यतिबेला चलिरहेछ
नक्शाको साम्राज्य
ब्रह्माण्डको एउटा सानो भूगोलभित्र
तेरो र मेरो लडाइँमा
उही – हात्ती छामे जस्तो
कथाको तालमा
विश्वका नेता कहलाइएकाहरू
एउटा ऊ जमानाको अपुरो तलतल मेट्न
जँहड्याको तालमा
देखेँ – मेरो भन्नु पनि सरिक भएको
देश भन्नुको माटो
पाउनु पर्दैन, भोग्न नि ! पर्दैन
टाँगिदिए हुन्छ भित्तामा
झुण्डाइदिए पुग्छ
शयन कक्षमा, त्यो पनि सिरानीमाथि
ताकि नदेखियोस् – सुतेर किबोर्ड थिच्दा मोबाइलमा
किन कि
यो डिजिटल आतंकको पनि त युग हो ।
डिजिटल आतंकमा
लड्नु पर्दैन युद्ध
नचाउनु पर्दैन खुकुरी
थुन्न नि ! पर्दैन शत्रुले पानीको मुहान
छेक्नु पर्दैन खजानाको बाटो
राखिए पुग्छ नक्शा – सब सबका हातमा
औँलामा दिँदा पुग्ने जमिनलाई
नक्शै बनाएर टाँगिदिँदा
शासकको बित्छ के र ?
हो,
अलिक बाठै भएर हुने हो शासक
त्यसैले त !
नक्शाको साम्राज्य विस्तार गर्न सिके
पहिला – दक्षिणबाट
अनि,
जवाफी कारबाहीमा – भयो मेरो देश पनि सरिक
हेर्दाहेर्दै – उत्तरतिरबाट पनि
यो,
क्रम चलिरहनेछ अबको केही दशक
म पनि गर्व किन नगरूँ ?
धन्न मेरो देश पछि परेन
सुरूवात
एसियाको दक्षिणबाट नै भयो
यसमा पनि किन गर्व नगरूँ ?
कमसे कम
कसैले नजानेको
युद्ध कौशलको जननी हुन सक्यो
आविष्कारको केन्द्र बन्न सक्यो
करोडौं मगन्तेको माझबाट – साम्राज्य हाँक्न सक्ने भयो
मानिलिउँ – दक्षिण एसियाले
जन्मायो फेरि – एउटा कौटिल्य
अब,
नमाने हुन्छ अचम्म
कुनै दिन
म पनि
आँधिखोलाको तिरमा बस्दा बस्दै
युएसएको नक्सामा समेटिएछु भने
किन कि
यो नक्शाको साम्राज्यको युग हो ।
वालिङ, स्याङ्जा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ माघ २०८२, बिहीबार 









