केही चर्चित लेखकलाई छोडेर हेर्ने हो भने प्रकाशक नयाँ लेखकको किताब छाप्नबाट भागिरहेको अवस्था छ । छापी नै हाले पनि लगानी लेखकसँग माग्छन् । केही प्रकाशकले नयाँ लेखकलाई अवसर पनि नदिएका होइनन् । तर त्यसको रोयल्टी भने इमानदारीका साथ लेखकले नपाउने गुनासो पनि छ । प्रकाशकहरू बरु सेलिब्रेटीको आत्मरञ्जित आत्मकथा छाप्न रुचाउँछ । साहित्यिक स्रष्टालाई उपेक्षा गरेकै देखिन्छ । किताब बजारमा आएपछि पनि बजार व्यवस्थापन गर्न नसक्दा पाठकसम्म सजिलो उपलब्धता हुँदैन । यस्तै विविध समस्यामा अल्झिरहेको पुस्तक प्रकाशनको झन्झटबाट उम्किन केही महिना पहिला कवि आर्यश घिमिरेले आफ्नो कविताको  विद्युतीय किताब बनाएर व्यक्तिगत रूपमा पिडिएफ बेच्ने सोच बोकेर आए । उनको यो योजना सफल पनि भयो । धेरैले उनको यो नव-प्रयासलाई साथ दिए । किताबबाट राम्रो रोयल्टी पनि बनाउन सफल भए । यही प्रयोगलाई आत्मसात् गर्दै अर्का स्रष्टा दोस्ताजले पनि डिजिटल प्रणालीमार्फत श्रव्य किताब व्यक्तिगत रूपमा वितरण गर्ने योजना बनाए । उनको कथासङ्ग्रहलाई पनि पाठकको राम्रो साथ मिल्यो ।

नयाँ पुस्ताको नौलो सोचको सफलतालाई मध्यनजर गरेर आज कवि आर्यश घिमिरे र दोस्ताजसँग यसै विषयमा छलफल गरेका छौँ ।

….

कवि आर्यश घिमिरेसँगको कुराकानी

आर्यश शर्मा घिमिरे

प्रविधिको पहुँचलाई सदुपयोग गरेर यहाँले आफ्नो कविता कृतिलाई विद्युतीय किताबमार्फत सार्वजनिक गर्नुभयो । यो सोच कसरी र किन आयो ?

अहिले ईबुकको प्रचलन विश्वभर नै व्याप्त छ । यसो गर्नुको मुख्य सोचचाहिँ  प्रकाशन गृहसँग असमान सम्झौता गर्न नपरोस् भनेर नै हो । अर्को कुरा, गाँस बास र कपासको समस्यामै रुमल्लिइरहेको एउटा लेखकले आफ्नो अतिरिक्त चाहनामा दिल खोलेर लगानी गर्ने स्थिति पनि थिएन । म पियक्कड छु, पिएर बसेको एक साँझ यस्तो अन्टसन्ट आइडिया आयो । यति धेरै आशावादी चाहिँ थिइनँ, एउटा स्टाटस फेसबुकमा राखेर सुतेको थिएँ । बिहान थुप्रै पाठक साथीभाइले उक्त कदममा सहमति जनाएर पाण्डुलिपिको पिडिएफ माग गर्नुभएको रहेछ, मेसेजमा । त्यो देखेर मलाई निकै खुसी लाग्यो र केही दिन यस गतिविधिले तीव्रता पायो । लेखक र पाठकको सिधै हृदयको मिलन हुने अनुभूति पाएँ उक्त अवधिमा । यसरी पिडिएफ साहित्यवृत्तकै कवि, लेखकहरूकै हातमा पुग्दा राम्रो आलोचना, मिश्रित प्रतिक्रिया पनि पाइन्छ र प्रिन्टमा जाँदासम्म छाँटिएर जान्छ र किताब राम्रो बन्छ भन्ने लोभ पनि थियो ।

