वैदिक मान्यताको सारमा धर्म, अर्थ, काम वा मोक्षसँगको एकाकार नै मानव जीवन हो । अर्थात् लक्ष्यका रूपमा धर्मको पालन, सत्कर्ममार्फत अर्थको उपार्जन, नित्य नियमित हुने कर्महरू र मोक्ष मार्गको रूपमा ईश्वरसँगको साक्षात्कारको योग नै पूर्ण जीवन हो । यो बाहेक जीवनलाई नै परिभाषित गर्ने हजारौँ दृष्टिकोण र आधारहरू छन् ।

मनोविज्ञानका शोधकर्ताहरूले निर्धारित कर्ममा पूर्णतया संलग्न हृदयलाई एकाग्र बनाउँदै व्यक्तिगत सामर्थ्यको उपयोग गर्दै सन्तुष्टि हुनु नै जीवन सफल बनाउने सूत्र हो भन्ने गर्दछन् । यता विज्ञानले नैरन्तर्य मानिसको जीवन, चेतना र बिचारका प्रकृतिहरूको उत्पत्तिको कारणमा हजारौँ अनुसन्धान गरिरहेको छ । परन्तु बहस अनसुल्झा छ, आखिर जीवन र जगतको अस्तित्व के हो ?

जीवन र जगतप्रतिको दृष्टिकोण आँखापिच्छे फरक छन् ।  अस्तित्वको सवालमा पनि हजारौँ तर्कहरू जोडिन्छन् । यो लेखमार्फत दृष्टिकोण र अस्तित्व केन्द्रित कुरा गर्न खोजिएको छ, आखिरमा दृष्टिकोण नै कसरी फरक रहन्छन् । दृष्टिकोणमा अनेकता र अस्तित्व अनित्यको सारले जीवन र जगतको बृहत् विवेचना सजिलो हुन्छ ।  तसर्थ, पहिले दृष्टिकोणको खोजी र अस्तित्वको स्थितिको विषयलाई पर्गेल्न खोजिएको हो ।

सजिलोका लागि स्मरणमा पिपलको एउटा विशाल वृक्ष राखौँ, र दृष्टान्तहरू त्यसमा केन्द्रित गरौँ है त ।

मानौँ, सिद्धार्थ गौतम त्यो समय त्यहीँ आइपुगेका भए, कतै त्यो वृक्ष नै भगवान् बुद्धको ‘बोधिवृक्ष’ पो हुन सक्थ्यो कि, वा सहर ‘बोधगया हुन सक्थ्यो कि ? आखिर ज्ञानको तृष्णामा शाक्यमुनिले पनि यस्तै वृक्षमा आसन लिएरै सिद्धी प्राप्त गरेका थिए ।

यो एक काल्पनिक विचार हो, र प्राथमिक दृष्टिकोण हो ।  तर सामान्यीकृत ज्ञानको अस्तित्वलाई काल्पनिक विचारले नयाँ अस्तित्व निर्माण गर्ने स्थिति आर्जित भएको छ ।

प्राथमिक आत्मज्ञानको अस्तित्वले थपुवा तर्कहरू खोज्दछ, र कताकति त्यसलाई नै मेटाफिजिक्स पनि भनिएको छ । थप तर्कहरू प्रस्तुत गर्न पनि असहज नहोला जस्तै: यो वृक्षको सयलभन्दा उत्तम स्थल कहाँ होला र? कति शान्तमय, आनन्दमय, प्राकृतिक वा यस्तै अन्य – अन्य विशेषण वृक्षमा थप्दा पुग्छ त ।

तर जैविक विज्ञानका विद्यार्थीले बुझेको कुरा हो, पिपलको वृक्ष नै अरूभन्दा पृथक् हुन्छ । तर्क आउँछ, रातको समयमा यसले अक्सिजन प्रयोग गर्छ र सूर्यको प्रकाशमा कार्बनडाइअक्साइड प्रयोग गर्छ अनि अक्सिजन छोड्छ । यो  फोटोसिन्थेसिस प्रणाली हो र क्रस्सुलसेअन एसिड मेटाबोलिजम प्रक्रियाद्वारा निर्देशित छ । उसको निष्कर्ष छ, रात्रिको प्रहरमा पिपलको वृक्षमुनि बस्न वा सुत्नु हुँदैन ।

