“जुन पीडाले हामीलाई मार्न सक्दैन, त्यो पीडाले हामीलाई अझै सशक्त बनाउँछ”

आत्महत्याका लागि डोरी समाएका, भीरका टाकुरा तथा नदीबाट तल खसेर मर्न तयार भएका, हातमा विष लिएर पिउन तयार भएका मान्छेहरूलाई बाँच्न हौसला दिने आम जिन्दगीका नायक फ्रेडरिक निच १२३ वर्ष अगाडि हामीबाट बिदा भए । ती दार्शनिकको साहित्य र दर्शनले आम मान्छेको मानवीयता, जिन्दगी र बाँच्ने आधारहरू तयार भए, जुन सदियौंसम्म हामी वहाँलाई सम्झिइरहिने छ । पाँच वर्षकै उमेरमा पिताविहीन भएका निच आफ्नो पिताजी मर्नुभन्दा अगाडि तड्पिएको आफ्नो आँखाले देखेका थिए । यस घटनाले निचको मनोविज्ञानमा असर पर्यो । निचका पिता सज्जन थिए । असल थिए । अरूको मद्दतका लागि जहिले अगाडि रहन्थे। उनको पूरा परिवार धार्मिक आस्था र मूल्यमा विश्वास गर्दथ्यो । आफैँ निच पनि इसाई धर्ममा आस्था र विश्वास राख्दथे तर पिताजीको मृत्युपछि एक प्रश्न सधैँ उनमा दोहोरिरहन्थयो कि मेरा पिताले आफ्नो जीवन पूरा ईश्वरलाई सुम्पेका थिए। यस्तो सेवा गर्दा पनि ईश्वरले किन पिताजीलाई दुःख दिए ? मात्र एउटा यो यही नै प्रश्न थियो, जसले निचलाई गहिरो सोचमा हाल्यो ।

यही प्रश्नको जवाफ पाउन उनी सधैँ चिन्तित रहन्थे । यसको जवाफ खोज्न उनी भौतारिइरहेका थिए तर रातारात वा एक दिनमै जवाफ पाउन कठिन थियो । यही जवाफका लागि उनले वर्षौं पढे र निचोडमा पुगे । र, जुन जवाफ उनले फेला पारे, त्यसले बौद्धिक वर्गलाई हल्लाएर छोड्यो । उनको यो खोजले दर्शनको एक धारा बनाएर अगाडि बढ्यो । निच होनहार बालक थिए । जहिले पनि पढाइमा लागिरहन्थे। सिधासाधा, नैतिक जीवन जिउने, नैतिक नियम पालना गर्ने बालक थिए । पादरी पिताजीका सबै गुण उनमा थियो। सानै उमेरदेखि नै उनको मन किताबमा थियो। सानै उमेरमा उनले लेख्न शुरू गरेका थिए । दश वर्षको उमेरसम्म त उनले धेरै नाटक रचना गरिसकेका थिए । उनी आफ्नै विश्लेषण गर्नमा पोख्त थिए । साना-साना कुराका कारणहरू पत्ता लगाएर धेरै कुराहरू लेख्ने गर्दथे । जस्को फल १४ वर्षकै उमेरमा उनले आत्मकथा लेखिसकेका थिए। उनको केटाकेटी अवस्थामा रचिएका रचनाहरू आज पनि जर्मनीको वाइमर म्युजियममा सुरक्षित छ ।

निच भन्छन्, काम गर फलको आस नगर तर काम निरन्तर गरिराख । समय तिम्रो पक्षमा रहन्छ । आउने चिन्ता र दुःख आउने नै हुन् त्यसको लागि तिमी पहिले नै तयारी अवस्थामा बस्नै पर्छ । हिन्दु धर्मअनुसार जसरी पुनर्जन्ममा विश्वास गरिन्छ त्यसैगरी जीवनचक्र चलिनैरहने प्रक्रिया हो । हामी जहिले पनि सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्छ ।

निचका अनुसार हजारौं वर्षअगाडि एक निचको जन्म भएको थियो, त्यो समयमा निचले यस्तै भनाइहरू राखेर गएको थियो । लाखौं वर्षअगाडि हाम्रो यो दुनिया योभन्दा अझै परिस्कृत भैसकेको थियो। हामी धेरैमा १०० वर्षका लागि जन्म लिएर आउँछौ, हामी अति नै छिटो परिवर्तन भएको ठान्दछौँ तर यथार्थ यो हो कि हामी अति नै अल्पसमयका लागि आएका हुनाले थोरै परिवर्तनलाई धेरै देखेका हौँ । हामी यो भन्दा पहिलेको जीवनमा अति नै दुःख पाएका थियौं । त्यसैले अहिलेको जिन्दगी हामीले सुखी र खुशी भएर बिताउनु पर्छ । हामीले जति दुःखी जीवन बिताउनु पर्ने हो, पहिले नै बितेको जीवनकालमा बिताइसकेका छौँ । हामीले यो अहिलेको जिन्दगी अति नै हर्सोल्लासपूर्ण तरिकाले जिउनु पर्दछ । हामी हाम्रो चाहानालाई केन्द्रमा राखेर होइन कि अरूको चाहनालाई केन्द्रमा राखेर जिउने आधार खडा गर्नु पर्दछ।

