पर्यटन क्षेत्रका लागि यात्राको क्रममा अप्ठ्यारो, डरलाग्दो तथा कठिन भन्ने शब्दावली हुँदैन । बरु यस क्षेत्रमा हरेक अप्ठ्याराहरूलाई रोमाञ्चकता, अनुभव तथा सिकाइसँग जोडिन्छ, लामो समय पर्यटन व्यवसायमा संलग्न तारा गाउँ विकास समितिका सदस्य शिव लामिछाने दाइले गाडीमा बस्ने बित्तिकै सम्झाउनु भयो । आफू भने करिब १२ घण्टाको उकालो बाटो त्यसमा पनि वर्षाको मौसम त्यसै अत्तालिएको थिएँ । एक दिन अगाडि नै शिव दाइको सल्लाहमा ट्रेकिङका लागि आवश्यक बन्दोबस्त गरेकाले त्यसले यात्रामा भने केही सहजता ल्यायो ।

पौराणिक कथाअनुसार समुद्र मन्थन पश्चात् निक्लिएको कालकुट विष शिवजीले पिएपछि विषको जलनबाट अत्तालिएका शिव भगवान् गोसाइँकुण्डभित्र केही समय बसेका थिए अरे । हिँड्ने अघिल्लो रात श्रीमतीले सम्झाएकी थिइन्, “अत्यन्त पवित्र ठाउँमा जाँदै हुनुहुन्छ चोखो खानु होला” श्रीमतीको सल्लाह थियो । यसकारण यो यात्रामा धार्मिक लालसा पनि थियो ।

गोसाईंकुण्ड जाने बाटोको घट्टेकुलाको उकालो चढ्दा नै जिउ सिरिङ्ग भैसकेको थियो । पुग्न सकिन्छ कि सकिन्न करिब ४३८० मिटरको उचाइ नाप्नु थियो साथमा थिए छैटौँ पटक गोसाइँकुण्डको उकालो नापिरहेका शिवदाइ “बल गर्नु हुँदैन बिस्तारै उक्लिनु पर्छ हाई अल्टिच्यूटमा उक्लिँदा अनावश्यक बल गर्नु हुँदैन” शिवदाइको प्रस्ट निर्देशन थियो । त्यसैले आजको हाम्रो यात्रा चन्दन वारिसम्म मात्र थियो, त्यसकारण धेरै हतार पनि थिएन ।

नाकको टुप्पो जस्तो ठाडो उकालोमा असिन पसिन हुँदै करिब दुई घण्टाको उकालो पश्चात् पुगियो देउराली । सिमसिम पानी परिरहेको थियो । सँगका दुई जना साथी अझै पुगिसकेका थिएनन् ।  कफी खाँदै पर्खाइको मज्जा लिने सोच बनाएँ । अधबैँसे तामाङनी दिदीले सञ्चालनमा ल्याएको व्यवस्थित होटेल रहेछ देउरालीमा । कफी सकिने बित्तिकै साथीहरू पनि पुगे, यतिन्जेलसम्म भने दिउसोको तीन बजिसकेको थियो । “चन्दनबारी पुग्न कति समय लाग्ला दिदी ?” सँगैको साथीले सोधे । “खोइ हामी त दुई घण्टामा पुग्छ तपाईंलाई चार घण्टा लाग्ला” ।

अहो चारैतिर कुइरीमण्डल, सिमसिम पानी, जङ्गलको बाटो, अझै चार घण्टा लामो गन्तव्य आङ सिरिङ्ग भयो । तर आखिर जे भए नि उक्लिनु नै थियो । किनकि मनमा गोसाईंकुण्ड पुग्ने तीव्र इच्छा जो थियो ।

ती तामाङनी दिदीले भनेजस्तो चार घण्टा त होइन करिब अढाई घण्टाको कठिन उकालो पश्चात् हामी डेढ घण्टामा डिम्सा र करिब एक घण्टामा चन्दनवारि पुग्यौँ । पछि बुझ्दा पो थाहा भयो बेलुका तिरका नयाँ मान्छेलाई अलि बढी समय भनिँदो रहेछ । आखिर उनीहरूको होटेलको व्यापार गर्नु जो थियो ।

चन्दनबारिमा पाइला टेक्ने बित्तिकै एक होटेल सञ्चालक सुस्मिता तामाङ बैनीसँग बाटोमै भेट भयो । ती बैनीले मन्द मुस्कानका साथ भनिन्, “चोलाङ्पाटी त पुगिँदैन होला दाइ । यतै बस्ने भए बस्नको राम्रो व्यवस्था छ ।” पर्यटन क्षेत्रमा ग्राहकसँग चर्को असुल्न खोज्ने गर्छन् भन्ने सुनेको मैले दर रेट सोध्न भने कन्जुस्याइँ गरिन । उनले पनि हार्दिकताका साथ एक जनाको खान बस्न सात सय भनिन् । मलाई त्यो ठिकै लागेर नै होला धेरै मोलतोल गरिन ।

