परिचय
चर्चित हुनु र लोकप्रिय हुनुमा निकै नै फरक छ । चर्चित व्यक्ति लोकप्रिय नहुन सक्छ र लोकप्रिय व्यक्ति चर्चित नहुन पनि सक्छ । जो सम्पर्कमा आयो त्यसको मन जित्नु र त्यसको प्रिय बन्न सक्नु लोकप्रियताको लक्षण हो । नेपाली साहित्यमा मनोहारी रचना दिएर गएका कति सर्जकहरू होलान् जसका रचनाहरू जजसले पढे तिनका मनमा अमीट छाप बन्यो तर धेरै नपढेकै कारण उनीहरूको चर्चा हुनुपर्ने जति भएन र चर्चा नभएकै कारण अरू धेरै पाठकले पढ्नै पाएनन् ।
यस्तै एक स्रष्टा जसको चर्चा समकालीन अन्य साहित्यकारका तुलनामा कमै मात्र भयो तर उनका रचना पढ्ने पाठकका लागि भने उनी प्रिय थिए, छन् र रहिरहने छन्, त्यस्तो नाम हो चितवन शीखरबास । हरिबहादुर ढुङ्गाना (१९९८ – २०७६) नेपाली साहित्यमा निकै लामो समय चितवन शीखरबासको नामबाट कलम चलाउने साहित्य साधक हुन् । मनको रन्को (पहिलो भाग, २०२३), तिलाञ्जली (२०३१) र मनको रन्को (दोस्रो भाग, २०५४) कविता सङ्ग्रह, कसको स्वास्नी (२०२५) खण्डकाव्य, राष्ट्रकवि (२०२६), बुद्धिको कमजोरी (२०२६), एकोहोरो माया (२०५८) र नेपाल आमाको शुभेच्छा (२०७५) कथाहरू तथा तिलाञ्जलीको भूमिका (२०७१) कविता सङ्ग्रह तुम्हारी तलास लिए (२०७५) हिन्दी गीत सङ्ग्रह जस्ता उनका साहित्यिक कृतिहरू प्रकाशित रहेका छन् ।
मुख्य गरी कथा र कवितामा कलम चलाएर जीवनका अमूल्य अनुभवहरूलाई आफ्नो चित्तबुद्धिले पर्गेलेर सत्यको अन्वेषण गरी रचनाहरूमा अभिव्यक्त गर्ने स्रष्टाका रूपमा शीखरबासको रचनाधर्मिता सिर्जना भएको देखिन्छ । उनी अध्यात्ममा विश्वास गर्छन् तर धर्मका नाममा गरिने मानव समुदायको विभाजन र परस्पर घृणाको सिर्जनाप्रति उनको असहमति रहेको छ । कथामा देशभक्ति मात्र होइन त्यससँग व्यावहारिक रूपमा भोगेका ऊहापोहहरू जोडेर जीवनका ससाना सत्यहरूका माध्यमले भोगाइको सूक्ष्म अवलोकन गर्नु उनको मूल विशेषता हो । उनका रचनाहरूको सबै पक्षको अध्ययन गर्न ठूलै अनुसन्धान र तथ्यहरूको अनेक कोणबाट विश्लेषण आवश्यक पर्ला ।
त्यसका लागि अध्ययनको दिक, काल र आयतन पनि ठूलै खर्चिनुपर्ने र सामर्थ्य पनि उत्तिकै लाग्ने हुँदा यस संक्षिप्त लेखमा त्यस्तो धृष्टता गरिएको छैन । उपलब्धताका हिसाबले प्रयोजनपरक आधारमा उनका प्रतिनिधि कथाका रूपमा नेपाल आमाको शुभेच्छा कथा सङ्ग्रहभित्रका तीन ओटा कथा नेपाल आमाको शुभेच्छा, केदार बाजेको तृष्णा र कविताको धुनलाई अध्ययनको नमुनाका रूपमा लिएर तथा कविताहरूमा प्रतिनिधि रचनाका रूपमा तिलाञ्जली (२०७५) कवितासङ्ग्रहका कविताहरूलाई आधार मानेर ती कृतिभित्र स्रष्टा शीखरबासले जीवनजगत् र समग्र विषयमा अभिव्यक्त गरेको लेखकीय दृष्टिकोणको मात्र चर्चा गर्ने उद्देश्यले यो आलेख तयार पारिएको छ ।
000
कथाहरूको विषय
नेपाल आमाको शुभेच्छा (२०७५) कथासङ्ग्रहमा सङ्कलित तीन ओटा कथासङ्ग्रहका आधारमा भन्नुपर्दा कथाकार चितवन शीखरबासका कथामा जीवनका सामान्य घटनाहरूलाई तिनको विशिष्ट कारण र प्रभावका अन्वेषणबाट महत्त्वको पहिचान र स्थापत्य कायम गरिएको हुन्छ । उनी राजनीति, समाज र मानवीय विषयका अनेक आयामहरू कथामा प्रस्तुत गर्छन् । उनले कथामा उठाएका मुद्दा, विषयको छनोट, घटना र पात्रको सिर्जना वा चयन सबै किसिमले साधारणमा तथ्यहरूबाट जीवनको जटिल सत्यको उद्घाटन गर्ने र कतिपय निकै ठूला ठानिएका घटनाहरूलाई साधारण तथ्यमा अनावृत गर्ने कला उनको कथा सिर्जनको महत्त्वपूर्ण प्राप्ति हो भन्न सकिन्छ ।
‘नेपाल आमाको शुभेच्छा’ शीर्षक कथामा उनले सामाजिक, राजनीतिक मानवीय यथार्थलाई चित्रण गरेका छन् । केवल आफ्नो मात्र स्वार्थबाट परिचालित हुने राजनीतिक कार्यकर्ता, नेता र शासकहरूका कारण देशको विकास समुन्नति हुन नसकेको हो भन्ने ठम्याइ यस कथाको कथ्य विषय हो । राजनीतिमा केवल वैयक्तिक स्वार्थमा लिप्त भएर देशको हितलाई लत्त्याउनेहरूको बोलवाला छ र तिनका कारण राजनीतिबाट देशको मुहार फेर्न चाहने इमानदार व्यक्तिहरू निरुत्साहित भएर असफल बन्न पुग्दछन् भन्ने कुरा यस कथामा प्रमुख पात्र विमलका माध्यमले प्रस्तुत गरेका छन् ।