मैले थाहा पाइसक्दासम्म साहित्यमै यो नितान्त नौलो प्रथम प्रयास थियो । हालसालै मेरा आत्मिय मित्र दोस्ताज महेशले पनि आफ्नो कथासङ्ग्रह अडियो बुकका रूपमा रिलिज गरेका छन् । पाठकहरूले मन पराइरहनुभएको छ । म यस प्रयोगलाई सफल भएको मान्छु । यस किसिमको प्रयोग भविष्यमा अझै सङ्गठित एवम् व्यवस्थित तवरले हुने सम्भावना पनि देख्दै छु ।

 

अहिले प्रकाशकले कविता कृतिलाई प्राथमिकतामा राख्दैनन् । आफ्नै लगानीमा किताब छाप्न पर्ने समस्या, बजार व्यवस्थापन पर्याप्त रूपमा नगर्दिने समस्या, आफ्नै लगानीमा पनि मोटो कमिसन प्रकाशकले खाइदिन्छन् भन्ने गुनासो सुनिन्छन् । के तपाईँले विद्युतीय किताब प्रकाशित गर्नुको कारण प्रकाशकको सिन्डिकेटलाई चुनौती दिनु हो ?

हो, आजको समयमा कविता कृतिको आख्यानको जस्तो बजार छैन । प्रकाशन गृह भनेको एउटा व्यवसाय न हो । साहित्य कमर्सियल छ आजको समयमा । उसले नाफा/घाटा, फाइदा/बेफाइदा, बजारको माग, चर्चित अनुहार, प्रकाशनपश्चात् किताब सर्वाधिक बिक्ने सम्भावना आदिलाई क्याल्कुलेट गरेर किताब प्रकाशन गर्छ । कविता कृति त झन् केही ख्यातिप्राप्त कविहरूलाई छाप्नबाहेक नवकविको त पाण्डुलिपि पढेर उत्कृष्ट लाग्यो भने मात्रै छाप्दिनोस् भन्दा पनि नाक खुम्च्याउँछन् । अर्को अर्थमा भनौँ, नवकविले आफैँले आफूलाई लगानी गर्नुको विकल्प नै छैन । आफ्ना सिर्जनामाथि आफूलाई विश्वास छ र लगानी गर्ने सहज आर्थिक अवस्था छ भने त आफूलाई आफैँले लगानी गरेर आफैँले बिक्री वितरण गर्नु पनि नराम्रो कुरा चाहिँ होइन ।

तर मैले भने नयाँ बाटो खोजेँ । प्रकाशकका आँखामा त प्रवासी लेखकहरू पर्छन्, जसले उनीहरूलाई मोटो रकम पोसाउन सकोस् । कुनै पनि प्रकाशकसँग बरु पाण्डुलिपि प्रतियोगिता नै गरेर उत्कृष्ट एकलाई निजी लगानीमा प्रकाशन गर्छु भन्ने साहित्य सेवाको भाव नै छैन । आजको समयमा पाठकले किन्नै नसक्ने चर्को मूल्य हुनु, पेज सेट अप, कागजको गुणस्तर, आवरण साजसज्जा राम्रो गरे पनि भित्र मूल्यअनुसारको गुदी नहुनु समस्या रहिआएको छ । अधिकांश प्रकाशक नाफाकेन्द्रित छन् । लेखकले आफैँले आफैँलाई लगानी गर्दा पनि असमान सम्झौता हुन्छ । थोरै रोयल्टी, त्यही रोयल्टीको पनि वर्षौँसम्म हिसाब नगरेर अनेक बहानामा झुलाइरहनु, अर्काको बौद्धिक सम्पत्तिबाट लेख्नेले भन्दा बढी उनीहरूले कमाइरहेका छन् । अज्ज भनौँ, धेरै प्रकाशन गृह नामका ब्रान्डका मात्रै प्रकाशन गृह हुन् । जोसित आफ्नो प्रेससम्म हुँदैन, आफैँले छाप्ने पनि होइन, अन्त कतै सस्तोमा छाप्छन् । एउटा लोगो र ब्रान्डका भरमा ब्रम्हलुट गरिरहेछन् ।

