रहरमा भेट्टाएको खुसीः
मैले आख्यानकार सुरेश बडाललाई पहिलोपल्ट ‘रहर’ मा भेट्टाएको हुँ । बाल मनोविज्ञानमा आधारित कथासङ्ग्रह ‘रहर’ पढिरहँदा मैले आफ्नो बालापन सम्झिएँ । ‘रहर’भित्र भएका कथाहरूमा कतै–कतै मैले मेरो आफ्नो विगत भेट्टाएँ । नास्पातीदेखि बेहुला बन्ने रहरसम्म पढ्दा बालपात्रले जे गर्दै थिए, अलि–अलि मैले पनि त्यही गरिसकेको थिएँ । सरल भाषामा लेखिएका मिठा कथा पढिरहँदा म सुरेश बडालको पाठक बनिसकेको थिएँ ।
प्रतीक्षा :
म दोस्रो कृति कुरेर बसेको थिएँ । २०७९ सालको सुरुवातमै मैले सामाजिक सञ्जालमा दोस्रो कृति चाँडै बजारमा आउने कुरा थाहा पाएँ तब झन् बढी पढ्ने इच्छा बढ्न थाल्यो ।
मायाका मसिना अक्षरः
दोस्रो कृतिको नाम ‘मायाका मसिना अक्षर’ थाहा पाएपछि मैले सोचेँ – यो बालप्रेमले भरिएको उपन्यास हो । कथा कलिला हातले लेखेको प्रेमिल अक्षरजस्तो लाग्यो । जब मैले ‘मायाका मसिना अक्षर’ पढेँ तब थाहा पाएँ, युवापुस्ताको प्रेम समेटिएको उपन्यास हो यो । यो उपन्यासका पात्र दिवस र रुवाबिच भएका सुरुवाती सम्बन्ध काल्पनिक नभएर वास्तविक हो । उपन्यासका पात्र काल्पनिक भए पनि उनीहरूले गरेका हरेक क्रियाकलाप वास्तविक हुन् । सुरुवाती चिनाजानी र च्याट वर्तमान समयसँग मिल्ने प्रसङ्ग हो ।
जब उपन्यास पढ्न सुरु गरेँ तब मुख्य पात्र दिवस र ममा भिन्नता नभएको पाएँ । एक किसिमले मलाई लाग्यो – उपन्यासको मुख्य पात्र म आफैँ हुँ । पात्रले भोगिरहेको जीवनशैली मेरै यथार्थ चित्रण हो । जसरी दिवस च्याटमा कुरा गर्थ्यो उसरी नै म पनि च्याटमा बोल्थेँ । दिवसलाई जस्ता प्रश्नहरू मलाई पनि गरिन्थे । म पनि उसरी नै जवाफ फर्काउथेँ । सायद यो प्रसङ्ग मसँग मिल्नुको मुख्य कारण ममा पनि लेखनमा रुचि भएर होला । जब उपन्यासका पाना पल्टिँदै गए तब मसँग मिलिरहेको चित्रण अरू कसैसँग मिल्न पुग्यो होला । म सुरुवाती चित्रणमा पात्र बनेँ ।
मलाई पुस्तक सुन्दर लाग्यो । अक्षरहरू प्यारा लागे । लेखकले मलाई पात्र नबनाएरै म पात्र बनेँ । मान्छेहरू प्रायः लेखकलाई आफ्नो विगत भन्दैनन् । आफ्नो मनभित्रका कुरा पनि भन्दैनन् । तर लेखकले नसोधेरै, नसुनेरै लेखिदिन्छन् । हामी लेखकलाई आफ्नो कथा सुनाउन डराउँछौ, कतै आफैँ पात्र बनिन्छ कि भन्ने डरले । हामी लेखकसँग बसेर फोटो खिच्न चाहन्छौँ । लेखकको मनमा बसेर अक्षरमा पोखिन मान्दैनौँ । लेखकको मनमा बसेर अक्षरमा पोखिनु भनेको अनगिन्ती हृदयसम्म यात्रा गर्नु हो । हृदयहरूमा पुगेर बस्ने मान्छेहरू पनि सेलिब्रिटी हुन् ।
