विषय प्रवेश

डायस्पोरा शब्दको थालनीका बारेमा विद्वानहरूले धेरै नै पटक धेरै ठाउँमा चर्चा गरेको पाइन्छ । आफ्नो मुलुक र संस्कृतिबाट टाढिएर बसेको समुदायलाई जनाउने शब्दको रूपमा  डायस्पोरा शब्द प्रयोग हुन थाल्यो ।  प्रारम्भमा डायस्पोरा शब्दलाई आआफ्नै तरिकाबाट अर्थाउने काम भएको थियो भने त्यसपछि डायस्पोरा र डायस्पोरिक साहित्यका बारेमा केही विद्वानहरूले चर्चा गरेको पाइन्छ । डायस्पोराको सम्बन्ध जुईस र इजराइलसँग जोडिएको पाइन्छ । डायस्पोरा शब्द पहिलो पटक हिब्रु भाषामा रहेको बाइबललाई ग्रिक भाषामा अनुवाद गर्दा फैलने अर्थका रूपमा प्रयोग भएको थियो भने अङ्ग्रेजी भाषाको अक्स्फाेर्ड शब्दकोशमा (अन लाइन) यसको प्रयोग १८७६ ‘इ’मा फैलने अर्थका रूपमा प्रयोग भएको थियो र १९५० ‘इ’ को मध्यमा आएर डायस्पोरा शब्दले व्यापकता पाउँदै गएको देखिन्छ ।

अर्को कुरा, डायस्पोरा शब्दले एकातिर फैलने अर्थात् आफ्नो जन्मभूमिबाट कारणवश (जबरजस्ती धपाइएका) प्रवासिएर अन्यत्र गएर बसे पनि कालान्तरमा आफ्नो जन्म भूमिमा फर्केर आउने (यदि जन्मभूमि रहेमा)  अर्थका लागि पनि डायस्पोरा शब्द प्रयोग भएको छ (विकिपेडिया) । डायस्पोराले मुलुकबाट धपाइएका नागरिक अरू मुलुकमा गएर बस्न थालेपछि उनीहरूलाई डायस्पोरा भनेर सम्बोधन गरिएको पाइन्छ ।

डायस्पोरा शब्दले एकातिर जुइस, तिब्बती, तामिल, कुर्दिस, कस्मिरी, कोरियन, अफगानी, इराकी र आजको मितिमा लिबिया जस्ता जन्मभूमिबाटै विस्थापित भएका समुदायका लागि प्रयोग भएको देखिन्छ भने त्यस सँगसँगै विभिन्न कार्य प्रयोजनका लागि आफ्नो जन्मभूमि  छोडेर अन्य विभिन्न विकसित मुलुकमा आप्रवासीका रूपमा प्रवेश गरेर त्यहीका बासिन्दा भएका समुदायलाई पनि परिभाषित गरेको पाइन्छ । डायस्पोरा सम्बन्धी प्रकाशित पुस्तकहरूमा पनि  सन् २००० सम्म जुईस डायस्पोराका कुराहरू र मुलुकबाट विस्थापित समूहका लागि मात्र हुने गर्थ्यो भने २००२ पछि मात्र अरू मुलुक र समुदायलाई डायस्पोराका रूपमा चर्चा गर्न थालेको पाइन्छ ।

एसिया मुलुकहरूको डायस्पोरिक इतिहासमा चीनको नाम अग्र पङ्क्तिमा आउँछ । हजार वर्षअघिदेखि नै चीनमा देखा परेको राजनीतिक अराजकता, भोकमरी र अशिक्षाका कारण लाखौँको सङ्ख्यामा चीनबाट चिनियाहरू विभिन्न विकसित मुलुकहरूमा विस्थापित भएको पाइन्छ भने भारतीय समुदायलाई ब्रिटिस शासकले कामदारका रूपमा अन्यत्र मुलुकमा लगेर त्यही स्थापित गराएको पाइन्छ । माथि उल्लेखित विभिन्न कारणवश देशबाट विस्थापित भएका समुदायलाई डायस्पोरा शब्दले सम्बोधन गरेको देखिन्छ ।

डायस्पोरा शब्द समुदायका लागि मात्र प्रयोग हुँदै आएको देखिन्छ । नेपाल र नेपालीको सन्दर्भका कुरा गर्नु पर्दा नेपालीहरू चारवटा कारणबाट विस्थापित भएको देखिन्छ । प्रारम्भमा चाँडो-विवाह, बहुविवाह र धेरै सन्तान जन्माउने प्रवृत्तिले नेपालीहरूलाई पहाडबाट झारेर समतल र उब्जाउ भूमिको खोजीमा भारत, सिक्किम र भुटानतिर विस्थापित गर्दै गएको पाइन्छ भने दोस्रोमा सन् १८१५ को सन्धिपछि नेपाली युवाहरू ब्रिटिस  सैनिकमा  भर्ती भएर बिदेसिने क्रम सुरु भएको देखिन्छ ।

अनि सैनिक जीवनपछि (जागिरबाट पेन्सन भएर) उनीहरू आफ्नो अन्तिम कार्यस्थललाई नै गन्तव्य बनाएर बस्न थालेको पाइन्छ भने तेस्रोमा सत्तरीको दशकदेखि नेपाली युवाहरू अध्ययन र जागिरको खोजीमा निस्कन थालेको र बिस्तारै विस्थापित हुने क्रम बढ्दै गएको देखिन्छ । अनि चौथोमा २०५२ सालदेखि सुरु भएको माओवादीको जनयुद्ध र त्यसपछि देशमा बढ्दै गएको अस्थिर राजनीतिक अवस्था । यसरी मुलुकबाट विस्थापित भएकाहरूलाई डायस्पोरा वर्गमा राखिएको छ । तर यी सबै विस्थापितका घटनाहरू देशबाट जबरजस्ती निकालिएको नभएर स्वेच्छाले शान्ति र सुखसयल जीवनको खोजीमा विस्थापित भएका  छन् ।

सयौँ वर्षअघि नेपालबाट भुटान पुगेका नेपालीहरू असीको दशकमा भुटानबाट निकालिएपछि नेपालमा शरणार्थीको जीवन बिताइरहेका भुटानी मूलका नेपालीहरूलाई अमेरिका र क्यानडाले आवासीय शरण दिन थालेपछि साठी हजार नेपालीहरू अमेरिका र क्यानडामा आएर बसोबास गर्दै आएका छन् । वास्तवमा भन्ने हो भने भुटानी मूलका नेपालीलाई नेपाली डायस्पोरा भन्न सान्दर्भिक देखिन्छ ।