डिजिटल्ली यसरी लेखक स्वयमले पाठकसँग जोडिएर आफैँ बिक्री वितरण गर्नुभनेको, यसरी धेरै जनाले यस किसिमको प्रयोग गरेको अवस्थामा, हो यो एउटा चुनौती नै हो प्रकाशन गृहमाथि । लेखकले पूरै किताबको मूल्य आफैँले पाउँछ । जुन प्रकाशन गृहले दिने रोयल्टीभन्दा  कयौँ गुणा धेरै हो । (हिसाब नगर्ला भन्ने अर्को पिर पनि भएन ।)

 

पाण्डुलिपि बोकेर कति प्रकाशककोमा धाउनु भयो ?

धाएँ पाँच-सात प्रकाशन गृहमा । यो साहित्यवृत्तले साह्रै आदर्श मानेका व्यक्तिहरूले पनि पहिल्यै पैसाको कुरा (हजार प्रतिलाई सामान्य करभमा  लाखभन्दा बढी)  फिक्स नभईकन पाण्डुलिपि पढ्नेसम्म चाह देखाएनन् । या आर्यश उस्तो चर्चित अनुहार नभएर पनि हुनसक्छ । खैर, म यहाँ उहाँहरूको नाम भने बोल्दिनँ ।

र, मैले आफैँले आफैँलाई कहिल्यै लगानी नगर्ने निधो गरेर बसेको केही अन्तरालपछि यो फ्रस्टेड आइडिया जन्मियो ।

 

कति जति मूल्यको पिडिएफ बेच्नुभयो ?

तीन सय रुपैयाँ मूल्य रहेको पाण्डुलिपि १२० जना काव्यप्रेमी मनहरूले लिनुभयो । केही विशेष सहयोगसहित पैँतालिस हजार सङ्कलन भएको थियो । समय सीमा राखेकाले मैले धेरै समय बेच्न असमर्थ भएँ । मेरो जन्मदिन जेठ एक्काइस लक्षित गरेर सार्वजनिक गरेको थिएँ । जेठ मसान्तसम्म दश-एघार दिनको अवधिमा त्यति बेचेँ । यहाँनेर अर्को कुरा के छ भने, डिजिटलप्रति भएको हुनाले यसलाई जति प्रति बेचे पनि संस्करणको आवश्यकता परेन । आफ्नो मात्रै रचना बजारमा जाने तयारी अवस्थामा छैन भने एकल मात्रै नभई राम्रो लेख्ने केही सर्जक मिलेर संयुक्त निकालेर पनि ईबुक बनाउन सकिन्छ । प्रश्न एउटै रहन्छ, कहिलेसम्म बेच्ने ? बेचिरहने कि निश्चित अवधि राख्ने ?

मैले थोरै समय बेचेँ । केही समय तीव्रता दिएको भए अझै केही प्रति बेच्न सकिन्थ्यो । अर्को इन्ट्रेस्टिङ कुरा, कुनै पनि नवलेखकले प्रकाशन गृहबाट छाप्दा  उनीहरूले दिने पन्ध्र प्रतिशत रोयल्टीले यति रकम रोयल्टीका रूपमा हात पार्न सक्दैन । अज्ज, हिसाब नगरिदिनु र नबिक्दाको क्षणमा त लगानी अनुत्पादक हुन जान्छ ।

 

पिडिएफबाट आएको पैसाले किताब प्रकाशन गर्छु भन्नुभएको थियो । तर आफ्नो पाण्डुलिपि नै जलाउनु भयो । यस्तो आक्रोश र निराशा किन ?

