एक दिन दिउँसो फुर्सदको समयमा पारिलो घाममा पिठ्यूँ तताएर बसिरहेको थिएँ । एक्कासि भोक लागेर आयो । मुखमा पानी आयो । के खाऔँ के खाऔँ भयो । घर गएर खाजा खाएँ । भोक हरायो । भोक हराएपछि भोकबारे जान्ने उत्कट इच्छा जागेर आयो ।

बेलुकाको खानापछि नेपाली बृहत् शब्दकोश पल्टाएर हेरेँ । त्यहाँ भोकलाई यसरी चिनाइएको थियो – ‘यो नाम वाचक शब्द हो, भुँडी काउकाउ गरी आहाराको आवश्यकता परेको अनुभव हुनु, क्षुधा, छुद्धे, आदि । ‘भोक’ शब्दमा ‘आइ’ प्रत्यय लागेपछि ‘भोकाइ’ भन्ने नयाँ शब्द बन्दो रहेछ । जसको अर्थ छ – भोकाउने भाव, क्रिया वा प्रतिक्रिया । ‘भोक’ शब्दमै ‘ओ’ प्रत्यय लागेपछि ‘भोको’ शब्दको निर्माण हुँदो रहेछ । भोको भनेको खाने कुरा नपाएको, भोकै रहेको, भोकको इच्छा पूर्ति नभएको । भोक र भोगको लालसा जागेको । यस्तै यस्तै अरू पनि ।

के खाऊँ ? के खाऊँ ? हुनु पनि भोक । कुनै उत्कृष्ट वा आफू योग्य वस्तु वा व्यक्तिप्रतिको उत्कट अभिलाषा जाग्नु पनि भोक । अन्नको अभावमा भोकै मर्ने अवस्थाको कारक तत्त्व पनि भोक । कुनै वस्तु वा सुख दुःखका अवस्थाको भोग गर्नुका पछि पनि भोक । भोजन गर्ने, शासन गर्ने, आसन खोज्ने, वासना खोज्ने र राम्री रोज्नुका पछि पनि भोक । चाडबाड, मेला पर्व, बिहे-व्रतबन्ध, बर्खी-शुद्धाइँमा खाइने भोजनमा झन् धेरै भोक । भेटघाट भोक । रमाइलो भोक । घमाइलो भोक । नुनिलो भोक । गुनिलो भोक । झुसिलो भोक । अझै अरू धेरै भोकै भोक ।

मलाई लाग्थ्यो – खानेकुराको मात्र भोक हुन्छ । भोकका लागि म त बिचरै पो रहेछु ! मैले त भोकको अर्थ सङ्कुचन पो गरेछु । अलिअलि बुझिल्याउँदा अब त झन् शब्दकोशको अर्थ पनि साँघुरिए झैँ लाग्दै छ । मलाई अहिले झ्वाट्ट भोक शब्दको अर्थ विस्तार गर्ने भोक लागेर आयो । तर खै कसले ? म सक्दिनँ । विद्वानले म बबुरोको कुरा के सुन्लान् र ! भोक नमर्ने भो गाँठे ! अब के गर्ने होला ? आखिर यो मेरो मात्र चिन्ताको विषय होइन । जेसुकै होस् ।

प्रत्येक मान्छेको आफ्नै भोक हुँदो रहेछ । मेरो भोक, तपाईँको भोक, हजुरको भोक, मै सापको भोक, भाइसापको भोक, सम्पन्न परिवारको भोक, गरिबीको रेखा मुनि रहेका परिवारको भोक । मेरो भोक एउटा, तपाईँको अर्को, हजुरको झन् अर्कै होला, कुरै नगरौँ सम्पन्न परिवारका भोकको । गरिबीको रेखामुनि रहेका परिवारको भोक झन् कति होला । मैसाप र भाइसापका छेउ पुग्नै सकिन्न । निद्राको भोक, सिद्राको भोक, शिक्षाको, दीक्षाको, अनि खानाको, नानाको, छानाको, यी सबै भोक एउटै छाना मुनि हुँदा झन् कस्तो होला ?

