मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक दृष्टिकोणबाट खुल्ला सङ्ग्रहालयको रूपमा जीवन्त छ । यो आलेख भीमफेदी वर्णानुकृत नभएको हुँदा यस बारेमा त्यति चर्चा गरिन्न । भीमफेदी मकवानपुरको पुरानो जिल्ला सदरमुकाम,राणाकालीन नेपालको काठमाडौँ जाने प्रमुख गौडा थियो । पहिला चिसापानी गढीबाट शासन, प्रशासन सबै चल्दथ्यो ।

पुरानो ऐतिहासिक दरबार, नेपालकै एउटा मात्रै हात्ती सङ्ग्रहालय, सैन्य महत्वको विशेष दस्ता, नेवारी मौलिक परम्परा र सांस्कृतिक पुञ्ज, वि.स. २००४ सालकै विद्यालय, राणाकालीन वन्दी गृह, कुलेखानी प्रथमको विद्युत् उत्पादन गृह, राणाकालीन नेपालको राजधानी छिचोल्ने पैदलमार्ग, प्राकृतिक वन सम्पदा र मनोरमताले भरिपूर्ण भूगोल, गीत, सङ्गीत र भजनको त्रिवेणीको रूपमा प्रसिद्धि कमाएको धर्ती, त्यसै गरी पाँच पाण्डवको  वनवाससँग जोडिएको महाभारतकालीन पुण्य भूमिको रूपमा संक्षिप्तमा भीमफेदीलाई चिन्न सकिन्छ ।

वि.स. २००७ सालमा राणा शासन विरुद्ध पर्चा छरिने सौभाग्य पाएको चिसापानी गढी यही गढी हुँदै राणा शासकले पक्राउ गर्दा गणेशमान सिंहलाई हिँडाइएको मार्ग यस्तो चेतनाले भरिपूर्ण यो खण्डमा नेपालकै गीत, सङ्गीत र गायनकी त्रिवेणी कोइली देवी बस्नेतको जन्म हुन्छ ।

कोइली देवी बस्नेत पछि माथेमा हुन पुग्छिन् । वि.स. १९८६ साल भाद्र ०५ गते उनको जन्म पिता राम बहादुर बस्नेत र माता नीलम प्रधानको पहिलो सन्तानको रूपमा हुन्छ । उनको न्वारानको नाम राधा राखिएको थियो र उनलाई आफ्नो माताले बुद्धलक्ष्मीको नाममा पहिचान दिएकी थिइन । कोइली देवीको दरबारिया नाम “पानतरी” थियो ।

प्रकाश सायमी आफ्नो पुस्तक सङ्गीतको एक शतक २०६६ मा कोइली देवीलाई यसरी चित्रण गर्छन्- “रेडियो नेपालका प्रथम गायक हरि प्रसाद रिमाल पछि उनलाई नै पछ्याउँदै केदार ठाकुर, किशोरी देवी रिमाल,  नाति काजी, करुणादेवी, चन्दादेवी, सावित्री ठाकुर, नूरादेवी, जनाद्र्धन सम, कोइली देवी माथेमा, कलानाथ अधिकारी, पन्नाकाजी शाक्य, सुनिता रेग्मी, पुष्प नेपाली, धर्मराज थापा, बटुकृष्ण ज्वाला, प्रेमध्वज प्रधान, तारादेवी, उस्ताद भैरव बहादुर थापा, फत्येमान राज भण्डारी, उस्ताद गोविन्द बहादुर थापा, हरि बहादुर रञ्जितकार, नरराज ढकाल, प्रेम प्रकाश मल्ल, जगतमर्दन थापा, रामलाल जोशी जस्ता गायक गायिकाले नेपाली आधुनिक सङ्गीत जगतलाई जनमुखी बनाए ।”

नेपाली सङ्गीतको लामो काल खण्डलाई केलाउने हो भने सेतुराम, मेलवा देवीबाट शुभारम्भ भई अहिलेसम्म आई पुगेको छ । यसै क्रममा वि.सं. २००७ सालको सेरोफेरोबाट नेपाली गीत, सङ्गीत र गायनको क्षेत्रमा कोइलीदेवीको सशक्त उपस्थिति देखिन्छ ।

