आज पनि मलाई तिमीसँगको पहिलो भेट याद छ । त्यो मौसम याद छ । त्यो समय याद छ, याद सायदै हुने थिएन होला तर त्यो समयलाई यादगार बनाउन तिमीले पछिसम्म गरेका मेहनतले त्यो पहिलो भेट मेरो सास रहुन्जेलसम्म याद रहिरहने छ ।

मोबाइलमा विगत खोज्दै जाँदा तिमीले पठाएको यो आवाज भेटाएँ । रातको १२ बजिसकेछ तर अझै पनि निद्राले पटक्कै छोएको छैन । फेरि  हामीले बिताएका ती पुराना  दिनहरू झलझली सम्झिएँ अनि मोबाइलको ग्यालरीमा लक गरी राखेको तिमी र म रमाएका तस्बिरहरू हेर्ने थालेँ । तिम्रो हसिलो र चम्किलो अनुहार धेरैबेरसम्म हेरिरहँदा तिमी बोलेको आवाज मेरो कानमा गुन्जिरह्यो । तिमी यतै कतै छौ कि जस्तो आभास भयो । हुन पनि हाम्रो सम्बन्ध कस्तो अचम्मको थियो, जो कोहिले सायद बुझ्न नसक्ला तर हामी बिच जे थियो त्यो निश्छल, पवित्र अनि सुन्दर थियो । मेरो  जिन्दगीको पानामा तिमीसँगका सुमधुर यात्रा सधैंभरि स्वर्ण भएर रहिरहने छ ।

हामीलाई जिन्दगी के हो भनेर थाहा पाउन पूरै जिन्दगी जिउनु पर्ने रहेछ । आँसु के हो भनेर थाहा पाउन पनि आँसु नै पिउनु पर्ने रहेछ । यी दुबैको अनुभव नलिई साँच्चिकै थाहा नै हुँदैन रहेछ । वास्तविक जीवन  के हो ? मलाई लाग्छ – जीवन बदल्न  दृष्टिकोण बदल्नु पर्छ।  माछा पानीमा पौडिरहेको हुन्छ, तर उसलाई यो कुराको ज्ञात थाहा नहुनसक्छ कि ऊ कहाँ छ । हामी पनि  यो धर्तीमा बाँचिरहेको छौँ, तर थाहा छैन हामी कहाँ छौँ । त्यो माछालाई पानीको अस्तित्व थाहा नभएजस्तै हामीलाई पनि जीवनको अस्तित्व थाहा नहुँदो रहेछ ।

कुनै समय मेरा लागि यस्तो थियो –  म कहाँ छु ? म के गर्दै छु ? केही थाहा थिएन । तैपनि म अन्धकारमा दौडिरहेको थिएँ । फेरि आसाजस्तो अन्धकार केही नहुँदो रहेछ । त्यही आसाले नै  जिन्दगी डढेलो लगाइदिँदो रहेछ । लक्ष्यबिनाको आशा व्यर्थ पनि हुँदो रहेछ । अनि हामी भौँतारिरहन्छौँ र अन्त्यमा एउटा निर्णयमा पुग्छौँ, जुन निर्णय गलत पनि हुन सक्छ ।

जिन्दगी एक महान् अवसर हो तर हामीले यसलाई कसरी सदुपयोग गर्छौँ भन्ने कुरामा भर पर्छ । कसैले यही सदुपयोग गर्न नसकेर देहत्यागसमेत गर्छन्  त कोही हिम्मत गरेर बाँच्छन् । त्यो समयपछि हामीलाई बाँचेर मात्र पुग्दैन, आफूलाई पूर्णतः बदल्नु पर्छ । बदल्नुको मतलब हो – हिजो मैले जुन निकृष्ट जिन्दगी बाँचेको थिएँ त्यसबाट एक स्तर  माथि उठ्नु अनि जीवन उपायोगी गुणहरूको विकास गर्दै जानु । मनले आफ्नो मनको सूक्ष्म शक्तिलाई आत्मसुझाव दिँदै जानुभनेको बदलिनु हो । विकासको अर्को नाम नै बदलिनु हो ।

