
जनकवि दुर्गालाल श्रेष्ठको नाम नसुन्ने नेपाली जन प्राय: नहोलान् । उनी साहित्य सिर्जनामा भुइँ मान्छेका आवाज लेख्ने कवि हुन् । दुखी, दरिद्री र असक्तहरूको मनका भावनाका सिर्जना कोर्ने एक जन पक्षीय कवि हुन् । उनी नेपाली साहित्यमा तीन पटक जन्मे भन्दा अत्युक्ति नहोला । पहिलो पटक नेपाल भाषा परिषदले सन् २००३ सालमा “जनकवि”को उपाधिले विभूषित गरिँदा । दोस्रो पटक सन् २०१० सालमा मदन पुरस्कार गुठीले “जगदम्बा श्री” पुरस्कारले पुरस्कृत गरिँदा अनि तेस्रो पटक उनको सर्वाधिक लोकप्रिय तथा चर्चित गीत ”फूलको आँखामा फूलै संसार” भन्ने गीत नेपाली जन जनले गाउन थाले पछि ।
उनै जनकवि दुर्गालाल श्रेष्ठ लाई मैले प्रत्यक्षत: दुई पटक मात्र संक्षिप्तमा भेटेँ । एक पटक नेपालमा र अर्को पटक अमेरिकामा ।
चार दशक अघिको कुनै साल । साल अहँ पटक्कै सम्झन्न अहिले । चौतिस पैँतिस सालतिर पो हो कि । यो अनुमान हो । ठमेलको चौक नजिकै बस्ने एउटा मित्रलाई भेट्न जाँदै थिएँ । मित्रले भने अनुसारको बाटो पहिल्याउँदै घर पुगेँ । मूल ढोका पस्ने बित्तिकै मेरो मित्र देखिहाले । उनी अर्को व्यक्तिसँग कुरा गर्दै थिए । मित्रले इसाराले उतै आउन निम्ता गरे । मेरो मित्र जो सँग कुरा गर्दै थिए । अनुहार चिनेचिने जस्तो लाग्यो । अखबारमा कतै देखेको जस्तो लाग्यो । तर मैले अनुमान गरेकै व्यक्ति रहेछन् । मेरो मित्रले चिनाएका व्यक्ति अरू कोही नभएर जन कवि दुर्गालाल श्रेष्ठ रहेछन् । मित्र उनैको घरमा बहालमा बस्दा रहेछन् । कवि दुर्गालाल श्रेष्ठलाई उनैको घरमा भेट्न पाउँदा त्यस बेला म निकै प्रफुल्ल भएको थिएँ ।
सन् २००८ साल मेरिलैंड, अमेरिका । अमेरिकाको नेवा सङ्गठन ( Newa Organization of America) को विशेष कार्यक्रममा छोटो मिठो अर्को भेटघाट भएको सम्झन्छु । कार्यक्रमको व्यस्तताले गर्दा साहित्यिक छलफल गर्न असमर्थ भएको समय थियो त्यो । कवि दुर्गालाल श्रेष्ठ धेरै पढिएको, धेरै सुनिएको र एउटा चर्चित तथा लोकप्रिय कविको रूपमा मनमा बसेको आदरणीय व्यक्तित्व हुन् ।
नेपाल भाषा टाइम्स, यूएसएको अमेरीकाए नेवा द्वारा सञ्चालन गर्दै रहेको “नेपाल भाषाको कुराकानी” कार्यक्रमको १५० औँ शृङ्खलाको अवसरमा एउटा भव्य कार्यक्रमको आयोजना भर्जिनियाको फेयर फ्याक्समा हालसालै सम्पन्न भयो । विविध कार्यक्रमसँगै कवि दुर्गालाल श्रेष्ठको नवीनतम कृति नेपाल भाषामा “छुछु गिजिमिजि ध्व” र अङ्ग्रेजीमा “Some Fuzzy lines” कविता सङ्ग्रहको बारेमा मलाई केही बोल्ने अवसर प्राप्त भएको थियो । विविध कार्यक्रमको त्यस अवसरमा कवि दुर्गालाल श्रेष्ठको र उनको नवीनतम कृतिको बारेमा प्रकाश पारेका केही बुँदाहरूलाई यस आलेखमा समावेश गरेको छु ।