०००

बसाइँ सराइको थालनी

नेपालीहरूको प्रवासिने क्रम प्राचीन समयदेखि रहँदै आएको देखिन्छ । प्राचीन कालमा नेपालका राजा र राजखलकहरूको हिन्दुस्तान, भुटान, तिब्बत, सिक्किममा हुने गरेको विवाह र विवाहसँग दाइजोमा जाने गरेको प्रजाको बथानले मल्ल, शाह र राणाकालदेखि नै चल्दै आएको छ । त्यसपछि  सन् १२६० मा अरनिको ८० जना कारिगर लिएर चिन पसेका थिए र त्यहीँ भासिए ।  भारतको पन्जाबका राजा रणजित सिंहले नेपाली सेनालाई आफ्नो फौजमा राख्न थाले ।

त्यसपछि सन् १८१६ को  सुगौली सन्धिपछि अङ्ग्रेजले गोर्खा पल्टनको परम्परा सुरु गराएपछि यो परम्परा अहिलेसम्म पनि यथावत् रूपमा चल्दै आएको छ । अझ सन् १८३५ मा अङ्ग्रेजले दार्जिलिङ प्रान्तलाई सिक्किमसँग उपहारको रूपमा जबरजस्ती  लिएपछि त्यहाँ विकास कार्य गर्न सुरु गर्दा सयजनाको मात्र जनसङ्ख्या रहेको थियो (नेपालबाहिर नेपाली साहित्य र संस्कृति, दिल्लीराज शर्मा) । अनि त्यहाँ विकास गराउन नेपालबाट नेपाली पल्टनसँगै उनका परिवार आएर काम गर्न थालेपछि त्यहीँका बासिन्दा बनेर बस्दै आएका छन् । जसलाई हामी प्रवासी नेपाली भनेर सम्बोधन गर्दै आएका छौँ ।

नेपालीहरूको प्रवासिने कारणमा प्रारम्भिक चरणमा विशेष गरेर आर्थिक कारण सबैभन्दा महत्वपूर्ण रूपमा अगाडि आएको देखिन्छ  भने अन्य कारणहरूमा कृषि र पशुपालन, गोर्खा सेना (सैनिक), चियाकमानमा काम गर्न, बाटो बनाउन, कोइलाखानीमा काम गर्न, उच्चशिक्षा हासिल गर्न, व्यापार गर्न र तत्कालीन शासक वर्गको राजनैतिक आक्षेपमा परेर देशबाट पलायन हुनु परेको आदि विभिन्न कारणहरू थिए भने अहिले आएर माथि उल्लेखित यी विभिन्न कारणहरूका अतिरिक्त देशको अस्थिर राजनैतिक अवस्था र सुरक्षाको अभावमा नेपालीहरू आजको मितिसम्म पनि आफ्नो शान्ति, सुरक्षा, उच्च शिक्षा र जागिरको खोजीमा थातवास छोडेर बिदेसिने क्रम यथावत् नै रहेको देखिन्छन् ।

०००

नेपाली साहित्यमा डायस्पोरा शब्दको थालनी

साहित्यमा डायस्पोरा शब्दको प्रयोग असीकाे दशकको अन्त्यतिरबाट सुरु भएको पाइन्छ । सन् १९८० को अन्त्यतिर अफ्रिकन लिटरेरी एसोसिएसनको सम्मेलनमा क्यारेबियन द्वीपमा अवस्थित ग्वाडेलोपका मेरिस कोण्डेले पहिलो पटक आफ्नो कार्यपत्रमा डायस्पोरा साहित्यका बारेमा चर्चा गरेकी थिइन् । त्यसपछि नब्बेको दशकपछि  डायस्पोरा साहित्यले व्यापकता पाउँदै गएको पाइन्छ । नेपाली साहित्यको सन्दर्भमा कुरा गर्नु पर्दा बेलायतका प्रा. माइकल हटले सन् १९९८ मा पहिलो पटक “गाइड टु मुग्लान : नेपाली लिटरेरी रिप्रेजेन्टेसन अफ माइग्रेसन टु इण्डिया एन्ड भुटान” मा मुगलानको अर्थमा डायस्पोरा शब्दको प्रयोग गरेका थिए (डा. गोविन्दराज भट्टराई) । त्यसपछि वि.सं. २०६० मा डा. गोविन्दराज भट्टराईले आफ्नो कृति “मुगलान” (विसं.२०३१) को चौथो संस्करणको भूमिकामा डायस्पोरा शब्दको प्रयोग गरेको पाइन्छ ।

यसरी बिस्तारै डायस्पोरा शब्दले प्रवासी शब्दलाई थिच्दै अङ्ग्रेजी शब्दको अधिपत्य कायम गर्दै गएपछि डायस्पोरा शब्द नेपाली डायस्पोराको अर्थमा स्थापित हुँदै गएपछि प्रवासी शब्द विस्थापित हुँदै गएको देखिन्छ । देशबाहिरको साहित्यले डायस्पोरा साहित्यको कवच पाएपछि प्रवासी नेपाली साहित्यको प्रयोगमा तगारो लाग्न थालेको छ ।  आफूलाई विदेशी भूमिको देखाउनलाई नवप्रवेशी साहित्यकारहरू डायस्पोरा साहित्यकारका रूपमा आफूलाई परिचय गराएर स्थापित गराउन चाहन्छन् ।

डायस्पोराका बारेमा विशेष कलम चलाउनेहरूमा डा.गोविन्दराज भट्टराई र डा. खगेन्द्रप्रसाद लुइटेलको नाम अग्रपङ्क्तिमा रहेको छ । डा. खगेन्द्रप्रसाद लुईटेलले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित  गोष्ठीमा पहिलो पटक डायस्पोरिक साहित्यका बारेमा कार्यपत्र पेस गरेको कुरा चर्चा गर्दै डायस्पोराको सैद्धान्तिक सन्दर्भसहितको कार्यपत्र सायद यही नै पहिलो भएको बताउनु हुन्छ । यस लेखकको समेत सहसम्पादन र डा. तारानाथ शर्माको प्रमुख सम्पादनमा प्रकाशित उत्तर अमेरिकाका नेपाली कवि र कविता शीर्षकको संयुक्त कविता सङ्ग्रहमा डा. खगेन्द्रले डायस्पोराको सैद्धान्तिक स्वरूपका साथै नेपाली सन्दर्भमा डायस्पोराका बारेमा कतिपय गम्भीर प्रश्नहरू उठाउनु भएको थियो ।

त्यस्तै डा.गोविन्दराज भट्टराईले आफ्ना उत्तरआधुनिक विमर्श (वि.सं.२०६४) र उत्तरआधुनिक ऐना ( विसं. २०६६) कृतिहरूमा डायस्पोरा साहित्य र डायस्पोरा साहित्यकारसँगै डायस्पोरा शब्दको प्रयोगको थालनीका बारेमा चर्चा गर्नु भएको बताउनु हुन्छ । डा. भट्टराईले नेपाली लेखकको नेपालबाहिर गएर आफ्नो भ्रमणका बारेमा लेखिएका कृतिलाई पनि डायास्पोरिक साहित्य मानेका छन् । उनले पनि डायस्पोरा साहित्यमा पहिलो कलम चलाउने लेखकका रूपमा आफूलाई चिन्हाउन रुचाउँछन् । तर दुवै विद्वानहरूका डायस्पोरिक साहित्यका बारेमा लेखिएका लेखहरूमा वास्तविक डायस्पोरिक साहित्य यही हो भनेर ठोकुवा गरेको देखिँदैन ।