नेपालको साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकी मकवानपुरे रत्नको बारेमा आफ्नो पुस्तकमा सायमी थप पुष्ट्याइ गर्दै उल्लेख गर्छन्-  “रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीपछि रेडियो नेपालमा निरन्तर रूपमा सङ्गीत साधनामा समर्पित स्रष्टा हुन्  सङ्गीतकार कोइलीदेवी माथेमा । भजन, धारणावादी गीत, राष्ट्रिय गीत बाहेक लोक लयका नेपाली गीतहरूमा उनले लय हालेकी छिन् । उनको रचना  र सङ्गीतमा अघिल्लो चरणमा हरि प्रसाद रिमाल, तारा देवी, दिलमाया खाती, पन्नाकाजी, प्रेमध्वज प्रधानले गाएका छन् भने पछिल्लो चरणमा मधु क्षेत्री, प्रकाश श्रेष्ठ, यम वराल लगायतले सम्मानका साथ गाएका छन् ।”

वि.स.२०१८ मा इन्द्रेणी रेकर्डसको स्थापनापछि नेपाली स्वर सारथीहरूले अर्ध सरकारी लागतमा कलकत्ता गएर गीत रेकर्ड गर्ने अवसर पाए । त्यस क्रमको सुरुवातमै तारादेवी, माणिकरत्न स्थापित, कन्हैया कुमार जोशी, चन्द्रराज शर्मा, कोइलीदेवी, पन्नाकाजी शाक्य, बटुकृष्ण ज्वाला, शिवशंकर मानन्धर, नारायण गोपाल गुरुवाचार्यका गीतहरू रेकर्ड भए ।

नेपालको साङ्गतिक क्षेत्रमा कोइलीदेवीको योगदानलाई कवि एवम् गीतकार वैरागी काइँला यसरी स्मरण गर्छन्-  “ वि.सं. २००७ -२००८ सालतिर नातिकाजी, कोइलीदेवी अनि २००९ सालतिर लोकलय लिएर धर्मराज थापाको आगमनले नेपाली सङ्गीतलाई निकै प्रभाव पारेको छ ।” यसै क्रममा वैरागी काइँला थप पुष्ट्याइ दिँदै नेपालको आधुनिक सङ्गीतको स्वर्णिम युगका चार देवीलाई सम्झन्छन् – रानुदेवी, कोइलीदेवी, उर्मिलादेवी, तारादेवी प्रारम्भमा भएका दुई देवी मेलवादेवी र किशोरी देवीको योगदान पनि कम छैन ।

गायिका शान्ति ठटाल कोइलीदेवीलाई यसरी स्मरण गर्छिन्,  “ किशोरी देवी उर्मिलादेवी पछि रानुदेवी, कोइलीदेवी अनि तारादेवीहरू आउँछन् । नेपाली सङ्गीत क्षेत्रमा गायिका कोइली देवी गायिका तारादेवी भन्दा अघि नै देखा परेकी हुन् ।”

कोइलीदेवी बाल्यवस्थामा नै जुद्ध शमशेरको दरबारमा सङ्गीत प्रशिक्षकको रूपमा कार्यरत आफ्नी  फुपू मानप्रियासँग बस्न थालिन् । उनलाई मानप्रियाले पढाइ र सङ्गीत दुवैमा प्रवीण बनाइन् । पछि दरबारमा गीत गाउने क्रममा उनको स्वर कोइलीको जस्तो कोकिल कण्ठ माधुर्य भएकाले उनलाई कोइलीदेवी भनिन थालियो । वि.स. २००७ साल चैत्र २० गते प्रजातन्त्र रेडियो स्थापना भयो, चैत्र २६ गते पहिलो भजन गायन गरिन् । आफ्नै शब्द, स्वर र सङ्गीतमा “संसारको झमेला, लाग्दो छ क्या मेला” भन्ने बोलको भजन थियो । उनी मासिक रु १५ मा खरिदार सरहको पदमा रेडियोकर्मी वनेकी थिइन । उनी त्यसै समय गोरखापत्रको पत्रकारको रूपमा पनि कार्यरत रहिन् ।

