
श्रद्धेय हजुरआमा, नमस्कार !
मिल्ने भए पिताजीले सिकाउनु भएसरि तपाईँको खुट्टामा शिर छुवाएर आशीर्वाद लिने थिए । तर तपाईँ नमस्कारसमेत फर्काउन असमर्थ हुनुहुन्छ भन्ने कुरा प्रस्ट छ । कारण, तपाईँ अस्तित्वमा विलीन हुनुभएको बर्सौँ भइगएको छ । केही कुरा छ मेरो मस्तिष्कमा, जो शब्दको माध्यम खोज्छ प्रस्तुत हुन् । मलाई थाहा छ – यी शब्दका एब्स्ट्र्याक्ट थुप्राहरूलाई सम्बोधन गर्दै तपाईँलाई पुकार्नु मन खालि गर्ने कार्यसिवाय अरू केही होइन ।
कुरा महिना दिनअघिको हो । म काठमाडौँतर्फ हुइँकिँदै थिएँ । गाडीको झ्यालबाट तराईका अनन्तः फाँट र जङ्गलका दृश्य हेरी टोलाइरहेको थिएँ । नीलो आकाशको पर्दाअघिको सेतो बादलमा मेरो आँखा ठोकिन पुगे । जसै आँखा बादलमा ठोकिए, मनले करिब १५ वर्षअघि तपाईँले भनेका शब्दहरू सम्झाउन लाग्यो । कुरा त अस्ति भर्खरको जस्तो लाग्छ, समय फगत गणित न हो !
गर्मी महिनाको कुनै एक दिन । नीलाम्मे तातो आकाशमा सेता बादलका टुक्राहरू नाच्दै थिए । ८-१० वर्षे चुलबुले र जिज्ञासु खप्पर, मैले सोधेको थिएँ , “आमा, त्यो बादलभित्र के हुन्छ ?”
तपाईँले भन्नुभएको थियो, “बादलभित्र कपास हुन्छ । हलुका हुन्छ, त्यही भएर तैरिन्छ ।”
तपाईँले ठ्याकै बोलेका शब्दहरू फरक हुँदा हुन् तर मेरो अवचेतन मनमा यस्तै भाव निक्कैपछिसम्म गाढा रूपमा बस्न पुग्यो ।
तपाईँले रुवाबाट हरेक दिउँसो बात्ती कातिरहनु हुन्थ्यो, साँझ बत्तीको लागि, पूजामा बाल्ने लाख-बत्तीको लागि। हरेक दिउँसो आकाशमा बादलहरू तैरिन्थे, ठुला बडेमानका बादलहरू, फुच्चे-टुक्रा बादलहरू। किन-किन मलाई यस्तो लाग्थ्यो त्यो बादललाई टिपेर ल्याउन सके कति धेरै बात्ती बन्ने थिए।
तर अलिक पछि आएर इभापोरेसन र कन्डेन्सेसन भन्ने स्कुलले सिकायो। वाटर साइकलको चित्र देख्दा म छक्क परेको हु। अहिले आएर सोच्ने गर्छु, बाफ नै बादल हो, बादल नै वर्षा हो, यो एउटा प्राकृतिक चक्र हो जस्तो मान्छेको जीवन-चक्र हुन्छ भनी तपाईँले किन भन्नुभएन होला। सायद तपाईँलाई मेरो बाल मस्तिष्कको कोमलतालाई कथा र विम्बहरूले सम्बोधन गर्नु थियो कि? जस्तो कि मेरी काकीले राति सुत्ने बेलामा मलाई कथा सुनाएर रोमाञ्चित र सोचमग्न पार्नुहुन्थ्यो र म रातभर ढुङ्गा चपाउने राक्षसको दाह्रा कत्रो हुँदो हो भनी कल्पना गरी बस्थे। आइन्स्टाइनको एउटा वाणी बडा मिठो लाग्छ जसले भन्छ, “लजिक व्हील गेट यु फ्रम ए टु बि, इम्याजिनेशन व्हील टेक यु एभ्रीव्हेर”।
अनि त्यस दिउँसो पछि हिजो-आज बेलाबेला तपाईँलाई सम्झिएको छु। सम्झिन खोजेको भन्दा पनि सम्झिन पुगेको हु तपाईँको बाटुलो सफा चेहरा, यही नै सत्य हो। उहिले उहिले कसरी हरेक रात खाना उभ्रिन्थ्यो म जान्दिन, तर हरेक बिहान तपाईँ जसरी पनि भुटीभात दुई बटुका तयार गर्नुहुन्थ्यो। पहेँलो चामल कस्तो आकर्षक लाग्ने, त्यतिबेला पाकेको प्याज नमिठो लागे पनि भात औधी मिठो लाग्ने, तर जसले पहिला सक्यो उसले अर्काको खाइदिने – दाइको अलिखित अनौपचारिक नियम, प्याज-प्याज छानेर उसलाई दिएको हु। उहिलेको खाना नै मिठो त म भनिहाल्दिन, सायद त्यतिबेला टेस्टबड्सले अन्य कुरा नचाखेकाले त्यही पहेँलो चामल मिठो लागेको हुनुपर्छ।
कुरा तपाईँले भुटेको मलाई मन पर्ने तीते करेलाको बियाको पनि हो, तपाईँ बिया-बिया छानेर मलाई दिनुहुन्थ्यो, चिप्स जस्तै कुरुमकुरुम गर्दै म त्यसलाई चबाउँथ्ये, सायद त्यही नै तपाईँको आत्मसन्तुष्टि !!अल्लिपछिको एक बिहान तपाईँले तिते करेला कसरी पकाउने भनी पाकशास्त्रको तक्निक सिकाउनुभयो। काटेको तिते करेला नुन र पानीमा एकछिन डुबाउने अनि पकाउँदा तीतो हराउँछ भनेर देखाउनुभयो, मलाई जादु जस्तै लागेको थियो।
