नर्वेमा सन् १९९४ को गृष्मकालीन ओलम्पिक खेलकुद हुँदै गर्दा प्रख्यात चित्रकार मन्चको द स्क्रिम शीर्षकको विख्यात चित्रकला चोरी भयो । ओलम्पिकको अवसरमा चोरी भएको सो चित्रकला कसले चोर्यो होला भन्ने जिज्ञासा सर्वसाधारणमा त थियो नै प्रहरी-प्रशासन पनि तनावमा थियो ।
तीन महिनापछि बेलायती प्रहरीले यो चोरीमा त्यो बेलाका राम्रै फुटबल खेलाडी पल एन्जरको भूमिका रहेको पत्ता लगायो । उनले चोरीको चित्रकला नर्वेबाट सुटुक्क बेलायत ल्याएपछि सम्भावित क्रेता खोजिरहेका थिए । दुई जना क्रेता सो चित्रकला किन्न तयार भए । क्रेताहरूले आफूलाई अमेरिकाको क्यालिफोर्नियास्थित एउटा संग्रहालयबाट आएको बताइरहेका थिए तर उनीहरू प्रहरीका जासुस प्रमाणित भए । उनीहरूले नै प्रमाणसहित पललाई पक्राउ गरे ।
चोरीका बेला पल जम्मा २८ वर्षका थिए । त्यसअघि पनि उनी जेल परेका थिए । जेलमा नै उनले महँगा चित्रकलाहरूका बारेमा थाहा पाएका थिए भने कसरी चोर्ने भन्ने कला पुस्तकहरू पढेर ज्ञान बटुलेका थिए ।
यतिबेला द म्यान हु सोल्ड द स्क्रिम शीर्षकको वृत्तचित्र स्काई टेलिभिजनले प्रसारण गरिरहेको छ । यतिबेला ५६ वर्ष उमेरका उनले यो चित्रकला कसरी चोरे भन्ने कुरा सोही वृत्तचित्रमा खुलासा गरेका छन् ।
नर्वेको गरिब इलाकामा जन्मिएका पल र उनीजस्ता युवाको जम्मा दुई वटा मात्र बाटा हुन्छन् । कि त उनीहरू खेलकुदमा राम्रो गर्न सक्छन्, कि त चोरीमा । उनले चोरीमा पारंगत हुने कला सानैदेखि सिकेका थिए । किशोर हुँदासम्म उनी चोरीमा पोख्त भइसकेका थिए । उनी आफ्नो क्षेत्रको नामुद अपराधीमा गनिन थालेका थिए भने राजधानी ओस्लोमा नचिन्ने ग्याङ कमै थियो ।
‘जीवनका ३० वर्ष मेरो काम कि त खेलकुद कि त चोरीकर्ममा बित्यो,’ डकुमेन्ट्रीमा उनले भनेका छन्, ‘चोर्न पनि के चोरिएन ? कार, बोट (नाउ), जे जे चाँडो बिक्री गर्न सकिन्छ, त्यो त्यो चोरियो ।’
सानै छँदा स्कुल नियमित रूपमा जान्थे । स्कुलले एक पटक विद्यार्थीहरूलाई राजधानी ओस्लोस्थित मन्च म्युजियम घुमाएको थियो । उनले तत्काल मन्चको स्क्रिम पेन्टिङ मन पराए । यसले उनको घरको तनावपूर्ण अवस्थालाई पूरापूर न्याय गरेजस्तो लाग्यो ।
त्यसपछि सातामा एक पटक उनी त्यो पेन्टिङ हेर्न जान थाले । ‘म त त्यो पेन्टिङप्रति मुग्ध नै भएँ,’ उनले भनेका छन्, ‘त्यो बेला चोर्नेबारे सोचेको थिइनँ । मात्र मौका मिल्नेबित्तिकै त्यसलाई एकटक निहार्न पुग्थेँ ।’
सन् १९८८ को एक दिन उनले मन्चको कृति चोर्ने मनशायले संग्रहालय छिरे । घर आएर जब उनले चित्रकला हेरे, त्यसपछि मात्र गलत पेन्टिङ उठाएको पत्तो पाए । तापनि यो मन्चकै चित्र थियो, भेम्पायर शीर्षकको ।
