‘सन्तापको धून’ अशोक थापाद्वारा रचिएको एक कथासङ्ग्रह हो । यसकाे प्रकाशन किताब पेज टर्नर प्रा. लि. (बागबजार, काठमाडौं) ले गरेकाे हाे । यसकाे प्रथम संस्करण वि. सं २०७९ सालमा प्रकाशन भएकाे हाे । हाल यसकाे दाेस्राे संस्करणसमेत प्रकाशन भइसकेकाे छ । यस पुस्तकका कथाहरूमा अनुपन उत्सवहरू भेटिन्छन् । यी कथाहरूमा व्यक्ति, समाज अनि प्रकृतिभित्र निहित अदृष्य तर प्रगाढ सुस्केराहरू नृत्यमग्न छन् । विसङ्गत मान्छेहरूको समाज र यसबाट अभिशप्त संस्कृति एवम् प्रकृतिका बिच सङ्गतिको अन्वेषण यस सङ्ग्रहका कथाहरूमा गरिएकाे छ ।
‘सन्तापको धून’ कथा सङ्ग्रहमा हात्तीछाप चप्पल, डढुवाई आमा, नुच्छेमान, भजाइनल ट्रमा, उदास बिहीबार, वीर्यदान, गाजल बेच्ने केटी, रित्तो आँगन, भित्ताका कान, निर्दोष भूलहरू, बेचेका कुलदेवता, सन्तापको धून, नर–कङ्कालको गीत गरी १३ वटा कथाहरू छन् ।
हात्तीछाप चप्पलः यस कथामा म पात्रको कुनै पनि विशेष काम परेको दिनमा उनको चप्पलले धोका दिन्थ्यो । रेडियोमा हात्तीछाप चप्पल हात्तीभन्दा बलियाे भनेर विज्ञापन आइरहेको हुन्थ्यो तर त्यो विज्ञापनले उनलाई क्रोधित मात्र बनाउँथ्यो । एक दिन म पात्र श्रुतिलेखन परीक्षामा मुस्किलले छनोट भएका थिए र उनका दुई जना साथी रेनु र हिरे पनि छनोट भएका थिए । त्यस दिन पनि त्यो चप्पलले धोका दियाे चप्पल नभएको हेतुले शिक्षकले शान्तिउदय स्कुल, अर्को स्कुलमा श्रुतिलेखनका लागि जान निषेध गरे । हिरे रेनुसँग जान पाएकोले उनमा इर्ष्याको भाव उत्पन्न भयो । उनी रातिको २ बजे जङ्गलमा २ घण्टा विक्षिप्त भएर बसे र सो ठाउँमा उसले चप्पल फालेका थिए । त्यहाँ उसले रु. २३ र रेनुद्वारा लिखित चिठी प्राप्त गरे जसमा उनीहरूको प्रेमसम्बन्ध समावेश थियो । जसले उसलाई खुसी तुल्याएकाे थियाे तर जातीय विभेदका कारण उनीहरूकाे प्रेम सफल नहुने सन्ताप उसमा छाएकाे थियाे ।
डढुवाई आमाः यस कथामा म पात्र जसको नाम सन्तोष थियाे, उनी आफ्नी आमालाई वितृष्णा गर्थे । उनले उपेक्षा गर्नुको एउटै मात्र हेतु थियो कि उनकी आमाको मुहार डढेको थियो । प्रवेशिका उत्तीर्ण गरेपछि पढाइको लागि सन्तोष काठमाडौँ आए र कीर्तिपुरको नेवाः गल्लीमा घुम्दा एउटा दृष्यमा उनको दृश्यावलोकन भयो । एउटी छाउरी आफ्नी मरेकी आमालाई देखेर विक्षिप्त भइरहेकी हुन्छे । छाउरीले आमालाई उद्बोधन गराउने निकै प्रयत्न गरी तर असफल भई । जनावरमा पनि भातृत्व, पितृत्व, मातृत्व आदिको भाव भएको कारण उनी जनावरबाट प्रभावित भए र आफ्नी आमालाई गरेको व्यवहारबाट सन्तोषलाई पछुताे भयो र आमालाई भेट्न गाउँ (पोखरा) फर्के । औँसीको दिन थियो र आमाको मुख हेर्ने इच्छा थियो । संयोगले उनीहरूको भेट भयो । बोक्सीको साया उन्मूलन गर्नको निमित्त धामीले उनको गालामा पोलिदिएका कारण उनको अनुहार उडेको यथार्थ पनि भनेर छोराको उत्कण्ठालाई आमाले मेटाइन् ।