उहाँहरूले नेपालबाट विदेशमा डुल्न गएका साहित्यकारहरूको संस्मरणात्मक कृतिलाई पनि डायस्पोरिक साहित्य मानेको देखिन्छ । जसले गर्दा घनश्यामराज कर्णीकरका सबै यात्रा संस्मरणहरू पहिलो डायस्पोरिक कृति मान्ने कि नमान्ने भ्रम सिर्जना हुन थाल्छ भने बेनामी लेखकको जङ्गबहादुरको बेलायत यात्रा  लाई पनि डायस्पोरिक साहित्य मान्न कर लाग्छ । यस्ता भ्रमात्मक विचारले अहिले नेपालबाहिरका नेपाली साहित्यलाई बेग्लै रूपमा परिभाषित गर्न गाह्राे भएको छ ।  प्रारम्भमा डायस्पोराको उद्गमबाट लिएर शब्द प्रयोगको थालनी तथा विस्तारका बारेमा यी विद्वान द्वयले चर्चा गरेको पाइन्छ । तर विदेशी शब्दलाई नेपाली साहित्यका लागि प्रयोग गरिनु पर्ने कारणका बारेमा प्रस्ट तर्क राख्न सकेको देखिन्न ।

त्यस्तै पछिल्लो समयमा नेत्र एटमले नेपाली डायस्पोरिक साहित्यका बारेमा नेपाल प्रज्ञाप्रतिष्ठानको नेपाली डायस्पोरिक साहित्यकारबारे भएको गोष्ठीमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै खसखस डट कम अनलाइन विद्युतीय पत्रिकाका सम्पादक वासु श्रेष्ठले डायस्पोराका विषयमा विशेष कलम चलाउने डा. गोबिन्द भट्टराई र डा. खगेन्द्र लुइटेलसँग अन्तर्वार्ता लिएर डायस्पोराका बारेमा खसखस मार्ने काम गरेका थिए । यसमा डा. गोबिन्द भट्टराई डायस्पोरा साहित्य हुनु पर्छ भन्ने पक्षमा थिए भने डा. खगेन्द्र लुइटेलले समयसापेक्ष अन्य शब्दबाट सम्बोधन गर्नु पर्ने तर्क दिनु भएको थियाे । खसखसले प्रा. डा. वासुदेव त्रिपाठीसँग गरेको वार्तामा त्रिपाठीले नेपालबाहिरको नेपाली साहित्यलाई डायस्पोरा भन्न नमिल्ने भनी यसको चर्को विरोध गरेका थिए । मनु बाज्राकीले पनि नेपाली साहित्य कहिल्यै डायस्पोरा हुन नसक्ने भन्दै डायस्पोराको वास्तविकता केलाएर छर्लङ्ग्याई दिनु भएको थियो ।

डा. तारानाथ शर्मा, प्रा. मोहनराज शर्मा, कलम दीक्षित, डा. ध्रुवचन्द्र गौतम, डा. मोहन हिमांशु थापा, डा. दयाराम शाक्य आदि नेपाली साहित्यका प्राध्यापक, अन्वेषक र समालोचकहरुका अतिरिक्त धेरै नै वरिष्ठ साहित्यकारहरूले नेपाली साहित्यलाई  डायस्पोरा भनेकोमा विरोध गर्दै आएका छन् । हामीले कतै पनि डायस्पोरिक अमेरिकाली साहित्य, डायस्पोरिक हिन्दी साहित्य, डायस्पोरिक उर्दु साहित्य, डायस्पोरिक बेलायती साहित्य डायस्पोरिक बङ्गाली साहित्य भनिएको सुनेका छैनौँ भने नेपाली साहित्य किन र कसरी डायस्पोरिक  हुन्छ ? यस बारे बहस गरेर समाधान खोज्ने प्रयासमा ए.एन.ए. (अमेरिकाज् नेपाली एसोसिएसन)को साहित्य शाखाका रूपमा रहेको नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको आयोजनामा ए.एन.एन को ३०औँ सम्मेलनमा यस लेखकको संयोजकत्वमा “नेपाली बाहिरको नेपाली साहित्य डायस्पोरिक कि आप्रवासी”बारे चर्चा परिचर्चा गराउन डा. गोविन्दराज भट्टराई, डा. खगेन्द्र लुईटेल, डा. बिना बाङ्देल (दिवङ्गत) र होमराज सुवेदीका कार्यपत्रहरू प्रस्तुत मात्र भएको थियो । त्यसपछि यस कार्यले निरन्तरता  पाएन ।

यस बारे अझ बहस र चर्चा हुनु पर्छ । डायस्पोराको पक्ष र विपक्षमा अन्य लेखक समालोचकहरूले पनि धेरथोर मात्रामा कलम चलाएको देखिन्छ । प्रायः सबैले डायस्पोराको थालनीको बारेमा चर्चा गरेर त्यस्ता साहित्यलाई डायस्पोरिक साहित्य भन्ने मात्र भनिएको देखिन्छ । नेपालबाहिरका नेपालीहरूलाई चिनाउने नेपाली भाषामा आफ्नै शब्द रहेको र त्यसको प्रयोग किन नगर्ने भन्ने बारेमा डायस्पोराका पक्षधरहरू मौन र शब्दहीन देखिन्छन् । डायस्पोराका बारेमा लेखिएका लेखमा तर्क वितर्क कतै देखिँदैन । नेपालबाहिर आएर साहित्य सिर्जना गर्ने साहित्य र साहित्यकारलाई प्रवासी साहित्य र प्रवासी साहित्यकार भनिँदै र स्विकारिँदै आएकोमा यस्ता शब्द र यसको परिभाषामा परिवर्तन गर्नु पर्ने कुनै आवश्यकता देखिँदैन  । अर्थात् नेपाली साहित्यमा डायस्पोराको अनैतिक सम्बन्ध जोड्नु पर्ने कुनै कारण देखिँदैन ।

गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सार्क राष्ट्रमा लेखिएका नेपाली साहित्यबाहेक नेपाल बाहिर लेखिएका सबै नेपाली साहित्य लेखनलाई प्रवासी नेपाली साहित्य नभनेर डायस्पोरिक नेपाली साहित्य भनेको देखिन्छ (सम्मेलनको बुलेटिन)। तर यसको प्रारम्भिक बिन्दु (कोसे ढुङ्गा) कहाँबाट कसलाई मान्ने भन्नेबारे भने प्रस्ट पारिएको देखिँदैन । डायस्पोरिक शब्दको  पहिलो प्रयोग र पहिलो डायस्पारिक रचना, कृति वा पुस्तक कुनलाई मान्ने भन्ने बारेमा पनि अध्ययन अनुसन्धान भएको देखिँदैन । हचुवाको भरमा अङ्ग्रेजी शब्दबाट नयाँ प्रयोग गरेर नेपालबाहिरका नेपाली साहित्यको न्वारन गर्नअघि त्यसको स्रोत पनि खुलाउन जरुरी देखिन्छ । यस सम्बन्धमा न त कतै कुनै अनुसन्धान वा अध्ययन भएको देखिन्छ,  न त यसबारे पहन गर्न कोही तयार नै भएको देखिन्छ । यसमा अहिलेसम्म सबैले आफ्नै विचार राखेको मात्र पाइन्छ । डायस्पोरा साहित्य कस्तोलाई मान्ने । किन मान्ने । यसको मापदण्ड के हुनु पर्ने  र कहिलेदेखि यसको सीमा तोक्ने यावत कुराहरूको बारेमा राम्ररी अध्ययन  र छलफल हुन बाँकी नै छ ।  वास्तवमा भन्ने हो भने नेपाली साहित्य कहिल्यै पनि  डायस्पोरिक साहित्य भएको छैन ।

नेपाली साहित्यलाई डायस्पोरिक बनाउने काममा अनेसास अर्थात् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ । अगस्त १५, २००९ मा न्यु योर्कमा आयोजित अनेसासको पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा प्रा. डा. गोबिन्दराज भट्टराईले नेपाली साहित्यलाई डायस्पोरिक साहित्य भनेर कार्यपत्र प्रस्तुत गरेपछि रातारात नेपालबाहिरको नेपाली साहित्य डायस्पोरिक साहित्य भयो । त्यसलाई मलजल दिएर गोड्ने काम अनेसासका संस्थापक होमराज सुवेदीले गर्न थाल्नु भयो  ।

आजको मितिमा डायस्पोराको अर्थ नबुझ्नेहरू डायस्पोरिक साहित्य  लेख्न थालेका छन् । अनेसासको विकास र विस्तारमा होमराज सुवेदीको महत्त्वपूर्ण योगदान रहेको छ । उनले नै गोड्दै मलजल दिँदै डायस्पोरालाई नेपालबाहिरको नेपाली साहित्यको ट्रेड मार्क बनाउन थाल्नु भयो । नेपाली साहित्यले विभिन्न समयमा विभिन्न चरणको परिस्थितिलाई आत्मसात् गर्दै वाद र विवाद दुवैलाई खप्दै र सहँदै आएको छ । राणाकालीन नेपालको प्रतिबन्धित साहित्य र पञ्चायनकालीन नेपालको सेन्सरसिप साहित्यको अवस्थालाई पार गर्दै स्वतन्त्र साहित्य हुँदै आज नेपाली साहित्यले विश्वव्यापीकरण स्वरूप पाएको छ । तर यो डायस्पोराको प्रतिछायाले नेपाली साहित्यलाई विश्वव्यापीकरणको दौडमा अपरिपक्व बनाउँदै गएको छ ।

होमराज सुवेदीलाई यो डायिस्पोराको रोग अगस्त १५, २००९ मा न्यु योर्कमा भएको अनेसासको पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनपछि लागेको देखिन्छ । अगस्त २००९ भन्दाअगाडि होमराज सुवेदीको सन् १९९७ (विसं.२०५४) मा प्रकाशित प्रवासी स्वर, २००९ (विसं.२०६५) समुद्रपारका समालोचना  र सन् २००८ (विसं.२०६६) मा प्रकाशित आप्रवासी पत्र लेख्दासम्म उनलाई नेपालबाहिरको नेपाली साहित्य प्रवासी तथा आप्रवासी नै लागेको थियो । यही वास्तविकता पनि हो ।

तर अगस्त १५, २००९ पछि डायिस्पोरा शब्दले उनको मनमस्तिष्कबाट  प्रवासी र आप्रवासी शुद्ध नेपाली शब्दलाई मेटाइदिएर डायस्पोरा अङ्ग्रेजी शब्द स्थापित गरेपछि एकपछि अर्को गर्दै होमराजजीका  डायस्पोरा पेन (सन् २०१०), डायस्पोराको मान्छे, (सन् २०११), अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन (सन् २०१२) सँगै धमाधम डायस्पोरा शब्दले सुसज्जित रचना कृतिहरू देखा पर्न थाल्छन् । नेपालको मदन, कृष्ण, हरी अमेरिका छिरेपछि माइकल/माइक, कृष, हैरी भए जस्तो अनेसासले प्रवासी/आप्रवासी साहित्यलाई डायस्पोरा बनाइ दिएको जस्तो लाग्छ ।

यसरी प्रवासी वा आप्रवासी साहित्य भनेर चिनिँदै आएको नेपाली साहित्यलाई नजानी बुझीकन डायस्पोरा को मुखौटो लगाइदिएको देखिन्छ । प्रयोगकर्ताले यस बारे कुनै अनुसन्धान वा छलफलको आवश्यकता नै देखेनन् । तर नेपालका विद्वानहरुले समेत विदेश भ्रमणको आसमा डायस्पोरा शब्दलाई बिना कुनै अध्ययन अनुसन्धान स्विकारेको देखिन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र त्रि.वि.वि.को नेपाली शिक्षण विभागले त यसको शाखासमेत खोलेर तथाकथित डायस्पोरा साहित्यमा अनुसन्धान गर्ने कार्यको जिम्मा लिएको छ । अझ नेपाली लेखकले समेत आफूलाई डायस्पोरा साहित्यकारमा राखेर प्रस्तुत गरेको देखिन्छ । नेपालबाहिरका अझ भनौँ युरोप अमेरिकाका साहित्यिक संस्थाको सदस्य भएपछि विदेश जान पाइन्छ र विदेशमा लेखिएका रचना वा कृति डायस्पोरिक साहित्य भनेर परिचय पाउने भ्रममा परेको वा पारिएकोले नेपालबाहिरका संस्थाको सदस्य भएर डायस्पोरिक साहित्य सिर्जना गर्न चाहनेहरू बढ्दै गएका छन् । त्यसैले डायस्पोरा शब्दले अहिले डलरको भाउ पनि पाइरहेको देखिन्छ भने डायस्पोरा साहित्य डलर साहित्य बन्दै गई रहेको छ ।

अहिले नेपालमा साहित्यकार भनेर परिचय गर्ने  प्रायः सबै नै डायस्पोरिक साहित्य संस्थाको सदस्य हुन रुचाउने गर्छन् भने धेरैले सय डलर बराबरको सदस्य शुल्क बुझाएर सदस्य भएका पनि छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नेपालसहित आफ्ना विश्वभरि रहेका शाखाहरूलाई यही डायस्पोरा शब्द जोडेर कार्यक्रमहरू गर्नु भनेर उर्दी लगाए जस्तो देखिन्छ ।