आफूले आफैँलाई लगानी गर्नेचाहिँ सोच नभएको हुँदा पिडिएफबाट आएको पैसाले नै चाहिँ प्रकाशनमा ल्याउँछु भन्ने सोच थियो । पिडिएफ थोरै अवधिमा राम्रै बिकेकाले, अनलाइन डेलिभरी पेजदेखि आफू संलग्न संस्थाहरूसँग सहकार्य गरेर पुस्तक बिक्री स्टलसहितको विमर्श कार्यक्रमहरू राखेर, प्रवासमा रहने साथीभाइसम्म पुर्‍याएर निस्किएको हजार प्रति चाहिँ सजिलै बिक्री गर्न सक्छु भन्ने अनुमान थियो ।

प्रकाशनपश्चात् पिडिएफ लिने जति सबैलाई चाहिँ कृतज्ञता स्वरूप उपहारमा उपलब्ध गराउँछु भन्ने पनि सोच थियो । उक्त बिक्री गरिरहेको अवस्थामा भने म असाध्यै सिकिस्त बिरामी थिएँ । मैरो यस वर्षको जन्मदिन पनि अस्पतालमै बितेको हो । मैले यो गतिविधि सुरु गरेको भोलिपल्टै कीर्तिपुर हस्पिटलमा भर्ना भएको थिएँ । एउटा हातमा स्लाइन खोपेर बसेको क्षणमा अर्को हातले उहाँहरूको सन्देशलाई प्रतिक्रिया दिँदै बिक्री गरेको थिएँ । त्यसअघि मेरो आर्थिक कारोबार सबै बिग्रिएको हुँदा मसँग उस्तो सेभिङ पनि थिएन । सङ्कलित पैँतालिस हजार त्यतिबेला यति काम लाग्यो कि हस्पिटलको पन्ध्र दिन बसाइमा पचपन्न हजारको बिल आएको थियो । मैले थपेर त्यो पैसा त्यहीँ खर्चेर त्यहाँबाट निस्किएँ ।

निस्किएपछि माग भए पनि बिक्री भने असार एकबाटै बन्द गरिदिएको थिएँ । केही समय यस्सै बित्यो । त्यसपछि म, मैले आफैँले सम्पादन गरेर ०७६ सालमा एउटा संयुक्त कविताकृति प्रकाशन गरेको थिएँ । बजारमा पठाइएका प्रतिको रोयल्टीको हिसाब चार वर्ष बित्दा पनि भएको थिएन । उक्त रोयल्टीको  हिसाब गरेर केही रकम थपेर पुनः त्यही प्रकाशनबाट छाप्छु भन्ने सोचले पाण्डुलिपि बोकेर गएको थिएँ । जब अनेक बहाना देखाएर प्रकाशकले झारा टारेर पठायो, शून्यता बोकेर फर्किएको त्यस साँझ टियुको जङ्गलमा मैले पाण्डुलिपि नै जलाइदिएँ ।

मलाई एउटै कुराको मात्रै ग्लानि छ । मलाई विश्वास गरेर सद्भाव राखेर तीन जनाले विशेष रकम सहयोग गर्नुभएको थियो । उहाँहरूसँग म हृदयको गहिराइबाटै क्षमाप्रार्थी छु । बाँकी अन्य तीन सय रुपैयाँ तिरेर पिडिएफ खरिद गर्नेहरूको पनि मसँग गुनासो रहला । खासमा, अशान्त महासागर फाइनल पाण्डुलिपि भने थिएन, फर्स्ट ड्राफ्ट थियो । त्यहाँ राखिएका कविता खासमा दुइटा सङ्ग्रहलाई पुग्ने सङ्ख्यामा थिए । उहाँहरूले तिर्नुभएको रकम डिजिटल्ली पढ्दा असुल होस भन्ने ध्यानमा राखेर नै फाइनल पाण्डुलिपि बनाइएन सुरुमा, जहाँ पचहत्तर जति कविता छन् ।

