फ्रान्सका प्रख्यात साहित्यकार तथा नोबेल साहित्य विजेता एनातोले फ्रान्सलाई फ्रान्सेली सरकारले ‘देशकै इज्जत’ भनेर सम्मान गरेपछि उनको मृत्युअघि एउटा पेन्टिङ बनाउन चित्रकार किज भान डोन्जेनलाई जिम्मा दियो । सन् १९२१ मा फ्रान्सेली‑डच यी चित्रकार यसमा सहमत भए । उनका लागि यो ठूलो कुरा पनि थिएन किनभने एनातोले उनकै छिमेकी थिए ।
जब चित्र बनेर तयार भयो, फ्रान्सेली सरकारले डोन्जेनलाई सन् १९२६ मा चित्र तयार भइसकेको भए सरकारलाई हस्तान्तरण गर्न आग्रह गर्यो । डोन्जन र उनका साथीहरू त्यो बेला चित्रकलामा फौभ्स क्रान्तिका अभियन्ता थिए । सरकारले यो चित्रलाई बिक्रीमा राखेको थियो तर आलोचकहरूले यो चित्रको निकै कडा आलोचना गरे । त्यसैले बिक्री भएन ।
बिक्री नभएपछि हाल पेरिसस्थित जे डि पाउम सेन्टरमा प्रदर्शनीमा राख्यो । प्रदर्शनीमा पनि चर्चा नभएपछि यसका सर्जकलाई खसखस लाग्न थाल्यो । उनले फ्रान्सेली सरकारसँग सो पेन्टिङ मागे र आफ्नो प्रदर्शनीमा समावेश गर्ने अनुमति मागे । अब चित्रकारले नै मागेपछि नदिने कुरा भएन । त्यसैले सरकारले उनलाई चित्र जिम्मा लगायो ।
प्रदर्शनी सकिएपछि सन् १९३२ मा चित्रकार डोन्जनले एक जना चित्र संकलकलाई यो चित्र २० हजार फ्राङ्कमा बेचिदिए । त्यो बेला यो रकम निकै ठूलो थियो । ती चित्र संकलकले पछि सन् १९६८ मा प्रख्यात कार कम्पनीका मालिक हेनरी फोर्डलाई ८० हजार डलरमा बेचिदिए ।
हेनरी फोर्डको सन् १९८७ मा देहान्त भएपछि चित्रको संरक्षक क्याथलिन डुरोस फोर्ड बनिन् । उनको पनि सन् २०२० मा निधन भएपछि उनको संकलनमा रहेका ६५० चित्रहरूसँगै यो चित्र पनि क्रिस्टी नामक संस्थाले डाक बढाबढमा राख्ने भएको छ । हाल सो चित्रको मूल्य ३ लाख ५० हजार युरो पुगेको छ ।
तर जब क्रिस्टीले यो चित्रलाई पनि डाक बढाबढमा राख्यो, फ्रान्सेली सरकारले चित्रकार स्वयंले चोरेर बेचेको आरोप लगायो । त्यसैले यसलाई अरूलाई बेच्न नपाउने उसले दलिल दियो । हाल फोर्ड फेमिली ट्रस्टको स्वामित्वमा रहेको यो चित्र फ्रान्स फर्काउने दबाब तीव्र रूपमा बढेको छ ।