नेपाल भाषा टाइम्स, युएसए अमेरिकाद्वारा आयोजित सो भाषा कार्यक्रमको सञ्चालन मुख्यतः नेपाल भाषामा भएको थियो । अधिकांश वक्ताहरूले सोही भाषाबाट आफ्नो अभिव्यक्ति व्यक्त गर्दै आइरेहेका थिए । तर म सुदूर पूर्व लिम्बुवान गाउँमा हुर्के बढेको नेवार । जातले नेवार भए पनि आफ्नो मातृभाषा नेपाल भाषामा वक्तव्य दिन म सक्दिन थिएँ । त्यस समयमा आफूले आफ्नो मातृभाषामा बोल्न नसक्दाको गहिरो पीडाबोध र आत्मग्लानि भएर आयो । मेरो आमा क्षेत्रपाटी काठमाडाैँकाे भए तापनि मेरो दुई दिदीहरू बाहेक हामी कसैले हाम्रो मातृभाषा घरमा बोलचालमा प्रयोग गरेनौँ । शायद दिदीहरू आमासँग घरमा धेरै सँगै हुनु र धेरै घुलमिल हुनुको कारण मातृभाषा बोल्न सक्ने । तर हामी छोराहरू चैँ धेरै समय बाहिर मात्र हुने कारणले हुन् सक्छ घरको भाषा भन्दा बाहिरको भाषा धेरै प्रयोग गर्थ्यौं । त्यसैले मैले सो कार्यक्रममा आफ्नो मातृभाषामा बोल्न नसक्दा पहिला मैले नसिकेको र बोल्न नखोजेको कारणले अन्य भाषा प्रयोग गर्नु पर्दा अति दुख महसुस भएको थियो । सो कार्यक्रम पश्चात् मलाई भाषाको महत्त्व अझ झन् बढेर गएको छ ।
वास्तवमा नेपाल भाषाको सम्बन्धमा महाकवि देवकोटाले भनेका छन् “नेपाली भाषा प्रशस्त समृद्धिशाली प्राचीन साहित्य र संस्कृति भएको हाम्रै भाषा हो” ।
भाषाको सम्बन्धमा दक्षिण अफ्रिकाका अश्वेत नेता नेल्सन मन्डेलाले भनेका छन्, “यदि तपाईंले उसले बुझ्ने भाषामा बोल्नु हुन्छ भने त्यो उसको मष्तिस्कमा जान्छ तर यदि उसले बोल्ने भाषामा कुरा गर्नु हुन्छ भने त्यो उसको हृदयमा गएर बस्छ” । त्यसैले भाषा नै मानवको जातीयताको पहिचान हो ।
नेपाल भाषाको संरक्षण, संवर्द्धन र विकासको लागि नेपाल भाषा टाइम्स, युएसएको अमेरिकाए नेवा द्वारा सञ्चालन भइराखेको सो अन्तरक्रिया कार्यक्रमका संचालक प्रवीण ताम्राकार र सम्पूर्ण मित्रहरू धन्यवादका पात्र हुन् । प्रवासमा रहेर विभिन्न प्रबुद्ध व्यक्तिहरूसँग नेपाल भाषामा अन्तरक्रिया गर्ने कार्यक्रम निरन्तरता दिइरहनु धेरै ठुलो योगदानको रूपमा मानिनुपर्छ ।

दुर्गालाल श्रेष्ठ
सो कार्यक्रममा मैले जनकवि दुर्गालाल श्रेष्ठ लाई यसरी सम्झन पुगेँ ।
कवि दुर्गालाल श्रेष्ठको जन्म सन् १९३५ सालमा काठमाडाैँमा भएको हो । बालकै कालमा चरम गरिबी, शोषण र सामन्तीको चङ्गुलमा फसेको उनको परिवारमा त्यो अवस्था उनले चुपचाप सहँदै र भोग्दै आएका थिए । झुठो कागज बनाएर साहुले आफ्नो घर नै हडपेको उनले देखेका थिए । शोषण र उत्पीडनको ज्वालामा हुर्केका थिए । बुझ्न र सोच्न सक्ने उमेरको भएपछि आफ्नो अन्तर्मनको आवाजलाई मुखरित गर्न नेवारी भाषामा कविता कोर्न थाले । शोषित पीडित र निमुखाका आवाजलाई आफ्नो सिर्जना मार्फत नेपाल भाषा र नेपाली भाषामा साहित्यिक रचना गर्न थाले । त्यस पछि उनी समाजमा भुइँ मान्छेका आवाज बोल्ने एक सर्जकको रूपमा लोकप्रिय र चर्चित बन्न पुगे ।