कोइलीदेवीले आफ्नो जीवनको पैँतिस वसन्त पार गरेपछि एकाउन्न वर्षीय साकारभक्त माथेमाको तृतीय पत्नीको रूपमा आफ्नो लगनगाँठो जोडिन् । माथेमा परिवारमा उनले प्रवेश पाइनन्, उनी सङ्गै उनका पतिले जीवनको अन्तिम दिनहरू डेरामा गुजार्नु पर्‍यो । डेराको बसाइमै वि.स. २०५६ मा पतिको दुःखद निधन पछि कोइलीदेवी नितान्त एक्लो भइन । एक्लोपनाले उनलाई सतायो उनले रेडियोको जागिर छोडिन र गायनको क्षेत्रबाट समेत सन्यास लिइन् । यसको ८ वर्ष पछि वि.स.२०६४ साल पौष ०६ गते डेराको बसाइमै महाप्रस्थान गर्न पुगिन् ।

उनको बारेमा मकवानपुरका खोज अध्ययनकर्ता केदार न्यौपाने आफ्नो पुस्तक मकवानपुर परिचय, २०७५ मा यस्तो उल्लेख गर्छन्,  “आफ्नो सङ्गीतका साधनहरू हार्मोनियम, तानपुरा, तबेला, ढोलक, मुर्चुङ्गा , झ्याली , मादल आदि सबै सङ्गीत महाविद्यालयलाई समर्पण गरिन् । मैले सुनेसम्म चार हजार भन्दा बढी गीतमा स्वर भरेकी छन् । ती गीतमा सङ्गीत पनि उनैले भरेकी छन् । उनी गोरखा दक्षिण वाहु, छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार जस्ता दुई दर्जन जति सम्मानबाट सुशोभित थिइन । जीवनमा एउटा घर निर्माण गर्ने र आफ्नो पौरख आफ्नै घरमा सजाएर भावी पुस्तालाई सुम्पने उनको योजना अधुरो रह्यो । जीवनको अन्त्यतिर उनी झण्डै बेखबर भइन् र भेटघाटको क्रममा यो मान-सम्मान तक्माले खान लाउन नदिँदो रहेछ भन्ने अभिव्यक्ति दिने गरेकी थिइन् ।”

उनको सम्झनामा ट्रस्ट स्थापना गरी पुरस्कार दिने उद्देश्यले राष्ट्रिय रूपमा प्रयत्न गरेको तर गठित संस्था र सहयोग राशि लक्षित उद्देश्य प्राप्ति उन्मुख नभएपछि उक्त राशि र संस्था विघटन गर्नु परेको तितो यर्थाथ छ नरेन्द्र राज प्रसाई सँग ।

आज उनको जन्म जयन्तीको यस क्षण राष्ट्रले हेर्‍यो हेरेन त्यसमा नलागौँ । उनी मकवानपुरे धर्ती रत्न हुनाले उनको नाम जीवन्त राख्ने जिम्मेवारी भीमफेदी गाउँपालिका, जिल्ला समन्वय समिति मकवानपुर, वाग्मती प्रदेश सरकार अनि नेपाल सरकारको हुन आउँछ । यस्ता अमूल्य निधिको इतिहास खोजी हुने उनको सम्मानमा स्मारक बन्ने, सालिक निर्माण हुने  र स्थान विशेषको नामकरण गर्ने नाममा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय सरकारले गर्न सक्दछ । स्थानीय सरकारले उनकै नामबाट सङ्गीत प्रतिष्ठान स्थापना गर्न सक्छ । यसका लागि सम्बन्धित क्षेत्रमा क्रियाशील सम्पूर्ण संघ, संस्था र नागरिक समाजको रचनात्मक सहयोग रहोस् र उनलाई मकवानपुरेले न्याय गर्न सकुन् भन्ने अभिमत सहित उनी प्रति हार्दिक श्रद्धाभाव अर्पण गर्दछु ।

अन्त्यमा, यो आलेख तयारीको क्रममा अध्ययन सामाग्रीको रूपमा लिइएका कृतिहरू र तिनका लेखक एवम् अन्य विद्वत्  महानुभावहरू जसको अभिमत यसमा समेटिएको छ  उहाँहरू सबै प्रति हार्दिक आभार सहित कृतज्ञता प्रकट गर्दछु ।

कोइली देवीसँग सम्बन्धित कतिपय प्रसङ्ग प्रस्ट्याइदिनु हुने मकवानपुरका नवोदित प्रतिभा आश्वासन दाहाललाई पनि स्मरण गर्दछु ।