रमाशंकर विद्रोही

कविता लेख्ने धेरै छन् तर कविता बाँच्ने कति होलान ? कविता लेख्नु र कविता बाँच्नुको भिन्नता ब्रोइलर कुखुरा र लोकल कुखुराभन्दा व्यापक फरक छ । कविता कागजमा उतार्नु र कविता मनमा छाप्नु, यो पनि बिल्कुल फरक हुन्छ । एउटा यस्तो कवि जसले कहिले पनि कवितालाई कागजमा उतारेन, कवितालाई मन र मस्तिष्कको मैदानमा फुलायो । मूल्य भएका वस्तुलाई सजिलै किन्न सकिएला तर रमाशंकर विद्रोहीका कविता अनमोल छन् । संसारमा अनमोल वस्तुको मूल्य हुँदैन । उनी यस्ता कवि हुन् जसले भारतीय साहित्यिक बजारमा बेँच्न राखेको मूल्य त पाएन । बजारमा नबिक्ने भएकोले नै उनका कविता नागमणी भएर चम्किन पायो ।

एउटा समान्य परिवारको युवक कानुनको पढाईलाई पूर्णविराम लगाएर सन् १९८३ मा जेएनयु ( जवाहरलाल नेहरु विश्वविद्यालय ) मा कविताको भोकले साहित्य पढ्न आयो । त्यतिबेला जेएनयुमा विशाल आन्दोलन भयो । उक्त आन्दोलनमा विद्रोही सामिल भएका थिएँ । जसकाराण उनी माथि मुद्धामामिला चल्यो, फलस्वरूप विद्रोहीलाई  आन्दोलनमा सहभागी भएकोले विश्वविद्यालयबाट लाञ्छनासहित निष्कासन गरियो । स्वभावले विद्रोही रमाशंकरले क्रान्तिकारी प्रतीज्ञा लिए, जीवनभर विश्वविद्यालयको परिसरमा बसेर काव्यान्दोलन गर्ने । करिब  तीन दशक जेएनयुको परिसरमा अन्तिम श्वाससम्म कविता भनेर आफ्नो संकल्पको इज्जत राखे ।
चुरोटका खाली बट्टाहरू भुइँमा छरपस्ट फैलिएका हुन्थे । सुर्तीका खोल मुसाफिर झैँ अवस्थित हुन्थेँ । प्यासी मिनरल वाटरका डब्बा ढलेका हुन्थे । खुल्ला अम्बर मुनि झुसे कम्मल भित्र हावाको झोंकालाई बार लगाएर उनी सुत्थे । ३ दशक यसरी खुल्ला चौरमा बिताएका रमाशंकर पाठक `बिद्रोही´ ले भन्थे, `वर्षातमा रुझ्दै गर्दा यो मैदानबाट  यो शहर जलेको देखेको छु । चौरासीको दंगा देखेको छु ।´
त्यही नूर मियाँ पाकिस्तान गइन्
नूर मियाँ किन पाकिस्तान गइन ?
भन्थे, नूर मियाँको कोहि छैन
हामी कोहि थिएनौ, नूर मियाँको ? ( कवितांश)
उनी खुला मैदानमा बसेर राजनीतिक  आन्दोलन गरे, विश्वविद्यालयको लडाइँ लडे, जेल चलान भए । अन्त्यसम्म हार मानेनन् । लडिरहे लडिरहे ।
उनी भन्थे, `यो बिद्रोही राजधानीको विश्वविद्यालयमा पढेको व्यक्ति हो । अन्तर्राष्ट्रिय सञ्चार व्यवस्थासँग संवाद गर्दैछ । तर बिद्रोहीको पछाडि बुश छ । बुशको पछाडि मुसा छ । मुसाको पछाडी बिरालो छ । यो न वासिङ्टन हो, न इटाली हो न त दिल्ली हो । बिद्रोही आदिवासी हो । र महानुभावहरू भन्छ्न बिद्रोही बनवासी हो ।´
देशै रहेन भने के फरक पर्छ र
विदेश जाने छन्
केही व्यक्ति घाट जाने छन्
केही मर्ने छन्
तर म कहाँ जाउला ?
