दिउँसोको समय छ । घाम र बादलबिच ठट्यौली चलिरहेको छ। कहिले बादल बर्सिदिन्छ, कहिले घाम चर्किदिन्छ । साउन अन्तिम दिनहरू चलिरहेका छन् । भदौरेहरू देखिन थालेका छन्, र ती रमाइरहेका छन् । जमिनमा एक प्रकारको न्यानो चिस्यान छ। मलाई यस्तो दिनहरू खुब मन पर्छ। यस्ता दिनहरूमा देखिने इन्द्रेणीहरूले मेरो हृदयमा सदैव बास माग्छन्। म आफूलाई आफ्नै हृदयको बलेँसीमा उभ्याएर इन्द्रेणी आफ्नो हृदयको दैलोभित्र छिराउने दुस्साहस गर्छु।

जसै इन्द्रेणीहरूले मेरो हृदय बास पाए, मैले दिएँ । उनीहरू एक-अर्कासँग गफिन थाले । म सुनिरहेँ । उनीहरू एउटा लोककथनको चर्चा गरिरहेका थिए – ‘घामपानीबारे, स्यालको बिहे ।’

म चुपचाप धड्कन सुनिरहेँ, कथा सुनिरहेँ।
‘धड्क..धड्क..’ कथा अघि बढ्दै गयो।

***

(घाम र पानी बडो असल साथी थिए। तर उनीहरूको भेट आक्कलझुक्कल मात्रै हुने गर्थ्यो। एउटा समान्तर दूरीमा रही उनीहरूको एक-अर्काको सन्चो-सुबिस्ता सोध्ने गर्थे, एकअर्काको हृदयका तरङ्गहरूलाई सुमसुम्याउने गर्दथे। एकअर्काबीच उनीहरूको पारिवारिक कुराहरू चल्थ्यो, समसामयिक घटनाक्रमबारे टीकाटिप्पणी हुन्थ्यो।)
जस्तै यस्ता कुराहरू:

घाम : मित्र पानी ज्यू, हजुरसँग त बादल, चट्याङ, हावाहुरी लगायतको बाक्लो साथी सर्कल छ। म त सधैँ एक्लो। कहिलेकसो हावाहुरीसँग एकछिन चिया खान भ्याउँछु, कहिलेकसो हजुरको सहृदयताले इन्द्रेणीसँग ‘क्यान्डेल डे डिनर’ गर्ने मौका जुर्छ। नत्र सदैव आफ्नै तापको रापमा तप..तप..तप्किरहन्छु। भक भक उम्लिरहन्छु।

पानी : मित्र घाम ज्यू, तपाईं पनि ! चट्याङ, बादल, हावाहुरी सबै म नै हुँ। उहाँहरूलाई पराइ नसम्झिनुहोला। होला, हामीबिच तात्त्विक फरक देखिएला तर एकापसको भेटघाट र वार्तालापबिना हामी हामी हुन् सक्देनौं।

मुख्यतः तपाईँबिना हामी हामी हुन नै सक्देनौं। तपाईँकै कारण हामी समुन्द्रदेखि आकाशसम्म उडान भर्छौँ। तपाईं हामीसँग सदैव हुनुहुन्छ। बिन्ती छ मेरो, आफूलाई एक्लो-एक्लो, उदास-उदास अन्दाज-ए-बयाँमा नराख्नुस्। थाहा छ हजुरलाई , यस्तो कुरा गरेर तपाईं हाम्रो मन कटक्क पार्दै हुनुहुन्छ!

घाम : माफ पाऊ , मित्र माफ पाऊ। एकानास जीवन प्रक्रियाबाट गुज्रिरहँदा उदासीको ‘दासी’ बनिँदो रहेछ। आज त्यस्तै भयो। ..माफ पाऊ , मित्र माफ पाऊ।

पानी : मित्र घाम ज्यू। तपाईँको रवाफिलो चिन्तनले मलाई द्रवीभूत बनायो। के अरे, तपाईँको उमेर पनि पुग-नपुग साँढे चार खर्ब (४.५ खर्ब) वर्ष पुग्यो। अब त उदासी छाउने बेला भयो नै।

घाम : हेहे,..मित्र। तपाईं र मेरो त रगतको नाता छ नि। जुम्ल्याहा पो हौँ त हामी। तपाईं ठन्डा दिमागको हुनुहुन्छ र आफूलाई काबूमा राख्नुहुन्छ। म अलि गरम दिमागको भएँ, कहिलेकसो अत्तालिन्छु।