नेपाली परम्परा, मौलिकता र पहिचानका रूपमा एकताका केन्द्रका रूपमा रहेका राजालाई सही सल्लाह दिएर देशको विकास र समृद्धिको यात्रामा उनलाई सघाउनुको साटो केवल राजाको प्रशंसा मात्र गरेर आफ्नो स्वार्थसिद्धि गर्न चाहने राजावादीहरू र विदेशी इशाराबाट चल्ने राजाविरोधीहरू सबैसित दिक्क भएर, देशको मुहार फेर्न केही गर्ने जोस र जाँगर भएको युवा विमल राजनीति गर्न पैसा र पद नभई नहुने ठानी भारततिर भासिन पुगेको विडम्बना तत्कालीन नेपाली समाजको प्रतिनिधि यथार्थ हो ।
भारत गएर दुई चार पैसा पनि कमाउने र केही पढलेख गरेर नेपाल आई राजनीतिमा सक्रिय भएर त्यसभित्रका विकृति विसङ्गतिविरुद्ध डटेर लडी देशको विकास र समृद्धिमा फड्को मारी छाड्ने अठोट भएको युवा भारत पुगेपछि अनेक आर्थिक सङ्कट र न्यूनतम पारिश्रमिकमा काम गर्दागर्दै बङ्गाली शरणार्थी केटीसित प्रेम गर्न थाल्छ । उनीहरूको सम्बन्ध हार्दिक, आत्मीय, पवित्र हुँदाहुँदै पनि कथित जातीय विभाजनका कारण कथित जातिवादी परम्परामा हुर्केका जातका ठेकेदारहरूले उनीहरूको प्रेमलाई अस्वीकार्य मान्दै उनीहरूको बीभत्स हत्या गर्दछन् । मानवता र मानवीय मूल्य तथा दया, करुणा, हार्दिकता तथा मानवीय सम्बन्धहरूभन्दा पनि माथि जातलाई राख्ने सङ्कीर्ण जातिवाद र धर्मवादको आपराधिक मनोवृत्ति तथा आडम्बरी परम्पराका कारण कसरी सभ्यता नै कलङ्कित बन्न पुगेको छ र माया, प्रेम र मानवताको हत्या भएको छ भन्ने आजको सामाजिक विडम्बनालाई कथाकारले जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।
एकातिर देशभक्ति, अर्कातिर सबै मानिस एकै हुन भन्ने मानवतावादी समतावादी उदार र उदात्त मानवीय चेतना तथा तेस्रोमा जात र धर्मका नाममा अधर्म, अपराध र बर्बरता बाँचिरहेको कुजात परम्पराको एकै पटक विवेचना गरेर आफ्नाे मानवतावादी राष्ट्रवादी पक्षधरतासहित कथाकारले मार्मिक कथाहरूको सिर्जना गरेका छन् ।
मानिसले नै बनाएका जात, धर्म र आर्थिक वर्ग तथा सामाजिक सांस्कृतिक भनिने कथित आडम्बरहरूबाट मानिस स्वयम् कसरी प्रताडित छ भन्ने कुरा कथाकार चितवन शीखरबासका हरेक जसो रचनामा प्रकट भएको छ । यिनै अनेक मानव निर्मित हैसियतका पैमानाहरूका कारण कति व्यक्तिहरू समाजमा अपहेलित घृणित भएर बाँच्न विवश भएका छन् । शोषणका सिकार भएका छन् । श्रम शोषण प्रत्यक्ष भइरहेको छ भने निम्न वर्गीय आर्थिक हैसियतका मानिसहरूले आफ्ना न्यूनतम शारीरिक मानसिक आवश्यकताहरूको पनि परिपूर्ति गर्न सकेका हुँदैनन् । केदार बाजेको तृष्णा शीर्षक कथाका केदार बाजे त्यस्तै किसिमका उत्पीडित पात्र हुन् । आर्थिक रूपले विपन्न केदार बाजेलाई ठूला ठालूहरुले उनको अभावको फाइदा उठाउँदै उनलाई काममा त लगाए तर उनका न्यूनतम आवश्यकता पूरा गरिदिने चासो भने कसैले देखाएनन् । पेट पाल्न जेनतेन सक्षम केदार बाजेको मानवीय आवश्यकताकै रूपमा रहेको यौन तृष्णा भने पूरा हुन सक्ने कुरै थिएन ।
त्यसैले उनी अधबैँसे उमेरमा पनि कसैले विवाह गराइदिने आश्वासन दिएकै भरमा श्रम बेच्न तयार हुन्थे । तर स्वार्थी दुनियाँले उनको यही अभावलाई कमजोरी बनाएर त्यसैको फाइदा उठाइ रहे । यस कथाको विश्लेषण यौन मनोविज्ञानका दृष्टिले फ्रायडियन कोणबाट पनि गर्न सकिन्छ तर यसको अर्थ सामाजिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ ।
‘कविताको धुन’ शीर्षकको कथामा म पात्रलाई कविता प्रकाशन गरिदिने आश्वासन दिएर कविता लेख्न लगाउने तर प्रकाशित गर्नुपर्ने बेलामा अनेक बहानाबाजी गर्ने, प्रकाशक, व्यापारी, अधिकारीहरू र प्रायोजकहरूको बेइमानी प्रस्तुत गरिएको छ । वास्तवमा साहित्यलाई अनुत्पादक ठान्दै मानिस त्यसमा लगानी गर्न नचाहने हुनाले सभ्यता, संस्कृतिको एक प्रमुख स्तम्भका रूपमा रहने साहित्य विधा कसरी अवहेलित भएको छ भन्ने यथार्थको चित्रण यस कथाले गरेको छ ।
मानिस रसरङ्ग, मनोरञ्जन र उत्तेजनाहरूका लागि मनग्य खर्च गरिरहेका हुन्छन् । ब्राण्डेड रक्सी, महँगा विलासी सामग्रीहरू र यौन प्यास मेट्नकै लागि पनि समय र सम्पत्ति खर्च गर्न हिचकिचाउँदैन तर सामाजिक मानवीय उच्च मूल्यहरूको कलात्मक अभिलेखबाट ज्ञान र सभ्यताको पुस्तैनी हस्तान्तरण गर्दै आइरहेको मान्छेका विकसित चेतनाहरूको दस्तावेजीकरण गरिने साहित्य प्रकाशनका लागि केही लगानी गर्न उसले चाहना गर्दैन । समयको सामाजिक विडम्बनायुक्त यस यथार्थलाई कथाकारले मार्मिक चित्रण गरेका छन् ।