भर्खर अस्ट्रेलियामा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा डायस्पोरा सम्बन्धी कार्यपत्र प्रस्तुत भएको थियो । अमेरिकाको नर्थ क्यारोलोनामा भएको साहित्य गोष्ठीमा कृष्ण धारावासीले डायस्पोरिक नेपाली साहित्यको वर्तमान अवस्था र भविष्यबारे जानकारी गराउनु भएको थियो । भर्खर नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली डायस्पोरिक कथासङ्ग्रह निकाल्ने सूचना प्रकाशित गरेको छ ।

यसरी नै कहिले डायस्पोरिक नेपाली कविता प्रतियोगिताको सूचना आउँछ भने कहिले डायस्पोरिक साहित्य सङ्ग्रहको कुरा आउने गर्दछ । तर यो डायस्पोरालाई कति जनाले बुझेका छन् ? अनेसासले एकातिर नेपालबाहिरको नेपाली साहित्यलाई डायस्पोरिक साहित्य भनेर प्रचार प्रसार गर्दै हिँडेको छ भने अर्कोतिर फेरी अनेसासले अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको आयोजना गराउँदै आएको छ । एकातिर अन्तर्राष्ट्रियलाई पनि छोड्न सकेको छैन अर्कोतिर अन्तर्राष्ट्रियलाई  डायस्पोरा पनि भन्न सकिरहेका छैन । बुवालाई डेडी भन्ने कि बाउ भन्नेमा आफू मात्र नरुमल्लिएर नयाँ साहित्य सिर्जना गर्नेहरूलाई पनि अनेसासले रुमल्लाई रहेको छ । यसरी रुमल्लिएको देख्दा अनेसास चाँडै नै नाम फेरेर डायस्पारिक नेपाली साहित्य समाज हुन मात्र बाँकी छ ।

नेपाली साहित्यका विद्वानहरूले नेपालबाहिरको नेपाली साहित्यलाई कहिल्यै पनि डायस्पोरा भन्न रुचाएनन् । तथाकथित डायस्पोरिक साहित्यलाई मलजल दिने अ.ने.सा.स. आफै पनि यसबारे विश्वस्त रहेको देखिँदैन । डायस्पोरिक साहित्य सिर्जनालाई प्रोत्साहन दिनु पर्ने ठाउँमा अ.ने.सा.स. नेपाली साहित्यलाई बढी प्रोत्साहित गरेको देखिन्छ । विभिन्न नामधारी वार्षिकमा नगद डलर पुरस्कारका लागि छनोट गरिने साहित्यिक कृतिहरू पनि प्रायः नेपालका स्रष्टाका हुने गर्दछ भने केहीलाई डायस्पोरिक साहित्य भनेर आफ्नै संस्थाका पदाधिकारीहरूका कृतिलाई पुरस्कार गरिँदै आएको छ । अ.ने.सा.स. को काम भनेको नेपाल बाहिरका लेखक तथा तिनका कृतिहरूलाई पुरस्कृत गरेर नेपालबाहिरका लेखक÷स्रष्टालाई प्रोत्साहित गर्नु पर्दछ । यहाँका लेखक/स्रष्टाका कृतिहरू सङ्कलन गर्नु पर्दछ ।

पहिलो पटक उत्तर अमेरिकाका कविहरूका परिचयसँगै संयुक्त कविता सङ्ग्रह अङ्ग्रेजी र नेपाली भाषामा प्रकाशित भयो । तर अ.ने.सा.स.ले यस्तो अनुसन्धान कार्य गर्ने बो पहिले सोच्न सकेन । विदेशमा भएका साहित्य संस्थामा अ.ने.सा.स.को नाम अग्र पङ्क्तिमा आउने गर्छ । यसको सदस्यता बन्न नेपाल बाहिरका होस वा नेपालभित्रका सबैले सय डलर तिर्नु पर्छ । आर्थिक रूपमा बलियो देखिने संस्थाले नै सबैलाई समेट्दै नेपाल बाहिरका प्रवासी नेपाली साहित्यको संरक्षण गर्नु पर्छ । नेपालबाहिर प्रकाशित भएका पुस्तक–पत्रपत्रिकाहरूको सङ्कलन गर्नु पर्छ ।  यसलाई डायस्पोरा जस्तो अङ्ग्रेजी नामबाट मुक्ति दिलाउनका लागि अथवा यसको वास्तविकता निरूपण गर्नका लागि ठोस कदम चाल्न सक्नु पर्छ । तब मात्र संस्थाको गरिमा बढ्दै जान्छ । नेपाल बाहिरका प्रवासी नेपाली साहित्यलाई चिनाउने काम यस्तै संस्थाहरूको दायित्व पनि हो । प्रवासी शब्द नेपालबाहिरका नेपाली भन्ने अर्थमा प्रयोग हुँदै आएको छ । त्यसैले नेपालीपनको वास्तविकता बुझ्नेहरूले यो शब्दलाई कहिल्यै छोडेका छैनन् ।

खाडी राष्ट्रका स्रष्टाहरूले प्रवासी नेपाली साहित्य समाजको नामबाट साहित्यिक संस्थाको स्थापना गरेर प्रवासी शब्दलाई नै नेपालबाहिरको नेपाली साहित्यका लागि प्रयोग गर्दै आएका छन् । नेपाली साहित्यको संरक्षण र संवर्द्धन गर्ने भनेर विदेशी शब्दलाई जबरजस्ती नेपाली साहित्यमा भित्र्याउन कतिको सान्दर्भिक हो साहित्य कर्म गर्नेहरूले छातीमा हात राखेर भन्न सक्नु पर्छ । प्रवासी शब्दले प्रवासमा भएका नेपालीहरूको प्रतिनिधि गर्ने भएकोले यो शब्दमाथि खोट लाउने ठाउँ पनि देखिँदैन । नेपाली शिक्षण समिति र नेपाल प्रज्ञा प्रतिष्ठानले स्विकार्दैमा आप्रवासी साहित्य डायस्पोरा कदापि हुनु हुँदैन र हुन पनि सक्दैन। यसबारे नेपालबाहिर बसेर साहित्यिक कर्म गर्नेहरूले मिलेर वृहत् छलफल गर्नु पर्ने देखिन्छ । यसैका लागि २०१२ देखि ए.एन.ए. (अमेरिकाका नेपालीहरूको संघ) का माध्यमबाट नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाबाट प्रयास सुरु भएको थियो । तर नेतृत्व परिवर्तनसँगै यो कार्यमा पनि तगारो लाग्यो ।

त्यसपछि २०१५ मा एन.आर.एन. का माध्यमबाट नेपाली साहित्यको विश्वव्यापीकरणमाथि छलफल सुरु गरेर नेपाली साहित्यको विश्व विस्तारका बारेमा अध्ययन अनुसन्धान गर्ने कार्यको थालनी भएको थियो । तर देशमा सत्ता परिवर्तनसँगै पहिले गरिएको विकास कार्यमा तगारो लागे झैँ एन.आर.एन. को नेतृत्व परिवर्तनसँगै नेपाली साहित्यको विश्वव्यापीकरण कार्यमाथि पनि पूर्णविराम लाग्यो ।

०००

के हो यो डायस्पोरा ?

