पनि परवाह हुँदैन । प्रश्न उठ्तछ, तब ऊ लेख्छ किन ?— आफ्नो आनन्दको निम्ति, सोखको निम्ति । कसैलाई रिझाउनको निम्ति होइन । कसैबाट भएको प्रशंसा सुन्नको निम्ति होइन ।

कोइली किन गाउँछ ? — आफ्नो आनन्दको निम्ति । मजूर किन नाच्छ ? — आफ्नो सोखको निम्ति । कसैको अधीनमा न कोइली गाउँछ, न मजूर नाच्छ, न लेखक एक हरफ लेख्दछ ।

जब हृदयमा भावका लहरी उर्लेर आउन थाल्छन् अनि ऊ स्वयं लेख्न तत्पर हुन्छ । अमर, अजम्बर हुनाको लागि किताब लेख्न लेखकहरूप्रति मेरो सदैव सहानुभूति छ । कत्रा कत्रा सम्राटले पहाडका चट्टानमा खोपेर राखिएका अक्षर, प्रस्तर स्तम्भमा कुँदेर राखिएका अक्षर त कालले गर्दा नासिएर गए, नेस्तनाबूद भए भने उनका कागजी किताबमा उनी जस्ताले लेखेका मन्थन (साहित्य) कति रहला र उनी अजम्बर होलान् ? एकछिन विचार गरौं त ।

कालिदास र उनका आत्मीय मित्रमा— कालिदास आजसम्म प्रख्यात छँदै छन्, उनका मित्रलाई कसैले पनि चिन्दैनन् । अब यसबाट कालिदासलाई के लाभ भयो ? उनका मित्रलाई के हानि ? लेख लेख्ने अमर हुनाको निम्ति होइन, आत्मा विनोद या आत्मानन्दको निम्ति !

दुनियाँ आफ्ना आफ्ना नशामा मस्त छन्— शराबी शराबमा, गँजडी गाँजामा, भक्त भजनमा, व्यापारी अर्थोपार्जनमा, विद्यार्थी पुस्तकमा, त्यस्तै प्रकार लेखक पनि आफ्ना लेखाइको नशामा मस्त छ ।

ऊ केही न केही नलेखीकन बस्नै सक्दैन । कथंकदाचित उसले लेख्न पाएन भने अफीमको अभावमा अफीमची जस्तो छटपटिन थाल्छ । लेखकहरूलाई, सच्चा लेखकहरूलाई, सजाय दिनुपर्यो भने झ्यालखानामा हाल्ने होइन, किनभने संसार नै उनीहरूको कल्पनामा एउटा झ्यालखाना तुल्य छ ।

अतः झ्यालखाना ता उनीहरूलाई झन् एकान्तको स्थान पो हुन जान्छ । उनीहरू ता त्यहाँ रमाउँछन् । मुफ्तको भोजन ! मुफ्तको वास ! सुरक्षित स्थान ! उनीहरूलाई कडा सजाय दिनुपर्यो भने हरेक कुरामा स्वतन्त्रता किन्तु कलम, मसी, कागत भने बिलकुल छुन पाइँदैन । बस, योभन्दा ठूलो सजाय, कष्ट, यातना लेखकहरूलाई आर्को केही पनि हुन सक्दैन ।

लेखकलाई आनन्द कहाँनिर हुन्छ त ? जब उसको हृदय भाव, रसले व्याप्त भएर आउँछ र अंकित गर्नलाई जसै ऊ कलम समात्दछ त्यस बखत ऊ परमानन्दको अनुभव गर्छ ।

ती भावहरू वाक्यमा प्रकट गर्नमा पनि आनन्द छ, तर केही कम— कलम घोट्नुपर्यो, ठीक ठीक शब्द छान्नुपर्यो । साफी गर्नु वृथा दुःख हो । समितिमा पास गराउनु एउटा भन्झट हो, लंठा हो । (आफ्नो किताबमा जब समितिले दुई चार हरफ काटिदिन्छ त्यस बखत लेखकलाई असह्य आन्तरिक बाधा हुन्छ कुनै जल्लादले आफ्नै आँखाको अगाडि नवजात शिशुको हत्या गरिदिँदा पिताको हृदय कस्तो हुन्छ ?

त्यसपछि किताब छपाउनु घरमा वास गरेकी लक्ष्मीलाई घोक्र्याउनु हो । प्रुफ हेर्नु आधा मर्नु हो । पुस्तक बिक्रेताहरूसित रुपियाँ उपर गर्नु आफ्नो दरिद्रता देखाउनु र निरर्थक कृतज्ञताको पात्र बन्नु हो ।

पाश्चात्य लेखकहरू यसैबाट मालामाल हुन्छन् । भारतवर्षमा लेखकहरूको अवस्था उत्तिको सन्तोषजनक छैन । तथापि येनकेन दाल–रोटीसम्म चलेकै हुन्छ । नेपाली लेखकको निमित्त भने ती सबै स्वप्नवत् भइरहेछन् । साहित्य–सेवा, पञ्चाग्नि–तपस्या र निराहार–व्रत भएको छ ।

विद्यार्थीहरू सफल लेखकलाई देखेर कल्पन्छन् । हामी पनि त्यस्तै हुनसके हुन्थ्यो भन्ने इच्छा गर्छन् । बाबु हो ! हिमालय टाढाबाट हेर्दा सुन्दर देखिन्छ । जो नजिकै पुगेको छ उसलाई त्यहाँको सबै गुह्य थाहा हुन्छ ।

साधारणतया धेरै किताबहरू प्रकाशित गरिसकेका प्रख्यात लेखकहरू सबै देशमा प्रतिभाशाली उत्तम व्यक्ति भन्ने सम्झिन्छन् । वास्तवमा त्यो अविवेकी विचार हो । संसारमा जति सुप्रख्यात यशस्वी लेखकहरू छन् ती ता केवल मध्यम श्रेणीका प्रतिभाशाली हुन् । महान् प्रतिभाशालीहरू ता कुनै दुर्गन्धी गल्लीको कुनै अँध्यारो कोठामा कंटकमय संकटमय जीवन बिताइरहेछन्–क्षीण परिस्थितिले ! जीर्ण दरिद्रताले !

यो पृथ्वीको गर्भमा, ‘कोहेनूर’ भन्दा पनि अमूल्य रत्नहरू जति भने पनि छन् । तर तिनीहरू आफ्नो अभावले गर्दा संसारमा उज्ज्वल भएर निस्कन सकेनन्, प्रकट हुन सकेनन् । पहाडले, चट्टानले, पत्थर पत्थरले थिचिएर किचिएर अनन्त कालदेखि अचेत भएर दबिरहेका छन् ।

फेरि कति महान् प्रतिभाशाली पुरुषहरू ता स्वास्थ्यले विवश छन्, कति आलस्यले । (अल्छीको उपर ता मेरो तिलभर पनि सहानुभूत्ति छैन । यो व्यक्तिचाहिँ आफ्नो साथ कैयौँ किसिमका औषधि भएर पनि गरीब बिरामीलाई नदिने दुष्ट वैद्य जस्तै हो ।)

अन्तमा ती अप्रख्यात व्यक्तिहरूको उपर आँसु चुहाएर म यो प्रबन्ध पनि समाप्त गर्छु जसको प्रशस्त प्रतिभा छ, स्वास्थ्य छ, जाँगर छ तर जटिलबद्ध छन् उही परिस्थितिले दरिद्रताले, साम सबेरको समस्याले !!

‘पन्ध्र प्रबन्ध’बाट