आफू गोरा जातिको भएर पनि काला जातिका भोगाइ र दुःखबारे उपन्यास लेखेकोमा सम्पूर्ण काला जातिसँग माफी माग्दै उपन्यासकार एलेक्जान्द्रा डन्कनले उनको नयाँ उपन्यास ‘एम्बर डेज’लाई प्रकाशन नगर्ने निधो गरेकी छन् ।
अमेरिकामा ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलन उत्कर्षमा चलिरहेका बेला गएको मध्य जुन महिनामा उनको प्रकाशकले उपन्यासको आवरण सार्वजनिक गरेको थियो । सो आवरण सार्वजनिक भएलगत्तै काला जातिको पीडालाई वर्षौंदेखि गोरा जातिले भुटेर व्यापार गरिरहेको आरोप लागेपछि लेखिका डन्कनले माफी माग्दै उनीहरूको भोगाइ र पीडामाथि व्यापार नगर्न उपन्यास प्रकाशन नगर्ने बताएकी हुन् ।
उपन्यासकार डन्कनले आउँदो वर्ष बजारमा ल्याउने लक्ष्य राखिएको उपन्यास ‘एम्बर डेज’ काला जातिको कोणबाट लेखेकी छन् । आफू श्वेत जातिकी भएर काला जातिको कोणबाट लेख्नु उनीहरूको भोगाइ र भावनामाथि खेलवाड भएको स्वीकार गर्दै उपन्यास प्रकाशन रद्द गरेकी हुन् ।
केही आलोचक भने उनको सो निर्णयप्रति क्षुब्ध भएका छन् ।
यस किसिमको सोचलाई हिजोआज ‘सेल्फ क्यान्सिल कल्चर’ नामकरण गर्न थालिएको छ । जसमा आएका मुद्दा, धारणा, विचारलाई सार्वजनिक भए आफू कसैको रिसको घानमा परिने हो कि भन्दै धारणा वा मान्यता व्यक्त नगर्ने अवस्था सेल्फ क्यान्सिल कल्चर हो ।
खासगरी जब कुनै मुद्दा जोडदार रूपमा उठ्ने गर्छ तर त्यसको विरूद्धमा जायजै कुरा भए पनि आवाज उठाउने गरिन्छ, त्यसलाई क्यान्सिल कल्चर भनिन्छ ।
त्यसो त साहित्यमा यस्तो द्विविधा निकैअघिदेखि प्रचलित नभएको होइन । सन् १८३६ मा ह्यारियट बिचरले त्यो बेलाको दास मोचन आन्दोलनमा सक्रिय रूपमा भूमिका खेलेका प्राध्यापक केल्भिन स्टोवीसँग विवाह गरिन् । विवाह गर्नुको एउटा मुख्य कारण चाहिँ उनले त्यो बेला लेखिरहेको उपन्यास ‘अंकल टम्स क्याबिन’का लागि गहिरो गरी काला जातिबारे बुझ्नु थियो ।
उनले त्यो उपन्यास पूरा गर्नका लागि भागेर क्यानडा जाने कालाहरूलाई भाग्न सहयोग गर्नु पनि थियो । सो सहयोग उनलाई पछि निकै काम लाग्यो । उनले लेखेको ‘अंकल टम्स क्याबिन’ पछि दासताविरोधी उपन्यासमध्ये आधिकारिक बन्न पुग्यो ।
यिनै साहित्यकारको गहन उपन्यासकै आधारमा पछि काला जाति बेचविखन गर्ने, दास बनाउन नपाइने नियम बन्न पुग्यो ।
सन् १८५१ मा सो उपन्यासको प्रकाशनपछि लेखिका ह्यारियट बिचर स्टोवी काला जातिकी सर्वप्रिय लेखिका बन्न पुगिन् भने उनीहरूमाथि भएको शोषण, दमन, अत्याचार र अन्यायलाई लिखितम् स्वरूप दिने व्यक्तिका रूपमा परिचित पनि भइन् ।
के उसो भए हेरियट श्वेत भए पनि कालाजातिका बारेमा लेख्नु हुँदैनथ्यो ? उनी समाजशास्त्री पनि थिइनन्, समाज पनि बुझेकी थिइनन् तर उनले जसरी त्यो उपन्यासमा काला जातिका मानिसको सामाजिक अवस्था, तिनको भोगाइ र उन्मुक्तिप्रतिको चाहलाई सुस्पष्टसँग लेखिन्, त्यसले दासमोचन कार्यमा भूमिका समेत खेलेको मानिन्छ । के उनले त्यो उपन्यास लेखेर गल्ती गरिन् ?
हेरियटको एक सय उनन्सत्तरी वर्ष पुरानो कुरासँग अहिलेकी एलेक्जान्द्रा डन्कनलाई दाँज्ने हो भने हामी कहाँ आइपुग्यौ त ? खासमा हामी उल्टो बाटो हिँडेका छौँ । हेरियट श्वेत महिला थिइन्, एलेक्जान्द्रा पनि श्वेत महिला हुन् । उनले पनि कालाजातिका बारेमा उपन्यास लेखिन्, यिनले पनि काला जातिका बारेमा उपन्यास तयार पारेकी थिइन् र प्रकाशकको भनाइ मान्ने हो भने उनको यो उपन्यास यस वर्षकै बेस्ट सेलरमध्येको एउटा हुने थियो ।
यसका बाबजुद पनि कुन पीडाबोध, कुन अपराधबोधले एलेक्जान्द्रालाई उपन्यास रद्द गर्न उक्सायो ? किनभने हामीले इतर व्यक्ति, इतर संवाद र इतर धारणालाई रोक्न थालिसक्यौँ । काला जातिका धारणा, काला जातिबाटै आउनुपर्छ भन्ने आग्रहले नयाँ विचार निषेध हुनसक्छ ।
एलेक्जान्द्रालाई आफू गोरा भएर कालाजातिमाथि किताब लेखेकामा पछुतो हुने दिन आउनु कसैका लागि पनि भलो हुने अवस्था होइन ।
समीक्षक बिट्रिज गार्सिया भन्छिन्, ‘एलेक्जान्द्राले उपन्यासको कभर निकाल्नेबित्तिकै गोरीले काला जातिको कथा लेख्नुलाई जसरी गलत सिद्ध गर्न लागिपरियो, यसले लेखकीय स्वतन्त्रताको ठूलो अपमान गरेको छ ।’
‘जसको विषय हो, उसैले लेख्नु पर्छ भन्ने आग्रह गलत मात्र होइन, विषाक्त पनि हो,’ गार्सियाको भनाइ छ, ‘पोलिटिकल करेक्टनेसका कारण धेरै कुरा बिग्रदै जान थालेका छन् । स्वतन्त्रता बिनाको लेखक लेखक रहँदैन, अभियन्ता बन्न पुग्छ । राम्रा उपन्यास र सिर्जनाले जुन करूणा उत्पन्न गराउँछ, कल्पनाशीलताले अरूको जिन्दगी, संस्कृति र संस्कारलाई विस्तारित रूप दिन सक्छ । त्यसैले उपन्यास प्रकाशन नै रोक्नुपर्ने अवस्था सिर्जना हुने यस्ता गलत क्रियाकलाप अब रोकिनु जरूरी छ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।