नुच्छेमानः यस कथामा एक वृद्ध नुच्छेमान मुख्य पात्रका रूपमा उपस्थित छन् । उनको बुबा जुवाडे भएका कारणले ऋण तिर्नको निम्ति जग्गाजमिन बेच्नुपर्ने उनको बाध्यता थियो । उनी सकी नसकी परिवार पाल्नको लागि लुगा सिलाउने काममा प्रहरी तैनाथ भएझैँ तैनाथ थिए । आफूले एउटा सियोमा धागो छिराउन नसके पनि परिवारलाई पाल्न भनेर उनी कहिल्यै त्यो काम छोड्दैनन् । एक दिन लुगा सिलाउने क्रममा सियो हातको छालामा परी रगत निस्किरहेको हुन्छ र उनलाई अस्पतालमा पुर्याइन्छ । त्यहीँ उनको देहान्त हुन्छ र त्यसपश्चात् उनका परिवारका कुरा पुस्तकमा नगरे पनि परिवारको हालत कष्टका कारण अकल्पनीय दुःखी छ ।
भजाइनल ट्रमाः यस कथामा साँचो ममताभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थको निम्ति गरिने मायाको नाटक शिशिर पात्रद्वारा प्रकाश पारिएको छ । यसमा शिशिरले मेनकासँग यौनसम्पर्क राख्न खोज्दा उनले अस्वीकार गर्छिन् र शिशिर क्रोधित हुन्छ र प्रेमसम्वन्ध नष्ट हुन्छ, जसले गर्दा मेनका मनमा प्रगाढ भूक्षय आएको हुन्छ । अर्कोतिर मेनकाको उपचारको लागि भारतको दिल्लीसम्म पुग्नुपर्ने अवस्थाले देश सुविधा सम्पन्न नभएको कुरा प्रतिबिम्बित गर्दछ ।
उदास विहीबारः यस कथाले एक टुहुरी छोरीकाे प्रतिनिधित्व गरेको छ । उनकी आमाले उनलाई सानैमा छोडेर गएकी थिइन् र बदामे आमालाई जिम्मा दिएकी थिइन् । उनलाई बदामे आमाले पनि बालआश्रममा छोडिदिन्छिन् र त्यहीँ उनी साथीहरूसँग बसेकी हुन्छिन् । त्यहाँकी मिसलाई विदेशीले आइप्याड उपहार दिन्छिन् । जब उनको अड्डामा काम पर्थ्याे तब सबै बच्चाहरू आइप्याड चलाउन थाल्छन् । सरला र अन्य साथीहरूले आइप्याड तानातान गर्छन् र ड्रममा त्यो आइप्याड खस्छ । त्यसकाे आक्षेप सरलालाई आउँछ र मिसले उनलाई गाली गर्छिन् । उनलाई कुटेको भन्दा पनि ‘सडके’ भनेर हेपेकाले उनले सहन सक्दिनन् । भोलिपल्ट सेती नदीमा हाम फाल्छिन् ।
वीर्यदानः सरला र रमेश वीर्यदान कथाका प्रमुख पात्रहरू हुन् । उनीहरू श्रीमान् श्रीमती हुन् । उनको श्रीमानकाे वीर्य एक वीर्य बैङ्कमा जम्मा गरी श्रीमान् विदेश लाग्छन् । त्यही वीर्य प्रयोग गरी सरलाले आफ्नो प्रारम्भको प्रेमी रोमुसँग यौनसम्पर्क राख्छिन् र बच्चा जन्मिन्छ । पछि उसकोे श्रीमान विदेशबाट फर्किन्छन् र बच्चा देखेर निकै प्रफुल्ल हुन्छन् । त्यो बच्चा उसकै हो भनेर रमेशलाई लाग्छ तर नर्सको सहायताले त्यो बच्चा उसको नभएको उसलाई थाहा हुन्छ र उनीहरूबिच छाेडपत्र हुन्छ । आफ्नो श्रीमान्काे वीर्यले अरू परपुरुषसँग यौन गर्ने सरलाजस्ता महिलाको चित्रण यस कथामा गरिएको छ ।