यसमा असहमति जाहेर गर्ने कुरै छैन, किनकि त्यो त हजारौँ पटक प्रायोगिक परीक्षणहरूले पुष्टि गरेको निष्कर्ष हो । यहाँ तथ्यगत अस्तित्वको प्रश्न भने कमजोर बन्ला, तर अनित्य नै छ र बुद्धको बचनले स्वीकार गर्दछ ।

फेरी त्यही वृक्ष सम्मुख लागौँ, हामीलाई कथनी थाहा छ- भगवान् विष्णु पिपलमा अन्तर्ध्यान छन् । जतिखेर दैत्यहरूले देवताहरूलाई परास्त गरेर भागाभाग भएको थियो, विष्णु त्यहीँ लुकेका थिए । यसर्थ पिपल वृक्ष पवित्र र विष्णुको प्रतीक बन्यो । अन्ततः ब्रह्मा, विष्णु र शिवले वृक्षमुनि नै सृष्टिको उन्नयनका विषयमा परिषद् बैठकहरू सञ्चालन गर्न थाले । शनिवार शनिदेवले मायावी दैत्यलाई पिपलको वृक्षमा निवास गरेर संहार गरेका थिए । त्यसपछि शनिवार पिपलमा शनिदेवको पूजा हुन थाल्यो ।

यो ईश्वरवादी दृष्टिकोण हो र कथनीमा  विश्वास गर्नेहरू आस्तिक त भए नै । अब प्रश्न रह्यो- के कथनीलाई विश्वास गर्ने चैँ आस्तिक, नगर्ने चैँ नास्तिक हो त ?

सिद्धान्त र प्रतिसिद्धान्त भनेको दृष्टिकोणहरूको खोजीले सामान्यीकृत गरेका नामहरू नै हुन् । लेख्दा – लेख्दै अब वादभित्र ‘वाद’ र सिद्धान्तभित्र ‘सिद्धान्त’ आउन थाल्छन् । के यस्ता स्वीकृत र स्थापत्य मतको अस्तित्वलाई सिर्जनाले सधैँ स्वीकार गर्ला त ? अर्थात सिद्धान्तको शिराबाटै प्रतिसिद्धान्तको जन्म भइसक्छ भने के प्रतिपादित मूल विचारको कडी अमित रहन्छ त ? यो प्रश्न अर्को पटक निवारण गर्ने विशेष चेष्टा गरौँला ।

अब माथिका प्लटहरूमा केन्द्रीकृत केही रोचक सवालहरू राखेँ, ती हुन्:

–         बडेमानको वृक्षलाई विष्णुको प्रतिमूर्ति किन मानियो, र लक्ष्मी वा सीताका प्रतीक किन मानिएन ?

–         पुरुषलाई चैँ वृक्ष नै मान्नुपर्ने र नारीलाई चैँ लता-लतिका वा फूलपुष्पमा सीमित राख्नुपर्ने हो र?

–         किन भगवान विष्णु अर्थात् पुरुष प्रतीकको पूजा गर्ने कार्यमा अधिकांश भक्तहरू महिला देखिन्छन् ?

