तपाईं महिला हो ? संसार बदल्न मन छ ? तर संसार बदल्नुभन्दा पहिला त आफैँ बद्लिनु पर्छ, आफ्नो सोच बदल्नु पर्छ । सोच बदल्नका लागि उसो भए यो बेला के पढ्ने त ?
बेलायतबाट प्रकाशन हुने कस्मोपलिटन म्यागेजिनले सेप्टेम्बर अंक (जुन अगस्त १ मा नै बजारमा आइसकेको छ) ‘क्रान्तिकारी पठन’ शीर्षकमा एउटा आलेख प्रकाशन गरेको छ । जसमा अहिलेका युवा महिलाले पढ्न शुरू गर्न सकिने केही पुस्तकको सूची प्रकाशन गरेको छ ।
क्रान्तिकारी महिलाको पहिचान बनाउन वा विचार निर्माणमा भूमिका खेल्ने उसो भए के पढ्ने त ? सूची तल हेर्नुहोस्ः
लिली कोलको ‘हु केयर्स विन्स’
लिली कोल एक समयकी सुपर मोडल हुन् । उनी मोडलिङबाट सिनेमा उद्योगमा समेत प्रवेश गरिन् र एउटा नाम बनाइन् । उनको बहुचर्चित सिनेमा सेन्ट ट्रिनिअन्स हो ।
जब सिनेमा खेल्न कम हुन थाल्यो, उनले आफ्नो बाँकीको जीवन अर्थपूर्ण बनाउनुपर्छ भन्ने लाग्यो र यतिबेला उनलाई जलवायु परिवर्तन अभियन्ताका रूपमा चिनिइन्छ ।
उनले यस पुस्तकमार्फत मान्छे जस्तो सुकै बेलामा पनि आशावादी हुनुपर्ने धारणा राखेकी छन् । वातावरणका पक्षमा रत्तिभर पनि गम्भीर नहुने मानिस देख्दा कोललाई दिक्क लाग्छ ।
उनले पुस्तकमा आफू मोडलिङ क्षेत्रमा आएको बेलाका अनुभव, आफ्नो निजी आनन्दका लागि मानिसले जनावरका रौँबाट उत्पादन हुने पहिरनप्रतिको आशक्तिले निम्त्याएको जनावरपीडा लगायतका विषयमा कटु आलोचना गरेकी छन् ।
उनी भन्छिन्ः
संसार बदल्न केही गर्नु पर्दैन, अहिले हामीले जे-जस्ता भौतिक सुखका लागि मरिहत्ते गरिरहेका छौँ, त्यस्तो आशक्ति छाडेर आफूलाई नभई नहुने कुरामा मात्र ध्यान दिन सक्छौँ । अथवा, तपाईंले आँखाले देखेका हरेक राम्रा चिज किन्ने भन्दा पनि साँच्चिकै माया गर्ने चिज किनिदिनुभयो भने तपाईंले यो संसारलाई कृपा गरिरहनु भएको हुन्छ । हरेक सचेत व्यक्तिले त्यति मात्र गरिदियौँ भने पनि संसार बद्लिन्छ । तपाईंको दुई वटा शब्द यस वा नोले धेरै कुरा फरक पारिदिन्छ ।
जेन फोन्डाको ह्वाट क्यान आई डु ?
हलिउडकी प्रख्यात अभिनेत्री जेन फोन्डालाई एउटी सुन्दर हिरोनीका रूपमा मात्र लिनुभयो भने गल्ती गरिरहनु भएको हुनसक्छ ।
जेन फोन्डा पनि बिग्रँदो वातावरण प्रति साह्रै चिन्तित छिन् । धुँवा, धुलो, विलुप्त हुँदै गरेका कयौँ जनावरहरूको प्रेमले उनी चिन्तित छिन् । यति चिन्तित छिन् कि उनी भन्छिन्, शक्तिशाली मानिसहरूले सारा बेथिति रोक्नका लागि एक्सनमा जान ढिला भइसक्यो ।
उनले यस पुस्तकमा आफू चर्चित हिरोइन भइसकेपछिका निरसिला दिनहरूमा कसरी जलवायु परिवर्तनबारे सोच्न थालिन् र अभियन्ताका रूपमा उदाइन् भन्नेबारे लेखेकी छन् ।
उनले जलवायु परिवर्तनका असर र त्यसलाई रोक्नेबारे केही सुझाव सल्लाह पनि दिएकी मात्र छैनन्, आफूसँग जोडिन हरेक पाठकलाई आग्रहसमेत गरेकी छन् ।
उनी भन्छिन्ः
‘सडकमा निस्कने र नारा लगाउने कुरामा बानी पार्नुस् । सरकारलाई हत्तु बनाउन तपाईं सडकमा निस्कनै पर्छ । कहिलेकाहीँ बन्द र ठप्प पारिदिनै पर्छ किनभने सरकारहरू बैरा हुन्छन् । तिनले सानो स्वर सुन्नै चाहदैनन् । यसो गर्दा तपाईं विद्रोही हुनुहुन्न । विद्रोही त तपाईं त्यो बेला भइरहनु भएको हुन्छ, जब तपाईं बिनाकाम घरैमा बसिरहनु हुन्छ, केही सोच्नु हुन्न र आफैँलाई हानि पुर्याइरहनु भएको हुन्छ ।’