प्रारम्भदेखि नै डायस्पोरा जस्तो अङ्ग्रेजी शब्दको सट्टा नेपाली शब्दको प्रयोगलाई प्राथमिकता दिनेबारे कुरा चले पनि अहिलेसम्म त्यो कार्यान्वयन भएको छैन र डायस्पोराको वास्तविक अर्थ दिन सक्ने नेपाली शब्द पनि खोजिएको छैन । वास्तवमा प्रवासी वा आप्रवासी शब्द हुँदा हुँदै  यसको खाँचो पनि दखिँदैन । सन् २००९ न्यु योर्कमा पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा  डा. गोबिन्दराज भट्टराईले डायस्पोरा नेपाली साहित्य भनेर कार्यपत्र प्रस्तुत गरेपछि मैले डा. गोबिन्दराज भट्टराईलाई यो डायस्पोरा अङ्ग्रेजी शब्दको आवश्यकता किन पर्यो र यसको सट्टा नेपाली शब्द राख्दा राम्रा हुने विचार राख्दा डा. गोबिन्दराज भट्टराईले देशबाहिरको साहित्य भएकोले देशपारिय अर्थात् देशपारिको साहित्यको अर्थमा यो शब्द प्रयुक्त गर्न सकिने बारे भन्नु भएको थियो ।

यस बारे डा. खगेन्द्र लुइटेललाई प्रश्न गर्दा डा. खगेन्द्रले डायस्पोराको नेपालीकरण गर्न सजिलो छैन भन्दै नेपालीमा कतिपय अङ्ग्रेजी शब्द पनि राम्रै गरी पचिसकेका हुँदा शब्द के राख्ने भन्ने विवाद भएमा डायस्पोरा नै राखिदिए पनि फरक पर्दैन भनेका थिए  । तर डायस्पोराको प्रकृतिलाई हेर्दा विशेष पारिभाषिक शब्दावलीका रूपमा आप्रवासी शब्दको प्रयोग गर्न सकिने अवस्था पनि नभएको हैन ।

क्यानडामा शायद अमेरिकामा पनि विभिन्न मुलुकबाट आएका साहित्यकारहरूले परिचय गर्दा इमिग्रान्ट राइटर अर्थात् आप्रवासी लेखक भनिएको पाइन्छ । भारतका आप्रवासी लेखक, पाकिस्तानका आप्रवासी लेखक वा भनौँ रुस, नेपाल वा कोरियाका आप्रवासी लेखक भनिएको पाइन्छ । कोरियन वा अमेरिकन डायस्पोरिक साहित्य  भनेको कतै सुनिँदैन । बरु देश छोडेर बिदेसिनेलाई इमिग्रान्ट वा आप्रवासी भनिन्छ र यो शब्दले विदेशबाट आएका जो कोहीलाई पनि अर्थाउने भएकोले आप्रवासी लेखक र आप्रवासी साहित्य पनि भन्न नसकिने होइन । नेपाली आप्रवासी साहित्य अर्थात् नेपाली इमिग्रान्ट लिटरेचर भनेर सम्बोधन गर्न मिल्छ भने डायस्पोरा किन चाहियो व। अझ पश्चिमेली मुलुकमा बसेकोले पाश्चात्य नेपाली साहित्यले पनि केही अर्थ खुलाउन सक्छ । तर त्यो पश्चिमेली मुलुकका नेपालीहरूका लागि प्रयोग हुन सक्छ ।

डाइस्पोरा शब्दको अर्थ खोज्दा अङ्ग्रेजी शब्द डिस्पर्सनको नजिक रहेको देखिन्छ ।  कुनै वस्तु चारैतिर छरिनुलाई ‘डिस्पर्सन’ भने जस्तै आफ्नो मूल थलोको पहिचान टाढाटाढासम्म फैलाउनुलाई डाइस्पोरा भनिएको पाइन्छ । यो शब्दको सम्बन्ध यहुदीजातिसँग रहेकोले यसको इतिहास पनि यहुदीको पलायनको इतिहाससँग गाँसिएको छ । त्यसैले अहिलेको अवस्थामा पनि डायस्पोराको अर्थ खोज्ने क्रममा अनुसन्धान कर्ता यहुदीको इतिहास खोतल्दै उनीहरूको विस्थापितको इतिहाससँग गाँस्ने गरेको पाइन्छ । यो शब्द साहित्यभन्दा बढी संस्कृतिलाई परिचय गराउने सन्दर्भमा संस्कृतिको प्रतिनिधित्व गरेको देखिन्छ । ग्रिसेली शब्द diaspora (डायस्पोरा) को मूल अर्थ निर्वासित जीवन बिताउनु भन्ने हुन्छ भने यसरी निर्वासित मानिसहरूबाट आफ्नो परम्परा र संस्कृतिलाई आफू निर्वासनमा बसेको ठाउँमा पनि निरन्तरता दिनुलाई डायस्पोरिक कल्चर (संस्कृति) भनिँदै आएको पाइन्छ । तर बिस्तारै डायस्पोरा शब्दले निर्वासित मानिसबाट लेखिएका साहित्यिक रचनाहरू डायस्पोरिक साहित्य भनेर चर्चामा आउन थाल्यो ।

यहुदी समुदायले आफ्नो निर्वासन जीवनलाई ईश्वरेच्छा मानेका छन् । तर यहुदीहरूको डायस्पोरिक जीवनलाई नेपाली साहित्यमा जबरजस्ती भित्र्याउन कतिको सान्दर्भिक हुन्छ यो सबैले विचार गर्नु पर्ने कुरा हो । त्यसैले नेपालबाहिर अझ भनौँ युरोप अमेरिकामा लेखिएका नेपाली साहित्यलाई डायस्पोरिक साहित्य भन्ने र दक्षिण एसियामा लेखिएका साहित्यलाई प्रवासी साहित्य भन्ने जस्ता भ्रमात्मक परिभाषाले धेरैलाई अल्मलाइदिएको छ । त्यसैले बिना कुनै विवाद नेपाली साहित्यको भौगोलिक वर्गीकरण गर्दा नेपालभित्रको नेपाली साहित्य, दक्षिण एसियाली क्षेत्रको प्रवासी नेपाली साहित्य र अन्य मुलुकको हकमा आप्रवासी नेपाली साहित्य भनेर वर्गीकरण गर्नु पर्छ । यसमा अन्य मुलुकमा युरोप, अमेरिका, रसिया, अस्ट्रेलिया, खाडीराष्ट्र आदिलाई समेट्नु पर्दछ । यी मुलुकहरूमा बसेर सिर्जना गरिएका र यी नै मुलुकमा स्थापित भएका साहित्यिक संस्थाहरूबाट प्रकाशित साहित्यलाई मात्र आप्रवासी नेपाली साहित्यबाट परिभाषित गर्नु पर्दछ । यही नै वास्तविकता हो र यही वास्तविकतालाई यी मुलुकमा बसोबास गर्ने सबै साहित्यकारहरूले मान्नु पर्दछ ।