म जो न मरेको छु न जीवित छु
मात्र कविता भनिरहेको छु । (कवितांश)
उनको दैनीकी जेएनयुको परिसरमा चाहर्दै बित्थ्यो । विद्यार्थीहरू माझ चर्चित थिए । प्राध्यापक उनलाई अनदेखा गरिदिन्थे । जेएनयुको भित्तामा उनका कविता टासिएका छन् । उनको खानपिनको टन्टा माया गर्ने बिद्यार्थीले परिपूर्ति गरिदिन्थे ।  सञ्चो हुँदा खुला आकाशमै सुत्थे विरामी हुँदा विश्वविद्यालयका विद्यार्थीका कोठामा शरण लिन्थे । जेएनयुका उनी कहिले भएनन् तर उनको जेएनयु सधै भयो ।
उनी वामपन्थी विचारधारा बोकेर हिँडने कवि थिए । उनका कविताले पनि यहि विचारधारालाई बोकेको देखिन्छ ।
उनी भन्छन्, `मेरो शर्टको खल्तीमा एउटा बाघ बोकेर हिँडछु । जब म कविता सुनाउँछु रातो शर्ट लगाउँछु किनभने त्यसमा दुईवटा खल्ती छ, जसमा म दुईवटा बाघ बोकेर हिँडछु ।´
उनका कविता बाघ जस्तै गर्जिन्छ्न् । वाचनमा बाघले झै  गति नाप्छ । जब गति सकिन्छ कविता सकिएको संकेत पाइन्छ । उनलाई जङ्गली भन्नेहरूलाई उनको प्रश्न हुन्थ्यो, `म स्कुल अफ थट भएको मान्छे हुँ, म जत्तिको अनुशासित व्यक्ति यो समाजमा अरु भए देखाओ ?´
मर्न त चे ग्वेरा मरे
चन्द्रशेखर पनि मरे
वास्तवमा कोहि मरेको छैन
सबै जीवित छन्
जब म जीवित छु
यो अनिकालमा
मलाई के कम मारियो होला
यो कलिकालमा । ( कवितांश)
यो कथित समाजले उनलाई पागल भन्यो । तर जसले पागल व्यक्तिले यतिको गह्रौ कुरा कसरी भन्यो होला, `म यस्तो कविता लेख्छु, जुन कविताको लागि मलाई न पुरस्कार प्राप्त भयो न त सत्तामा सजियो । हेर ! यो कस्तो व्यवस्था हो न मलाई पुरस्कार दिन्छ न त सजाय नै । अब म के गरूँ, मैले त कविता यसकारण  लेखेको थिएँ कि जसको लागि मलाई सजायो मिलोस् ।´
बेखबर, बेघर, बेइलम भएर जेएनयुको जङ्गलमा सुते, सडक र  गल्लीमा घुमे र झाडीमा बसेर कविता लेखे । जेएनयुका विद्यार्थीलाई भेला गरेर व्यवस्थाविरुद्ध लड्दै पोल खोलिरहे ।
जेएनयुका विद्यार्थीलाई विद्रोहीको विद्रोही कवितासँग प्रेम भयो । कतिले उनलाई खानाबदोस(यायावर) कविको रुपमा चिने, कति माउथ पब्लिशिटीबाट परिचीत भए, कतिले ईन्टरनेट र युट्युबमा उनलाई हेरे-पढे ।
प्राय उनी दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयको चेमेनागृहमा  कविता सुनाउँदै गर्दा भेटिन्थे । यदि त्यहाँ भेटिएनन् भने विद्यार्थी आन्दोलनको कुनै सभामा विरोध मार्चमा ओजपूर्ण कविता सुनाएर उत्साह बढाइरहेको अवस्थामा भेटिन्थे । उनको दैनिकी यस्तै थियो ।
विद्रोही  तीन दशक जेएनयुको परिसरमै अल्झिएए बस्नुको पछाडि विश्वविद्यालयको विद्रोही हावा, परिवर्तनकामी आकांक्षा र हिन्दी साहित्यप्रतिको डीप लब हुन सक्छ । जबसम्म उनी जीवित थिए, आकाशमा धान रोपी रहे´, र, अन्त्यमा विद्यार्थीसँगै संघर्ष गर्दागर्दै अन्तिम श्वास लिए ।
