बलात्कार र व्यभिचार शब्द सुन्नेबित्तिकै यिनले केही राग छाड्छन् । बलात्कार शब्दले मानिसमा घृणा जन्माउँछ । यो क्रियाकलाप पूरापूर नकारात्मकतामा टुङ्गिन्छ । व्यभिचार शब्दले भने मिश्रित प्रतिक्रिया जन्माउँछ । केहीले यसलाई वर्जित शब्द ठान्छन्, केहीले भने अनुरागात्मक ठान्छन् ।

व्यभिचार कानुनी अड्चनमा फँस्यो भने आपराधिक क्रियाकलाप बन्न पुग्छ, फँसेन भने त्यो दुई प्राणीबीचको अनुरागात्मक र सहानुभूतिपूर्ण सम्बन्ध बन्न पुग्छ । व्यभिचारलाई समाजले रूचाउँदैन, नैतिक नियमले पनि रूचाउँदैन । धर्मले त झनै वर्जित गर्छ यसलाई । कतिपय अवस्थामा कानुनी रूपमा पनि दण्डनीय बन्न पुग्छ यो ।

तर मलाई कता कता यो शब्दप्रति सहानुभूति छ किनकि यो शब्दले पवित्र अस्तित्व छोएको भान हुन्छ । व्यभिचारमा दुई जनाको आत्मिय स्वीकृति रहेको हुन्छ। जसलाई प्रेम पनि भनिन्छ। प्रत्यक्ष रूपमा नदेखिए पनि अप्रत्यक्ष रूपमा महान् दार्शनिक निच पनि व्यभिचारकै शिकारबाट हामीबाट बिदा भएको उनको जीवनी पढ्दा थाहा बुझ्न सकिन्छ।

१९ औं शताब्दीको मध्यतिरको युरोप अझै पूर्ण वैज्ञानिक समाज भैसकेको थिएन। पादरीका छोरा भनेपछि रवाफ फरक किसिमकै हुने गर्दथ्यो । राज्य सञ्चालनमा चर्च पादरीहरूको विशेष भूमिका रहने गर्दथ्यो । इसाई धर्मावलम्वीहरूको अधिक बाहुल्य रहेको जर्मन र सीमान्तकृत यहुदीहरूका बीचमा निचका पिताजी एक समाजसेवीका रूपमा पनि परिचित थिए । गरिब तथा असहायहरूको मद्दतका लागि जहिले अगाडि उभिने निचका पिताजीको असामयिक तथा दुखद् निधनले निचको जिन्दगीको आयाम नै परिवर्तन भयो। चलाख र विद्वत भएकै कारणले होला, इसाईका विरूद्ध उभिएर पनि विश्वविद्यालयको प्राध्यापक जस्तो पदमा रहेका निच जन्मेर मृत्युको अवधिसम्म नै महिला सहयोगीहरूको आसपासमा उनको जिन्दगी गुज्रेको थियो ।

पादरी तथा समाजसेवी पिताजीका छोरा निचको मनमा कहीँकतै घृणा भएको आधारहरू पाइँदैन । पिताजीको मृत्युपश्चात त उनको अध्ययन र चिन्तन भनेको मानवीय सत्यतामा नै रह्यो । अध्ययनका चरणमा मानवीय सभ्यता शुरू भएको युनान तथा ग्रीसको अध्ययन तथा इतिहास र धर्मको प्रादुर्भावको अध्ययनले उनलाई कहिले पनि स्त्रीसँगको देह प्रेममा लैजान नसकेको देखिन्छ। उनका लेखहरूका अनुसार उनी दैहिक प्रेममा परेको देखिँदैन। अध्ययन तथा अनुसन्धानकै क्रममा रोमको एक विश्वविद्यालयको सम्मेलनका क्रममा उनी लु आन्द्रिया सोलोनी नामकी एक मनोवैज्ञानिक विश्लेषक महिलासँग परिचित हुन पुग्दछन् । स्मरण रहोस्, ती महिला निचकै साथी पाउल रीकी प्रेमिका थिइन्। उमेरले उनी भन्दा सत्र वर्ष कान्छी लु आन्द्रिया सोलोनी एक्काइस वर्षको उमेरमा स्त्रीको विशेष उमेरमा हुनुपर्ने सबै सौन्दर्यले भरिपूर्ण थिइन्। पहिलो नजरमा नै निच लु आन्द्रिया सोलोनीको एक्काइस वर्षे जोवनीमा मुग्ध हुन पुगे ।