पानी : फेरी पनि मित्र, तपाईं गरम हुनुहुन्छ भनेर नै त म नरम हुने गर्छु। तपाईं नरम होइदिनुभयो भने मेरो अस्तित्व नै कहाँ रहन्छ र? मेरो अस्तित्व रहेन भने तपाईँको अस्तित्व पनि रहँदैन। हामीलाई आ-आफ्नो नियति स्विकार्नुको अर्को विकल्प नै छैन।

घाम : तर पनि मित्र, कहिलेकाहीँ मलाई लाग्ने गर्दछ, यही ब्रह्माण्डलाई जीवन्तता दिलाउन तपाईं र म कति मरिमेटिरहेका छौँ। मूलतः यो पृथ्वी नामको ग्रहलाई जिउँदो राख्न हाम्रो मनग्ये भूमिका छ। तपाईं नै तपाईं हुँदा पनि यो पृथ्वी पन्यालो वस्तु हुनेछ। म मात्रै म हुँदा पनि यो पृथ्वी एक वाष्पकृत नृत्यमग्न धुवाँ हुनेछ।

पानी : पक्कै मित्र, यो पृथ्वी तपाईंलाई र मलाई जोड्ने सेतु पनि हो। तपाईँ यसलाई अँगालो हाल्नुहुन्छ। म पनि यसलाई बाहुपासमा बेर्छु। कहिलेकसो लाग्ने गर्छ, सँगसँगै यस जमिनलाई अँगालो हालौँ। त्यस्तो लाग्दैन तपाइँलाई ?

घाम : तपाईँलाई त्यसो गर्न मन लागिरहेको हो मित्र पानी ज्यु? के भयो त, आउनुहोस् एकैफेरी यस पृथ्वीलाई माया गरौँ। तर त्यसपहिले एउटा शर्त छ। मित्र, हामीले आ-आफ्नो तेज अलि कम गर्नुपर्छ। हामी एकसाथ एकअर्कालाई छुन र भेट्न सक्दैनौँ। त्यसो गरेको खण्डमा हामी दुवैको इहलीला समाप्त हुन्छ।

पानी : पक्कै मित्र घाम ज्यू, म केही बादलहरू ल्याएर तपाईँसामु राख्दिन्छु। तपाईं बादलमुनि लुगलुग कामिरहेको हावालाई अलिकति गतिशीलता प्रदान गर्नुहोस्।

घाम : लौ त्यसो गरौँ मित्र। आज जमिनलाई एकसाथ अँगालोमा बेरौँ। जमिन दुवै गालामा एक-एक चुम्बनको डोब छाडौँ।

पानी : लौ मित्र, त्यसै गरौँ।

घाम: लौ त मित्र।

***

(इन्द्रेणीहरू घाम र पानीका यही चुम्बनका डोबहरू पो रहेछन् । यसैले यति सुकुमार र रङले भरिएका । … यति सुगठित देखिएका । … उनीहरू एक्कासि कविता गुनगुनाउन थाले । म कवितामै हराएँ ।)

“घामपानी घामपानी स्यालको बिहे
कुकुर जन्ती बिरालो बाहुन्”

युद्धप्रसाद मिश्रको कविताले सारा लोक गुञ्जायमान भइरहेछ । जमिनका हरेक प्राणी यही कविता गुनगुनाइरहेका छन् ।

“झिलिमिली झिलिमिली बिजुली चम्क्यो
बादल गर्ज्यो अन्धाधुन
डोले भरिया कहाँ हुन्, कहाँ हुन्,
घामपानी घामपानी, स्यालको बिहे
कुकुर जन्ती बिरालो बाहुन् ।

आँधी आयो, असिना आयो
जन्ती बस्ने घरै उडायो
स्यालको बिहे भाङ् भाङ् भुङ् भूङ्
आज असार भोलि साउन
घामपानी घामपानी स्यालको बिहे
कुकुर जन्ती बिरालो बाहुन् । ”

***

यस प्रकार त्यस दिनको दिउँसो बित्यो । जसलाई लिपिबद्ध गर्न खोज्दा मनमा फेरि इन्द्रेणी देखियो । र, मेरो हृदयदेखि उठेको इन्द्रेणी तपाईँको हृदयसम्म पुग्यो ।