गाजल बेच्ने केटीः कथामा एक अकिञ्चन परिवारकी छोरी जसले आफू र आफ्नी बहिनीलाई गाजल र श्रृङ्गारको सामान बेचेर पालिरहेकी हुन्छिन् । उनी मुखमा हिजाब र घाँटीमा गणेशको सिक्री लगाउँछिन् जसले गर्दा मानिसमा त्यसको बारेमा सोध्ने उत्कण्ठा उत्पन्न हुन्छ । लेखकले त्यसको बारेमा सोधे र उसले आफ्नो कहानी भन्न थालिन् ।
उनको घर रामेछाप थियो । उनकी आमाले उनलाई ‘सपना’ नाम राखिदिनुभएको थियो । उनका बुवा छोरा नभएका कारणले मद्रास गएका थिए र कहिल्यै फर्केनन् । ७२ सालको भूकम्पले उनले आफ्नी आमालाई गुमाउनुपर्याे । उनकी बहिनीलाई मामातिरको हजुरआमाकोमा लगियो भने उनी मामाकोे श्रृङ्गार पसलमा काम गर्थिन् । त्यहाँ उनकी माइजू पनि काम गर्थिन् । उनकी बहिनी पनि पछि त्यही पसलमा काम गर्न आइन् । समयसँगै माइजूको व्यवहारमा पनि परिवर्तन आउन थाल्यो । ती दुवै दिदीबहिनीलाई माइजूले सामान चोरको आक्षेप लाग्यो र तिनीहरू त्याे ठाउँ छोडी आफ्नै व्यवसाय खोले र बहिनीले पनि राम्रोसँग पढ्न थालिन् ।
रित्तो आँगन कथाले छोरा र छोरीबिचको असमानतालाई केलाउन खाेजेकाे छ । तेस्रो पटक गर्भ जाँच गरिएको थियो श्रीमतीकाे । एउटा छोरा र अर्की छोरी थिए, पेटमा । पेटबाट छोरा मात्र निकाल्नको लागि उनीहरू भारतको दिल्ली गए । जसोतसो छोरालाई मात्र निकाले । त्यो छोरो ठुलो भएपछि विदेश गयो र विवाह त्यहीँ गरेर पुनः मातृभूमि नफर्कने र बुबाआमा भेट्नका लागि त्यही परदेशमा नै आउनुपर्छ भनी चिठी लेख्यो । त्यो चिठीले आमा निकै भावविह्वल भइन् र आफूले गरेको कुकार्यले उनी निकै पछुताइन् ।
भित्ताका कानः कथामा परदेशमा छोराकी दार्शनिक आमाको चित्रण गरिएको छ । घरमा उनी, उनकी बुहारी र श्रीमान बस्थे । उनी सधैँ छोरालाई चिठी लेख्नकाे लागि गाउँको स्कुलका हेडमास्टरलाई भन्थिन् । एकपल्टको कुरा हो, एउटा चिठी हेडमास्टरलाई लेख्न लगाइएको थियो । त्यो चिठी लेखिसकेपछि हेडमास्टर निकै रिसाए र चिठी च्यातिदिए । त्यसमा आफ्ना श्रीमान् छोराकी श्रीमतीसँग सुतिरहेको कुरा उल्लेख गरेको हुन्छ । त्यसको प्रतिकार गर्न नसकेर उनी माइती जान्छिन् र त्यहाँ पनि उनलाई उनकै परिवारद्वारा मार्ने योजना बनाएको उनले सुन्छिन् । त्यो कुरा पनि यस चिठीमा उल्लेख गरिएको हुन्छ । पछि यो कुरा सबैलाई थाहा हुन्छ र अन्तिममा उनले प्राणोत्सर्ग गर्ने निर्णय लिन्छिन् र नदीमा हाम फाल्छिन् ।