आफ्ना साथी पाउल रीकी प्रेमिका लु आन्द्रिया सोलोनी हुन् भन्ने निचले कुनै संकेत देखेका थिएनन् । समयको गोरेटोमा अड्तिस वर्षको निच र एक्काइस वर्षकी लूसँग उनको नयन एकाकार भयो । निचले पाउल रीसँग आफ्नो मनमा लागेको कुरा भन्न भ्याए। म लूसँग बिहे गर्न चाहन्छु, प्रस्ताव राखिदिनू । पाउल रि आफैँ एक साहित्यकार थिए। विज्ञताका हिसाबले तीन जना व्यक्तित्वको उचाइ झण्डै उस्तै थियो। पाउल रिले आफू प्रेममा रहेको हुँदाहुँदै पनि निचको आग्रहमा लू आन्द्रिया सलोनीसँग निचको लूसँगको प्रेम प्रस्ताव राखे। प्राकृतिक रूपमा महिला र पुरूषमा आउने जुन प्रतिक्रिया थियो, त्यो लूबाट आउनु स्वाभाविक थियो। उत्तर अस्वीकृत थियो।

माया देहको हुन्छ कि आत्माको हुन्छ भन्ने एउटा प्रश्न उब्जिन सक्छ। तीन जनामै प्रेम, सद्भाव, यौवनको पूर्ण परिचित व्यक्तित्व आत्मिय प्रेममा लीन भएका थिए। दार्शनिक निच, साहित्यकार पाउल री र मनोविश्लेषक तथा साहित्यकार लू आन्द्रिया सलोनीको नयन र मस्तिष्कबाट सँगै बस्ने र आ-आफ्ना आध्यात्मिक चिन्तन तथा आ-आफ्नो विज्ञता अगाडि बढाउने सहमति भयो । पढ्न लेख्नमा तीक्ष्ण बुद्धि विवेक भएका निच आफ्नी आमा र बहिनीसँग नियमित सम्पर्कमा थिए । उनीहरूलाई यी तीन जना एकै ठाउँमा बस्नु उचित ठान्दैनथे ।

अस्तित्वबादको दर्शनमा रहँदारहँदै एकतर्फी रूपमा प्रेममा होमिएका निच लू आन्द्रिया सोलोनीलाई श्रीमतीकै दर्जा दिनमा आतुर रहन्छन् तर लू यसमा सहमत थिइनन् । श्रीमतीकै दर्जामा नबसे पनि सँगै रमाउने बस्ने गर्दा रि, लू र निच खुशी नै देखिन्छन् ।

१४० वर्ष अगाडिको युरोप सायद महिला र पुरूषको विभेद आजभन्दा धेरै नै थियो । निचकी एक मात्र बहिनी एलिजाबेथ लूसँग दुई जनाको बसउठको दृश्यले हैरान हुन्छिन्। लूमाथि व्यभिचारको आरोप लाग्छ। लू माथिको व्यभिचारले एलिजाबेथको नजरमा निच र रि स्वतः व्यभिचारी हुन्छन् । अन्तिममा तीन जनाको पवित्र प्रेम सामाजिक तथा नैतिक नियममा बाँधिएको तथा निचको दर्शनदेखि बाहिरको एक अमानवीय आचरणमा परिवर्तन हुन्छ। एलिजाबेथ आफ्नो भाइ निचलाई व्यभिचारी पञ्जाबाट मुक्त गराउने प्रण लिन्छिन् । परिणामस्वरूप निच अलग हुन्छन् ।

