आज आइतबार हो
आज हाटबजार हो
अर्थात् हाटको दिन हो
भिड भेलजस्तै चल्छ
हल्लाको बल्ला चल्छ
किनबेच मोलतोल
सानोठूलो बोल चल्छ
ताजा बासी हाबीजाबी
बिक्री बट्टाको चलखेल चल्छ
सस्तोमा किनेर बस्तीकाबाट
महँगोमा बेच्छन् बस्तीकालाई नै व्यापारीहरू
बिहानै भगवानसँग माफी मागेर
पासो थापिबस्छन् पल्केका सिकारीहरू
एउटा माहोल छ
एउटा सोरगोल छ
पिठो बिक्री गर्नेहरू कराइरहेछन्
मिठो बिक्री गर्ने पनि कराइरहेछन्
‘.. लानुहोस्….लानुहोस्.. कविता सस्तोमा
कविता बिक्रीमा छ
प्रणयवादी …. सौ रुपे
प्रगतिवादी ……. सौ रुपे
मुक्तक लानुभयो भने …… रुपे
युग्मक लानुभए ……. रुपे।
आउनुहोस् राम- श्याम, वविता-सविता
बिक्रीमा छ कविता।..’
एक कुनामा हाटबजारको
कविताका पानाहरू
माथिमाथि उचाल्दै हावामा
चिच्याइरहेछन् कविजी
कराइरहेछन् कविजी
बिहानै बाछा लाएपछि
ईश्वर स्तुति गाएपछि
झोलाभरि कविताका पुलिन्दा बोकेर
मनभरि आशाका बिरुवा रोपेर
निस्केका हुन् कवि
सजाई लक्ष्मी छवि
‘कविता लानुहुन्छ ..?’
एउटा बहिरो शिक्षित मान्छे
उसको छेउबाट जान्छ
‘कसरी केजी..?’ आधुनिक पहिरनको युवकले
पछिबाट व्यंग्य हान्छ
कविता राम्रो बिक्री भए
स्वास्नीलाई सुनको सिक्री किनौँला
छोरीलाई फेसनको डिग्री दिलाउँला
अथवा सपरिवार निस्फिक्री भई
देश अफ्रिकी घुम्न जाऔला
अझ कविता बिक्री राम्रो भए
खीरै खीरको माम्रो खाउँला
ढिका सुन चाम्रो कमाउँला
सुन्दर बगैंचा सुविधासम्पन्न
आलिसान घर हाम्रो बनाउँला..
छैनन् यस्ता नाना थरीका सपनाका अग्ला आकासहरू
ढुक्क हुन्छन् कवि जब
जुटाउन सक्छन् दुई साँझका गाँसहरू
‘ पैसा कमाउने
उपाय बताउने कविता छ कविज्यू ?
भाग्य पल्टाउने
किस्मत चम्काउने
कविता छन् कविज्यू ?? ‘
तिरस्कारपूर्ण ग्राहकका अनौठा कुराहरू
चल्छन् कोमल कवि मुटुमा
धारिला धारिला छुराहरू
साँझ ढल्दै जान्छ
कवि गल्दै जान्छ
कहिले तात्तातो केकजस्तो बिक्री हुने कविता
कहिले रात् रातो पेकजस्तो बिक्री हुने कविता
साँझको कालो बर्को ओढेर
प्रकट हुन्छ त्यहाँ एउटा प्रकाशक
न्यूनतम शुल्क तोकेपछि
लान्छन् काव्य, कविता र मुक्तक
आफ्नै मलामी हिँडेको पीडा पोको पारेर
मुटुमा विवशताको छुरा गाडेर
हराउँछ सिर्जनाका पाइलाहरू अँध्यारोमा
लुकाई क्रन्दन छातीको गहिरोमा
भान्सा कोठा, पिँढी र
कविको उजाड आँगन
कहिले होला कठैबरा !
रश्मि रविको आगमन।।
++++++
कालेबुङ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 