म किसान हुँ
आकाशमा धान रोपिरहेको छु
मानिसले मलाई पागल भन्दै छन्
`ए ! पागल आकाशमा धान जम्न सक्दैन ।´
म भन्छु, `ए ! पागल यदि जमिनमा भगवान जमाउन सकिन्छ भने आकाशमा धान पनि रोप्न सकिन्छ ।´
अब दुईमा एक भएरै छोड्ने छ
कि जमिनबाट भगवानलाई उखालीदेऊ
नत्र आकाशमा धान उम्रने छ । (विद्रोहीको कविता, `आकाशमा धान रोपि रहेँ)
विद्रोहीले आजीवन कविता सुनाइरहे । कविता सुनाउनु उनको धर्म थियो, कविता जन्माउनु उनको कर्म । कलम र कापीविना नै कविता लेख्ने अजिव कवि रमाशंकर यादवलाई जनताले विद्रोही भनेर संवोधन गर्न थाले ।
विद्रोही कविता लेख्ने भएकोले विद्रोही उपनाम पाएपछि उनले आफ्नो नामको पछाडि विद्रोही लेख्न थाले । साथीहरूले दिएको यो उपनामको उपहारलाई उनले मनपराए ।
विद्रोहीले आफुलाई जनताको कवि भन्न रुचाउथे । उनलाई नजिकबाट चिन्नेले भन्थे, `विद्रोहीले आफूलाई कबीरको मौखिक परम्परालाई अनुशरण गर्न रुचाउँथे ।´
उनले आफ्ना कवितालाई कहिकतै छपाउने र पुस्तक प्रकाशित गर्ने प्रयत्न गरेनन्  । विद्रोहीको मस्तिष्क कविताको फ्याक्ट्री थियो । जसले शुद्ध कविता मात्र उत्पादन गर्ने गर्थ्यो । उनलाई कालिदास, कबीर, सूर, तुलसी आदिका कविता धाराप्रवाह वाचन गर्न सक्ने सामर्थ्य राख्थे ।
दिल्ली र जेएनयुमा हुने प्रदर्सनमा विद्रोही अनुपस्थित हुन्थेनन् । हरेक कार्यक्रममा चट्याङ जस्तो कविता लिएर बिजुली चम्किन्थे । कयौंपटक उनकै कविता वाचनद्वारा कार्यक्रमको समापन पनि हुन्थ्यो । उनी सत्ताको चरित्रसँग नजिकबाट परिचित थिए ।
प्रत्येक ठाउँमा यस्तै तिरस्कार
प्रत्येक ठाउँमा यस्तै अशिक्षा
प्रत्येक ठाउँमा छ, प्रहरी
प्रत्येक ठाउँमा छ, अदालत
प्रत्येक ठाउँमा छ, पुरोहित
प्रत्येक ठाउँमा छ, नरसंहार
प्रत्येक ठाउँमा कमजोर मारिएको छ, अपसोस् छ ।
 भारतको साहित्यले उनलाई कवि दर्जा दिन अनकनाइरह्यो । भोल्क्यानो निस्केपछि लाभा त पक्कै देखिन्छ । बिस्तारै उनका कवितालाई युवा पुस्ताले चर्चामा ल्याए । उनको बारेमा एउटा डकुमेन्ट्री बनाइएको छ । जसलाई युट्युमा ` आइ एम युर पोएट´ को नाममा खोजेर हेर्न सकिन्छ । युवा पुस्ताले उनका कवितालाई विभिन्न मञ्चमा बाचन गरेर सुनाउन थाले । यसरी उनको कवितामा प्रकाश पर्दै गयो ।
बिद्रोहीको कविता चिन्तनमा महिला, मजदुर, दलित र युवा जसरी आए, त्यो विम्ब मख्यधाराका कविमा कमै आएका छन् ।
म गोठाले हुँ
र यो दुनियाँ मेरो भैंसी
म भैंसी दोहिरहेको छु
अनि केही व्यक्तिले त्यसलाई लखेटिरहेका छन्
को हो यीनिहरू जसले लेखेट्दै छन् ?
तपाईंलाई थाहा छ
किन लखेटिरहेका छन् ?
यो पनि थाहा होला
तर एउटा कुरा थाहा छ
यो लखेट्नुको परिणाम के हुन्छ ?