यसरी हेर्दा चितवन शीखरबास सामाजिक कथाकार हुन् । समाजका अँध्यारा र उज्याला दुवै पक्षहरूको सूक्ष्म अवलोकन गरेर मनमा बिझाउने प्रतिनिधि सत्यलाई उनले कथाहरूमा पुनसिर्जन गरेका छन् । कल्पनाशीलता र साहित्यसिर्जना अन्योन्याश्रित हुन्छन् । उनको कल्पना केवल कोरा कल्पना नभएर समाजमा आवश्यक परिवर्तन गरी उन्नत, विकसित र मानवीय आदर्शसहितको मानवतावादी, विभेदरहित, विवेकपूर्ण, मानवीय मूल्यहरूको सर्वथा वरण गरिएको सभ्य समाज बनेको एक आदर्श कल्पना हो । यस आदर्शमा परम्परागत आडम्बर, धार्मिक विभाजन र घृणा तथा कटुताका विरुद्ध प्रेम, मानवता र समतामुखी भावना प्रकट भइरहेका देखिन्छन् ।
000
कविताको अन्तर्वस्तु
चितवन शीखरबासले आफ्नो सिर्जनशील जीवनमा अनेक लघु, लघुतर तथा केही लामा कविताहरू पनि लेखेका छन् । उनका खण्डकाव्य स्तरका कविता पनि प्रकाशित छन् । कविताको अन्तर्वस्तु, विचार पक्ष र कथ्यको उद्देश्यको अध्ययनका लागि यस लेखमा केवल उनको तिलाञ्जली (२०२७) कविता सङ्ग्रहको दोस्रो संस्करणमा समेटिएका छोटा आकारका नब्बे ओटा कवितालाई मात्र प्रतिनिधि नमुनाका रूपमा लिइएको छ ।
यसबाट कवि एक आध्यात्मिक चेतनायुक्त, मानवीय पक्षहरूप्रति संवेदनशील र जीवनको बोधमा गहिरो अभिरुचि भएका सशक्त काव्यिक चेतनाका शिखर हुन् भन्ने देखिन्छ । उनका समकालीन कविहरू गोपालप्रसाद रिमाल, भूपि शेरचन, वैरागी काइँला प्रभृति जस्तै चर्चा उनका कविताले पाएका छैनन् । एक किसिमले नेपाली वाङ्मयको एक प्रतिभाशाली निधि गुमनाम रहेको महसुस उनका कविताको अध्ययन क्रममा भई नै हाल्छ । यद्यपि उनका रचनाहरू नेपाली साहित्यका उल्लेखित धरोहरहरूका रचनासित तुलनीय छन् ।
कथापछि कवितामा नै सबैभन्दा जीवन्त जीवन उतार्ने कवि हुन् कवि शीखरबास । कवितामा संरचना र भाव दुवै किसिमले शीखरबास नवीनताको खोजी गर्छन् । कविकै रूपमा उनको पृथक् पहिचान निर्माण गर्न यस्तो नवीनताको खोजी सार्थक सिद्ध भएको छ । कवि शीखरबास मूलतः कवि हुन् । उनका कवितामा उनको कवि व्यक्तित्व हाबी भएको छ । यद्यपि उनी कवितामा पनि भावको लालित्य नै प्रस्तुत गर्ने कोमल कवि हुन् । उनी राजनीतिका कुरा, विद्रोहका कुरा पनि अत्यन्त शिष्ट र कोमल शब्दावलीमा भन्ने प्रकृतिका कवि हुन् । उनका कवितामा पनि उनको यही वृत्ति प्रकट भएको छ । मूलतः उनी प्रेमका कवि हुन् भन्ने उनका कविताहरूमा प्रयुक्त विषयले दर्साएको छ । उनको प्रेम मुटुदेखि माटोसम्म व्यापक परिवेश समेटेर फैलिएको छ । उनको प्रेम केवल प्रेम मात्र होइन । जीवनका अनेक पक्षहरूको बहुविध आयामहरू समेटिने उनको प्रेम चराचर जीवनको समष्टिलाई हेर्ने एक ध्यान वा तपस्या र साधना हो ।
यसरी हेर्दा उनका कवितामा प्रयुक्त विषयको विविधता सबै रौँ चिरा विश्लेषण गर्ने हो भने सयौँ प्रकार हुन सक्ने देखिन्छ । स्थूल रूपमै हेर्दा पनि उनका कवितामा प्रयुक्त विषयको विविधतालाई बृहत्तर विषय क्षेत्रमा फैलिएको देख्न सकिन्छ । युगल प्रेमका अनेक आयामहरू : प्रणय, आकर्षण, अनुराग, सौन्दर्य, वियोग, धोका, समर्पण, उद्वेग, रोमाञ्चकता, रति, यौन मनोविज्ञान र मनको प्राकृतिक अवतार, देशभक्ति, बलिदानी भाव, स्वतन्त्रता मोह तथा राजनीतिक चेतना, विसङ्गतिबोध, अस्तित्व चेतना, निस्सारताबोध र निराशाजन्य अनुभूति, जीवनबोध, संघर्ष र दर्शन, मानवतावाद, मानवीयमूल्यको पक्ष र विभाजन र विभेदकारी परम्पराको विरोध, लैङ्गिक चेतना, पर्यावरणीय चेतना, ग्रामीण सरल जीवनको मोह र शहरी यान्त्रिकताप्रति वितृष्णा, आशा, सकारात्मक सोच, हलुका व्यङ्ग्य र अन्य विविध जीवनसाध्य विषयगत कथ्यहरूले भावशील श्रुतिपेशल बृहत् क्षेत्र उनका कवितामा समेटिएको छ ।
प्रेम, सपना र जीवनबीच अन्योन्याश्रितता, प्रेमालाप र यौनको शिष्ट चित्रण, शृङ्गार र मानवीय भावनाको प्रकृति, मानवतावादी दृष्टिकोण, विश्वबन्धुत्व र मानवता, प्रेमको पक्षधरता, धर्म र परम्पराले सिर्जना गरेका विभेद विरुद्ध मानवताको पक्षपोषण, विद्रोह चेतना, यथास्थितिको विरोध तथा परिवर्तन र स्वतन्त्रताको पक्षधरता, मानवीय मूल्य र मर्यादामा आएको स्खलन,, शहरी यान्त्रिकताप्रति वितृष्णा र ग्रामीण जीवनको स्वच्छताप्रति मोह, विचार पक्ष र विश्व दृष्टिमा जोड, सकारात्मक/आशावादी सोच र वर्गीय दृष्टिकोण, विकास र वातावरणको सन्तुलनवादी दृष्टिकोण, राष्ट्रियता र लोकतन्त्रप्रति अटल आस्था, धर्म-साम्प्रदायिक विभाजनविरुद्ध मानवतावादी वैचारिक दृष्टि, अन्तर्राष्ट्रिय तथा वैश्विक समुदायबिच सौहार्द सम्बन्धको आधार मानवतावाद जस्ता विषयगत तथा प्रवृत्तिगत विशेषताहरू शीखरबासलाई नेपाली कवितामा पृथक् व्यक्तित्व प्रदान गर्दछन् । उनका कवितामा रहेका उपर्युल्लिखित विशेषताहरू कविताका माध्यमले कविलाई जीवन मूल्यहरूको उद्घाटन र मानवीय संवेदनाहरूको नजिक ल्याएर एक दार्शनिक भूमिकामा उपस्थापन गरेका छन् ।