मलाई लाग्यो भोक हराएको पक्का पनि नहुनु पर्छ, यस चराचर जगतमा । लु हेर्नुस्, हैन भने यहाँ कति छन् अझै भोक । न भनी साद्धे न गनी साद्धे । दरबारको भोक, घरबारको भोक, तरबारको भोक । शासकलाई सत्ताको भोक । गृहस्थीलाई घरबारको भोक । हत्या, हिंसा र आतङ्कमा रमाउनेलाई तरबारको भोक । कमिसनको भोक झन् कस्तो होला । प्राध्यापकको भोक प्राध्यापकीय होला । विद्यार्थीको भोक मलाई थाहा छ । व्यापारीको भोकको सम्बन्धमा विशेष गरी व्यापारीलाई थाहा होला, कता नाफा ? कता घाटा ? लुटाहा,फटाहाको भोक जान्न उनीहरूकै सङ्गत गर्नु पर्ला । नत्र नख्खु, भद्रकाली, डिल्लीबजार गए पनि हुन्छ । तर त्यहाँ जान झन् ठुलो भोक चाहिन्छ । ती मैले लेखिन आफै खोज्नु होला । जुवाडेको भोक बुझ्न खालमा पुगे पुग्छ । पण्डितलाई पण्डित्याइँको भोक, कर्मकाण्डी ब्राह्मणलाई आज कसले पानी समाउलाको भोक । बाटाका ज्योतिषी बटुवा देख्नै हुन्न भोकले मरेर कराउँछन्, “हात हेराउनुस् भाग्य बदल्नुस् ।“ सम्झिएँ चुस्स हात हेराउँदा भाग्य बदलिने भए यी ज्योतिषी किन बाटामा बसिरका हुन् ? भोकका भकारीहरूबारे खै कति लेखौँ । कति हो कति आठै दिशा भोकै भोक ।

ज्ञान-विज्ञानको भोक लागेर होला नाट्यसम्राट् बालकृष्ण समले यसो भनेका, “ज्ञान विज्ञानको हात जोड्नु पर्छ कर्ममा ।” हामीले ज्ञान-विज्ञानका पक्षमा कर्म गरे सबै भोकहरू हट्दछन् भन्ने व्याख्या नगरेर महान् विचारको उपमा दियौँ कि रूपमा लियौँ ? यसबारे भोकै मरेन मेरो । ज्ञान-विज्ञानका खातिर काम गरे कुनै पनि भोकले बास नपाउला जस्तो लाग्छ । पक्का पनि भोक हराउन सक्छ । मार्कण्डेय पुराणअन्तर्गतको दुर्गा सप्तशतीमा भोककै रूपमा देवीलाई यसरी पुकारेको पाइन्छ:

“या देवी सर्व भूतेषु क्षुधा रुपेण संस्थिता ।

नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमोनमः ।।”

हामी सबैमा भोकको रूपमा रहेकी रहिछन् देवी भगवती । मैले यति बुझेँ “ज्ञानको भोकका रूपमा देवीलाई बुझ्नु पर्छ” । अरू के के बुझ्न मन छ, हजुरहरूलाई जिम्मा । “जय भुँडी” लेख्दै जाँदा भैरव अर्याललाई पनि भोक लागेछ क्यारे, उनले यस्तो लेखे:

“नमो देव्यै महाँ देव्यै सर्व देव्यै नमो नमो नमः ।

आन्द्रा अन्द्री समेतायै भुँडी देव्यै नमो नमः ।।”

यो व्यङ्ग्यमूलक भोक होला । यसले कता कता व्यङ्ग्यको भाइरस छर्याे मैले सबै खोजिन । राधालाई कृष्णको भोक लागे छ क्यार वैष्णवी रूप धारण गरी तीर्थाटनमा लागिछन् । कृष्णलाई राधाको भोक लागेर होला उनी पनि राधा खोज्दै सोह्र हजार एक सय आठ गोपिनीलाई जम्मा गर्न पुगेछन्, बुढाका आँटलाई मान्नै पर्छ । म कामना गर्छु, अबको हाम्रो भोक प्रगतिको होस्, उन्नतिको होस् अनि भन्ने गरिएका समृद्धिको होस् । जय भोक ।