
‘कति धुनु गधाहरूलाई’ किताब लक्ष्मण गाम्नागेद्वारा लिखित उत्कृष्ट निबन्धसङ्ग्रह हो । १२५ पृष्ठको यस निबन्ध सङ्ग्रहमा २८ वटा व्यङ्ग्यात्मक निबन्धहरू समेटिएका छन् । निबन्धकार लक्ष्मण गाम्नागे जिउँदा मानिसहरूका लागि लेखन गर्ने उत्कृष्ट साहित्यकार हुन् भने उनका लेखहरूमा प्रकृतिको व्याख्या र काल्पनिक कथाका कुराहरू पाइँदैनन् ।
गाम्नागेले लेखेका ‘कति धुनु गधाहरूलाई’ नामक निबन्ध सङ्ग्रहमा उल्लेख भएका विभिन्न निबन्धहरूमा पात्रहरूको नाम रखाइमा अनौठोपन भेटिन्छ भने नेपाली परम्परागत आदर्श, आर्थिक र सामाजिक उन्नतिलाई विपरीत दिशा तिर फर्काएर राखिएको छ । उनले आफ्ना निबन्धमा यथार्थवादी चित्रण, सामाजिक आलोचना र छेडखानी समेत गरेको पाइन्छ । यति मात्र होइन गाम्नागेले नेपाली राजनीतिका पात्रहरूको र ठुला ओहदामा बस्नेहरूले गर्ने व्यवहारलाई व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गर्दछन् जुन कुरा ‘पोइसो कमाउने काइदा’ नामक निबन्धबाट पुष्टि हुन्छ । यस पुस्तकको बारेमा भन्नुपर्दा यसमा उल्लेख भएका निबन्धहरूले हाम्रो समाज, परिवेश र राष्ट्रमा भएका विसङ्गति, बेथिति र अराजकता साथै लोकतन्त्रको आडमा भएका अवैधानिक कुराहरूलाई व्यङ्ग्य रस मिसाएर छताछुल्ल पार्न खोजेका छन् जुन कुराको वर्णनलाई मनन गर्न निबन्धकारले पाठकहरूमा हास्य रसको प्रयोग गरेका छन् ।
यस निबन्धसङ्ग्रहको पहिलो पाठ ‘गोडा फाट सतर्क’ नामक निबन्धमा निबन्धकारले एउटा डेरामा बस्ने मानिस जो अभावमा बाँचेको हुन्छ र उसले भोग्नु पर्ने बाध्यता, समस्या र ती समस्याले गाँजेको डेरावाल र सहरका घरबेटी, डेरामा भए भरका पाहुना, त्यस माथि दैनिक हातमुख जोड्ने समस्याको यथार्थ चित्रण व्यङ्ग्यात्मक र कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । त्यसैगरी निबन्धकारले ‘३,५०,४०० घण्टा’ नामक निबन्धमा समयको महत्वका वर्णन गरेका छन् जसमा आफ्नो जीवनको समय अउत्पादक क्षेत्रमा खर्चेर महत्त्वपूर्ण समय व्यतीत गरेको र आफूलाई आराम र विलासितामा खर्चेको तर उन्नतिका लागि केही नगरेको र समाज र राज्यका लागि समेत केही गर्न नसकेको कुरालाई व्याख्या गरेका छन् । यति मात्र होइन सरकारी कार्यालयमा र सार्वजनिक सेवा प्रदायक निकायमा नियम नहुँदा समयमा काम गर्न नसकेको ऊर्जाशील समय यत्तिकै खेरा गएको हुँदा त्यस्ता कुराहरूमा ध्यान पुर्याउन जरुरी रहेको कुरा निबन्धकारले यस निबन्धमा उल्लेख गरेका छन् ।
‘हनुमान–जयन्ती’ नामक निबन्धमा नेताहरू हनुमान बन्ने, नेताहरूको बारेमा सही साँचो कुरा के हो, वास्तविकता के हो भन्ने भन्दा पनि चम्चागिरीमा विश्वास गर्ने र आफ्नो स्वार्थ पुरा गर्नका लागि जस्तोसुकै गुलामी गर्न र कोरीको पाउ मोल्न पनि तयार हुने अहिलेको राजनैतिक परिवेशलाई चर्चा गरेका छन् जसमा उनले भनेका छन् कि –‘हाम्रो देशमा हनुमानकै सबैभन्दा ठुलो बिगबिगी छ । राजनीतिमा, साहित्यमा, पत्रकारितामा, कलामा, र सबै भन्दा बढी कर्मचारीतन्त्रमा ’। गाम्नागेले यस निबन्धमा हनुमान गिरी भएको र उनीहरूकै बोलवाला रहेको कुरालाई चर्चा गरेका छन् । त्यति मात्र होइन उनले जो सच्चा, इमानदार, कर्तव्यनिष्ठ छ उसको उँधो गति देखिन्छ भने जसले हनुमान गिरी गरेको छ उसको प्रगति भएको छ भनी बताएका छन् ।