लू आन्द्रिया सलोनी र पाउल रीको सामीप्य बढ्दछ । यसपछि लू आन्द्रिया सलोनी र पाउल रीको सामीप्यले २ जनाको घनिष्टता बढ्दै जान्छ भने निचप्रति केही घृणा, एलिजाबेथ र आमाप्रति पूर्ण घृणा । एलिजाबेथलाई के थाहा थियो, पाउल रि, लू आन्द्रिया सलोनी बीचमा निच कति पवित्र बाँचेका थिए र आफ्ना दर्शनहरू बढाएका थिए !

निचसँग लू र पाउलको बिछोडपछि एलिजाबेथको निगरानीमा निच रहन पर्ने अवस्थाले निच बिरामी हुन पुग्छन् । निच र पाउल रीको लूसँगको सम्बन्ध हुँदो वा नहुँदो रूपमा निचको आमाको कानमा पर्छ । निच आफ्नी आमाको पनि निशानमा पर्न शुरू गर्छन् । तीन जनाको सँगै बस्ने अवस्थाको जुन आधार थियो त्यसलाई पूर्ण रूपमा व्यभिचारी संज्ञा दिइन्छ । स्त्री र पुरूषसँगको पवित्र प्रेमलाई व्यभिचारीको संज्ञा दिई अलग बनाइएका निच अन्ततः सामाजिक नियम, अनुशासन, नैतिक नियम र धार्मिक नियममा बाँधिने अवस्थामा पुर्याइन्छन् । निच मानसिक रोगी हुन पुग्छन् ।

निचका यस विछोडभन्दा पहिले लेखिएका अमूल्य दर्शनहरू जे जति थिए त्यसपश्चात निचको रचना Beyond good and evil मा निच नारी जातिको आलोचना गरेका छन् । यहाँसम्म कि उनले यस रचनामा महिला भनेको यौन कार्य गर्न, धोका दिन र बच्चा जन्माएर बच्चा हुर्काउन मात्र पैदा भएका हुन् भन्न भ्याएका छन्। उनको यो रचना पढ्दा उनी दार्शनिक हुन् भन्नेमा शंका नै गर्नुपर्ने हुन्छ । जबकि, निचका यसभन्दा अगाडिका रचना र कृतिहरूमा उनी नारीवादीका हैसियतमा लेखिने पुस्तकहरू लेखिएका छन् ।

समय अन्तराल निच जे जति विद्वान र दार्शनिक भए पनि एलिजाबेथको व्यवहारबाट त्यतिबेलाको युरोपेली समाजको ऐना देखिएको छ। जसले गर्दा निच आफ्नी आमा र बहिनीलाई नै घृणा गरेको अवस्था देखिन्छ र त्यस कारणबाटै निच मानसिक रूपमा रोगी भै त्यही रोगबाट उनको निधन हुन पुग्छ । महान् अस्तित्ववादी दार्शनिक निचले समाजलाई आधुनिक दर्शन दिन सफल भएता पनि स्वयं सामाजिक नियम, नैतिक नियम, अन्धविश्वास, परम्परामा जकडिँदै मानसिक रोगको भार लिएर सन् १९०० मा उनी संसारबाट बिदा भए ।

स्मरणरहोस्, हामी र हाम्रो समाजमा हुने प्रेम सम्बन्धमा आउने दरार तथा प्रेमका नामबाट हुने आत्महत्या र जघन्य दुर्घटनाका लागि यही व्यभिचार भन्ने शब्दको व्यावहारिक अभ्यास रहेको छ । त्यसका लागि हाम्रो कथित निरक्षरीत, शिक्षित र दीक्षित समाजको भिडले वकालत गरिराखेको छ । हामी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यस भिड समाजलाई सघाइराखेका छौं ।