मान्छेको गाली खाँदा खाँदा जनवारलाई अति भएछ । काम कुरो बिगार्ने मान्छे, गाली खाने जनावर । खती नै नगरी अति गर्ने मान्छेलाई कति सहनु ? गालीको नालीमा डुबेर बसेका जनवारले त्यसरी अब सधैँ नालीमा नडुब्ने निष्कर्ष सहित सभा गर्ने निधो गरेछन् । पशु सभाको लागि स्याल, ब्वाँसो, गिद्ध, सर्प, गोही, गधा, गोरु, भेडा, कुकुर र बाँदर घाँसे मैदानमा भेला भए । गालीबाट चित्त नदुखाउने कोही थिएनन् । सभाको सभापतित्व बूढो चिम्पान्जीले गर्ने र कसैको कुरामा कसैले छुरा नलाई सुन्ने सहमतिमा कसैले विमति जनाएनन् ।
सुनुवाईको सुरुवात स्यालले गर्यो ।
“स्याल”, “चोर स्याल”, “स्याल मोरो” भनेर गालीको थाली पस्कन्छन् । तर त्यसको औचित्य पुष्टि हुन पर्यो । पुष्टि नहुने दुष्टी आरोप लाउनु कति उचित हो ? कति न्यायोचित हो ? न त मान्छेले स्याललाई खान लाउन नै दिनु पर्छ । कुहिएको सिनो र फोहोर खाइदिएर बरु मान्छेलाई रोगव्याधीबाट हामी बचाउँछौँ । फेरि उल्टै स्याललाई किन गाली ?
स्यालले मान्छेको केही बिगार्दैन । लुसुक्क परेर हिँड्छ । बाघ र सिंहले जस्तो कसैलाई झम्टँदैन । बाघले मान्छे मार्छ । तर त्यही बाघको महिमा गाउँछन् । बहादुरीको उपमा दिँदै भन्छन् – “त्यो मान्छे त बाघ हो ।” अब सिंहको के कुरा गर्नु, उसलाई त जङ्गल राजाको मान-सम्मान छ ।
वन जङ्गल मान्छेले नै मासे । खान नपाएपछि गाउँमा पसेर कहिलेकाहीँ कुखुरा र बाख्रा नचोरेर बाँच्ने उपाय के छ त ? आखिर बाँच्न त कुनै उपाय चाहियो नि । पुस्तौँ पुस्ता सञ्चित गर्नलाई मान्छेले जस्तो हामीले घर बैङ्क डाँका मारेका छौ त ? छैनौँ ।
फेरि “हुई हुई” गर्दै खुई खुई कराउन पनि हामीले मान्छेबाटै सिकेका हौँ । नपत्याए ट्विटरमा हेरे हुन्छ । यु टुभ सुने हुन्छ । फेसबुकका थरिथरीका हुइयाँको झन् कुरो गरी साध्य छैन । अनि स्याल हुइयाँ भन्दै फेरि स्याललाई नै गाली गर्छन् ।
गालीमा पनि पुरै विभेद छ। “स्याल मोरा” मात्र भन्छन् । “स्याल मोरी” भन्दैनन् । गालीमा पनि महिला र पुरुष बीच यत्रो भेद किन ? आधा आकाश ढाकेका महिलाको यो सरासर अपमान हो ।
स्यालपछि ब्वाँसोको बोल्ने पालो आयो ।
मिटर ब्याजीले सोझा सिधालाई कन्याउँछन् । कन्याएर आन्द्रा भुँडी बाहिर निकालेर डङ्ग्रङ्ग लडाउँछन् । चुनावमा नेताले जनतालाई कन्याउँछन् । चुनाव जितेपछि जनता मरुन्, तर भोट नमरोस् भन्ने मात्र हुन्छ नेतालाई । भूमाफियाले सार्वजनिक जमिनमा नक्कली मोही खडा गर्छन् । नक्कली मोही खडा गराउन नेताले मात्र नपुगेर अड्डा अदालत कन्याउँछन् । त्यसरी कन्याउँदा कन्याउँदा गरेपछि गुन मानेर त्यो गुनको नुन तिर्छन् । आखिर कन्याउन ब्वाँसोले मान्छेबाट सिकेको हो ।
जङ्गलमा मृग भएको भए त मृग मारेर खाइहाल्थ्यौँ । फेरि जङ्गल भए पो मृग हुनु । हामीले बाँच्नु परेन ? बाच्ने आहारको जोहको लागि गाई बस्तु कन्याउँछौँ । चिलाएको बेला कन्याउँदा कति आनन्द हुन्छ । त्यो एउटा कला पनि नहुने हो ब्वाँसो कसरी बाँच्नु ? अनि “ब्वाँसो”, “ब्वाँसो मोरो” भनेर गाली किन ?