निर्दोष भूलहरूः यस कथामा मानिसद्वारा हुने भुलहरू दर्शाइएको छ । सामान्य भुलले पनि ठुलो विध्वंस निम्त्याउने कुरा यस कथामा उल्लेख गरिएको छ । पहिलो भुलअनुसार एउटी केटी बच्चाले पुन्टे कट्टु लगाउन बिर्सेकाले उसको इज्जत गएको कुरा दर्शाउँदछ । दोस्रो भुलअनुसार मित्रमा हुने खेलमा बदलाको भावले मृत्युसम्म हुने कुरा बताइएको छ । सानो भुलले पनि प्रगाढ विध्वंश निम्त्याउने भएका कारण कुनै पनि कार्य गर्दा राम्रोसँग सोचेर र दार्शनिक भएर गर्नुपर्ने कुरा यस कथाले देखाइएकाे छ ।
सन्तापको धूनः कथाकाे मुख्य पात्र किस्ने हाे । केही दिनदेखि उनको शव एउटा जङ्गलमा त्यसै असरल्ल अवस्थामा हुन्छ । मान्छेले देखे पनि त्यसलाई वेवास्ता गर्छन् । उनी कोढ्याहा भएको कारण त्यस लासलाई नछुन गाउँको मुखियाको आदेश थियो । जिउँदाे हुँदा पनि तल्लो जातको भएका कारण उसलाई कसैले पनि छोएन र मरेपछि कोढ्याहा रोगको कारण उसलाई कसैले पनि छोएन । यस कथा नेपाली समाजको यथार्थताको प्रतिबिम्ब हो । समाजमा रहेको जातीय विभेदको यस कथाले प्रतिनिधित्व गर्दछ ।
निष्कर्ष तथा सिफारिसः
यस पुस्तकमा रहेका प्रत्येक कथाले नेपाली समाजमा रहेको यथार्थतालाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गर्दछन् । गरिवी, आमा बुवाप्रति गरिने तिरष्कार, मानवता, लाभको निम्ति राखिने प्रेम सम्बन्ध, नशच्छेदन, मानसिक सोच, असमानता इत्यादि यस कथाका मूल सारहरू हुन् । यसैको आधारमा घटनाक्रम अगाडि बढ्छ । यस पुस्तकका असमानतामा आधारित कथाहरू अध्ययन गर्दा म भूतकालमा पुनः जानुपरेको थियो । नशच्छेदन सम्बन्धी कथाहरू जस्तैः भजाइनल ट्रमा, वीर्यदान आदिको अध्ययन गर्दा लैङ्गिक असमानताको भाव उत्पन्न भयो । निर्दोष भूलहरू, भजाइनल ट्रमाजस्ता कथाहरू अध्ययन गर्दा अश्लीलताको भाव उत्पन्न भयो । यस पुस्तक मुलतः १८–२० वर्षको व्यक्तिहरू माझ म यो पुस्तक सिफारिस गर्दछु । लेखकको व्यङ्ग्यात्मक ढगंले प्रस्तुत गर्ने शैलीलाई म सम्मान गर्दछु तर व्यङग्य गर्ने क्रममा अश्लीलतालाई धेरै महत्त्व नदिनु बेस हुने कुरा म लेखक माझ आउँदो पुस्तकमा अपेक्षा गर्दछु । भावविह्वल, रोमाञ्चक, हर्षित, उत्कण्ठा आदि भाव उत्पन्न हुने उत्कृष्ट कथा हो यो सन्तापको धून । शीर्षक सन्ताप मात्र रहे तापनि पाठकहरूमा सन्तापको भावबाहेक अन्य भाव पनि उद्बोधन गराउँछ । यो कथासङ्ग्रह मानवको संज्ञात्मक ज्ञानको उत्तम सङ्ग्रहालय हो । भ्रातृत्व, मातृत्व, पितृत्व आदि मानवतामा आधारित कथाहरूले भावविह्वल बनाउँदछन् । असमानता, नशच्छेदनमा आधारित कथाहरूले नेपालको स्थितिलाई सङ्केत गर्दछन् । मुलतः यस पुस्तकका कथाहरू जीवन्त परिवेश, आञ्चलिक भाषाको प्राकृतिक स्वर आदिमा लेखिएका छन् र जीवनोपयोगी ज्ञानको निमित्त यो पुस्तक विशिष्ट पुस्तक हो ।
कक्षा ९, डियरवाक सिफल स्कुल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।