बेलुकी पख बैनी च्याँगाको सुकुटी होला नि सोध्दा “कहाँ पाइनु” भन्ने जवाफ आयो । त्यसो भए हिमाली आलु पोलेर खाऊँ न त भनेर साथीले आग्रह गर्नु भयो । “लोकल त छैन तराईकै आलु हो” भनेर मुस्कान सहित सुस्मिताले भन्दा मेरो मन अमिलियो । हामी पर्यटकीय क्षेत्रमा किन रैथाने खानातर्फ ध्यान दिन सकेका छैनौँ ।

अहिले पर्यटकको आकर्षण पर्यटकीय स्थल मात्र होइन सम्बन्धित क्षेत्रको रैथाने खाना पनि पर्यटकको रोजाइमा पर्छ तर त्यसतर्फ हाम्रो ध्यान जान सकेकै छैन । अन्त्यमा उनले लोकल रक्सी पाइने बताइन् । उनको जबाफसँग हामी सबै एक अर्काको मुख हेरि हाँस्न थाल्यौँ ।

असारे झरीले चन्दनबारीलाई झन् बढी चिस्याएको थियो ।

“चन्दनवारी धेरै पुरानो बस्ती रहेछ । पहिले पहिले तल पहाडका बासिन्दा आफ्नो उत्पादन बोकी गोसाईंकुण्ड उक्लिन्थे अनि तिनै समान उपहार स्वरूप दिई बास बस्थे । व्यावसायिक रूपमा होटेल खोलेको धेरै पछि मात्र हो ।” होटेल सञ्चालककी आमाले बताइन् ।

रात निकै छिप्पी सकेको थियो । दाउराको तातो चिम्नी चुलो छोडेर दुई दुई गिलास तातो पानी घुट्याएपछी बिहान पाँचै बजे गन्तव्यतर्फ लम्किने सल्लाहमा हामी सुत्यौँ ।

अर्को बिहान छ बजे तिर हामी तिनै जनाले गोसाइँकुण्डतर्फ पाइला सार्याैं । करिब पौने दुई घण्टाको हिँडाइपछि पुगियो अर्को स्टेसन चोलाङ्गपाटी । चोलाङ्ग पाटीमा अर्की तामाङ बैनीलाई सुपका लागि अनुरोध गर्यौं । “लसुनको सुप राम्रो हुन्छ लेकमा जाँदा” हार्दिकता पूर्वक उनले भनिन् । हामीले पनि सहमति जनायौँ । एक एक कचौरा सुप पिए पछि आफ्नो बाटो ततायौँ ।

लेकमा फुल्न सुरु भइसकेका विभिन्न रङ्गका फूलहरूले उकालो बाटोको थकान पनि बिर्साइरहेको थियो । यस्तैमा पुग्यौ लौरीबिना अनि बुद्ध मन्दिर । बुद्ध मन्दिरमा साँच्चै बुद्ध तपस्या लीन भए जस्तै थिए । कुइरीमण्डलले डाँडाको सुन्दरता छोपेको थियो । जिउ थकित तर मनमा गोसाईंकुण्ड पुग्ने तीव्र रहर ।

“अब त अढाई किलोमिटर मात्र बाँकी छ यस्तै दुई घण्टामा पुगिन्छ होला” शिव दाइले सुस्तरी भने । नभन्दै करिब दुई घण्टा नै लाग्यो त्यो अढाई घण्टाको बाटो छिचोल्न । अब हामी गणेश गौडा पुगेका थियौँ । तल सरस्वती कुण्ड देखिएको थियो अनि त्रिशूलीको सुसाहट पनि सुनियो । त्यसपछि भैरव कुण्ड देखियो । त्यसपछि पुग्यौँ हामी गोसाईंकुण्ड ।

गोसाईंकुण्ड हिन्दुहरूको आस्थाको केन्द्र चारैतिर काला पहाड जुन असौजदेखि नै हिउँले सेताम्य हुन्छन् तर अहिले हिउँ नपरेकाले काला बिरूप पहाडका बिचमा शान्त तलाउ साँच्चै मनमोहक। त्रिशूल धाराबाट कल कल बग्दै पानी कुण्डमा जम्मा हुँदो रहेछ त्यहाँको पानी भैरवकुण्ड र सरस्वती कुण्ड हुँदै त्रिशूली नदीको मुहान बन्दो रहेछ । कुण्डको छेउमा शिव मन्दिरले धार्मिक आस्थासँगै साँच्चै मन लोभ्याउँदो रहेछ गोसाइँकुण्डले । निर्जन ठाउँमा चार पाँच वटा होटेल रहेछन् तर अप सिजन भएकाले पालो पालो गरी खोल्दा रहेछन् । होटेल साहुनी त मुनामदनमा वर्णित भोटेनी जस्तै रहेछन् नि –

“ती हस्ती हाड सरिका सेता भोटेनी भर्खरका, आँखाका काला नौनीका छाला त्यो ल्यासा शहरका”