शोषित पीडित र समाज परिवर्तनको लागि सिर्जना गरे बापत उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी, मानवतावादी अनि प्रगतिवादी कवि तथा गीतकारको रूपमा चिनिन्छन् । उनले नेपाली साहित्यमा आफ्ना सिर्जना सन् १९४९ देखि सुरु गरेका हुन् । उनको पहिलो कविता “दुई थोपा” शीर्षकको कविता ‘सुस्केरा’ पत्रिकामा सन् १९५२ मा प्रकाशित भएको थियो । उनका पचास भन्दा बढी साहित्य सिर्जनाका पुस्तकहरू प्रकाशित भएका छन् । उनका कविताहरू अङ्ग्रेजी, कोरियन, जापनिज र चाइनिज भाषामा अनुवाद भई संसारभर फैलिएका छन् ।
सन् १९९५ मा उनी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्यमा मनोनित भएका थिए । उनका सम्पूर्ण सिर्जनाहरू जन पक्षीय, प्रगतिवादी र जनमुखी भएको कारणले सन् २००३ सालमा नेपाल भाषा परिषदले उनलाई “जनकवि”को उपाधिद्वारा विभूषित गरेको थियो । त्यसपछि जनमानसमा उनलाई “जनकवि” भनेर सम्बोधन गर्न थालिएको हो । जनकवि दुर्गालाल श्रेष्ठ कविता, गीत र बाल साहित्य सिर्जनाका साथै नेपाल भाषाको प्रवर्द्धनमा समेत सक्रिय रहेका छन् । विगत छ दशकदेखि आफ्नो मातृभाषा तथा नेपाली भाषामा अत्यन्त सुमधुर गीत, कविता, काव्य तथा बाल साहित्य सिर्जना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याउने कार्य गरिरहे बापत सन् २०१० सालमा मदन पुरस्कार गुठीले उनलाई “जगदम्बा श्री” पुरस्कार बाट पुरस्कृत गरियो । साथै उनी “अभियान” र “बालसाहित्य” पुरस्कारबाट समेत सम्मानित भएका छन् ।
नेपाल भाषामा थुप्रै साहित्य सिर्जना गरेका उनका नेपाल भाषाको लोकप्रिय र चर्चित चलचित्र “राजमती”को कथा रामशेखर सँगको संयुक्त कथा लेखेका थिए । उनका नेपाल भाषाको गीत “झी मसिनी” (We are not dead yet”) लाई एउटा धेरै शक्तिशाली र प्रभावपूर्ण गीतको रूपमा मानिन्छ । उनका अर्को अत्यन्त लोकप्रिय र चर्चित गीत हो “फुलको आँखामा फुलको संसार” । यस गीतलाई उनको अलबम “मोमेन्ट अफ ब्लिस”मा पनि समावेश गरिएको छ ।
साहित्यकार प्रकाश सायमीका अनुसार दुर्गालाल श्रेष्ठले सुरु सुरुमा आफ्नो उपनाम ”ख्वबिलु” राख्ने गरेका थिए तर पछि राख्न छोडेका रहेछन् । भारतका प्रसिद्ध कवि हरिवंश राय बच्चनको सुप्रसिद्ध कविता ”मधुशाला”को नेपाल भाषामा अनुवाद गरेर उपहार स्वरूप भारत पठाएका थिए । साहित्यकार सुलोचना मानन्धर धितालका अनुसार कवि दुर्गालाल श्रेष्ठको अति चर्चित तथा लोकप्रिय गीत “फूलको आँखामा फुलै संसार” भन्ने गीत फिलिपिन्सको अन्तराष्ट्रिय सम्मेलनमा ५८ वटा देशका प्रतिनिधिहरूले एकै पटक सो गीत गाएका थिए ।
उनको नवीनतम प्रकाशित कृति “छु छु गिजिमिजि ध्व” अङ्ग्रेजीमा “Some fuzzy lines” हालसालै काठमाडाैँमा विमोचन गरिएको छ । यस पुस्तकलाई नेपालीमा “केही अस्पष्ट रेखाहरू” भन्न सकिन्छ । पुस्तकमा नेपाल भाषा र अङ्ग्रेजी भाषाका पचास वटा कविता सङ्ग्रहित छन् । मुलतः नेपाल भाषामा लेखिएको कवितालाई कवि तथा गीतकार योगेश वैद्यले अङ्ग्रेजीमा अनुवाद गरेका हुन् । यो पुस्तक अमेरिका स्थित नेवा अर्गनाइजेसन अफ अमेरिकाको सहयोगमा दुर्गालाल प्रतिष्ठान द्वारा प्रकाशन गरिएको हो ।
