महोदय
मेरो साथमा एउटा झोला छ
यो सत्य हो म झोले हूँ
मेरो पासमा यही एउटा झोला छ

यो मेरो झोलामा
कीर्ते राहादानी छैन
नक्कली नागरिकता छैन
माफियाहरूको साइनो छैन
उधारो परियोजना छैन

सत्य यही हो कि
मेरो झोलामा
भ्रमको ललिपप छैन
झुटको पोको पनि छैन
र छैन जादुको छडी पनि

साँच्चै हो मेरा प्रिय खसम
मेरो झोलामा के छ भनेर
विश्वास लाग्दैन भने
खोलेर त हेर
यो मेरो एक थान झोला
छैन यो झोलामा भगवानका कथा पनि
र छैन भजनका गाथा पनि
छैन यो झोलामा महाराजहरू
र छैन हनुमान चालिसा पनि

हो मेरो झोलामा केही त छ
जो म यति बोकी हिँड्दछु
महोदय
मेरो झोलामा छन् त केवल
रैतीका रहरका कथा
दुःखका कहरका व्यथा
गरिबी, आर्तनाद र आँसु
र छन्
यो युगका पदचाप गाथा
स्वप्निल दुनियाँका चित्र

यो मेरो झोलाभित्र साथी छन्
एक थान डायरी र कलम
जो हर प्रहर लेखिन्छन्
चे को बोलेभिया डायरीजस्तै
अलपत्र परेको युद्ध गाथा
अलपत्र परेका योद्धा कथा
इमान र स्वाभिमानको मूल्य
नियत र नियतिको मूल्याङ्कन
सबैको लेखाजोखा गर्ने
एक थान डायरी र कलम
यही झोलाले बोकिरहेछ
म यही झोला बोकिरहेछु

आँखा चिम्लेर दौडनुभन्दा पहिले
हावाहुरीमा बत्तिएर हिँड्नुभन्दा पहिले
आफ्नो बन्दोबस्तीसहित
एक थान झोला बोकेर
यो धर्तीमाथि निर्धक्कका पाइला टेकेर
हिँड्ने रहर उस्तै छ मलाई
त्यसैले त मित्र
मेरो साथमा यही एउटा झोला छ

कलुसित मनसायले
कुन्ठाको अपन वायु निकालेर
आफ्नै नाक खुम्चाउँदै
मेरो झोलालाई घृणा नगर
दुराग्रहका तिम्रो नजरका
दोषी चश्माको ऐना उतार्दै
दुनियाँ नियाल्ने प्रयास गर
अनि पो केही देख्न सक्छौ तिमीले यो झोलामा
एकनासै हुँदा पनि
पानीझैँ बगेको गतिशीलता
र देख्नेछौ त्यही गतिशीलताको पहिचान
नपत्याए एकपटक खोला नियाल
र नियाल मेरो झोला
यो झोला फगत झोला होइन
मेरो परिचय हो
मेरो विगत हो वर्तमान हो र भविष्य हो
यो झोला नै सिङ्गो म हो
जहाँ मेरो पहिचान छ
त्यसैले त मेरो साथमा झोला छ
मेरो गहिरो प्रेम यही झोलासँग छ
र त मसँग एउटा झोला छ
हो मसँग त्यही एउटा झोला त छ ।