यस निबन्धसङ्ग्रहको ‘यो घर हो’ निबन्धमा एउटा अव्यवस्थित घरको उदाहरण दिएर हाम्रो मुलुकले भोगेका कुरा जस्तै खुल्ला सिमाना, असुरक्षित अवस्था, अपरिपक्व कूटनैतिक व्यवस्था, दुई ठुला देशको बिचमा भएका कारण भाग्नु परेको समस्यालाई व्याख्या गरेका छन् । उनले सहरमा घर बनाउने रहर भएको तर जग्गाको महँगो भाउका कारण प्रशस्त जग्गा जमिन जोड्न नसक्ने बाध्यता, महँगीकै कारण र सानोतिनो कमाइले बनाएको घरको सबै निर्माण कार्य सम्पन्न हुन नसक्दा आई पर्ने समस्या, सहरको अराजक व्यवहार, युवा बेरोजगार, बेरोजगारीले निम्त्याउने सम्भावित दुर्घटना, चोरी, राज्यले परिपूर्ति गर्ने जस्तै खानेपानीको निरन्तर अभाव र मेलम्ची खानेपानी आयोजना पूर्ण नहुनु र काठमाडौँ मानिसले भोग्नु परेको समस्यालाई व्याख्या गरिएको छ । यसै निबन्ध सङ्ग्रहमा उल्लेखित निबन्ध ‘नाथे आधा घण्टा’ निबन्धले समयको महत्त्व नबुझ्ने नेपाली समाजलाई तिखो व्यङ्ग्य गरेको छ । यसमा यहाँका नेता, यहाँका कर्मचारी, यहाँको व्यवस्था, यहाँको आपत्कालीन र उद्धारमा संलग्न व्यक्ति तथा व्यवस्थाले समय माथि गरेको हेलचेक्र्याइँलाई नाथे आधा घण्टा भनेर व्यङ्ग्य गरेका छन् उनको यस निबन्धले समयको महत्वलाई सबैले बुझ्नु पर्ने र समयलाई आदर गर्नुपर्ने भन्ने कुरालाई वर्णन गरेका छन् ।
त्यसैगरी यस निबन्ध सङ्ग्रहको बाइसौँ निबन्ध ‘मिसेस् नब्बे केजी नेपाल’ मा नेपालमा हुने गरेको सुन्दरी प्रतियोगिता र त्यसले निम्त्याएको विकृति महिलालाई बाहिरी सुन्दरतासँग दाँजेर हेरिने प्रचलन र भूगोल, जात, धर्म, संस्कृतिलाई एकतामा नबाँधी यसको चलनले देश भित्र साम्प्रदायिक संस्कृति फैलिएको कुरालाई देखाउन खोजेका छन् । यति मात्र हैन लक्ष्मण गाम्नागेले यस निबन्धमा महिलाको सुन्दरता माथि व्यापारीकरण गरेको तर हामी नेपालीले व्यक्तिगत स्वार्थको लागि सामूहिक भावनालाई अस्वीकार गर्दै गएको अहिलेको आधुनिक समाजबारे चर्चा गरेका छन् । ‘डाक्टरको बिगबिगी’ नामक निबन्धमा निबन्धकारले हाम्रो नेपाली समाजमा सबै मानिसहरू अरूको व्यक्तिगत जीवनमा दखल अन्दाज गर्ने र निःशुल्क सल्लाह दिई सामाजिक डाक्टर हुने रोगको बारेमा चर्चा गरेका छन् । जसमा उनले आफूले भोगेको उदाहरणबाट समाजका व्यक्तिले अरूलाई सल्लाह सुझाव दिइरहँदा त्यसले अरूको जीवनमा पार्ने असरका बारेमा हेक्का नै नराख्ने हाम्रो समाजको गज्जबको चित्रण गरेका छन् । एउटा बालक जन्मिँदाको बखतदेखि कसरी अरूको सल्लाह, सुझाव, निर्देशनमा बाच्नु पर्दछ र एक स्वतन्त्र व्यक्तिको वास्तवमा स्वतन्त्र जीवन नै हुन्न, उ समाजबाट निर्देशित हुनुपर्छ, उसको स्वनिर्णयको हक अधिकार हनन भएको हुन्छ तर पनि चुपचाप सहेर बस्नु पर्ने बाध्यता उनीहरू सामु रहेको छ भन्ने वास्तविकतालाई व्यङ्ग्यात्मक रूपमा डाक्टरको संज्ञा दिएर निबन्धकारले यस निबन्धमा उल्लेख गरेका छन् ।