प्रकृतिलाई आफू बाँचेको जीवनको अभिव्यक्तिका रूपमा नै प्रस्तुत गर्ने क्रममा लोकलयको सरलतालाई जीवनको स्वाभाविक गति जसरी नै प्रयोग गर्दा उनका अन्त्यानुप्रासयुक्त तथा अन्त्यानुप्रासविहीन दुवै किसिमका हरफहरूमा प्राकृतिक सौन्दर्य सिर्जना गरेका छन् । अन्यायको विरोधमा वैचारिक मत उनका कविताको उद्देश्य बनेको छ । यथार्थकै सजीव सत्ताका रूपमा प्रकृति र त्यसैको धरातलमा उभिएको क्रान्तिकारी आदर्श उनका कविताको अर्को विशिष्ट पक्ष हो ।
शास्त्रीय नभए पनि त्यत्तिकै गति-यतिमय लयात्मक लोकलयहरूको भाकामा र स्वनिर्मित लयहरूको लालित्यमा तथा अन्तर्लयात्मक संवेगहरूमा नयाँपुराना बिम्ब, प्रतीक र मिथकहरूको पुनसिर्जन, नवनिर्माण एवम् विधागत संरचनाको अनुशासनप्रति पनि रमरम आकर्षणले उनका कविता चित्ताकर्षक नवीनताका मौलिक धरोहर बनेका छन् । विद्रोह र भावुकताको समायोजनमा मानव र विश्वब्रह्माण्ड, मानवआत्मा र विश्व आत्मा, व्यष्टि र समष्टि, प्रकृति र पुरुष तथा एक र अनेकबिचको समायोजनबद्ध दार्शनिक सत्य र प्रेमद्वारा संसार बदल्ने सपना शीखरबासका कविताले सिर्जना गरेका छन् । कल्पनाको उच्च उडान, रहस्यमयता, आलङ्कारिता, प्रतीकात्मकता तथा कतैकतै निराशाको अभिव्यक्तिका कारण पनि उनका कवितामा अभिधाका तहमा एउटा अर्थ दिने तर लक्षणा र व्यञ्जनाका तहमा अर्थका अनन्त स्वरूपहरू प्रकट हुने अवस्था सिर्जना हुँदा केही जटिल बन्न पुगेका भए पनि ती कविताले बौद्धिक पाठकको अपेक्षा भने गरेकै छन् । मानवीय मुक्ति र समृद्धिको आकाङ्क्षा राख्ने विद्रोही कविको छवि उनका कविताले उनलाई प्रदान गरेका छन् ।
मलाई सामाजिक मान्यता चाहिँदैन
म समाजको उपेक्षा सहेर नै बाँच्ने छु
जाली समाजको मान्यता पाएर
मेरो कण्ठ अवरुद्ध हुन्छ
(पीडा दिनेछ, २५)
कवि शीखरबासका कविता केवल मानिसका कथा हुन् । ती कथाहरूमा मानिसका आन्तरिक तथा बाह्य व्यक्तित्वका जटिलताहरू प्रस्तुत गरिएका छन् । समस्यालाई कुण्ठाका रूपमा होइन वर्तमानका आवश्यकताहरूका रूपमा उनले यथार्थलाई प्रारूप प्रदान गरेका छन् । एउटा उपन्यास वा कथा बन्न सक्ने विषयलाई एकदुई पङ्क्तिमा प्रकट गर्न सक्ने क्षमताले उनका कवितालाई खँदिला र गहन तथा उनलाई गम्भीर कविका रूपमा स्थापित गरेको छ । उनको कवि व्यक्तित्व यसै सन्दर्भमा उज्यालिएको आभास हुन्छ ।
कवितामा विश्वदृष्टिका गहन विचार र विषयहरूको सिर्जना गर्ने शीखरबास कवितामा आफ्ना मनका केही स्फुट भावनात्मक तथा अनुभूतिजन्य झिल्काहरूलाई मात्र प्रस्तुत गर्ने र आफ्ना कविता काव्यको गहिरो साधनाको सह उत्पादनका रूपमा मात्र अन्य विधालाई लिने गरेको जस्तो देखिए पनि उनका कथा कविता वा अन्य विधाको विनोदी शैली र तिनले व्यक्त गरेको लाक्षणिक सत्यको विवेचना गर्दा उनका जुनै कविता र अन्य रचनामा कवितात्मक गाम्भीर्यको अत्यन्त सघन मूल्यवरण गरिएकै पाइन्छ । कलामूल्य, काव्यिक चेतना, विषयगत विशिष्टता र विचारको प्रक्षेपणका दृष्टिले उनका कविता अनुपम छन् र उनको कवि व्यक्तित्वको स्थान उच्च रहेको छ ।
मानवीय मुक्ति र समृद्धिको आकाङ्क्षा राख्ने विद्रोही कवि हुनुका नाता उनको मुख्य चिन्तन सांसारिक पीडाबाट मुक्ति पाउनका लागि कर्मको पूजा गर्नुपर्छ भन्ने हो । उनले कथित परम्परा, आधुनिक सभ्यता र संस्कार नामको खोक्रो आडम्बर र आडम्बरयुक्त जीवनशैलीप्रति व्यङ्ग्य गरेका छन् । मान्छेको अन्तर्यलाई प्रकट गर्ने क्रममा र मानव मनका यौन, प्रेम र भावनाहरू प्रकट गर्ने क्रममा चेतनप्रवाहनिकट सिर्जन शैलीको निर्बाध धारा पनि उनका कवितामा पाउन सकिन्छ ।
युवावयमा लेखिएका वैयक्तिक आकर्षण प्रकट गर्ने उनका कविताहरूमा शिष्ट शृङ्गारको अनुपम रोमान्सेली हृदय झङकार भेटिन्छ । प्रेमी हृदय उनका कविताको एक प्रमुख विशिष्ट अन्तर्वस्तु हो । नेपालमा विद्यमान गरिबी, असमानता र त्यसको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक नेतृत्वको अकर्मण्यता र परम्परागत आडम्बरबाट सिर्जित दुःखको अभेद्य दुष्चक्र देखेपछि उनले लेखेका कवितामा संसारलाई नै अँध्यारोले निल्न थालेको अभिव्यक्ति प्रकट गरेको पाइन्छ । यसबाट उनी भावुक कवि बन्न पुगेका छन् र यही भावुकताको टेलीपेथी पाठकका हृदयसम्म सञ्चरणले पनि उनका कविता सबैलाई आफ्नै कथाजस्ता प्रतीत हुन जान्छन् ।