अँ यति त थाहा छ कि
नोक्सान त चारैतिरबाट हाम्रो नै हुनेछ
किन कि भैंसी हाम्रो हो
र यो दुनियाँ पनि । (बिद्रोहीको कविता -`दुनियाँ मेरो भैंसी)
विद्रोही उत्तर प्रदेश सुल्तानपुरको ऐरी फिरोजपुरमा ३ डिसेम्बर १९५७ मा जन्मिएका थिए । शान्तिदेवीसँग उनको बालविवाह भएको थियो । उनको बिहे हुँदा श्रीमती बच्चै थिइन । शान्तीदेवी पाठशाला जान्थिन र विद्रोही भैंसी चराउथे । गाउँका छिमेकीले रमाशंकर अनपढ भएकोले उनको श्रीमतीले छोडेर जान्छे भन्ने चर्चा परिचर्चा चल्थ्यो ।
श्रीमतीले छोडेर जाने चिन्ताले रमाशंकरले पढ्न सुरु गरे । स्नातक सकेपछि एलएलबी गर्दै थिए तर आर्थिक अभावले गर्दा पूरा हुन सकेन ।  उनले नोकरी पनि गरे तर काममा मन नलागेकोले नोकरी छोडिदिए । एमए गर्नको लागि जेएनयु आए । उनी आन्दोलनमा सहभागी भएकैले कलेजबाट निकालिएपछि । उनी मात्र बास्टर्ड व्यवस्थाको  वाइल्ड कवि रहे ।
उनले घर त्यागेँ, श्रीमतीलाई छाडे, दुई सन्तानलाई पनि भुलेर  जेएनयुलाई आफ्नो घर बनाए । बिद्रोही भन्थे, `मैले मेरो पागलपनलाई निरन्तरता दिने सकेँ किन कि मेरी श्रीमतीले मलाई पारिवारिक जिम्मेवारीबाट मुक्त गरिदिइन ।´
…. र यो मान्छेका   अस्तव्यस्त हड्डीहरू
रोमनको गुलामीहरूको पनि हुनसक्छ
बंगालमा कपडा बुन्नेहरूको पनि हुनसक्छ
वा हुनसक्छ भियतनामी, प्यालेस्टाइनी बच्चाको
सम्राज्य, सम्राज्य नै हुन्छ
चाहे रोमन साम्राज्य होस्, वा ब्रिटिस साम्राज्य
वा अमेरिकी अत्याधुनिक साम्राज्य
जसको यहि काम हुन्छ
पाहाडमा,मैदानमा, नदीमा
सागरको किनारमा
मान्छेका हड्डी अस्तव्यस्त बनाउने ( कवितांश)
विद्रोहीका कविता वञ्चित, शोषित, सिमान्तकृत जनताको लागि लेखिएको हो । दुर्भाग्यवश जेएनयुको पर्खालभित्र गुम्सिएर रहनु पर्‍यो । जनसांस्कृतिक मञ्चमा जोडिएका उनका साथीहरूले विद्रोहीको कविता सङ्ग्रह `नई खेती´ प्रकाशित गराउन सहयोग गरे । बिद्रोही जेएनयुमा स्नातकोत्तर गर्न आएको सपनालाई बादलले ढाकेपनि उनले यो सावित गरिदिए कि बिनाडिग्री पनि शिल्पी कवि बन्न सकिन्छ भनेर ।  विद्रोही जनकविको रुपमा परिचित भए । बिद्रोही जीवन व्यतित गरे र विद्रोह गर्दागर्दै अलविदा भए ।
थाहा छैन कहिलेदेखि चलिरहेको छ
दैनिकी जस्तै नयाँ महाभारत
वास्तवमा हरेक महाभारत
नयाँ महाभारतको संभावनामा समाप्त हुन्छ
जहाँ अन्धोको सट्टामा अवैधलाई
जयजयकार गरिन्छ ।
च्यातेर फ्याँकिन्छ्न् ती सबै निवेदन
जसले विधाताको चक्रव्युह तोड्छ्न्
सताब्दी बित्छ
सिंहासन टुट्छ
तर बाँकी रहन्छ रगतको परिचय
सबुत भएकाहरू बेइमान बनिदिन्छ्न्
र मेरो गाउँ सताब्दीदेखि जोत्न बञ्चित छ
किनभने कागजले यो बताउँछ कि
विवादित भूमि राम-जानकीको थियो ।
बिद्रोहीको जीवनमा कविताको महत्व के छ भन्ने कुरा उन
ले दिएको अभिव्यक्तिबाट प्रष्ट हुन सकिन्छ । उनी भन्थे, कविता मेरो खेती हो । कविता नै छोराछोरी हो । कविता मेरो लागि न्याय र मानवताको बराबरीमा आउने हतियार हो । म कवि हुँ । कर्ता हुँ ।´
तिमीले मान्दिएर
पत्थर भगावन भयो
तर तिमीले मान्दैमा
पत्थर पैसा हुँदैन
तिम्रो भगवान पातको गाई हो
जोसँग तिमी खेल्न त सक्छौ
तर दूध पाउन सक्दैनौं । (बिद्रोहीको कविता तिम्रो भगवान)
विद्रोहीका कविता महिला दमन ज्वालामुखी भएर आएको छन् । बेबीलोनियादेखि मेसोपोटामियासम्म प्राचीन सभ्यतको मुहानमा जलेको महिलाको लास र मान्छेका अस्तव्यस्त हड्डीहरू असरल्ल छरिएको चिन्ता छ ।
इतिहासमा त्यो पहिलो महिला को थियो जसलाई सबैभन्दा पहिला जलाइयो ?