तर यस्ता प्रश्नहरूको निरूपण गर्न फेमिनिजमका सोधकर्ताहरूलाई जिम्मा दिएँ ।

अन्यथा नमाने हुन्छ, यदि वृक्ष लक्ष्मी वा सीताको प्रतीक हुन् भने देउपुजारीमा पुरुषहरूको एकाधिकार स्थापत्य हुन्थ्यो । धेरैतिर दशैंमा मूल घरको दुर्गापूजा र तिहारको गाईपूजा गर्न स्त्रीलाई बन्देज नै गरिएको छ, र त्यो जीवन्त प्रचलनमै छ त ।

यो समय प्रश्न र प्रतिप्रश्नलाई सिद्धान्तको स्नायुमा जोड्ने जिम्मा लेखकलाई छैन, किनकि सिद्धान्तहरू नैमित्तिक सङ्कटमा छन् ।

विष्णु प्रतीकात्मक छन्, र यी मिथकहरू हुन् भन्ने दृष्टिकोणमा तर्क गरिन्छ । निष्कर्षको सत्यता जताउन ‘मिथक’ शब्द नै बलियो प्रमाण बन्दछ । अर्थात् वृक्षलाई सीता वा लक्ष्मीको प्रतीक हो भनेर तर्क गर्नका लागि कुनै बलियो प्रमाण छैन ।

अब मानौँ, एउटा राष्ट्रिय राजमार्गको परिकल्पना भयो, र त्यो वृक्ष भएकै बाटो सडक खोल्ने डिपिआर तयार भयो । दुर्भाग्यवश, वृक्ष काटियो र लामो विरासतको त्यो वृक्ष ‘इतिहास’को हिस्सा बन्यो । आखिर भगवान् बुद्धले भनेकै हो नि, यो संसारका सबै वस्तुहरू अनित्य छन् । अर्थात् त्यो चेतना प्राथमिक तहको न हो किनभने त्यो चेतनालाई बुझ्न खासै सिद्धान्तहरूको प्रयोग आवश्यक पनि छैन ।

गीतामा भनिएको छ, चेतनाका सम्बन्धमा धेरै सिद्धान्तहरू छन् र आफै स्वचालित छ । जसरी सूर्यले सम्पूर्ण जगतलाई आफ्नै स्थानबाट प्रकाशित गरेको छ, हृदयमा पुलकित आत्माको सानो कणले पनि चेतनामार्फत सारा शरीरलाई प्रकाशित गरिरहेको हुन्छ । बुद्धिमान मानिसले यसलाई सजिलै बुझेका हुन्छन् र त्यो जीवनको लक्षण मात्र हो (श्रीमद्भागवतगीता, अध्याय १३, श्लोक ३४) ।

अब अरू प्रश्नहरू:

–         वृक्षमा अन्तर्निहित भगवान् विष्णु वृक्ष ढलेपछि कहाँ भागे होलान् ?

–         शनिदेवको आराधना गर्नेहरूले शनिदेव त्यहाँबाट बसाइ सरेको देखे कि देखेनन् ?

–         भगवानहरू पक्कै भक्तको पुकारा सुन्न अर्को वृक्षमा अन्तर्ध्यान भए कि भएनन् ?

विष्णु वा शनि भगवान् खोइ भन्दा अब तयारी जवाफ आउँछ-  ईश्वर नै छैनन् । किनभने तर्क वा उत्तरका विकल्पहरू अब खुम्चिए । के त्यो जवाफ गर्नेहरू पुरै नास्तिक हुन त ? नास्तिक र आस्तिकको सवाल फेरि आयो, तसर्थ यो विषयमा कुनै अर्को श्रृङ्खलामा घोत्लिने प्रयास गरौँला ।

अब विश्लेषणात्मक निष्कर्षमा लागौँ, विश्व-ज्ञानको दृष्टिकोणमा विज्ञानले भनेको छ-  कुनै पनि ग्रहमा प्राण, अपान, व्यान, समान र उदानका निम्ति चाहिने प्राकृतिक तत्त्वहरू उपलब्ध छन् भने त्यहाँ जीवन सम्भव छ । र, समग्र ब्रह्माण्ड नै जीवनको अस्तित्वसँग सम्बन्धित छ । सृष्टिवादी दृष्टिकोणले सिर्जनाको कुरा गर्ला जस्तै ब्रह्माण्डको वा जीवनको सृष्टि । तर फेरि विकासवादले कसरी सम्भव भयो भनेर श्रृङ्खला खोज्ने न हो । आखिर जीवन र जगत छ, र त यो सबै सम्भव छ । विज्ञानले खोजिरहेको र प्राप्त गरेको नौला तथ्यहरूमा पनि किन धेरै अनौठो मान्नुपर्यो र ?

