झण्डावाल र झण्डाविनाका एक दर्जन जति गाडी १५ मिनटभित्र लगालग दरवारको हातामा दाखिल भए । गेटमा तैनाथ सैनिकले प्रत्येक गाडीलाई गडयाम्म स्यालुट हाने र औपचारिक पोशाकमा सजिएका कर्मचारीले आगन्तुकलाई झुकेर नमस्कार गरे । गाडीबाट ओर्लिएका थिए, सत्तारूढ र विपक्षी दलका वरिष्ठ नेताहरू अनि केही प्रभावशाली मन्त्रीहरू ।

शुरूमै भनिदिऊँ, यो तपाईं–हामी कसैले कहिल्यै भ्रमण नगरेको क–ख–ग–घ देशको कथा हो, जहाँका चालचलन अलि अनौठा थिए । त्यहाँ प्रधानमन्त्रीलाई ‘प्रभु’ शब्दले सम्बोधन गरिन्थ्यो र उनको आवासलाई दरवार भनिन्थ्यो । शासनका ‘गौरवशाली’ परम्पराको पालन गर्न सत्तापक्ष र प्रतिपक्षबीच कहिल्यै मतभेद हुँदैनथ्यो । कसैले बाटो बिरायो भने सबै मिलेर उसलाई मूलबाटोमा ल्याउँथे र भूलचूक लिने–दिने गरिन्थ्यो । यो त्यस्तै एउटा घटनाको कुथुङ्ग्री हो ।

अघिल्लो दिन प्रभुले एक जनालाई राज्यको एउटा महत्त्वपूर्ण पदमा नियुक्त गरेका थिए, जसले सत्तापक्ष र प्रतिपक्ष दुवैलाई झस्काएको थियो । आफ्नो निर्णय सही ठाउँमा नपरेको महसूस गरेर स्वयं प्रभु समेत चुकचुकाइरहेका थिए । यसैबारे विमर्श गर्न आज दरवारमा निम्त्याइएको थियो, हिजो सरकारको नेतृत्व गरिसकेका र भोलि नेतृत्व गर्न सक्ने सबै पक्षका नेताहरूलाई । क–ख–ग–घ देशको भाषामा भन्दा त्यो भूतपूर्व, वर्तमान र भावी ‘प्रभु’ हरूको जमघट थियो ।

‘हिजो गरिएको राजनीतिक नियुक्तिले हामीलाई स्तब्ध बनाएको छ,’ सत्तारूढ पार्टीका वरिष्ठ नेताले विषय प्रवेश गरे, ‘त्यो मान्छे इमान्दार छ, घूस खाँदैन र काम गरेर देखाउने खालको छ । त्यस्ता मान्छे ल्याउन थालेपछि हामी कहाँ पुग्छौं ? पार्टी कसरी चल्छ ?’

अर्का वरिष्ठले थपे, ‘नियमानुसार काम हुन थाल्यो भने हामीकहाँ काम मिलाइमाग्न कुन व्यापारी, कुन तस्कर, कुन ठेकेदार, कुन बिचौलिया आउला ? घूस नख्वाई काम हुने भएपछि हामीलाई कसले कमीशन देला ? को ब्रीफकेस बोकेर हामीकहाँ धाउला ? अनि हामी सकिएनौं ? हाम्रै हातमा केही नपरेपछि पार्टीलाई के बुझाउने ? राजनीति कसरी गर्ने ?’

‘इमान्दार मान्छे आएपछि अर्थोक त कुरै छाड्नोस्, जाबो सय–पचास जना कार्यकर्तालाई जागीर ख्वाउन पनि नसकिने रहेछ,’ एउटा मन्त्रीले अनुभव सुनायो, ‘एकपल्ट म त्यस्तैको फेला परें । दशचोटि जति भनें होला, सुन्दैन त । जहिले पनि ‘अहिले मान्छे चाहिएको छैन, चाहिएपछि राखौंला’ भनेर टार्‍यो । न हप्काउँदा हप्किन्छ, न तर्साउँदा तर्सिन्छ । उता कार्यकर्ता रिसाएर छुट्टी । आफ्नो राजनीति नै भाँडिएला जस्तो भयो ।’

‘यो इमान्दार मान्छे भनेको डरलाग्दो भाइरस हो,’ अर्काले भन्यो, ‘मन्त्रालयको एउटा प्रोजेक्टमा एकपल्ट यस्तै घामड आइलागेको थियो । तलब भत्ता बाहेक एक पैसा नखाने । उसको डरले अरूले पनि खान बन्द गरे । न खान्छन्, न मैले भनेको काम गर्छन् । उता व्यापारी र ठेकेदार दंग । आफ्नो हातमा चाहिं सुको पर्‍या होइन— न कुनै खरीदमा, न ठेक्कापट्टामा । केही नलागेपछि दुई लाख जति खर्च गरेर बल्लबल्ल एउटा यौनकाण्डमा फसाइदिएँ र हटाएँ । अहिले आनन्द छ ।’

‘एउटा इमान्दार मानिसले सिंगो सिस्टमलाई निकम्मा बनाइदिन्छ,’ थोत्रो फिल्मी डाइलगको नकल गर्दै वरिष्ठ नेताले प्रभुलाई सम्बोधन गरे, ‘वर्तमान परिप्रेक्ष्यमा यस्तो कमजोरी भयो चाहिं कसरी ?’