मेरो चाहिँ कसैसँग केही गुनासो छैन । यो कृति प्रकाशन भएर नआउन सक्छ, आफैँले लगानी गरेरचाहिँ अब।  कहिल्यै नआउन पनि सक्छ । म नयाँ लेखिरहेको छु, केही अन्तरालपछि ती कविता एउटै नराखी अर्को सङ्ग्रह लिएर बजारमा आउने सोच छ । लगानी गर्ने प्रकाशक भेटियो भनेचाहिँ आउन पनि सक्छ ।

 

यसरी व्यक्तिगत रूपमा  पिडिएफ कारोबार गर्दा कानुनी झन्झट पनि आउन सक्ने हुन्छ । यसबारेमा सोच्नुभएको छ ?

यस विषयमा भने मैले खासै केही सोचेको थिइनँ । जानकार पनि छैन ।  तपाईँले प्रश्न पठाइसकेपछि पो  पुछारमा यो प्रश्न पढेर केही चिन्तन गरेँ । व्यक्तिगत रूपमा डिजिटल कारोबार गर्दा राज्यलाई कर जाँदैन । उसो त कयौँ वित्तीय संस्था, बिजनेस ग्रुप,  बहुराष्ट्रिय कम्पनीहरुको अर्बौँ रुपैयाँ उठ्न बाँकी कर उठाउन नसक्ने सरकार, सेटिङमा कमिसन खाएर मिनाहा गर्दिने सरकार म जस्तो सामान्य भुइँमान्छेको पछि लाग्छ भने लागिरहोस् । मैले आफ्नो केही दिएरै उहाँहरूसँग केही रकम लिएको हुँ । साहित्य निःशुल्क हुँदैन अबका दिनमा भन्ने उद्देश्यका साथ । अबका दिनहरूमा यस्तो प्रयोग व्यक्तिगत नभईकन कुनै संस्थाद्वारा गरियो भने पारदर्शी पनि होला र कानुनी झन्झट पनि नआउला । अज्ज, आजका दिनमा अनलाइनमै ईबुक राख्न सकिने विभिन्न प्लेटफर्म छन् । त्यतातिर पनि सम्झौता गरेर व्यवस्थित रूपमा डिजिटल्ली प्रकाशन गर्न सकिन्छ ।

अर्को, कानुनीबाहेक लेखक स्वयमलाई चाहिँ के समस्या रहन सक्छ भने, सबैसँगको सम्बन्ध उसैगरी  दीर्घकालीन  प्रेमपूर्ण नरहिरहन सक्छ । अन्तरालसम्म प्रकाशनमा नआउँदा पछि त्यसको प्रति अन्यत्र अन्यत्र बिना शुल्क सेयर पनि हुनसक्छ । लेखकीय सामग्री अन्यत्र पनि प्रयोग हुनसक्छ, लेखकलाई थाहै नभईकन । त्यो जोखिमचाहिँ रहन्छ । यो पाटोचाहिँ चिन्तन र बहसको विषय हो । लेखकले बजारमा गइसकेपछि सार्वजनिक भइहाल्छ, केही मतलब नराखी हिँड्दा मात्र यो विषय गौण हुन्छ मेरो विचारमा ।

बाँकी त तपाईँका कविता पढेर मेरो समय र पैसाको बरबाद भयो भन्ने कोही पाठक आए, म प्रेमसहित पैसा फिर्ता गरिदिनेछु ।

हरेक मानिसका केही कथित दुस्मन त हुन्छन् नै । म पनि अछुतो रहिनँ यसमा । फलानोले डिजिटल प्रति बिक्री गरेर, ISBN केही नराखी, कुनै प्रकाशन गृहसँग समन्वय नगरी व्यक्तिगत रूपमा डिजिटल कारोबार  गर्‍यो, पैसा असुल्यो भनेर खेदो नै खनेर कानुनी प्रक्रियामै पुगेछन् भने… परेको बेहोरुँला । मैले यसलाई त्यति गम्भीर रूपमा लिएको छैन । मैले ठगेर, चन्दा उठाएर लिएको होइन । न्यूनतम शुल्कमा आफ्ना कविताहरू दिएको हुँ ।

