मेरा हर घडीका जपना,
तिमी आज सपनामा आए !
आज आशाको पिलपिले बत्ती लिएर यो आधा रातमा
म आफूलाई निद्राको घोर जङ्गलमा छोडिदिन्छु
बत्ती हुरीमा निभ्ला, म अलमलिउँला,
केही छैन,
तिमी मेरो पुग्ने ठाउँ झैँ एक्कासि देखा मात्र परे,
तिमी आज मेरो सपनामा आए !
सपनामा तिमी शुरुशुरु आउन सक्छौ,
न पर्खाल, न पहरा,
बिनाको पखेटा सपना हो
चाहन्छौ भने उडेर आउन, को रोक्छ ?
मन लागे तिमी दुष्यन्त भएर आऊ,
म शकुन्तला झैँ फूलको सुसारमा हुन्छु ।
अथवा कथाका राजकुमार झैँ देश भ्रमण गर्दागर्दै
राक्षसले लुटिएको सुनसान शहरमा आइपुग,
एकलासको बगैँचामा सुतिरहेकी मलाई एक्कासि फेला पार,
मलाई बाबु आमा भन्न कर परिरहेका राक्षसहरूबाट
छुटकारा दिन कम्मर कस,
म राक्षसहरूलाई आँसुले छकाएर
तिनीहरूको काल पत्ता लगाइदिन्छु,
तिमी उनीहरूलाई मार, मलाई हर !
अथवा मलाई झुक्यानमा पारेर यस्तो बेलामा आइपुग
जब म मेरो लाज र सङ्कोचको
पातलो घुम्टो र सप्को हाल्ने बहानासम्म गरूँ,
बल गर्न नसकूँ ।
तिमी आऊ,
विपनाको हराएको मणि नै सपना न हो
पृथ्वी पनि त निद्रा जस्ता गहिरा समुद्रको पानीमा
स्वर्गको दौलत चन्द्रमा र तारा पाउँछिन् ।
मेरो राजा,
मेरा परेला निद्राले भारी हुँदै आए,
तिमी आज सपनामा आए !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।