एक

असगर वजाहत

चेलाः गुरूज्यू, हाम्रो देशका मुसलमान विदेशी हुन्?
गुरूः हो शिष्य, ती विदेशी नै हुन्।
चेलाः उनीहरू कहाँबाट आएका हुन् गुरू?
गुरूः उनीहरू इरान, इराक र अरबबाट आएका हुन्।
चेलाः तर अहिले चाहिँ कहाँका नागरिक हुन् त?
गुरूः भारतका।
चेलाः उनीहरूले कहाँको भाषा बोल्छन्?
गुरूः भारतकै भाषा बोल्छन्।
चेलाः उनीहरूको रहनसहन तथा सोचविचारको तरिका कुन देशका मानिसजस्तो छ?
गुरूः भारतका मानिसहरूकै जस्तो छ बाबु।
चेललाः उसो भए ती कसरी विदेशी भए त?
गुरूः किनभने उनीहरूको धर्म विदेशी हो नि त।
चेलाः बौद्ध धर्म कहाँको हो गुरूजी?
गुरूः भारतीय धर्म हो।
चेलाः उसो भए चिनियाँ, जापानी, थाई, बर्मेली सबै जना भारत आउनु पर्छ हो?
गुरूः होइन, होइन शिष्य, चिनियाँ, जापानी र थाई यहाँ आएर के गर्छन्?
चेलाः उसो भए भारतीय मुसलमान इरान, इराक र अरब गएर के गर्छन्? हैन त?

 

दुई

गुरूः चेला, हिन्दु-मुसलमान एकसाथ बस्न सक्दैनन्।
चेलाः किन गुरूदेव?
गुरूः दुवैमा निकै ठूलो अन्तर छ नि त!
चेलाः के अन्तर छ गुरूदेव?
गुरूः उनीहरूको भाषा बेग्लै छ… हाम्रो भाषा अलग्गै छ।
चेलाः उसो भए हिन्दी, कश्मिरी, सिन्धी, गुजराती, मराठी, मलयाली, तमिल, तेलुगु, उडिया, बंगाली आदि भाषा मुसलमानहरूले बोल्दैनन्… ऊर्दू मात्र बोल्छन् हो?
गुरूः होइन… होइन, भाषाको अन्तर होइन… धर्मको अन्तर छ भनेको पो त !
चेलाः यसको अर्थ, दुई बेग्लाबेग्लै धर्म मान्नेहरू एउटै देशमा बस्न सक्दैनन् हो?
गुरूः हो… भारतवर्ष केवल हिन्दुहरूको मात्र देश हो।
चेलाः उसो भए, सिख, ईशाई, जैन, बौद्ध, पारसी, यहूदीहरूलाई यहाँबाट निकाल्नुपर्ला हैन?
गुरूः हो, निकाल्नुपर्छ।
चेलाः उसो भए यो देशमा को बाँकी रहन्छ त?
गुरूः हिन्दू मात्र बाँकी रहन्छन् र प्रेमपूर्वक बस्नेछन्।
चेलाः ए, ठीक त्यसैगरी जसरी पाकिस्तानमा मुसलमानहरू मात्र बाँकी रहेका छन् र त्यहाँ तिनीहरू झगडाबिना प्रेमपूर्वक नै बसेका छन्, हैन त?

 

तीन

गुरूः मुसलमानहरूलाई घृणा गर्नुपर्छ।
चेलाः किन गुरूदेव?
गुरूः किनभने उनीहरू फोहोरी, अनपढ र अत्याचारी हुन्छन्।
चेलाः बुझेँ गुरूदेव। तपाईंको भनाइको अर्थ, फोहोरी, अनपढ र अत्याचारीहरूलाई घृणाा गर्नुपर्छ, हैन त?
गुरूः होइन.. होइन। खासमा मुसलमानहरूलाई यस कारण घृणा गर्नुपर्छ कि उनीहरू बडो कट्टर धार्मिक हुन्छन्।
चेलाः म कट्टर धार्मिक मानिसहरूलाई घृणा गर्छु हुन्छ गुरूदेव?
गुरूः होइन, होइन। तिमीले बुझेनौ.. वास्तवमा मुसलमानलाई यस कारण घृणा गर्नुपर्छ कि तिनले हामीमाथि शासन गरेका थिए।
चेलाः उसो भए त ईशाईहरूलाई पनि घृणा गर्नुपर्यो।
गुरूः हैन.. हैन शिष्य… मुसलमानलाई घृणा यस कारणले गर्ने कि तिनले भारत विभाजन गरेका थिए।
चेलाः उसो भए त देश विभाजन गर्नेहरूसँग घृणा गर्नुपर्यो नि, हैन?
गुरूः हो.. बिल्कुल ठीक। देश विभाजन गर्नेलाई घृणा गर्नुपर्छ।
चेलाः उसो भए गुरूदेव, देशवासीलाई नै विभाजन गर्नेलाई चाहिँ के गर्नुपर्ला?