हामी तबसम्म किताब मात्र पढेर कोही पनि बदलिन सक्दैनौँ, जबसम्म दैनिक अभ्यास गर्दैनौँ । किताब पढ्नु भनेको चेतनाको स्तर वृद्धि गर्नुमात्र हो ।बदलिनका लागि त बल चाहिन्छ । त्यो मनको बलदेखि आत्मसुझावसम्म आफ्नो मनले मनलाई भन्दै जानुपर्छ । आत्मसुझाव दिँदै जानुपर्छ – म जे पनि गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ । अनि आफूलाई राम्रो चिजसँग तुलना गर्दै  उच्चस्तरका मान्छेहरुसँग सङ्गत गर्नुपर्छ । यो नै हामीले आफूलाई बदल्ने पहिलो बाटो हो ।

बदलिनु भनेको आज बाँचिरहेको संसारलाई त्याग्नु हो । हिजो म जुन मान्छे थिएँ आज भिन्नै मान्छे हो भनेर आत्मैदेखि महसुस गर्नु हो ।

प्रकृतिको आफ्नै नियम छ । बिहान घाम उदाउँछ, फेरि साँझ अस्ताउँछ । आसार-साउनमा पानी पर्छ, पूर्णिमाको रातमा चन्द्रमा उदाउँछ । त्यसरी नै हाम्रो  जीवनमा पनि परिवर्तन भइरहन्छ तर हामी देख्दैनौँ । हामी चिन्दैनौँ आफैँले आफैँलाई । त्यही नचिन्दा  नै जिन्दगीमा ठुलो दुर्घटना घट्दो रहेछ । त्यसपछि झन् हामी आतिन्छौँ जिन्दगीसँग । भागिरहेछौँ हारसँग । तड्पिरहेछौँ कसैको यादमा । अस्ताउँदै बिलाउँदै अनन्तः गतिमा आफैँले आफैँलाई पुरिरहन्छौँ । छोडेर जाने मायालाई गल्ली–गल्लीमा कुरिरहन्छौँ  । जुन कुरा पाइँदैन भन्ने थाहा हुँदाहुँदै पनि त्यसको पछि लागि रहन्छौँ अनि हामी बर्बाद नभए को हुने ?

तर प्रकृतिले पालुवा फेरेजस्तै हाम्रो जीवनले पनि रङ फेर्दो रहेछ । म हिजो जुन मान्छे थिएँ आज त्यो होइन । तैपनि म कहिलेकहीँ त्यही हिजोकै पुरानो म ठानेर दुःखी भइरहन्छु । आफूले आफूलाई नचिन्दा गरेका ती हर्कतहरु सम्झिरहन्छु । कुनै समय म यति सस्तो भएको थिएँ कि, आफूलाई चुरोटको धुवाँभन्दा पनि सस्तो सम्झेर गल्ली-गल्लीमा धुवाँ उडाउँदैमा व्यस्त भएको थिएँ । यसको मतलब यो हो कि कुनै समय मेरो जीवन चुरोटको धुवाँभन्दा पनि सस्तो थियो  । यति सुन्दर जीवन चुरोटको धुवाँ बनेर हावामा धेरै समय बितेको रहेछ । त्यसैले अब म विगतमा फर्किन चाहँदिनँ । विगतमा बाँच्नु भनेको आफूलाई अन्धकारमा धकेल्नु हो। विगतमा बाँच्नु भनेको दुःखी हुनु हो तर विगतका यादलाई  हामीले सम्हालेर राख्न सक्दो रहेछौँ ।

मलाई ऊसँग बिताएका हरेक पलहरु याद छ । यदि तिमीले बिर्सिसकेको छौ भने म स्मरण गराउन चाहन्छु ।

हाम्रो सम्बन्ध जो कोहीले सायदै बुझ्न सक्ला तर हामीबिच जे थियो त्यो निश्छल, पवित्र अनि सुन्दर थियो । मेरो  जिन्दगीको पानामा तिमीसँगका सुमधुर यात्रा सधैँभरि स्वर्ण भएर रहिरहने छ । जिन्दगीमा भेटिने/छुटिने हराउने मानिसहरूभन्दा फरक तिम्रो पाइलाको छाप मेरो मनको अन्तरकुनामा भएको तिम्रो नाम सधैँभरि सजाइरहन चाहन्छु । तिमी मेरो जीवनमा सामान्य भएर आएकी थियौ अनि खास र सदावहार भएर गइदियौ । सायद, यो नै तिम्रो खासियत थियो । अब तिमी आफैँ भन – म विगत बिर्सूँ कि सम्झिरहूँ ?