डायस्पोराको ठप्प लगाउने भन्दा पनि अहिले डायस्पोरा वा डायस्पोरिक साहित्यको स्थान निर्धारण गरेर त्यसलाई प्रवासी साहित्य भन्ने कि नभन्ने अथवा डायस्पारा साहित्य मान्ने कि नमान्ने भन्ने समस्या भएकाले सर्वप्रथम यसको निराकरण गरिनु आवश्यक छ । गैरआवासीय नेपालीहरूलाई एन.आर.एन भनेर सम्बोधन गरेझैँ दक्षिण एसिया मुलुकबाहेकका नेपाली साहित्यलाई प्रवासीको सट्टा गैरआवासीय नेपाली साहित्य वा एन.आर.एन. साहित्यबाट पनि परिचय गराउन सकिन्छ की भन्ने बारे सोच्न सकिन्छ । विश्व साहित्यमा डायिस्पोरालाई जसरी परिभाषित गरे पनि नेपालको सन्दर्भमा प्रवासी शब्दले परापूर्वकालदेखि नै प्रतिस्थापित हुँदै आएकोले हामीले डायस्पोरा र प्रवासी शब्दबिचको परिभाषालाई प्रस्ट पार्नु जरुरी देखिन्छ ।

डा. खगेन्द्र लुइटेलका विचारमा डायस्पोरिक साहित्य भनेर सार्कबाहिर साहित्यलाई मात्र भन्ने गरिएको छ र त्यसमा पनि अमेरिका र युरोपलाई केन्द्रबिन्दु बनाएका डायस्पोरिक साहित्य भन्ने गरिएको पाइन्छ । प्रारम्भमा यसको प्रयोग व्यक्तिगत प्रयोजनका लागि गरिएको देखिन्छ भने कतिपयले त साहित्य सिर्जना गर्दा पुस्तकको शीर्षकमा नै डायस्पोरा शब्द जोडेको पाइन्छ  भने नेपालका लेखकले डायस्पोरिक साहित्यकारमा आफूलाई चिनाउन सय डलर तिरेर अनेसासको सदस्य भएर त्यही संस्थालाई प्रकाशक बनाएर आफ्नै खर्चमा कृति प्रकाशन गरेको पनि देखिएको छ ।

यस्तो परिस्थितिबारे प्रकाश पार्दै डायस्पोरा साहित्यबारे डा. खगेन्द्र लुइटेल भन्नु हुन्छ, ”नेपाली सन्दर्भमा डायस्पोराबारे कतिपय गम्भीर प्रश्नहरू उठाएको कुरा पनि सबैलाई थाहा भएको कुरा हो । डायस्पोराको बारेमा म पहिलेदेखि नै निकै चिन्तित छु । यतिखेर यताबाट त्यतातिर गएका सबैलाई डायस्पोरिक लेखक हुने रहर छ भने त्यस्तो भनिदिनेहरू यतापट्टि केही देखा पर्न थालेका छन् । यी दुवै नेपाली साहित्यका लागि खराब वृत्ति हुन् । डायस्पोरा शब्द र त्यसको प्रयोग सन्दर्भ सुरुतिर अर्कै भए पनि अहिले त्यसले साहित्यिक स्वरूप ग्रहण गर्न थालेको छ ।

कुनै शब्दको अर्थ सङ्कोच, अर्थविस्तार, अर्थपरिवर्तन आदि सामान्य प्रक्रिया नै हो त्यसैले कुनै शब्दलाई पहिले जुन अर्थमा प्रयोग गरिन्थ्यो त्यसै अर्थमा प्रयोग गरिनुपर्छ भन्ने छैन । त्यसमा युगीन परिवेशअनुरूप  अर्थ सङ्कोच, विस्तार, परिवर्तन आदि गर्नुपर्ने वा त्यसै हुने पनि गर्छ । डायस्पोरा पनि यस्तै स्थितिमा छ । पहिले विशेषतः यहुदी समुदायको निर्वासनसँग सम्बद्ध डायस्पोराले अहिले विशेषतः आप्रवासनलाई सङ्केत गर्छ । यस सन्दर्भबाट हेर्दा आफ्नो मातृभूमि छाडेर अर्काे कुनै पराइ मुलुकमा गई त्यहीँ जीवन धान्न बाध्य व्यक्ति डायस्पोरिक हुन्छ र त्यस्ता व्यक्तिबाट त्यसै प्रकारको अनुभूति प्रस्तुत गरी लेखिएको साहित्य डायस्पोरिक हुन्छ ।”तर आफ्नो मातृभूमि छोडेर कतै बाहिरिँदैमा न त त्यो व्यक्ति डायस्पोरिक हुन्छ नत त्यसले लेखेको साहित्य नै डायस्पोरिक हुन्छ ।

अर्कोतिर न्यूनतम एक दशक जति अवधि निरन्तर रूपमा विदेशमा  बिताएर लेखिएको साहित्यलाई डायस्पोरिक भन्न सकिन्छ तर यो पनि अन्तिम सत्य होइन । नेपालबाट प्रवासिएर लेखिएका साहित्यले नेपाली साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएकै छ तर ती सबै साहित्य डायस्पोरिक मान्न सकिँदैन। यो भनाइले सधैँका लागि देश छोडेर बिदेसिएका साहित्यकारहरूबाट लेखिएका साहित्य नै डायस्पोरिक हो भन्ने प्रस्ट पारेको छ भने डायस्पोरा शब्दअघि प्रयोगमा आएको प्रवासी शब्दले पनि एउटै अर्थ बोक्दै आएको छ । त्यसैले यसलाई न्यूनतम रूपमा सैद्धान्तिकीकरण गर्न आवश्यक भइसकेको छ । यस बारेमा गहन छलफल गरी नेपालबारीका नेपालीहरू यहुदीहरु जस्तै धपाइएका नभएर स्वेच्छाले बिदेसिएका हुन् । उनीहरू प्रवासी वा आप्रवासी नेपाली भएको हुनाले  उनीहरूबाट  सिर्जना भएका साहित्यलाई  पनि प्रवासी वा आप्रवासी नेपाली साहित्य भनिनु र मानिनु पर्दछ ।