अपहृत विहङ्गम दृश्यहरू
पृथ्वीको काखमा छितरिएका छन्
चन्द्र र सूर्य असहाय भएर हेरिरहेका छन्
शताब्दी शताब्दीदेखि
रुपलावण्यवति र धनवानहरु पनि
यसै पृथ्वीमा चहलपहलिएका छन्
सूर्य तपन खप्न नसकेर…
दिनमण्डलको सूर्यतापमा
म आफैँ होस गुमाई
जलिरहेको छु।
सामान्य विषयप्रति रुचि जगाउने उनका कविताले सिर्जनशील प्रौढतालाई प्रकट गरिरहेको देखिन्छ । सुन्दर र सरल बिम्ब, लयात्मक माधुर्य र स्पष्ट, बौद्धिक तथा मनोहारी उद्देश्यको अभूतपूर्व अन्विति उनका कविताको विशेषता हो । यसरी उनले आफ्ना कवितालाई आफ्ना अमूल्य अनुभूतिहरूको नरम मखमली जस्ता हार्दिक रचना बनाएका छन् । त्यसमा घोलिएर रहेको बौद्धिकता कतै नबिझाउने गरी उखुका रसमा मिसाएको औषधी जस्तो बन्न पुगेको छ । उनका कविता उनको स्वअनुभवमा आधारित छन् र उनको अभिव्यक्ति शैली पनि निष्कपट रहेका कारण कविताहरू एकातिर विश्वसनीय र प्राकृतिक स्वादका बन्न पुगेका छन् भने अर्कातिर ती कविताहरूमा लेखकीय इमानदारी झल्केको छ ।
प्रेम उनका कविताको उल्लेख्य मात्र होइन प्रमुख विषय पनि हो । आमाको वात्सल्य चेतना, यौवनाको प्रेमीप्रतिको समर्पित भावना, भक्तको इश्वरीय प्रेम, मान्छेको तल्लो वर्गप्रतिको वर्गीय पक्षधरता जस्ता अनुराग, आकर्षण, सहानुभूति, माया वा प्रेमको अभिव्यक्ति उनका हर कवितामा कतै न कतै प्रकट भएकै हुन्छ । प्रेमप्रतिको यही अगाध आस्थाका कारण उनका कवितामा आध्यात्मिक रहस्यले समेत प्रवेश पाएको देखिन्छ । प्रेम हृदयको वेगलाई शब्दसौन्दर्यमा समेट्न सक्ने उनको सामर्थ्यबाट पछिल्ला पुस्ताका कवि कविहरू पनि प्रभावित भइरहेका पाइन्छ । अद्भुत साङ्गीतिक क्षमता, उच्च सौन्दर्य चेतना, एकान्त, शान्ति, प्रकृति, धर्ती, ईश्वरको सामीप्यमा (धर्मवाला भगवान होइन) अनन्त सत्यको बोध गर्ने कविको अभिलाषा रहेको छ । त्यसैले प्रकृति र जीवनको विश्लेषण, संश्लेषण, कल्पनाशीलता, भावनाशीलता र आत्मबोधलाई उनले महत्व दिएका छन् ।
ग्रामीण गोठाले जीवन, तिनको इमानदारी, सहनशीलता, श्रमशीलता र सरलता आफ्ना कवितामा अभिव्यक्त गर्ने हुनाले प्राकृतिक स्वच्छतालाई भत्काएर उभ्याइएको सहरी, यान्त्रिक र औद्योगिक विकास नामको विनाशलाई सच्याउनुपर्ने पर्यावरणीय चेतना पनि उनका कवितामा प्रकट भएको पाइन्छ । चौतारी, छाप्रो, हिमाल, बादल, झरना आदि स्थानमा प्राकृतिक सुन्दरता, सरलता र स्वच्छतालाई मानवताको आलम्बनका रूपमा कविले चित्रण गरेका छन् । जनभाषालाई टपक्क टिपेर प्रयोग गरिएकाले प्रकृति र जीवनको आत्मालाई जोड्ने उनका कविता निकै सशक्त, सरल तर मन छुने बन्न पुगेका छन् । यस क्रममा उनका कविताहरूमा प्राकृतिक दृश्य, वैश्विक मानव समुदाय, विश्व परिवेश तथा धार्मिक रहस्यहरूको मिश्रणबाट नवीन बिम्बहरूको प्राचुर्य सिर्जना भएको छ । सामान्य विषयमा पनि जीवनको रहस्य लुकेको हुने कुरा उनका कविताहरूमा प्रकट छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले गई उद्यानमा बस वा फुल्दो गुलाबबीच ज्ञान अनेक खुल्दछन् भनेजस्तै सामान्य विषयलाई पनि अनेक विशिष्टता र रहस्यसँग जोडेर हेर्ने कविचक्षु उनको विशिष्ट पक्ष हो ।
000
शीखरबासका रचनामा राजनीति र देश
देशको राजनीति र त्यसमा रजाइँ गरेर बस्ने शासक तथा राज्यप्रति उदासीन दुनियाँ दुबैसित कवि कथाकार शीखरबासको असन्तुष्टि छ । आफू आफ्नाे व्यक्तिगत स्वार्थपूर्तिका बारेमा मात्र सोच्ने र नेताले वा राजाले देश बिगारे भनी हिँड्ने नेता वा कार्यकर्ताप्रति उनको कडा आपत्ति नेपाल आमाको शुभेच्छा कथामा प्रकट भएको छ । पञ्चायत कालीन समय होस् वा पछि उक्त सत्य आज पनि त्यत्तिकै खड्किएको विषय हो ।