हो, यस प्रयोगलाई व्यक्तिगत नभई  संस्थागत गरी अझै व्यवस्थित र पारदर्शी तवरले कानुनसम्मत गर्नचाहिँ आवश्यक रहन्छ । सोचिरहेका छौँ । यो पहिलो प्रयास थियो, कमीकमजोरी रहे होलान् । म त्यसलाई सकारात्मक रूपमा नै लिनेछु, सिक्नेछु ।

लेखक दोस्ताज महेशसँगको कुराकानी

दोस्ताज महेश

दोस्ताज महेश

दोस्ताजजी, श्रावण ३२ सम्म त निकै व्यस्त हुनुहुन्छ होला है ? श्रव्य किताब (अडियो बुक) धमाधम विद्युतीय चिठीमा सशुल्क रु. ४५६ मा सम्प्रेषण  हुँदै छ । श्रव्य किताब उपलब्ध हुने मृत्युरेखा नजिकिँदै गर्दा कस्तो दैनिकीमा हुनुहुन्छ ?

म व्यस्ततामा पनि समय निकालेर हिँडिहाल्नेमा पर्छु । अघि भर्खर पोख्रेल होटेलमा पनि त्यसै हुन पुग्यो । मैले दाइलाई भने – एमपी दाइ, मसँग तेह्र मिनेट समय एक्स्ट्रा भयो लैजानोस् न । (३२ नम्बर रुम हाँसोले भरिएको थियो।)

जनकजी, मलाई कस्तो लाग्छ भने – तपाईँले प्रश्न सोधिरहँदा म पोजिसनमा थिए र उत्तर दिइरहँदा समयमा पुगिसके । मसँग त समय नै समय छ । प्रशस्त समय । त्यसैले यो २० देखि ३२ का झरीहरूमा म व्यस्तभन्दा पनि मस्त छु भनौँ होला ।

 

श्रव्य किताबको विचार कसरी आयो ?

२० गतेभन्दा केही दिनअगाडि मैले अडियो बुक निकाल्छु भनेर स्टाटास राखेको थिएँ । जुन स्टाटस देखेर बिनिसा सापकोटाजीले ‘मलाई प्रीबुक’ भनेर म्यासेज गर्नुभएको थियो र पनि मलाई लाग्थ्यो – श्रव्य किताब (अडियो बुक) दश जनाले पनि सुन्ने छैनन् । तर मैले रिस्क लिई नै हालेँ । रातारात मोबाइलमै रेकर्ड गरेँ । अडियो फाइल तयार पारेँ ।

त्यही भडास २ घण्टा २४ मिनेटको भयो । अनि बिहानको अर्को बिहान फेरि अर्को स्टाटस लेखेँ ‘अडियो बुक रिलिज गरेँ है’ भनेर । स्टाटस राखेको केही मिनेटमै जीवन तिवारीले ‘मलाई एक प्रति चाहियो’ भनेर म्यासेज गर्नुभयो । ओहो ! दुई जनाले त सुन्ने भएछन् नि ! मलाई खुसी लाग्यो।

मलाई त लागिरहेको थियो – सुन्ने बानी नै हराइसकेको थियो यस संसारबाट । तर सुन्नेहरू अझै बाँकी रहेछन्, म नै गलत रहेछु । पहिलो दिनमै ८/९ प्रति – याद छैन – अझ बेसी गयो क्यारे ।

अलिकति केही नयाँ गरौँ भन्ने भयो । नयाँमा पनि झन् नयाँ गरौँ लाग्यो । त्यसपश्चात् २०-३२ अडियो बुक रिलिज गर्ने निष्कर्षमा पुगेँ।

 

कवि आर्यश घिमिरेपछि तपाईँले पनि आफ्नो कथासङ्ग्रह `सिउँदो चिरेको महेन्द्र हाइवे´लाई   डिजिटल प्लेटफर्ममार्फत लोकार्पण गर्नुभयो । प्रकाशकलाई चुनौती दिँदै हुनुहुन्छ हो ?