पछिल्लो पटक जलवायु परिवर्तनका कुराहरू धेरै भएका छन् । पर्यावरणको वकालत गर्नेहरूले राम्रै जागिर पनि पाएका छन् । मानौँ, अहिले सानो एउटा संस्थाले त्यो वृक्षवरिपरि सानो उद्यान बनाएको छ । त्यसपछि यो स्थान झन् केही समय राम्रो र सुन्दर त देखिन्छ । काँडेतारले घेराबार पनि भयो, तर अब भने सार्वजनिक उपयोगबाट बिस्तारै वञ्चित हुन्छ ।

यहाँ सौन्दर्यताको उपभोगलाई सीमित गर्न खोजियो । अर्थात् विनाशको भयले सुन्दरताको शक्तिलाई छिन्यो । हुनसक्छ, वित्तीय जोखिमको मापनमा प्राकृतिक सौन्दर्यताको मूल्य कमजोर बन्यो । सोच्नुहोस्, सुन्दरताको अस्तित्व त आफै पनि मास आद्यन्त फरक हुने नै थियो, झन् हस्तक्षेपले निमिट्यान्न पारिहाल्यो ।

अर्थात्, दृष्टिकोणकै खोजी गरिरहनु धेरै खाँचो परेको विषय होइन । जगतका मूर्त र अमूर्त सबै अनित्य नै हुन् । जे रोप्यो त्यो तीव्र सङ्कटमा छ र फलसिद्धि उपयोग गर्ने समय छैन भने आखिर रोप्नु नै किन ? ‘फलसिद्धिको उपयोग गर्ने समय छैन’ भन्ने कथनलाई सर्तको रूपमा स्वीकार गर्नुहोला ।

प्रत्येक अस्तित्वको आफैमा सिद्धान्त छ, र सम्पूर्ण वस्तुको अस्तित्व कार्यकारण सिद्धान्तमै आधारित भएर उत्पन्न र विनाश हुन्छ । कार्यलाई कारण चाहिन्छ, कारणको अभावमा कार्य हुँदैन । कारण नष्ट भएमा त्यसबाट उत्पन्न कार्य स्वतः अनित्य बन्छ, त्यो नै त्रिपिटकको साक्ष्यमा प्रतीत्यसमुत्पाद हो ।

तर लेखमा पनि धेरै सिद्धान्त र दृष्टिकोण नै प्रयोग भयो । परन्तु, भन्दै छु नि – यो कुराहरू नै क्षणभङ्गुर हुन् । आखिर मानिसको जीवन कुनै दिन अन्त्य हुने त निश्चित छ, त्यो भन्दा ठुलो वास्तविकतावाद (रियालीजम) त केही नहोला । सकल जीवन सकियो भने धर्म, अर्थ, काम वा मोक्ष पनि त सकियो नि ।

अर्थात्, सिद्धान्त भनेको ‘कुरा गर्यो कुरैको दुःख’ जस्तै देखियो । र दृष्टिकोणमा जतिसुकै नयाँपन निकाल्ने यत्न आखिरीमा अभौतिक परन्तु अनित्य नै हो । अस्तित्व सबैको सङ्कटमै छ । लेखको निष्कर्ष यो हो, दृष्टिकोण हजारौँ हुन्छन्, त्यो पनि अभौतिक हो र अनित्य नै हो ।

विशेषत यो लेखमा दृष्टिकोण र अस्तित्व अनित्यको उपसंहारहरू खिच्न खोजिएको हो । यो बहसपछि मात्र जीवन र जगतको सत्यार्थमा दरिलोसँग उभिन सकिन्छ भन्ने लेखकको मत हो । लेखक कहाँ उभिने छन्, अङ्क दुईमा आउने छ ।