निबन्धकारले ‘पोइसो कमाउने काइदा’ निबन्धका अहिलेको नेपालको परिवेशमा विना योग्यता, परिश्रमले मानिसले कमाउने दाम, नाम र इज्जतलाई कडा व्यङ्ग्य गरेका छन् । उनले लखपति हुन लख काट्न जान्नु पर्ने, सरकारको तारिफ गर्न सक्नु पर्ने, इमानदारिता, नैतिकता, सिद्धान्त बिर्सिएर लाज, सरम नभएको हुनुपर्ने र मात्र आफ्नो प्रगति र मान सम्मान बढाउन खोज्ने यो मुलुक र यहाँका नागरिकको यथार्थतालाई चित्रण गरेको पाइन्छ । उनले इमानदार तरिकाबाट अहिलेको समयमा लखपति त के खान लाउन समेत समस्या हुने अवस्था आएको र समाजमा भ्रष्टाचार, घुसखोरी र नातावाद कृपावादले प्रश्रय पाउँदै गएको र यसले सभ्य र समृद्ध समाजको परिकल्पना पूरा हुन नसक्ने यथार्थलाई पनि यस ‘पोइसो कमाउने काइदा’ निबन्ध मार्फत देखाउन खोजेका छन् ।
अन्त्यमा, निबन्धकार गाम्नागेले ‘मनको कुरा’ नामक निबन्धमा आफ्नो मनमा जागेका भावनालाई उल्टो तरिकाले प्रस्तुत गरेर नेपाल नेपाल जस्तै सुन्दर, प्राकृतिक रूपले भरिपूर्ण देश, आफ्नै मौलिकतामा बाच्न पाउनुपर्ने कुरालाई उजागर गर्न गफका भरमा देश निर्माण गर्ने भन्दा पनि यसमा भएका मौलिकता, सांस्कृतिक सम्पत्ति र धर्म संस्कृतिको संवर्द्धन गरी अरूको चियो चर्चा गर्नु भन्दा पनि आफ्नो विकासका लागि योजना बनाएर अघि बढ्न सक्न पाउने सपना निबन्धकारको भएको कुरा उल्लेख गरिएको छ ।
निष्कर्ष र सिफारिस
यस निबन्ध सङ्ग्रहमा गाम्नागेले आफ्नै देशको वस्तुस्थिति र परिवेशमाथि गरेको व्यङ्ग्य मलाई एकदमै मन पर्यो । उल्टा कुरा गरेर निबन्धले दिन खोजेको भावलाई अझै रोचक बनाउने गाम्नागेको काइदा मलाई असाधारण लाग्यो । पाठकमा निबन्ध पढ्दै जाँदा पछि के होला भन्ने खुल्दुली बढ्दै जानाले पाठकको सुरुको अवस्थादेखि अन्त्यसम्ममा यहाँ उल्लेख गरिएका निबन्धहरूमा ध्यान रहिरहने गरेको पाइयो जुन यस निबन्धको प्रमुख विशेषता र निबन्धका शीर्षक छनौटमा रहको निबन्धकारको कला कुशलता मुख्य रहेको छ ।
यस निबन्धले समाजमा घटिरहने घटना र हामी सर्वसाधारण नागरिकले भोग्नु परेको यथार्थलाई व्याख्या गरेकाले म किशोर जो माध्यमिक विद्यालयको विद्यार्थी र त्योभन्दा माथिको उमेर समूह, वर्ग, क्षेत्र र जातजातिले यो पुस्तक पढी आनन्द लिन र ज्ञान प्रवर्धन गर्नका लागि म यो पुस्तक सिफारिस गर्दछु । यसमा प्रयोग भएको भाषा र व्यङ्ग्य शैलीले नेपाली साहित्यको हास्य विधामा पनि सकारात्मक भूमिका खेलेको छ भन्ने कुरामा मैले विश्वास गरेको छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