 

चार

चेलाः गुरूदेव, साम्प्रदायिक दंगामा को मर्ने गर्छ?
गुरूः साम्प्रदायिक दंगामा ठूलाठूला पण्डित, मौलवी (मुस्लिमहरूका गुरू), ठूल्ठूला सेठसाहुकार र ठूला अधिकारी मर्छन्।
चेलाः अनि, को चाहिँ मर्दैनन् गुरूदेव?
गुरूः अति सामान्य मानिसहरू, कालिगढ, रिक्सावाला, नोकरी गर्नेहरू ती सामान्यजन मर्दैनन्।
चेलाः उसो भए गुरूजी, दंगा नरोकिने कारण के हो त?
गुरूः कुरा सफा छ शिष्य… सामान्यजन जो मर्दैनन्, उनीहरूलाई दंगा रोक्ने कुरामा कुनै रूचि नै हुँदैन।
चेलाः अनि ठूलाठूला मानिस चाहिँ?
गुरूः विचरा तिनीहरू दंगा रोक्ने प्रयास गरिरहन्छन्…पण्डित, मौलवी दंगा रोक्नका लागि धर्मको दुहाई दिन्छन्। राजनीतिक दलका नेता दंगा रोक्नका लागि आफ्नो पूरा शक्ति लगाउँछन्… सेठ-साहूकार दंगा रोक्नका लागि चन्दा दिन्छन्… सरकारी अधिकारी दंगा रोक्न भरसक कोसिस गर्छन्।
चेलाः यसपछि पनि दंगा किन रोकिदैन गुरूदेव?
गुरूः यही त सबैभन्दा ठूलो रहस्य छ… जुन दिन तिमीले यो कुरा बुझ्नेछौ… त्यही दिन कुनै दंगामा तिमी मारिनेछौ।

 

पाँच

चेलाः गुरूदेव, साम्प्रदायिक दंगामा हत्याहरू आदि गर्नेहरूलाई कानुनले किन कुनै सजाय दिन सक्दैन वा दिँदैन?
गुरूः यो हाम्रो कानुनको महानता हो शिष्य..
चेलाः कसरी गुरूजी?
गुरूः हाम्रा अदालतहरू दंगाहरूबाट हत्या गर्नेहरूको भावनालाई बुझ्छन्।
चेलाः के बुझ्छन्? कस्तो भावना बुझ्छन्, गुरूदेव?
गुरूः शिष्य, साम्प्रदायिक दंगामा जो मर्छ, ऊ सिधा स्वर्ग जान्छ नि, हैन?
चेलाः हो गुरूदेव, ऊ स्वर्ग नै जान्छ।
गुरूः उसो भए कसले उसलाई स्वर्ग पठाउने उपकार गर्यो?
चेलाः हत्या गर्नेले।
गुरूः बिल्कुल ठीक… हाम्रो कानुन यति लज्जाहीन त छैन कि उपकार गर्नेलाई नै फाँसी दिइयोस्, हैन त?

 

चेलाः गुरूदेव, दंगा कसरी रोक्न सकिएला?
गुरूः शिष्य, यस प्रश्नको उत्तर पूरै देशसँग पनि छैन। राष्ट्रपतिसँग छैन, प्रधानमन्त्रीसँग पनि छैन। पूरा मन्त्रिमण्डलसँग पनि छैन। बुद्धिजीवीसँग त झनै छैन।
चेलाः गुरूदेव… मानिस चन्द्रमामा पुगिसक्यो, प्रकृतिमाथि विजय पाइसक्यो, असम्भव सम्भव हुन थालिसक्यो… वैज्ञानिकहरूलाई यो दंगा कसरी रोकिएला भन्ने कुरा खोज्ने जिम्मेवारी दिन सकिँदैन?
गुरूः शिष्य, वैज्ञानिकहरूलाई यस कामको जिम्मेवारी दिइएको थियो… तर उनीहरूको भनाइ थियो कि यो त धार्मिक विषय हो।
चेलाः उसो भए धार्मिक मानिसलाई यस काममा लगाइएन त?
गुरूः लगाइयो नि तर धार्मिक मानिसहरूले चाहिँ यो सामाजिक विषय हो भनिदिए।
चेलाः उसो भए समाजशास्त्रीले चाहिँ के भने त?
गुरूः उनीहरूले के भन्नु? उनीहरूले त यो राजनीतिक विषय हो भने नि!
चेलाः अनि फेरि राजनीतिज्ञहरूले चाहिँ के भने त?
गुरूः उनीहरूले भने… यो कुनै विषय नै होइन।

 

सात

चेलाः साम्प्रदायिक दंगाहरूको जिम्मेवारी प्रधानमन्त्रीको भागमा पर्छ गुरूजी?
गुरूः पर्दैन।
चेलाः उसो भए त जहाँ घटना भएको थियो, त्यहाँका मुख्यमन्त्रीको भागमा पर्ला नि?
गुरूः पर्दैन।
चेलाः गृहमन्त्री?
गुरूः अँहँ।
चेलाः सांसद या प्रदेश सांसद?
गुरूः अँहँ।
चेलाः प्रमुख जिल्ला अधिकारी या प्रहरी अधिकारीको जिम्मामा त पर्ला नि?
गुरूः अँहँ पर्दैन।
चेलाः उसो भए साम्प्रदायिक दंगाको जिम्मेवारी कसको भागमा पर्छ त?
गुरूः जनताको भागमा।
चेलाः मतलब?
गुरूः त्यो हाम्रो भागमा पर्छ।
चेलाः मतलब?
गुरूः मतलब अब कसैको भागमा पनि पर्दैन।

(कथा संग्रह ‘हिन्दु पानी-मुस्लिम पानी’बाट अनूदित)