‘म झुक्किएँ । सालीले आफ्नो पुरानो ब्वाइफ्रेन्ड हो, जसरी पनि राखिदिनू भनेर निकै घिडघिडो गरी, मैले हार्नै सकिनँ । तपाईंहरू नै भन्नोस् न, गर्लफ्रेन्ड मार्फत सोर्स लगाउने मान्छे नैतिक र इमान्दार होला भनेर कसरी अनुमान गर्नु ? इमान्दार छ भन्ने अलिकति मात्र पनि सुइँको पाएको भए त्यस्तो अवाञ्छनीय तत्त्वलाई किन नियुक्त गर्थें ?’ प्रभुले आश्वस्त बनाए, ‘जे भयो, भैगयो । मलाई पनि एकदमै पछुतो छ । अब कान समातें, भविष्यमा यस्तो कमजोरी हुनेछैन । बेइमान छ, घुस्याहा छ, संस्था डुबाएर भए पनि ब्रीफकेस लिएर आउँछ भन्ने सुनिश्चित भएपछि मात्रै कसैलाई पनि नियुक्त गर्नेछु । सबै जना ढुक्क हुनोस् ।’

‘तपाईंहरूको सरकार छ, जसलाई मन लाग्छ, के भनेर भन्देखि उसलाई नियुक्ति दिनोस् । हामीलाई कुनै आपत्ति छैन,’ विपक्षी दलका वरिष्ठले भने, ‘तर करजोरी बिन्ती छ, इमान्दारलाई बिल्कुलै नियुक्ति नदिनुहोला । नत्र भोलि हामीलाई पनि अप्ठ्यारो पर्छ ।’

‘इमान्दार मान्छे नियुक्त भयो भने चुनावका वेला हामीलाई गाली गर्न नपाइएला भनेर हो कि क्या हो ?’, एउटाले जिस्क्यायो ।

‘तपाईं चूप लाग्नोस्,’ नेताजी जंगिए, ‘हामी आजसम्म एउटा पनि इमान्दार मान्छेको पक्षमा उभिएको देख्नुभा छ ? आफ्नै पार्टीका सर्वोच्च नेता, सन्त नेता, त्यागी नेताहरूलाई पाखा लगाएर आएको देख्नुभा छैन ? इमान्दारलाई हामी कसरी हेर्छौं भन्ने कुराको योभन्दा ठूलो प्रमाण के चाहियो ?’

उनी गम्भीर भए, ‘राजनीति आफ्नो ठाउँमा छ । आज तपाईंहरू सत्तामा हुनुहुन्छ, भोलि हामी पुगौंला । तर सिस्टम त बिगार्न भएन नि । एउटा इमान्दार मानिसले सिंगो सिस्टमलाई निकम्मा बनाइदिन्छ भन्ने हामीलाई थाहा छैन र ?’

‘हो त, हाम्रा साना दु:खले आर्ज्याको सिस्टम होइन’, ख्याउटे अनुहारका चश्माधारीले गोर्खाली भाका निकाले, ‘सिस्टम भएकै कारणले मैले चलखेल गर्न पाएको छु, श्रीमतीले रजगज गर्न पाएकी छन् । नत्र हामी आज के गर्दै हुन्थ्यौं, के थाहा †’

‘कुरो अलिकति गम्भीरै छ,’ कुम उचाल्दै अर्काले भने, ‘मने, त्यत्रो रक्तपात मच्चाएर आज यहाँ आइपुगिया छ । सबैतिर इमान्दार मान्छे नियुक्त हुन थाले र हामीले तलब–भत्ताको मात्र भरमा बस्नुपर्ने भयो भने मरेको जुनी भएन ? हामीले घर, जग्गा, गाडी, टावरहरू कसरी जोड्ने ? स्विस बैंकमा पैसा कसरी जम्मा गर्ने ? त्यत्रो क्रान्ति गरेको के फाइदा भो ? जोगी बन्न राजनीति गर्‍या हो र ?’

‘ठीक भन्नुभो, नियुक्ति भनेको जहिले पनि भ्रष्ट र बेइमानलाई मात्रै दिनुपर्छ,’ सर्पले झैं जिभ्रो नचाउँदै अर्का वरिष्ठले व्याख्या गरे, ‘त्यसले हामीले भनेको मान्छ । नियम मिचेर काम गर्छ । दलाल, बिचौलियासँग आफैंले कुरा मिलाउँछ । आफू पनि खान्छ र हामीलाई पनि टन्न ख्वाउँछ । पदबाट हटे पनि बफादार भइरहन्छ । बदनाम भए उही हुन्छ । आवश्यकता पर्‍यो भने उसलाई कार्वाही गरेर आफू पानीमाथिको ओभानो हुन पाइन्छ । भ्रष्टाचारीको कलंक उसलाई लाग्छ, मालामाल चाहिं आफू भइन्छ । योभन्दा बुद्धिमत्तापूर्ण कुरा के हुन सक्छ ?’