यी स्मृतिहरू आज पोखिन चाहन्छ ताकि अविचलित मन सहित म निदाउनु सकूँ। कुरा यही नै हो। तर कुरा यति मात्र पनि त हैन, अल्लि अघि म रोडसाइडमा बजारिएको हु, घुँडो पिल्सिएको हो, त्यस रात मलाई जीवनको समेत खुब लोभ लागेको, बाँच्नु र होस् पूर्वक जिउनुमा भिन्नता रैछ, यो जान्न मैले नलडी भएन।
जस्तो कि एउटा शनिवार पहाडबाट आउनुभएको तपाईँको देवर, मेरा काका हजुरबुबालाई सिगरेट पिउन मन लागेको, टिनको बक्सा भित्र सुरक्षित राखेको नयाँ नोटहरूको बिचको दश रुपैयाँ, तपाईँले मलाई चुरोट लिन पठाउनु भएको, म कुद्दै चोकतर्फ लागेको, ढुङ्गामा अल्झिएर लड्दा कता कता बेस्सरी दुःखेको। त्यो चोटको स्मृति आज किन ताजा हुन चाहन्छ ? के आत्मज्ञानको निम्ति अनुभव अपरिहार्य छ? यत्रो गम्भीर भाव कहाँबाट आइरहेछ, हाल म यो कुरा पनि जान्दिन, बस प्रसारित भइरहेछ, म लेख्ने माध्यम मात्र हु, साक्षी भाव!
कुरा जन्म र मृत्युको पनि त हो, तपाईँ जन्मिँदा मेरो भौतिक अवशेष यस लोकमा थिएन, यो सत्य हो, तर यो पनि सत्य हो की जुन धातुहरूको संयोजनमा मेरो जन्म भयो, त्यसमा तपाईँको शरीरको धातुको बिलाउन आँटेको अवशेष जरुर छ, किनकि यो सृष्टि एउटा निरन्तरता मात्र न हो, ज्ञानीहरूको भाषामा “ऊर्जाको रूपान्तरण” !
मलाई जाडो मौसम फिटिक्कै मन पर्दैन। तपाईँ पल्लो खाटमा निदाउनुहुन्थ्यो, म ओल्लो खाटमा फोन चलाउँथे। गाली गर्नुहुन्थ्यो, म रिसाउँथेँ। त्यसको केही साल पछि त्यस्तो पुसको ठन्डीमा तपाईँले देह त्याग्नु भयो। सेतो छाला, भरिलो गाला, पुष्ट शरीर, आगोले निल्छ – म ग्वाँक ग्वाँक रुन्छु।
प्राण त्याग्नु, मुक्त हुनु भन्छन् ज्ञानीहरू । मुक्तिको के हो म बुझ्दिनँ । केवल भारी शब्द । आवरण मर्छ-आत्म मर्दैन भन्छन् ज्ञानीहरू, सो बुझ्न मलाई अझै अरू कति जाडो खप्नु पर्ने हो ?
“नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ॥ २.२३ ॥”
श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्ण अर्जुनलाई भन्छन्, “न यो आत्मालाई कहिल्यै कुनै हतियारले टुक्रा टुक्रा पारेर काट्न सकिन्छ, न त यसलाई आगोले डढाउन सकिन्छ, न त यो आत्मालाई पानीले भिजाउन सकिन्छ, न त हावाले नै सुकाउन सकिन्छ । ”
यी त भए ज्ञानका तहका कुरा ।
ऊर्जाको रूपान्तरण भन्छन् ज्ञानीहरू । सोच्छु, शरीरको वृद्धि खानेकुरा र वातावरणको देन हो । फगत समय यस्तो आयाम हो जसले “तपाईँ”लाई भूत र भविष्यमा छुट्टाउँछ । तपाईँको भूत यही माटो र पानीले उमारेको फलको ऊर्जाको रूपान्तरण र शरीरको सीमित फैलावट हो । तपाईँ भविष्यमा यही धर्तीको फोसिल हो । वस्तुमा तपाईँ शरीर हुनुन्थ्यो, भावमा स्वयं साक्षी भाव । भावनात्मक तहमा बसेर हेर्दा शरीरको खण्डीकरण गर्नु अशोभनीय देखिन्छ । जिज्ञासु मनको नराम्रो पक्ष।
तसर्थ मलाई तपाईँको भौतिक अनुपस्थितिले दुःख दिँदैन । अझै पनि तपाईँ आकाशगङ्गाको कपासको थुप्रोमा, तितेकरेलामा र मेरा अनन्तः स्मृतिहरूमा खेलिरहनुहुन्छ।
मुक्ति के हो ? मलाई थाहा छैन । तर कृष्णले भन्याजस्तै शस्त्र र आगोले जलाएको केवल शरीर मात्र हो । तपाईँको केही बाँकी अंश मेरो अवचेतनमा निदाइरहेको छ ।
उही तपाईँको,
सावाँको पनि ब्याज !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