जसरी वैज्ञानिकहरूका अनुसार यो पृथ्वी अर्बौं वर्ष पहिले उत्पत्ति भएको थियो, त्यसैगरी हाम्रो मानवीय जीवन पनि धेरै पटक र पटक पटक गरेर जन्मिराखेका छौं र बाँचिराखेका छौँ । हामीमध्ये जो सुखी र खुशी तरिकाले जिउन सक्छ, उसले आफ्नो जिन्दगी सफल बनाउँछ भने जो दुःखी भएर जिउँछ त्यो उसकै जीवन सकसपूर्ण बन्दछ । पाइथागोरसले पनि भनेका थिए, ‘हामी पटक-पटक जन्म लिन्छौँ र जिउने गर्दछौं । जिउने आधार हामी आफैँ भित्रबाट हामीले खुशीको ऊर्जा निकाल्न सक्नु पर्छ ।’

कुनै पनि धर्मअनुसार कठोर तपस्याबाट मात्र अर्को जिन्दगीमा सफल, सुख, विनोदी र उल्लासमय प्राप्त हुन्छ भन्ने मान्यता रहेको हुन्छ । सामाजिक नियम, धार्मिक नियम तथा नैतिक नियमानुसार दुःखबाट मात्र अर्को जिन्दगीमा सुख प्राप्त हुन्छ भन्ने कुरा सर्वथा व्यर्थ हो । कसैको मृत्युपश्चात गरिने कामबाट पुनर्जन्मको फल हुने अवस्था होस्, मृतकको मृत्युपश्चात हामीले गरेको दुःखबाट मृतकले लोक वा पातालमा गएर पाउने दुःख र सुखका कुरा हुन् यी सबै व्यर्थ हुन्। कुनै पनि महिलाले कठोर व्रत गरेर पाउने उसको जीवनसाथीका कुरा होस् वा कुनै महिलाको जैविकताका हिसाबले हने रजस्वलाबाट रहिने कथित चोखोपन यी सबै वाहियात हुन् । मान्छे जन्मेपछि हालसम्म भएका जे जति परिवर्तनमा जो जस्ले योगदान दिए र योगदान दिंदैछन्, ती सबैको समष्टि अध्ययन र अरूको भलाइमा रहेर गरिने आत्माको खुशियाली नै सर्वसुख र सर्वखुश हो । मानवीय जिन्दगीलाई सुखी बनाउन ल्याइएका संगीत, मनोरञ्जनका साधनहरू प्रयोग गरेर सुखी र खुशी हुन सकिन्छ। त्यसैले हामी हरदम पूर्वजको कला, दर्शन, साहित्य, कविता तथा गीतमा मस्त रहन सक्नु पर्दछ। यसका लागि हामी एक नदीजस्तो भएर जिउने गर्नु पर्दछ । मनलाई नदी जस्तो बनाउन आत्मा पुरै खुला गर्न सक्नु पर्दछ । चलिआएको सामाजिक नियमानुसार गरिने थिचोमिचो, जातीयतामा भेदभाव, नैतिक नियामानुसार गरिने थिचोमिचो, धार्मिक रूपमा गरिने थिचोमिचो, राष्ट्रियताको रूपमा गरिने थिचोमिचो, राजनैतिक रूपमा गरिने थिचोमिचो यी सब छोडेर हामी खुला संसारमा जिउने आधार हामीले हामीभित्र खोजेर बाहिर ल्याउन सक्नु पर्छ ।

निच भन्छन्, इच्छा नै दुःख र चिन्ताको मुल कारण हो। हामी वरिपरि रहेका जनावरलगायत बोट विरूवा कुनै पनि चिन्तित देखिदैन । खानाको अभावमा मृत्यु होला तर उसमा चिन्तित वातावरण देखिदैन। जनावरमा आमाको काखबाट बच्चा खोसिइँदा वा बच्चाको काखबाट आमा खोसिइँदा कराउने जस्ता भावना देखिन्छन् नत्र हामी चिन्तित हुने कुनै अवस्था देखिदैन। मान्छेको अवस्था र जनावरको फरक छ । मान्छे चेतनशील प्राणी भएकाले नै ऊ धेरै चिन्तित छ । बाँच्नु केही कुरा पत्ता लगाउनु र कसैका लागि केही गर्नु हो । तर भिडमा जिउनु चिन्तित रहनु र अरू माथि आश्रित हुनु हो।