प्रहरीले सो पेन्टिङ फिर्ता गर्नेलाई डेढ लाख रकम दिने बताएको थियो । साँच्चिकै पुरस्कार पाइएला भनेर उनले पेन्टिङ लिएर प्रहरीकहाँ पुगे र अन्ततः जेलको हावा खानु पर्यो ।
उनी चार वर्ष जेल परे । जेलमा उनले खेलकुदमा आफूलाई अब्बल बनाए । सँगै उनले जेलमा अपराधका कयौँ दाउपेच पनि सिके । उनी भन्छन्, ‘पहिला म सानोतिनो चोर थिएँ होला तर जब म जेलबाट निस्किएँ, खुंखार अपराधी बनेको थिएँ । मलाई केही कुराको डर थिएन ।’
ओस्लो ओलम्पिकका बेला नेसनल ग्यालरीले मन्चद्वारा सिर्जना गरेका कला प्रदर्शनी राख्ने घोषणा गर्यो । यसपछि उनले म्युजियमको जायजा महिनौँ लगाएर लिए ।
उनले त्यस अवधिमा चोर्न सजिलो हुने गरी छेउकै सुकुम्बासीसँग दोस्ती बढाए । विलियम एसिम नामको सो व्यक्तिलाई कसरी झ्यालका सिसा र फलामका रड काटिन्छ भनी सिकाए । यति मात्र होइन, उसलाई कार चलाउने तालिम पनि दिए ।
यी सबै कुरामा उनले धेरै कुरा परीक्षण गरिरहेका थिए । फेब्रुअरी ११ का दिन उनले आफैँ सिसा फोडे, भित्र छिरे र मन्चको द स्क्रिम चोरे । स्क्रिम राखिएको ठाउँमा लेखेर टाँगेः खराब सुरक्षा व्यवस्थाका लागि धेरैधेरै धन्यवाद ।
प्रहरीले धेरै खोज्यो, स्वयं पललाई पनि खोज्यो तर उनी लुक्न सफल भए । खासमा यसअघि पनि पेन्टिङ चोरिसकेको हुनाले प्रहरीको निगरानीमा उनी पनि थिए ।
प्रहरीले शंकाको घेरामा रहेको भन्दै उनको तस्बिर पनि प्रकाशित गरेको थियो । तस्बिरमा उनी स्क्रिमलाई घोरिएर हेरिरहेको देखिन्थे । यो तस्बिर प्रकाशित भएपछि भने उनलाई ज्यानको ज्यादै खतरा भयो । उनलाई अन्य आपराधिक व्यक्तिहरूले पनि खेद्न थाले । उनी र उनकी हेयरड्रेसर पत्नीले ज्यान जोगाउन ठाउँ बदली गरिरहनु पर्यो ।
एक दिन उनी अन्डरवर्ल्डकै सम्पर्क साँध्दै सम्भावित क्रेतासम्म पुगे । तीमध्ये दुई जनाले आफूलाई जे पल गेट्टी म्युजियमका अधिकारी बताइरहेका थिए । तीमध्ये एक थिए चिफ इन्सपेक्टर जोन बटलर । उनी बेलायती प्रहरीको जासुस प्रमुख थिए । उनको काम दुर्लभ चित्रकलाको परीक्षण गर्नु थियो । त्यही भएर उनी खटिएका थिए ।
चित्र वास्तविक भएको पत्तो पाएपछि उनले ओस्लोमा सम्पर्क गरे । पछि नर्वेको सशस्त्र प्रहरीले चित्रलाई मन्चले गर्मीयाममा बिताउने उल्भिङबाट बरामद गर्यो ।
यसपछि नजिकैको पेट्रोलपम्पबाट पललाई प्रहरीले पक्राउ गर्यो । उनीसँग एउटा बन्दुकसमेत बरामद गर्यो । उनले पेन्टिङ चोरीसँगै अनधिकृत रूपमा बन्दुक राखेको भन्दै अदालतले ६ वर्ष ३ महिनाको जेल सजाय तोक्यो ।
पेन्टिङ चोरीको सन्दर्भमा यति ठूलो सजाय नर्वेले अहिलेसम्म दिएको छैन ।
डकुमेन्ट्रीमा पलले भनेका छन्, ‘मैले पेन्टिङ चोर्ने योजना बुनेको हुँ तर मलाई जति लामो सजाय दिएका हुन्, त्यो गलत छ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।