२०४६ सालको जनआन्दोलनपछि भएको प्रजातन्त्र पुनर्बहालीपछि २०४८ सालको आमनिर्वाचन, त्यसपछिको राजनीतिक अस्थिरता तथा सदन र संसद जताततै गरिने अराजक आन्दोलनहरूप्रति यस उनका रचनाहरूले व्यङ्ग्य गरेका छन् । समय बित्यो तर परिस्थिति आज पनि फरक छैन । हिजो निरङ्कुशताका विरुद्ध मान्छेहरू लडे प्रजातन्त्र आयो । हामीलाई पुगेन । राणाशाही गयो प्रजातन्त्र आयो । हामीलाई पुगेन खिचातानी र अस्थिरता बनाइरह्यौ र त्यो प्रजातन्त्र हामीले गुमायौँ । आन्दोलन गर्यौँ । जनमतसंग्रह भयो । हामीलाई पुगेन । प्रजातन्त्र पुनर्बहाली भयो । हामीलाई पुगेन । आन्दोलितै रह्यौँ । जनयुद्ध भयो । गणतन्त्र आयो । संविधान सभा बनायौँ त्यसले संविधान बनायो तर हामीलाई पुगेको छैन । हामी कसैलाई फेरि राजतन्त्र चाहिएको छ । कसैलाई साम्यवाद चाहिएको छ । तर आज हामीसँग जे छ त्यसले कसैलाई पुगेको छैन ।
प्रश्न उठ्छ साँच्चै हामीलाई चाहिएको के हो, के हामी हाम्रो आवश्यकताप्रति स्पष्ट र दृढ छौँ ? के साँच्चै समस्या हाम्रो राज्य प्रणालीमा नै हो ? कि समस्या हामीमा छ ? जुनसुकै शासनप्रणालीमा पनि हामीलाई क्रान्तिकारी र विद्रोही नायक बनिरहने मोह किन जाग्छ ? राज्यप्रणाली मात्र होइन समग्र राज्यसंयन्त्रमाथि नै अनास्था सिर्जना गरिरहन हामीलाई केले प्रेरित गर्छ शीखरबासका कविता र कथाहरू पढिरहँदा मनमा आइरहने प्रश्न हुन् यी ।
प्रश्नहरूको उत्तर खोज्न राज्य र नागरिकको सम्बन्धका केही आधारभूत अवधारणाहरू हेर्नुपर्ने हुन्छ । समाज र राजनीति मानिसले निर्माण गरेका मूल्यमा आधारित छन् । त्यसैले समाज र राज्यका नीति नियम कृत्रिम हुन् । प्राकृतिक वृत्तिलाई मात्र हेर्ने हो भने त मानिस पनि जनावरकै एक प्रजाति मात्र हो । आज पनि मानिसको यो जनावर वृत्ति अचेतन-अवचेतन वा संस्कारका कुनै न कुनै गर्तमा लुकेर बसेकै छ र मौका पाउनासाथ त्यो प्रकट भइरहेकै हुन्छ । जसलाई समाजले, राज्यले जघन्य कार्यका रूपमा निषेध गरेको हुन्छ । निषेधित कार्यको नियन्त्रणबाट मात्र राज्य राष्ट्रिय सुरक्षा, सामाजिक सुरक्षा, सामाजिक न्याय, समानता, शान्ति र व्यवस्था कायम गर्न सक्दछ । यसका लागि राज्यलाई सहयोग गर्नु नागरिकको दायित्व हो ।
त्यसैले राज्यको सफलता तिनका नागरिकमा पूर्णतः निर्भर रहन्छ । नागरिक सभ्य र विवेकी भए भने कानुन कठोर नहुँदा पनि राज्यले प्रगति गर्न सक्छ । शान्ति, समृद्धि र सुव्यवस्था कायम हुन सक्छ । बेलायतमा लिखित संविधान नहुँदा पनि विकसित मूल्य र मान्यताहरूको सर्वोच्चता यसको प्रमाण हो । त्यसैले कुनै पनि राजनीतिक प्रणाली सफल हुन नसक्नुमा त्यस प्रणाली र राज्य सञ्चालकको मात्र दोष हुँदैन बरु त्यस देशका नागरिकको विवेक र प्रवृत्ति सबैभन्दा बढी जिम्मेवार हुन्छ ।
बलियाले बाँच्न पाउने सिद्धान्त प्रकृतिको हो, समाजको होइन । मत्स्य न्याय वा जङ्गली न्यायमा बलियाले निर्धालाई खाएर वा निर्धाको भाग छिनेर बाँच्ने र निर्धाले कि बलियाको सिकार भएर कि खान नपाएर मर्नु पर्ने हुन्छ । यही डार्बिनको विकासवादको र अरू थुप्रै दर्शनहरूको धरातल हो । प्रकृतिको यही नियमलाई समर्थन गर्ने र अनुसरण गर्ने हो भने मानिस र अरू जनावरमा केही फरक पनि रहन्न साथै राज्य र समाज जस्ता मानव निर्मित संस्था, संरचना र अवधारणाको आवश्यकता पनि पर्दैन । सबैलाई बाँच्न सहज होस् भनेर परस्पर सहायता र सामूहिक प्रयासका लागि समाज चाहिएको हो, राज्य चाहिएको हो र यस्ता अवधारणाहरूको विकास भएको हो । त्यसैले मानिसले प्रकृतिका नैसर्गिक नियमहरूले सिर्जना गर्ने चुनौतीहरूको सामना गर्न सामाजिक नियमहरूको सिर्जना गर्छ । समाजको नियम भनेको सक्नेले नसक्नेलाई सहयोग गर्ने हो । बलशालीहरूसँग रहेको अतिरिक्त शक्ति लिएर निर्बलहरूको सुरक्षा गर्नका लागि राज्यको संरचना आवश्यक भएको हो । तर समाज त्यसको उल्टो बलियाले वा हुनेहरूले नहुने हरूलाई अवहेलना, तिरस्कार र घृणा मात्र गरिरहेको पो छ । यस विडम्बनालाई कविले कवि चितवन शीखरबासले यसरी व्यक्त गरेका छन् :
जीवनभर समाजवादी समाजको कल्पना गरेँ
जनतान्त्रिक अधिकारको खोजी गरेँ
नयाँ सामाजिक क्रान्तिको सूत्रपात गर्न जाँदा
आरोपै आरोपको शिकार बन्नुपर्यो मैले
मलाई के थाहा थियो र त्यस बेला
धनबाटै धर्मको पालना हुन्छ
कामनाको पूर्ति हुन्छ
स्वर्गको प्राप्ति हुन्छ
हर्षको वृद्धि हुन्छ
शत्रुको दमन हुन्छ
धनबाट सब प्रकारको शुभकर्मको अनुष्ठान हुन्छ ।