मलाई थाहा छैन
तर जो भए पनि त्यो मेरी आमा थिइन होला ।
म चिन्तित छु
भविष्यमा त्यो महिला को होला
जसलाई अन्तिममा जलाइने छ
मलाई थाहा छैन ।
 जो भए पनि मेरी छोरी हुने छे
र म यो हुन दिने छैन । (विद्रोहीको कवितांश)
 पछिल्ला दिनमा बिद्रोहीले विद्यार्थी आन्दोलन आँक्यूपाई युजीसीमा सामेल थिए । उक्त आन्दोलनबाट फर्किएपछि उनी निदाए र कहिले नब्युझिने गरि ५८ वर्षको उमेरमा  अजम्बरी निदाए । ८ डिसेम्बर २०१५ उनको अन्तिम दिन भयो ।
मर्न त चे ग्वेरा मरे
चन्द्रशेखर पनि मरे
वास्तवमा कोहि मरेको छैन
सबै जीवित छन्
जब म जीवित छु
यो अनिकालमा
मलाई के कम मारियो होला
यो कलिकालमा । (बिद्रोहीको कवितांश)
बिद्रोहीले यो पर्यावरणमा आफ्नो अंश छोडेर जीवित देह रुपान्तरण गरेर गएको सात वर्ष भयो । उनको कविताले व्यापकता पाउन थालेको छ । बिद्रोहीका कविताको खोजी हुन थालेका छन् । बिद्रोही गएपछि उनको स्मृतिमा चर्चापरिचर्चा हुन थालेको छ । उनका कवितालाई बचाइराख्न उनी जस्तै बिद्रोही व्यक्तिले अभियान चलाएका छन् । जेएनयुका विद्यार्थी, राष्ट्रिय च्यानल, र उनको डकुमेन्ट्री पछिल्लो समय उनलाई जीवित राख्ने काममा संलग्न हुन थालेका छन् । उनको जीवित शरीर हामी माझ नभएपनि उनको कविताले यसरी सबैभन्दा अन्तिमपटक मर्ने इच्छा व्यक्त गरेको छ ।
म पनि मर्नेछु
र भारतको भाग्य विधाता पनि मर्नेछ
पहिला जन-गण-मन अधिनायक मरोस्
त्यसपछि भाग्य विधाता मरोस्
अनि साधुको काका मरोस्
अर्थात सबै ठूलाठालु पहिला मरून
अनि म मरूँ आरामले
वसन्त ऋतमा
जब
अन्नमा दुध र आँपमा मञ्जरी पलाउने छ
मौवा चुहिन थाल्ने छ
जङ्गली फूल फुल थाल्ने छ
नदि किनारमा मेरो चीताको ज्वाला
सुगन्धित होस्
अन्त्यमा सबैले मजाकमा भनून,
`यो बिद्रोही क्या तगडा कवि थियो
सारा ठूलाठालुलाई मारेर मात्र प्राण त्याग्यो ।´ (कवितांश)
एकदम खेदजनक कुरा यो छ कि विद्रोही मर्दा कुनै भुकम्प आएन, कुनै क्रिया- प्रतिक्रिया भएन । यसरी गए कि जेएनयुको परिसरबाट जो कहिले त्यहाँ थिएन । कुनै स्मारक पनि नबन्ला । सृजना पीठ पनि नबन्ला । मात्र एउटा सन्नटा गंगा ढाबामा बसेको छ । उनका सरसमान झुण्डाउने रूखले उनलाई खोजिरहेको होला । उनी सुत्ने मैदाने खाटले पनि एक्लोपन महशुस गरिरहेको होला ।
प्रस्तुति : जनक कार्की