प्रख्यात साहित्य कृति क्यान्टरबरी टेल्स कसरी जन्मियो भन्ने तपाईंलाई थाहा छ ?

युरोपको मध्यकालमा चर्चको दादागिरी असाध्य बढी थियो । यस्तोमा थोरै मात्र पनि धर्म र चर्चमाथि मात्र होइन, भिक्षु र पादरीमाथि टिप्पणी गरे, अहिलेको साइबर सेनाभन्दा कडा चर्च र धर्मका ठेकेदारहरू जाइलाग्थे ।

एक पटक प्रख्यात बेलायती साहित्यकार जेफ्री चौसर र स्थानीय चर्चका भिक्षु फ्रान्सिस्कनबीच विवाद चर्कियो । चौसरका सिर्जनाहरूले प्रायः धार्मिक आदेशलाई व्यंग्य गर्ने गर्थे । केहीले चौसरका कामलाई विवादास्पद मान्थे । चौसर भने चर्चका नचाहिँदा आदेश र गतिविधिहरूलाई हास्यव्यंग्यका माध्यमबाट मनोरञ्जक तरिकाले सर्वसाधारणलाई पस्कनु कवि लेखकको धर्म हो भन्थे । यस्तै विवादका बीच एक दिन चौसरले फ्रान्सिस्कनलाई गाला रन्किने गरी चड्काइदिए ।

त्यसो त त्यो बेलासम्म चौसरले देशकै प्रख्यात कविको परिचय बनाइसकेका थिए । सबैले उनलाई मान्थे पनि तर धर्मका ठेकेदारमाथि एउटा कविको चडकन, त्यो बेलाका सत्तापक्षलाई अलि पचेन । त्यसैले भिक्षु फ्रान्सिस्कनलाई गाला चड्काएकोमा मुलुककै न्यायमूर्तिका रूपमा रहेको चर्चले उनलाई दुई सिलिङ जरिवाना तिरायो । त्यो बेलाको दुई सिलिङ निकै ठूलो रकम थियो ।

जरिवाना तिराएकामा चौसरलाई चित्त बुझिरहेको थिएन । यसको बदला कसरी लिने होला भनेर उनले सोचिरहेका थिए । जति जति समय बित्दै गयो, बदला लिन उनको हात उति चौचौ गरी चिलाउन थाल्यो ।

लामो सोचपछि उनले जुन सिर्जना गरे, त्यो संसारकै मिठो काव्यात्मक जवाफका रूपमा चिनिन्छ । उनले सो घटनापछि लेखेको ‘क्यान्टरबेरी टेल्स’ बेलायती काव्य जगतकै सबैभन्दा उम्दा सिर्जनामध्ये एक मानिन्छ ।

यस कृतिले मानव प्रकृतिका असल, खराब, प्रेम, हास्य, दुःखका विषयमा टिप्पणी गरेको छ । समाजमा चर्च, सरकार र सर्वसाधारणको सम्बन्ध कस्तो हुन्छ भनी देखाइएको छ । साथै, प्रेम र विवाह, मृत्यु र पुनर्जन्म, भाग्य र स्वतन्त्र इच्छा, शिक्षा र ज्ञान, न्याय र क्षमा तथा युद्ध र शान्तिका अनेक आयाम जोड्दै रोचक पाराले जनजीवन र सर्वसाधारणका पक्षमा वकालत गरेको छ ।

यी कुरा देखाउन चौसरले विभिन्न पात्रहरूलाई प्रयोग गरेका छन् । त्यहाँ पस्किएका घटना र पात्रहरू वास्तविकतामा आधारित रहेको इतिहासकारहरूको दाबी छ ।

उम्दा सर्जकले उम्दा सिर्जना गरेर बदला लिने गर्छ…