राज्यको सदस्य हुनुका नाता आफूसँग रहेको अतिरिक्त शक्ति शक्तिहीनहरूको सुरक्षाका लागि राज्यलाई सुम्पनु शक्तिशालीहरूको दायित्व हो र राज्यबाट जीउ, ज्यान र सम्पत्तिको सुरक्षाको प्रत्याभूति पाउनु उनीहरूको अधिकार हो । कविले खोजेको समाजवाद यही हो । उनले र सबैले बुझेको राज्य र नागरिकको सम्बन्धको सरल रेखा यही हो । यसमा दुई मत हुनुपर्ने कारण छैन । शक्तिहीन र शक्तिशालीहरूप्रति राज्यले गर्ने व्यवहार, राज्यको शक्ति र कर्तव्यका सीमा तथा नागरिकका अधिकार र कर्तव्यसम्बन्धी व्यवस्थाहरूमा हुने विविधता जस्ता जटिलताहरूको व्याख्या नै राजनीतिक सिद्धान्त, वाद, दर्शन वा विचारहरूको अनेकताको आधारभूत कारण हो । त्यसैले राज्य र नागरिकका दायित्वका सम्बन्धमा अनेक रौँ चिरा व्याख्या र अनेक सम्मति विमति छन्, त्यो अर्कै कुरा हो ।
शिक्षा, स्वास्थ्य लगायत कुनै पनि क्षेत्रमा राज्यको नियन्त्रणको कुरा गर्दा नेपालमा सर्वाधिक नियन्त्रण राणाकालमा थियो होला । तीस वर्षको निर्दलीय पञ्चायती व्यवस्थामा त झन् कानुनी व्यवस्थासहित नै शिक्षा र स्वास्थ्यमाथि राज्यको बलियो नियन्त्रण थियो । यदि व्यक्ति र शासक पात्रलाई छाडेर अहिले व्याख्या गरिने गरेको वा भन्ने गरिएको राज्य नियन्त्रणको माग गर्ने कथित समाजवादी राजनीतिक व्यवस्थाका विशेषताहरू हेर्ने हो भने ती प्रायः पञ्चायती व्यवस्थासँग हुबहु नै मिल्छन् । यो जगजाहेर कुरा हो । त्यसैले कथाकार चितवन शीखरबास आफ्ना निबद्ध पात्रका माध्यमले नेपालमा राजाको आवश्यकता पनि सङ्केत गरिरहेका हुन्छन् ।
ऊ राजावादी थियो तर राजावादीहरू सित उसको मेल थिएन । किनकि राजावदीहरु पनि राजाको गुणगान मात्र गाएर देशको विकास कार्यमा हात नलम्काईकन आफ्नो भुँडी भर्नेमा मात्र थिए । अतः उसले जिल्लाका जमिनदारहरू, साहुकारहरू, अफिसरहरू र सिपाहीहरूले गरेको अत्याचार, शोषण र घुसखोरीको विरुद्ध सङ्घर्ष गर्दै गयो ।
000
नेपाल आमाको शुभेच्छा कथाबाट
आधुनिक नेपालमा सबैभन्दा बढी राणाशासन १०४ वर्षसम्म नेपालको शासकीय व्यवस्था रह्यो । तानाशाही व्यवस्था, अशिक्षित जनसमुदाय, कमजोर पूर्वाधार, दयनीय सामाजिक विकास आदि सबै कारणले आम नेपाली जनता राज्य सञ्चालनका प्रणालीहरूप्रति सचेत भएर सहभागी हुने र आफ्ना लागि व्यवस्था छान्न सक्ने अवस्थामा थिएनन् । त्यसैले काठमाडौँसम्म पहुँच भएका, उच्च घरानाका वा दरबारको छत्रछाया पाएका सीमित शिक्षित व्यक्तिहरूबाट शासनप्रणाली बदल्न सम्भव थिएन र राणाशासन लामो समय चल्न सक्यो ।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि ब्रिटिसहरूको समर्थन पाएको राणाशासनले स्वतन्त्र भारतको समर्थन पाउन सकेन, भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागी भएर भारतीय राजनेताहरूसँग वैयक्तिक सम्बन्ध बनाएका कोइराला दाजुभाइ लगायत नेताहरूले भारतको समर्थन पाएर राणाशासन पछि नेपालको राजनीतिमा स्थापित हुन सके पनि उनीहरू नेपालमा लोकतन्त्र संस्थागत गर्ने प्रयासमा असफल नै रहे । राजाको असहयोग, राजनीतिक खिचातानी र अस्थिरताले थिलथिलो मुलुकमा पञ्चायती व्यवस्थाको सुरुआत भयो । राज्य नियन्त्रित अर्थराजनीतिक प्रणालीअन्तर्गत पञ्चायती व्यवस्थामा शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा विकासहरू भए पनि ती पर्याप्त नभएकाले शैक्षिक राजनीतिक जागरणबाट सचेत बन्दै गरेको जनता सन्तुष्ट हुन सकेन र जनआन्दोलनबाट प्रजातन्त्र पुनर्बहाली भयो ।
आफ्नो पार्टी र अझ पार्टीभित्र पनि आफ्नो गुटको सरकारले जे गरे पनि सही हुने र अर्को गुट वा पार्टीको सरकार हुँदा जसरी पनि विरोध गर्नै पर्ने मनोरोगबाट आज हामी ग्रसित हुँदै गएका छौँ । यसबाट एकातिर नेताहरूले नागरिकप्रति जबाफदेही हुनु नपर्ने बरु कार्यकर्ता संरक्षणका लागि तिनका नाजायज मागहरू सुन्नुपर्ने अवस्थाले भ्रष्टाचार बढ्दै गएको छ । अर्कातिर विपक्षीहरूले जहिले पनि विरोधै मात्र गरिरहने हुनाले उनीहरूले गम्भीर र उठाउनै पर्ने कुरा उठाउँदा पनि जनतालाई विश्वास दिलाउन नसक्ने खतरा उत्पन्न भएको छ ।
आफ्नो पार्टीको सरकार हुँदा नाजायज फाइदा नलिए कहिले लिने भन्ने मानसिकताले हरेक क्षेत्रमा जरा गाडेको छ । गलत नै कार्य गरेको भए पनि कार्यकर्ताको संरक्षण गरेर अपराध र अपराधीलाई प्रश्रय दिने काम पार्टीहरूले गरिरहेका छन् । भोटका लागि दलहरूले त्यसो गर्नै पर्ने बाध्यता सिर्जना भएको छ । यसरी हेर्दा कोही दलको संरक्षकत्वमा, कोही सञ्चार माध्यमका बलमा र कोही गैरसरकारी सङ्गठनका बलमा राज्यसित दादागिरी गरिरहेका छौँ । राज्यप्रतिको दायित्वको कुरा केवल एक परीक्षार्थीले विश्वविद्यालयका उत्तरपुस्तिकामा लेख्ने आदर्श उत्तरमा सीमित भएको छ । यिनै राजनीतिक विसङ्गतिहरूको महसुस आजभन्दा पचास वर्ष पहिले नै कवि शीखरबासले गरिसकेका थिए । समाजको यही चरित्रका कारण उनी चिन्तित मात्र होइन कतिपय सन्दर्भमा निराश पनि प्रतीत हुन्छन् र यसको निकास केवल ईश्वरसित मात्र भएको विश्वास गर्न पुग्दछन् ः