निचका अनुसार मानवीयताको मुख्य आधार स्वतन्त्रता हो स्वतन्त्रताको मुख्य आधार भिडबाट मुक्त हुनु हो। गाडी, कार, सौन्दर्य, ठूला घर, राम्रो विद्यालयमा छोराछोरी पढाउनु, मार्कशिटमा राम्रो नंवर, विदेश घुम्न जानु यो सबै भिडले निर्णय गरिराखेको हुन्छ। भिडसँग रमाउन नै मान्छेले मान्छेमाथि अमानवीय काम गरेको हुन्छ । जो मान्छे भिडसँग रमाउन सिकेको हुन्छ त्यो सधैँ प्रताडित हुन्छ । जसले भिडबारे जानेको हुन्छ, ऊ भिडदेखि टाढै हुन्छ । तर आफ्नो हिसाबले उसले काम गरिराखेको हुन्छ । भिडसँग रमाउने मान्छे धेरै महत्त्वाकांक्षी हुन्छ । उसमा सहनशक्ति कम हुन्छ । जुन व्यक्ति भिडदेखि बाहिर हुन्छ, सो व्यक्तिको सहन शक्ति बढी हुन्छ । यही समयमा निचको एक महत्त्वपूर्ण भनाइ हामीबीच आउँछ, What doesn’t kill you make you stronger । यसको मतलब काम गर्दागर्दै भिडले दिन नसकेको स्याबासीबाट एक दिन सो व्यक्ति आफ्ना निरन्तर कामबाट महान् भएर निस्कन्छ ।

निचकै सिद्धान्त र दर्शनबाट प्रभावित भएर अल्वेयर कामुद्वारा लेखिएको मिथ अफ सिसिफस पुनर्जन्ममा आधारित कथा रहेको छ। यस पुस्तक अनुसार सिसिफस नामको व्यक्ति जब युनान देशबाट एक अपराधीको रूपमा सजाय भोग्नका लागि मृत्यु लोकमा पुग्दछ, युनानमा गरिएको पापका विरूद्ध सो सिसिफस नाम गरेको व्यक्तिलाई एउटा ढुङ्गा पहाडको टुप्पामा पुर्याउना साथ सजाय माफ भनिएको हुन्छ । दिइएको श्राप र काम अनुसार सो सिसिफस नामको व्यक्ति त्यो ढुङ्गा पहाडको टुप्पामा पुर्याउनका लागि पुरा मिहिनेत गर्दछ । उसको सधैँको काम सो ढुङ्गा माथि टुप्पामा पुर्याउने हुन्छ । तर ऊ सधैँ असफल हुन्छ । जब ऊ त्यो ढुङ्गा गुडाउँदै माथितिर जान्छ, टुप्पामा नपुग्दै सो ढुङ्गा फेरि तलतिर खस्दछ । यो क्रम चलिनै रहन्छ । एक दिन त्यो ढुङ्गा माथि नपुर्याउँदै सिसिफसको मृत्यु हुन्छ । यस कथाबाट हामी जिन्दगीको के पाठ सिक्न पुग्छौ भने ढुङ्गा गुडाउँदै लैजाँदा सिसिफसले बाटामा ढुङ्गा अड्याएर हो वा कम गतिमा गुडाएर लैजादा जिन्दगीको सुख लिन सक्यो वा लैजादै गर्दा अव त पुग्न लागियो भनेर जे जति सुख मान्यो त्यो नै उसको सुखमय जिन्दगी भयो । यथार्थ मान्छेको जिन्दगी यही नै हो।संसार, देश, समाज तथा परिवार भित्र जसरी पनि यो काम गर्नै पर्छ भन्ने हाम्रो होड छ भोलिको स्थिति सिसिफस कै हो । प्रत्येक जिन्दगी र भोलिका लागि हस्तान्तरणका लागि सोचिएका सबै कामको स्थिति यही नै हो ।

समग्रमा निच आशावादी हुन्। उनी भन्छन्, हाम्रो जिन्दगी पुनर्जन्ममा आधारित छ । हामी हिजो पनि जन्मेका थियौं । आज पनि जन्मेर सुख वा दुःख गरेका छौँ र भोलि पनि जन्मेर सुख वा दुःख गर्नु नै छ । सुख वा दुःख नभनेर हामी सुख नै भनेर जिन्दगी बिताउनु पर्छ। हाम्रालागि ईश्वर हामी नै हौँ । निचको आफ्नै भनाइअनुसार मैले मलाई चिनेको दिन म सबैभन्दा खुशी हुन्छु, सबैभन्दा धनी हुन्छु र सबैभन्दा स्वतन्त्र हुन्छु ।