०००

निष्कर्ष

नेपालबाहिरको नेपाली साहित्यलाई डायस्पोरा शब्दबाट मुक्ति दिलाउन नेपालबाहिर बसेर नेपाली साहित्यको सेवा गर्ने साहित्यानुरागी, साहित्य प्रेमी, साहित्यकर्मी र नेपालमा बसेर नेपालबाहिरको नेपाली साहित्यका बारेमा विशेष चासो दिँदै आएका साहित्यकार तथा समालोचकका बीच छलफल हुनु पर्ने जरुरी भएको छ । यसका लागि यताका र उताका दुवैतिरका साहित्यिक संस्थाहरूले विशेष गोष्ठीको आयोजना गर्नु पर्ने बेला आएको छ । यसबारे दार्जिलिङ, सिक्किम, देहरादुन र आसामले के सोच्दै छ, त्यसलाई पनि समेट्नु जरुरी छ ।

सबैको सामूहिक प्रयासबाट नेपालबाहिरको नेपाली साहित्यलाई पुनः परिभाषित गर्नु पर्ने बेला भएको छ । साहित्य कहिले पनि डायस्पोरिक हुँदैन । अरू भाषा–भाषी र राष्ट्रका (चिन, अमेरिका, भारत, क्यानडा) साहित्यलाई डायस्पोरिक साहित्य भनेर सम्बोधन गरेको कतै भेटिएको छैन । फेरी किन नेपाली साहित्यलाई मात्र अपवादमा डायस्पोरिक साहित्य भन्ने त ?  यहाँ हुने प्रायः साहित्य गोष्ठीमा फलानो देशको आप्रवासी लेखक (इमिग्रान्ट राइटर)  भनेर परिचय गराउने परम्परा (चलन) बाट पनि हामीले बुझ्नु पर्छ । अहिले हामी सबै डायस्पोराको गलगाँड बोकेर हिँडिरहेका छौँ र तलका यी विभिन्न प्रश्नहरूको उत्तर खोज्दै भौतारिरहेका छौँ ।

 साहित्यिकवृतबाट हेर्दा डायोस्पोरा के हो ?, डाइस्पोरिक  साहित्य भनेको  के हो, डाइस्पोरिक वा डायिस्पोरा साहित्यकार हुने मापदण्ड के हो ,  कस्ता लेखक र सर्जकहरू यसमा पर्दछन् ,  डायस्पोरिक हुनलाई कति समय देशबाहिर रहनु पर्ने,  स्थायी या अस्थायी बसोबास के हुनु पर्ने, कस्तो विषयमा के कति रचना सिर्जना गर्नु पर्ने , विदेशमा रहेका लेखक  डाईस्पोरिक साहित्यकार भनिएकाहरू पुन केही वर्षपछि स्वदेश फर्केपछि उनीहरूलाई के भन्ने, घुमघामको बेला या छोटो समय परदेश बसाइँको बेलामा लेखिएका रचनाहरूलाई डायिस्पोरा साहित्य भन्ने कि नभन्ने , स्वदेशी लेखकले विदेशको विषयमा लेख्दैमा त्यस्तो रचना र कृतिलाई डायिस्पोरा भन्ने कि नभन्ने . (मान्ने कि नमान्ने),  डायिस्पोराको सट्टा दक्षिण एसियाको साहित्यलाई प्रवासी र त्यस परका साहित्यलाई आप्रवासी साहित्यका रूपमा परिभाषित गर्दा के हुन्छ । अझ भनौँ डायस्पोराको सट्टा आप्रवासी वा गैरआवासीय नेपाली साहित्य भनेर चलनचल्तीमा ल्याउँदा के हुन्छ । आदि प्रश्नहरूको उत्तर खोज्न अनाहकमा हामी भौँतारिरहेका छौँ । यसरी भौँतारिनु छोडेर यो डायस्पोराको गलगाँड काटेर फाल्न जरुरी छ ।

नेपाली भाषाले भारतमा राष्ट्रिय भाषाका रूपमा मान्यता पाइसकेको छ । आज विश्व ७५ मुलुकमा नेपालीभाषीहरू बसोबास गर्दै आइरहेको बारे गैरआवासीय नेपाली सङ्घका शाखाहरूबाट थाहा पाइन्छ । यस्तो अवस्थामा नेपाली भाषालाई आफू बसेको मुलुकमा चिनाउँदै जान कुनै एकदिन तोकेर नेपाली भाषा दिवस वा विश्व नेपाली भाषा दिवस मनाउने परम्पराको थालनी गर्नेबारे सोच्नु पर्ने बेलामा विदेशी शब्दको च्याँखे थापेर बहस गर्दै छौँ ।

हुन त २१ फरबरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने चलन पनि रहेको छ । २१ फरबरीलाई १९५२ मा तत्कालीन (बङ्गलादेशसहीत) पाकिस्तान सरकारले उर्दु भाषालाई सरकारी भाषाका रूपमा घोषणा गरेपछि ढाका विश्वविद्यालयका विद्यार्थीहरूले बङ्गला भाषालाई त्यहाँको प्रान्तीय भाषाका रूपमा मान्यता दिलाउन विरोधका साथ निस्केको विद्यार्थीहरूको सामूहिक जुलुसमाथि पाकिस्तानी सरकारको आक्रमणबाट शहीद भएका वीर भाषाप्रेमी शहीदहरूको सम्झनामा मनाउँदै आएको  भाषा दिवसलाई संयुक्त राष्ट्र सङ्घको युनेस्कोले पनि १७ नोभेम्बर सन् १९९९ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मान्यता दिएपछि विश्वभरिका बाङ्लाभाषीहरूले भाषाका लागि शहीद भएको दिन २१ फरबरीलाई मातृभाषा दिवसका रूपमा मनाउँदै आएका छन् ।

यसरी नै हामीले पनि नेपाली भाषा दिवस  मनाउने बारे सोच्ने बेला आइसकेको छ ।  यदि यसबारे हामीले अहिले नै सोचेनौ भने भोलीका दिनहरूमा हाम्रा सन्ततीले त्यसरी नै आफ्नो मातृभाषा बिर्सने छन् जसरी अहिलेका गायनका भारतीय मूलका गाइनिजहरूले आफ्नो राष्ट्रिय भाषा हिन्दी र मातृभाषा भोजपुरी तथा मैथली भाषा बिर्सिसकेका छन् । यसबारे छलफल गर्ने थलो नेपाल नभएर नेपालबाहिरको कर्मभूमि बनेको छ ।

त्यसैले नेपाली भाषा साहित्यको संरक्षण गर्ने उद्देश्यका साथ स्थापना भएका संस्थाहरूले यसबारे सोच्नै पर्ने बेला आएको छ । नेपालबाहिरका नेपाली साहित्यबाट डायस्पोराको गलगाँड काटेर फाल्न जरुरी छ  । भाषा रहे हामी रहन्छौँ र हाम्रो नेपाली हुनुको अस्तित्व रहन्छ ।