लेखनमा रुचि भएको दिवस र काठमाडौँमा सङ्घर्ष गरिरहेकी रुवाबिच फेसबुकबाट सुरु भएको सम्बन्ध जिस्किँदा जिस्किँदै मायामा परिणत हुन्छ । एक अर्कामा माया गहिरिँदै जाँदा रुवालाई लाग्छ, आफ्नो विगत दिवसलाई भन्नु पर्छ । दिवसका आँखामा आँखा जुधाएर भन्न नसकेका कुरा इमेलमा लेखेर पठाउँछे । मुवाँलाई बुवाले दिएको धोका, प्रेमीले आफूलाई दिइएको धोका सबै समेटेर साँचो कुरा इमेलमा लेख्छे । रुवाले इमान्दारीका साथ लेखिएको इमेल नै भविष्यमा टाढिने बहाना बन्छ । जब आरतीको आगमन हुन्छ, तब दिवस रुवाबाट टाढिन थाल्छ । दिवसलाई रुवाभन्दा आरती परिपक्व लाग्छ ।
रुवाले दिवालाई चोखो माया गर्छे तर दिवसले आफ्नो बाचा बिर्सिएर रुवाको मायालाई लत्त्याउँछ । तैपनि रुवाले माया गर्ने छाड्दिनँ ।
पुस्तकको मोटाइ सानै भए पनि यसभित्र धेरै कुरा अटाएको छ । माया प्रेममात्र नभई युवापुस्ताले भोग्नु परेका समस्याको चित्रण गरिएको छ । हामीले नायकको नजरबाट लेखिएका कथा धेरै पढ्यौँ, तर ‘मायाका मसिना अक्षर’ खलनायकको नजरबाट लेखिएको कथा हो । सबै कुरा थोरै शब्दमा वर्णन गर्न सकिन्न । सुन्तलाको स्वाद हेरेकै भरमा थाहा पाउन सकिँदैन । स्वाद थाहा पाउन सुन्तला चाख्नै पर्छ । ‘मायाका मसिना अक्षर’भित्रका कुरा थाहा पाउन पनि पुस्तक पढ्नै पर्छ ।
सबै उमेर समूहका लागि उति नै महत्त्वपूर्ण छ पुस्तक । आफ्ना सन्तानले भोग्नु परेका समस्या, युवा मनोविज्ञानका कुरा, माया प्रेमका कुरालगायत उपन्यासले समेटेका हरेक पक्षहरूमा युवापुस्ता कुनै न कुनै समस्यामा अल्झिरहेका छन् । त्यसैले पनि ‘मायाका मसिना अक्षर’ धेरै पाठकहरूको हातमा पुग्न आवश्यक छ । म यतिसम्म भन्नसक्छु, पुस्तक पढ्न सुरु गरेपछि अल्छी लाग्दैन । पहिला किन पढिनँ भन्ने पछुतो चाहिँ लाग्न सक्छ ।
उपन्यासको बिचमा भएका दुई कविताले पाठकलाई अझ बढी आनन्द दिन्छ ।
मन परेको—
“मित्रताभन्दा अलिकतिमाथि अनि प्रेमभन्दा अलिकति तलको जुन सम्बन्ध हुन्छ, त्यो जति स्वर्गीय र मिठो सम्बन्ध अरू हुँदैन रहेछ । पर्नै आँटेको प्रेम त पाक्नै आँटेको अम्बाजस्तै गुलियो हुँदो रहेछ ।”
“मायाबिना कुनै सफलताको अर्थ छैन । कुनै समृद्धिको मूल्य छैन । त्यो नाम कमाएर के अर्थ, जसलाई आफ्नो नामसँग जोडेर छाती चौडा गर्ने कोही छैन भने ? मन दुख्दा औषधी किन्न सक्दैन भने त्यो पैसाको पनि के अर्थ ?”
उपन्यासको अन्तमा लेखक लेख्नुहुन्छ – माया प्रेमका नाममा छोटो आकर्षण र झट्ट विकर्षण भइजाने सोसल मिडिया पुस्ताका अप्ठ्याराहरूका कथा किन नलेखूँ ? मलाई प्रेम गराउने होइन, प्रेम बुझाउने कथा लेख्नु थियो ।
अन्त्यमा, पहिलो जन्मदिन (साउन ३१) मनाएको ‘मायाका मसिना अक्षर’लाई जन्मदिनको धेरै–धेरै शुभकामना । अझ बढी पाठकहरूको हातमा पुगेर हृदयमा बस्न सफल बनोस्, मेरो कामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।