एलिफ सफाकको हाउ टु स्टे सेन इन एज अफ डिभिजन
बुकर पुरस्कारको नामांकनमा परेकी लेखिका सफाक उपन्यास लेखेर सर्वसाधारणलाई मनोरञ्जन मात्र दिलाउँदिनन् । उनी त एउटा सचेत लेखिका भएका कारण बेलाबेलामा अभियानसमेत सञ्चालन गरिरहेकी हुन्छिन् ।
टर्कीकी प्रख्यात लेखिका सफाकले त्यहाँको सरकारलाई बेलाबेलामा हैरान बनाउँछिन्, अभियानमार्फत् । कहिले वाक् स्वतन्त्रताबारे सरकारसँग झुत्ती खेलिरहेकी हुन्छिन् त कहिले कोही अन्यायमा परेकालाई बोलेर, कानुनी रूपमा लड्न खोजेर सघाइरहेकी हुन्छिन् ।
यो किताब हेर्दा निकै सानो छ । पकेट साइजको यो किताबमा जे जस्ता कुरा लेखिका सफाकले अभिव्यक्त गरेकी छन्, प्रत्येक वाक्यमा मुक्का हाने बराबरको सशक्त अभिव्यक्ति पस्किएकी छन् ।
अस्तव्यस्त यो संसारमा केही काम पनि ठीकसँग भइरहेको छैन भनेर तपाईं दिक्क, निराश र आत्तिनु भएको छ भने यो किताबले तपाईंलाई भविष्यप्रति आशावादी हुने ठाउँ दिएको छ ।
उनी भन्छिन्ः
तपाईंभित्रको निराशालाई अँगाल्नुस्, त्यसलाई स्वीकार गर्नुस् । हामी आफैँलाई गाली गरेर, कुण्ठित भएर बाँच्न सक्दैनौँ । सधैँ खुसी मात्र खोजेर पनि हुँदैन । हामी जे हौँ, जस्ता छौँ त्यसलाई स्वीकार गरेर, योभन्दा राम्रो हुने र गर्ने संकल्पका साथ अघि बढ्नु पर्छ तर अहिल्यै तुरून्तै त्यो चाहियो भनेर अड्डी नकस्नुस् । आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्ने प्रयासलाई जारी राख्नुस् ।
यति बुझिसकेपछि अब तपाईंलाई अन्य थप चार वटा पुस्तकका बारेमा बताउनै पर्छ । ती पुस्तकले पनि तपाईंलाई आशावादी बनाउन भूमिका खेल्न सक्छन् ।
काजल ओडेड्राको डु समथिङ एक्टिभज्म फर एभ्रिवन
बेलायतस्थित चेन्ज डट ओर्गकी निर्देशक काजलले कसरी साना साना कुराहरूबाट संसार परिवर्तन भइरहेको छ भनेर उदाहरण दिँदै तपाईंले पनि त्यो भूमिका कसरी खेल्न सक्नुहुन्छ भन्नेबारे खुलाएकी छन् ।
इब्राम एक्स केन्डीको हाउ टु बि एन एन्टिरेसिस्ट
तपाईं जातिवादी हुनुहुन्न भने राम्रो कुरा हो तर कुरा त्यतिमै मात्र अड्किनु हुन्न । तपाईं जातिवादीविरोधीका रूपमा देखिनु पर्छ । हरेक ठाउँमा भएका अन्यायका बारेमा मुख खोल्नुपर्छ । सशक्त रूपमा एनटिरेसिस्ट अर्थात् छुवाछुतबारे कडा रूपमा प्रस्तुत हुनै पर्छ । यो पुस्तकले कसरी छुवाछुत र अन्यायका बारेमा खुलेर अघि बढ्न सकिन्छ भन्नेबारे मज्जाले बताउँछ ।
ग्रेटा थनबर्गको नो वन इज टू स्मल टु मेक अ डिफरेन्स
किशोरावस्था नै जलवायु समस्यामा केन्द्रित रहेर अभियान सञ्चालन गरेकी ग्रेटा थनबर्ग अहिलेको किशोर पुस्ताकी सबैभन्दा चर्चित व्यक्ति हुन् । एक पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई खाने खेल्ने उमेरमा चिल गर्न छाडेर के उफ्रिरहेकी ? रमाइलो गर भनेका थिए । उनले त्यो कुरा अस्वीकार गर्दै जवाफमा भनेकी थिइन्, ‘तपाईंहरूले जहिल्यै चिल गरेर हामीलाई अप्ठेरो वातावरण र जलवायु परिवर्तनको खतरनाक मोडमा ल्याइदिनु भएको छ । हामी चिल हुनै सक्तैनौँ ।’
रेनी एडो-लजको ह्वाई आम् नो लङ्गर टकिङ टु ह्वाइट पिपुल
रेनीको यो बेवाक पुस्तकले तपाईंलाई भित्रैसम्म हल्लाइदिन्छ । कसरी छुवाछुट र विभेद संरचनागत रूपमा भित्रसम्म फैलिएको छ भन्ने खुलासा उनले यस पुस्तकमार्फत गरेकी छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।