भनाइ राख्ने पालो गिद्धको आयो ।
मान्छेले कति मासु खान्छ भन्ने सबैलाई थाहा छ । घरमा खान्छ । पार्टीमा खान्छ । होटेलमा खान्छ । सुखमा खान्छ । दुःखमा खान्छ । भट्टीमा खान्छ । लठ्ठीमा खान्छ । कुनै जीव जन्तु बाँकी नराखी खान्छ । फेरि त्यही मान्छे गिद्धलाई धेरै मासु खाने ठान्छ र गाली दिन्छ – “गिद्ध” र “गिद्धे”।
छुद्दे नमरुन्जेल मासु खाने मान्छेले “गिद्धे” भन्न कसरी सुहाउँछ ? गिद्धले जङ्गिँदै प्रश्न गर्यो । झन् हामी गिद्धले मरेका जीव जन्तुको सिनो खाएर प्रकृतिमा हैजा फैलन दिँदैनौँ । हामी प्रकृतिका कुचीकार हौँ । इकोलोजिकल प्रणालीको अङ्ग बनेर पर्यावरण जोगाउँछौ ।
मान्छेले कुनै जनवार मर्नै दिँदैन । मारेर खाइहाल्छन् । हामीले अब सिनो पनि खान पाउन छाड्यौँ । यो त अति भो । यसको खती मान्छेले बेहोर्नै पर्छ ।
सुतेर बसेको सर्प फँडा फिँजाउँदै बोल्न थाल्यो ।
प्रकृतिमा भएको विषलाई ग्रहण गरेर हामी प्रकृतिलाई विष हुनबाट जोगाउँछौँ । हामीलाई केही नगरेसम्म कसैलाई केही गर्दैनौँ । डस्दैनौँ । बरु लुसुक्क भाग्छौँ ।
प्रेममा लट्ठिएर वा पट्टिएर सम्बन्धको अँगालोमा तरुनी र तन्नेरी गाँसिन्छन् । जब सम्बन्ध नासिन्छ, अनि रुदै भन्छन् – “मेरो जीवनमा सर्प बनेर आयो ।” अझ सर्पलाई दूध ख्वाएर के हुन्थ्यो पनि भन्छन् । हामी सर्पले कहिले दूध खान पाएका छौँ ? बरु बाच्छाको आँत मारेर दूध खाने त मान्छे नै हुन् । अनि कहिल्यै दूध खान नपाउने सर्पलाई किन गाली ? अझ मान्छेको बालीनाली खाइदिने मुसा खाएर उनीहरूलाई नै सहयोग गरेका छौँ ।
खोइ के भनौँ गर्दै गोही बोल्न थाल्यो ।
“गोहीका आँसु” भनेर गाली गर्छन् । गोहीले त रुन पनि नपाउनु । यो भन्दा ठूलो अन्याय अरू के होला ? हामीले कसको के बिगारिदिएका छौँ । हामी मान्छे जस्तो खाको खाई गर्दैनौँ । बरु एक दुई वर्ष पनि नखाई बाँच्छौँ । अण्डा पारेर लुकाउँछौँ । त्यो अण्डा पनि चोरी हुन्छ ।
न धर्ती प्रदूषित बनाउँछौँ । न खोला र समुद्र प्रदूषित बनाउँछौँ । गोही र माछाले समुद्र प्रदूषित गरे भनेर कसैले आजसम्म सुनेको छ ? छैन । प्रदूषित बनाउने त मान्छे नै हुन् । फेरि उनीहरू हामीलाई नै गाली गर्छन् ।
गधाले पनि आफ्नो गुनासो पोख्यो ।
गधालाई भारी बोकाउने यिनै मान्छे । काम लदाउने पनि मान्छे । अनि अलिकति बढी काम आफूले गर्नु पर्यो भने गधा भइयो भन्ने पनि मान्छे नै हुन् । घाम पानी, जाडो गर्मी केही नभनी मान्छेकै लागि भारी बोक्नु छ । फेरि मान्छेबाटै “गधा” भन्दै तुच्छ गाली खानु कति न्यायसङ्गत हो ?