‘हो नि । इमान्दार चैं हाम्रा लागि बाँदरको पुच्छर लौरो न हतियार हो । त्यसबाट दुई कौडीको फाइदा छैन,’ एउटा मन्त्री बोल्यो, ‘फेरि कस्तो भने, दुनियाँले उसकै प्रशंसा गर्छ, उही हीरो हुन्छ । उसलाई उदाहरण देखाएर मानिसले हाम्रो निन्दा गर्छन् । यो सब देखेर कसरी बाँच्नु ?’

‘त्यही भएर त, हामी सबैले यस्तो वातावरण बनाउनुपर्छ कि इमान्दार शब्द नै गाली जस्तो होस् । मान्छेलाई इमान्दार हुँ भन्दा लाज लागोस् । हीनताबोध होस्,’ वरिष्ठ नेताले नीतिगत मार्गदर्शन गरे, ‘इमान्दार भनेको कहिल्यै अवसर नपाउने, जिन्दगीभर दरिद्र रहने दुखिया प्राणी हो भन्ने बुझियोस् । त्यस्ताका घरमा कसैले छोरी दिन नचाहोस् । त्यसलाई कसैले साथी बनाउन नचाहोस् । ऊ ईर्ष्याको होइन, सहानुभूतिको पात्र बनोस् । अनि बल्ल हाम्रो सिस्टम बलियो हुन्छ । बल्ल हामीले खुलेर काम गर्न सक्छौं ।’

‘हामीले प्रयास त पूरै गरिराख्या छौं, हेरौं— त्यो स्वर्णिम युग आउन कति दिन लाग्ने हो,’ यो प्रभुको वाणी थियो ।

वरिष्ठ नेताले सतर्क गराए, ‘त्यो त हो, तर एउटा कुरा मलाई रहस्यमय लागिराख्या छ । राज्यले यत्रो प्रयास गर्दागर्दै पनि एउटा न एउटा इमान्दार मान्छे कताकताबाट छिरेर सिस्टममा फुत्त कसरी देखा पर्छ ? किन त्यसैलाई जनताको समर्थन प्राप्त हुन्छ ? कतै यसका पछाडि व्यवस्था उल्टाउन खोज्ने प्रतिगामीहरूको हात त छैन ? विदेशी शक्तिको षड्यन्त्र त छैन ?’

‘ठीक भन्नुभो । अवश्य पनि विस्तारवादीको कुनै षड्यन्त्र हुनुपर्छ । हामीले यसको व्यापक भण्डाफोर गर्नुपर्छ,’ सर्पजिभ्रेले समर्थन गरे ।

त्यही वेला खाजा आइपुग्यो । मोमो चपाउँदै एउटा मन्त्रीले भन्यो, ‘कति देशमा त प्रभु नै इमान्दार हुन्छन् अरे । त्यहाँका मानिसलाई काम गर्न कति गाह्रो हुँदो हो । कति उकुसमुकुस हुँदो हो । धन्न हाम्रा प्रभु त्यस्तो हुनुहुन्न ।’ उसले मोमो निल्न नभ्याउँदै अर्को मन्त्रीले उकेरा हाल्यो, ‘त्यही भएर त हामी भाग्यमानी नि !’ आफ्नो संवादबाट प्रभु मुसुक्क हाँसेको देखेपछि दुवैलाई पाथी भात खाएजस्तो भयो ।

खाजापछि प्रभुले सबैलाई धन्यवाद दिंदै विमर्शको बिट मारे, ‘तपाईंहरूको सल्लाहबाट आज मैले ठूलो शक्ति प्राप्त गरेको छु । अब एउटा पनि इमान्दारलाई कहीं रहन दिनेछैन, निश्चिन्त हुनोस् । चाँडै मन्त्रिमण्डल फेरबदल गर्नु छ, त्यहाँ यो नीति झन् कडाइका साथ लागू हुनेछ । एउटा इमान्दार मानिसले सिंगो सिस्टमलाई निकम्मा बनाइदिन्छ भन्ने कुरामा म सधैं सतर्क रहनेछु ।’

यसप्रकार, तपाईं–हामीले कहिल्यै भ्रमण नगरेको क–ख–ग–घ देशका भूत, भविष्यत् र वर्तमान प्रभुहरूको त्यो भेला उनीहरूको ‘सिस्टम’ बलियो बनाउने संकल्पका साथ टुंगियो ।

अब बाँकी के रह्यो त ? कुथुङ्ग्री पनि टुंगियो ।