आर्यशजीको त्यो स्वाद मलाई मेटाफोर्ली मन परेको थियो । प्रकाशकहरूका दादागिरी त छ नै नेपालमा । तर सबै प्रकाशक त्यस्ता हुँदैनन् । एक दुई प्रकाशकले केही अप-डाउन पर्सेन्टका कुरा भने गरेका थिए । मलाई चित्त बुझेन । मेरो मुड ठिक ठाउँमा आयो । अडियो बुक रिलिज हान्दिएँ ।

कुरा रह्यो चुनौतीको, चुनौती सबैतिर नै छ । चुनौतीमै बाँच्ने बरु स्वयं । तर आफ्नो मूल्य स्वयं आफैँ खोज्न हिँडेको । यो कुरा साँचो हो ।

 

कति जनालाई श्रव्य किताब बेच्नुभयो ?

ठ्याक्कै कति प्रति गयो हिसाब त गरिएको छैन । श्रव्यमा द्रव्य आउने-जाने क्रम चलिरहेकै छ । तर यो सात-आठ दिनको अन्तरालमा ४० हजार रुपैयाँभन्दा बढी प्रेम देखियो, सायद।

 

यो प्रविधिको युग हो । भनिन्छ, आज जोसँग स्मार्ट फोन छ ऊ स्वयं पत्रकार, लेखक, अन्वेषक, सञ्चारमाध्यम, उद्योगी आदि बन्न सक्छ । लेखक स्वयं प्रकाशक पनि बन्न सक्ने रहेछ है !

हो नि, यो चैँ बडा मजाको प्रेमको पाटो लाग्यो ।

(हे हे हे…)

 

यसरी व्यक्तिगत रूपमा  पिडिएफ कारोबार गर्दा कानुनी झन्झट पनि आउन सक्ने हुन्छ । यसबारेमा सोच्नुभएको छ ?

कुनै क्राइम गरेको होइन । बस्, प्रेम बाँडेको हो । नो तनाव । झन् त्यसमाथि  हाम्रो देशको कानुन त आफैँ झन्झटमा बाँचेको छ । तसर्थ यो झन्झटमा नअल्झिम् ।

 

हुन त यो अल्छी युग हो । मान्छेसँग फुर्सद पनि छैन । अबको दश वर्षपछि पोडकास्ट निकै फैलिने सम्भावना देखिएको कुरा जानकारहरू बताउँछन् । तर केही पाठक यस्ता हुन्छन् जसलाई किताब पढ्नु भनेको अक्षरलाई स्पर्श गर्नु हो । कागजको सुगन्ध लिनु हो । शब्दसँग संवाद गर्नु हो । यसलाई मुद्रण संस्करणमा ल्याउने बारे के सोच्नु भएको छ ?

तपाईँकै भाषामा, किताब पढ्नु अक्षरलाई स्पर्श गर्नु हो । कागजको सुगन्ध लिनु हो । शब्दसँग संवाद गर्नु हो । यसमा त म पूराका पूरा सहमत छु । तर सबै किताब छापिएर बजारसम्मै पुग्न पर्छ भन्ने तथ्यचैँ म मान्दिनँ ।

सायद ‘सिउँदो चिरिएको महेन्द्र हाइवे’को समय अवधि यसै अडियोसम्म सीमित थियो कि ! त्यसैले हो यो हाइवे श्रावण २० टु ३२ यतै कतैको हाइवेमा छुटी गएछ ।

 

यहाँको कथासङ्ग्रह सुनिएन भने पाठकलाई घाटा लाग्छ ?

हे हे हे…

होइन होइन, बरु सुनिएछ भने चैँ घाटा हुन सक्छ । त्यहाँ केबल दोस्ताज ब्रह्माण्डका भँडास मात्र छन् ।