शिव दाइले हाँस्दै सुनाउनु भयो ।

यो प्रसङ्गले हामी सबै गलल हाँस्यौँ । होटेल साहुनीका गाला भने लाजले झन् बढी राता भए ।

अब भने साहुनीलाई सादा खानाको अडर दिई आफू सँगका झोला त्यही होटेलमा छोडी हिँडियो कुण्डको परिक्रमा गर्न । गोडा सर्न भने मानेका थिएनन् तर यति दुख गरेर आएपछि परिक्रमा गर्ने नै अठोट लिए करिब एक घण्टामा परिक्रमा गरी सिद्धियो गोसाइँकुण्डको । त्यसपछि त्रिशूल धाराको जल अभिषेक पश्चात् मन्दिरमा शिवको दर्शन गरी होटेलमा खाना खाइयो ।

दिउँसोको चार बजिसकेको थियो । हामी बिचमा हाईअल्टिच्यूटमा बस्नु भन्दा तलै झर्ने सल्लाह भयो ।

करिब चार हजार तीन सय असी फिटको उचाइमा चार घण्टा बिताएपछि हाम्रो यात्राले फेरि निरन्तरता पायो । करिब तीन घण्टाको ओरालो झरेपछि पुगियो जाँदा बसेकै ठाउँ चन्दनबारी तर होटेल भने फरक ।

त्यस होटेलका मालिक रहेछन् पुराना कम्युनिस्ट नेता सुब्बा लामा ०५६ को आम निर्वाचनमा ५६ भोटले मात्र संसदमा पराजित लामासँग निकै बेर गफ्फियौँ ।

पर्यटन क्षेत्रका समस्या यस क्षेत्रलाई पर्यटकीय हब बनाउन गरेका सङ्घर्षका कतासँगै आफ्नो बढो सङ्घर्षषमय जीवन कहानी पनि सुनाउनु भयो सुब्बा लामाले ।

रसुवाकै पहिलो एसएलसी सुब्बा लामा १८ वर्षको उमेरमा विद्यालयको आँगन टेक्नु भएको रहेछ । पञ्चायत कालमा देश बाहिरबाट पनि काठमाडौँ विद्यार्थी पढ्न लैजाइँदो रहेछ रसुवाबाट पढ्ने अवसर पाउने चार भाग्यमानी मध्ये सुब्बा लामा पनि एक रहेछन् । बाँकी तीन जनाले बिचमै पढ्न छोडेका रहेछन् उनले मात्र एसएलसी पास गरेका रहेछन् ।

सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसी पास गरेका उनले आर आर क्याम्पसबाट प्रवीणता प्रमाणपत्र उतीर्ण गरी गाउँकै विद्यालयमा केही समय शिक्षण पनि गरेका रहेछन् । त्यसपछि राजनीति र पर्यटन व्यवसाय ।

बढो मिजासिला ७६ वर्षीय सुब्बा लामासँग लामो भलाकुसारी पछि ०५६ पछि चुनाव किन लड्नु भएन ?मेरा साथीले प्रश्न गरे

उनले सहज उत्तर दिए “पार्टीले त पछि पनि टिकेट दिएको थियो तर मैले नै हरेक कुराको समय सीमा हुन्छ तसर्थ युवालाई अवसर दिनुपर्ने अडान लिए र चुनावी राजनीतिबाट बिदा लिए” ।

सुब्बा लामा सँग गफिँदै त्यस दिन पनि हामीले रैथाने भोजनको माग गर्यो तर होटेल साहुनी तथा सुब्बा लामा दाइकी जीवन सङ्गिनीको कुरा सुन्दा दिक्क लागेर आयो “गाउँमा खेती गर्ने कोही छैन के फल्छ र गाउँ मा ? दुःख गर्न सबैले छोडिसके एउटा लोकल कुखुराको पाँच हजार सात हजार भन्छ कसरी बेच्नु । खाने भए वोईलर छ ।”

उनले एक सासमै भनिन् ।

यस्तो दुर्गम ठाउँमा आएर पनि बोईलर खानु मैले तितो पोखेँ तर छैन भनेपछि थाकेको जिउलाई त्राण दिन पनि तिन सयको झोल हालेको चार चोक्टा बोईलरमै चित्त बुझायौँ ।

रातको करिब ९ बजी सकेको थियो, जिउ कुटेर थिलो थिलो भए जस्तो त्यसैले सुब्बा दम्पतीसँग बिदा मागी सुत्ने निधो गरियो ।

अर्को दिन बिहान सात बजे पुनः यात्रा जारी राख्यौ र करिब ११ बजे तिर धुन्छे बजार नजिक पुगी गोसाइँकुण्डको यात्रा टुङ्ग्याइयो ।

त्यतिन्जेल काठमाडाैँबाट हामीलाई लिन जिप चालक भाइ रामु गाडी चढ्ने ठाउँसम्म पुगिसकेका थिए ।