मेरो जनसेवाको मनोवेगलाई
विरोधीको धोधाग्नीले निलिसकेको छ
म हृदयशून्य भएको छु…
हे परमात्मा मलाई शक्ति देऊ
म दिनहीन दुखिलाई
किसान मजदुरलाई
भ्रष्ट बेइमानको
सामन्ती र साहुँकारको
बाघनङ्ग्राबाट छुटाउन सकूँ
कि म यो काममा सफल हुन सकूँ
हे परमात्मा मलाई शक्ति देऊ ।
(तीलाञ्जली, ७६ )
आफ्नाे नेता र पार्टीका लागि देशको अहित गर्न लागिरहेका कथित क्रान्तिकारीहरू कम्युनिस्टहरू वा समाजवादीहरू नै कविका वास्तविक दुस्मन हुन् । शत्रु हुन् । २००७ सालदेखि १७ सालसम्मका राजनीतिक खिचातानी, २०३६ साल, २०४६ साल, त्यसपछि, २०५२ देखि ०६२ सालसम्म र त्यसपछि भएका र भइरहेका आन्दोलनहरू हेर्दा लाग्छ अब त हामी नेपालीहरूलाई आन्दोलन गर्ने बानी परिसकेको छ । आन्दोलन नगरी हामी बस्नै सक्दैनौँ । हामीलाई प्रजातन्त्र, गणतन्त्र वा जुनै तन्त्रले पनि पुग्दो रहेन छ । हामीलाई केवल विद्रोही नायकीय व्यक्तित्व मात्र चाहिएको रहेछ । यस बिचमा हामीलाई लागेको अर्को लत हो नेताको देवत्वकरण । होला, हिजोका आन्दोलनहरू अपरिहार्य थिए होलान् । तर त्यसपछि हामी हाम्रा नेतालाई देवता, आफूm सम्बद्ध राजनीतिक पार्टीलाई आफ्नो सनातनी धर्मसम्प्रदाय र त्यस राजनीतिक पार्टीको सिद्धान्तलाई आप्mनो आस्था मानेर अरूका विरुद्ध लागिरह्यौँ । हामी देशका शुभचिन्तक होइन पार्टी र नेताका झोले कार्यकर्ता मात्र बनिरहेकामा कवि चिन्तित छन् र साँच्चै समाजवाद ल्याउने शक्ति अब ईश्वरसित मात्र भएको विश्वास गर्न उनी बाध्य भएका छन् ।
000
निष्कर्ष
चितवन शीखरबास मानवताका कवि हुन् । राजनीति र समाज उनको अभिरुचिको विषय हो । राजनीतिक प्रणाली होइन यसका प्रयोक्तासित उनको विमति छ । समाजवाद मानवतावादी चेतनाको उदात्त संस्करणका रूपमा उनले अँगालेका छन् । तर समाजवादी भनिनेहरू नै व्यक्तिगत अर्थोपार्जनका लागि राजनीतिलाई कमाऊ बनाइरहेका छन् । यस परिदृश्यले कविलाई दुःखी र निराश तुल्याएको छ । यसबाट प्रताडित उनको मनोवेग इश्वरभक्तिमा शान्ति पाउन पुगेको छ ।
अतीतप्रतिको आकर्षण, उच्च कल्पनाशीलता, आत्मपरक भावुकता, प्रचुर मात्रामा छरिएर छिरलिएर रहेका बिम्बहरू, लोकलयात्मकता, स्वप्नमय जीवनको चित्रण, स्थानीय र देशीय, र अन्तर्देशीय परिवेशको प्रयोग उनका कविताका विशेषता हुन् । वर्णनात्मक चमत्कारको सिर्जना गर्ने उनका कविताहरूमा गीतिमयता उनको सिद्धिको अर्को पाटोका रूपमा प्रकट भएको छ । यात्राका अनुभव र दृश्यलाई संस्मरणका रूपमा कवितामा समावेश गरिएका छन् । कविको भ्रमणशील जीवन र भ्रमणप्रियता पनि यस्ता विभिन्न सन्दर्भमा आएको छ । स्वतन्त्रताका योद्धा र विद्रोहका कवि ग्रामीण जीवनका पीडाप्रति सचेत र निरङ्कुशताविरुद्ध निडरतापूर्वक उभिएका भेटिन्छन् । कवि शीखरबास मान्छेको मन, प्रेम र मनोविज्ञानका महान कवि हुन् । उनको कलममा मस्तानापन, असफलता र त्रासदीलाई पनि सूक्ष्म अनुभूतिका तहमा प्रस्तुत गरेर रोमाञ्चक र सौन्दर्ययुक्त बनाउन सक्ने शक्ति छ । मान्छेको अभिरुचि बाँच्दाका असन्तुष्टि र सार्थकताको सम्भावना देखाउने दार्शनिक कविका रूपमा उनी आफ्ना कविताहरूमा प्रकट हुन्छन् ।
लोकप्रिय कवि शीखरबास लोकप्रिय हुनाका कारणहरू छन् । उनी कविताका माध्यमले राष्ट्रिय संस्कृतिका संवर्द्धक र लोकलयका प्रयोक्ता हुन् । सांस्कृतिक उच्च सौन्दर्य चेतनाले ओतप्रोत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशको चित्रण गरिएका उनका कवितामा प्रबल सामाजिक दायित्वबोध गरिएको पाइन्छ । ग्रामीण जीवन, ग्रामीण संस्कृति र ग्रामीण जीवनका पीडाको प्रस्तुति उनका कवितामा अति नै जीवन्त बनेर आएका हुन्छन् । परम्परागत आडम्बर र नवीन चेतना बीचको द्वन्द्वलाई उनले महत्त्वका साथ उठाएका छन् । यसमा उनको पक्षधरता आडम्बरी परम्पराका विरुद्ध मानव जीवनको कल्याणकारी परिवर्तनका पक्षमा रहेको छ । मानवीय प्रेम, स्वतन्त्रता, समानता र न्यायपूर्ण व्यवस्थाको स्थापनालाई उनको लेखनको अभीष्टका रूपमा अनुसरण गरिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।