पालो आएपछि गोरु बोल्यो ।
हिउँद बर्खा केही नभनी गोरु जोत्ने मान्छे नै हुन् । चुटीचुटी जोत्छन् । हामीले जोतिदिएपछि धान रोप्छन् । मकै छर्छन् । बाली भित्र्याउँछन् । आनन्दले खान्छन् । तर हामीलाई सुकेको परालमा डलाउँछन् । केही खाई पो हल्ला कि भनेर जोत्न जाँदा महला लाउँछन् । फेरि हामीलाई नै “गोरु” “गोरु मोरो” “गोरुको बुद्धि” भन्दै गाली गर्छन् । यो भन्दा ठूलो अन्याय अरू के होला ?
भेडाको गुनासो त झन् लामो थियो ।
मान्छेले उनबाट नुनदेखि सुनसम्म जोडे । त्यतिले नपुगेर भेडै खाए । मान्छेलाई गुनै गुनै लाउने भेडाको मासु खाँदा आँसु आउनु पर्ने हो । आँसु आउनु त कता हो कता, उल्टै “भेडो” भन्दै गालीको फाली रोप्छन् । कसैसँग रिस उठ्यो कि गालीको वर्षा बर्साउन थाली हाल्छन् – “भेडो मोरो । त्यो भेडाको के कुरा गर्नु । चुनाव हारेर भोट नपाएको चोटमा नेता गण फणा फुलाउँदै भन्छन् – “भेडा जनता ।”
एउटाले ताली पिटेपछि सबैले ताली पिट्छन् । जुलुसमा एउटा बुङ्गोले ढुङ्गो हान्न सुरु गरेपछि सबै बुङ्गा ढुङ्गा हान्छन् । सडक किनारका सिसाका झ्याल झर्यांम झुरुम पार्छन् । तोडफोड, हानाहान र मारामार गर्छन् । कसैले एउटा प्रसङ्गमा भनेको कुरालाई तोडमोड गरेर ट्रोल बनाउँछन् । अनि गाली भेडाले खानु पर्ने ?
एउटा विदेश गयो भने त्यसैको पछि लागेर सबै विदेश जान्छ । एउटाले गलैँचा खोल्यो सबै गलैँचा खोल्छन् । एउटाले रेस्टुरेन्ट खोल्यो, सबै रेस्टुरेन्ट खोल्छन् । एउटा अघि लागेपछि बुझ्दै नबुझी सबै पछि लाग्ने गुण भेडाले मान्छेबाटै सिकेको हो । तर भेडाले गाली खानु कुनै हालतमा युक्तिसङ्गत होइन । तुरुन्तै रोकिनु पर्छ ।
अन्तिममा कुकुर बोल्यो ।
मलाई हेर न मलाई । म मान्छेकै रखवारी गर्छु । बफादार छु । इमान जमान फेर्दिन । जहिल्यै उनकै सेवा भक्ति गर्छु । सधैँ पछि लाग्छु ।
मान्छे मान्छेको सम्बन्ध टुट्छ । लोग्ने स्वास्नीको सम्बन्ध टुट्छ । तर कुकुर र मान्छेको सम्बन्ध टुट्दैन ।
मान्छे जति यौनको भोको को होला ? कोसँग कतिखेर चोरी दाउ लाउँछन् । थाहै हुँदैन । अनि फेरि गाली गर्दै भन्छन् – “लोग्ने मान्छे जति कुकुर भए, आइमाई जति कुकुर्नी” । तर मान्छे कार्तिक मङ्सिर, दिन रात, आफ्नो अर्काको केही नभनी छिन छिनमा यौन उत्सव मनाउँछन् । तर फेरि “कार्तिके कुकुर” भन्दै गाली गर्छन् ।
कुकर जति इमानदार र बफादार प्राणी अर्को कुन होला ? बरु कुकुरबाट त मान्छेले नैतिकता र इमानदारी सिक्न पर्ने हो ।
सभापतिको आसनबाट चिम्पान्जीले सोध्यो – अब के गर्ने ?