सन् २००८ सालमा कवि दुर्गालाल श्रेष्ठका नातिको विवाह समारोहमा सम्मिलित हुन आएका समयमा लेखिएका कविताहरू हुन् यी । सो समयमा अमेरिकाको टेक्सास, वासिङ्टन डिसी, कोलोराडो र अन्य राज्यहरूको भ्रमणको समयमा मनमा अन्तर्निहित भावनाहरूलाई कागजमा उतारेका कविताहरू हुन् यी । कवि दुर्गालाल श्रेष्ठले जन पक्षीय बिचार लाई नेपाली र अमेरिकाली सांस्कृतिक र परम्परालाई नजिकबाट नियाल्ने या पर्गेल्ने कोसिस गरेका छन् । नेपाली र नेवारी भाषा, साहित्य, कला अनि रीतिरिवाजलाई अमेरिकी सन्दर्भलाई जोडेर थुप्रै मिठा मिठा कविता कोरेका छन् । भाषा सरल छ । कविताहरू छोटा छोटा छन् । यी कविता उनका अन्य कविता झैं बोधगम्य र मिठासपूर्ण छन् । लामा लामा क्लिष्ट छैनन् । छोटो छोटो सुन्दर भावपूर्ण कविताहरूको सँगालो हो यो । प्रत्येक कविताले हाम्रो प्रवासी जीवनको धड्कन बोलेको लाग्दछ । तसर्थ यो पुस्तक हाम्रो जीवनको धुकधुकी हो भन्ने कुरामा म प्रस्ट छु ।
कवि दुर्गालाल श्रेष्ठका अन्य कवितामा झैँ यी कविताले पनि हाम्रो सामाजिक परिवेश, आम मान्छेका जीवन र जगतको बारेमा यथार्थवादी दृष्टिकोणबाट व्यक्त गरिएको छ । अमेरिकाका विभिन्न राज्यमा देखिएका प्राकृतिक, सामाजिक अनि सांस्कृतिक पक्षका आफ्ना अनुभूतिहरू यी कविता मार्फत कवि दुर्गलालले पोखेका छन् । विभिन्न सभा समारोहमा भेटिएका अनि देखिएका कतिपय नेपाली अनि अमेरिकन परम्परा र चालचलन लाई कवितामा उजागर गरिएको छ ।
यात्रा सिर्फ व्यक्तिको मात्र हुँदैन । ऊ सँगसँगै उसको भाषा, साहित्य, कला र संस्कृतिले पनि यात्रा गरेको हुन्छ । उसले गर्ने अनुभूति ऊसँग सम्पर्क हुने व्यक्तिसँग पारस्परिक सद्भावका उल्लेखनीय पक्षको आदान प्रदान पनि हुन्छ । जीवनका यी नै विविध पाटाहरूलाई समेटेर आफ्नो विशिष्ट शैलीमा तयार पारिएका यी छोटा मिठा कविताले सबैको मन छुने विश्वास लिन सकिन्छ । यस कविता सङ्ग्रहभित्र हाम्रो रीतिरिवाज, संस्कार, परम्परा अनि जातीय र सामाजिक सद्भावका अनेकन सन्दर्भ लाई मिहिन तरिकाले कवितामा समेटिएको छ । वास्तवमा भन्ने हो भने उनले कविताद्वारा अमेरिकामा आफ्नो देश नेपाल खोज्ने प्रयत्न गरेका छन् । हरेक सन्दर्भलाई आफ्नो देशको माटोलाई सम्झेर दाँज्ने प्रयास पनि भएको छ । यस पुस्तकभरि राष्ट्रप्रेम र देशभक्तिका ज्वलन्त उदाहरणहरू प्रशस्त मात्रामा भेटिन्छन् ।
कवि भन्छन, “जुन माटोले मलाई नाम दियो, मान दियो अनि शान दियो म त्यस देशको अन्तिम सास रहे सम्मको बासिन्दा हुँ।” कस्तो गहन अभिव्यक्ति ।
त्यसैले यो कविता सङ्ग्रह “छुँ छुँ गिजिमिजि ध्व” पठनीय छ । सङ्ग्रहणीय छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