सबैले भने – अब यी मान्छेलाई हामी सबै जनावर मिलेर जे जे गर्न सकिन्छ, त्यही गर्नु पर्छ । त्यही गरेर तह लाउनु पर्छ । तह नलागे सिद्ध्याउनु पर्छ ।
बूढो चिम्पान्जीले सभा समापनको मन्तव्य सुरु गर्यो र मान्छेको गन्तव्य बतायो ।
धर्तीले मान्छेको भर्ती किन गर्यो । त्यो मैले अहिलेसम्म बुझ्न सकेको छैन । मान्छे बाँदरलाई आफ्ना पुर्खा ठान्छन्, तर काम उनीहरू बिगार्छन् । फेरि “बाँदर” भनेर हामीलाई गाली गर्छन् । “मान्छे भनेको त बाँदरै परेछ” भन्छन् ।
जहाँसम्म मान्छे सिद्ध्याउने कुरा छ । हामी जनावरसँग एक एक मात्र विशेषता छन् । एक एक मात्र शक्ति छन् । तर सबै जनवारका विशेषता र शक्ति एउटै मान्छेमा छन् । अनि कसरी सिद्ध्याउनु ? बरु उनीहरू आफै सिद्धिन्छन् । सबैले एक मुखले सोधे – कसरी ?
चिम्पान्जीले गम्भीर हुँदै जवाफ दियो – मान्छेले प्रकृतिलाई के दिएको छ ? लिने बाहेक दिने केही गरेको छैन । आफ्नो एकलौटी स्वार्थको लागि कसले प्रकृतिको दोहन बढी गर्ने भनेर ठूला ठूला युद्ध गरेका छन् । युद्ध जित्न हतियारले मात्र नपुगेर अणु बम बनाए । त्यो अणु बम पड्केको दिन उनीहरू आफै सिद्धिन्छन् ।
सबैभन्दा महत्त्वपूर्ण त पृथ्वीको बढ्दो तापमान वृद्धि हो । त्यो मान्छे कै कारणले भएको हो । अधिक वर्षा र खडेरी त्यही तापमानमा आएको वृद्धिले नै हो । बाढी पहिरोमा वृद्धि भइरहेका छन् । त्यो भन्दा पनि महत्त्वपूर्ण त अधिक हिउँ पग्लेर सेता सुन्दर हिमाल खण्डहर पहाड बन्ने क्रममा छन् भने समुद्रको सतह बढिरहेको छ । कहिलेकाहीँ अनपेक्षित रूपमा जाडोमा गर्मी र गर्मीमा जाडो हुने जस्ता अनौठा रूपहरू देखिरहेका छन् ।
ठूला ठूला प्राकृतिक विपत्ति भोग्न सुरु भएपछि ग्लोबल वार्मिङ् र क्लाइमेट चेन्जको प्रभाव भनेर मान्छे आफै रुवाबासी गर्दैछन् । उनीहरूले यति सुन्दर पृथ्वी सिद्ध्याइरहेका छन् । पृथ्वी नै सिद्धिएपछि के उनीहरू चाहिँ सिद्धिँदैनन् त ?
(राजेन्द्र कार्कीको प्रकाशोन्मुख “खाइराइड” हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहबाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।