
१. फूल राम्रो फुलेछ
डा. मुकुन्दराज वाग्ले पथिक
पोहोर साल रोपेको, फूल राम्रो फुलेछ
साना साना कोपिला, मज्जासित झुलेछ ।
भुर्र भुर्र उडेर, चरी पनि आएको
मिठोमिठो स्वरले, गीत राम्रो गाएको
रङ्गीचङ्गी फूलहरू, बगैंचामा फुलेका
चारो खोज्न चराहरू, यताउता डुलेका ।
फूल टिप्नु हुन्न है, प्रकृति नै रुन्छ रे
हरियाली भए त, स्वास्थ्य राम्रो हुन्छ रे
माया गरे रुखलाई, अक्सिजन दिन्छ रे
हाम्रो मन सुन्दर भए, विश्व सफा हुन्छ रे ।
————————————————————
[साहित्यिक स्रष्टा मुकुन्दराज वाग्ले (२०१५) साहित्यका क्षेत्रमा डा. मुकुन्द पथिकका नामबाट सुपरिचित छन् । लमजुङ जिल्लाको रमणीय गाउँ रम्घाटार (हालको मध्यनेपाल नगरपालिका-४) मा उनको जन्म भएको हो । पिताजी नेत्रराज वाग्लेको प्रेरणाले साहित्य लेख्न हौसिएका उनले २०३१ सालबाट साहित्यिक लेखनको यात्रारम्भ गरेका हुन् । साहित्यका विविध विधाका अतिरिक्त समालोचना र सम्पादनका क्षेत्रमा कलम चलाउने पथिकका बालसाहित्यतर्फ २०७१ सालमा बगैँचाका फूलहरू नामक बालकवितासङ्ग्रह समेत प्रकाशित छ भने हाम्रो आवाज नामक बालगीतको एल्बम (२०७६) पनि निस्केको छ । रेडियो, टेलिभिजन र सिनेमामा उनका भजन र विभिन्न किसिमका गीतहरू प्रसारण भएका छन् । उनी बालबालिकालाई मनपर्ने विषयवस्तुको उपयोग गर्दै नैतिक सन्देशयुक्त कविता रचना गर्दछन् । त्रि. वि. दीर्घसेवा पदक, नेपाल विद्याभूषण ‘क’ श्रेणी लगायतका सम्मान प्राप्त गरेका कवि पथिकले विद्यालय स्थापना, पुस्तकालय, मन्दिर, धार्मिक अनुष्ठान जस्ता सामाजिक कार्यमा समेत आफूलाई समर्पित गेका छन् । बालबालिकाहरूलाई संरक्षण गर्ने संस्था ए. पी. सी. नेपालको बोर्डको अध्यक्ष रही बालबालिकाहरूलाई विद्यालयहरूमा पढ्ने व्यवस्था मिलाउनका लागि भूमिका खेलेको अनुभव समेत उनमा छ । त्रिभुवन विश्वविद्यालय, विश्वभाषा क्याम्पसमा सहायक क्याम्पस प्रमुखका रूपमा रही उनले सेवा गरेका छन् । उनको प्रस्तुत ‘ फूल राम्रो फुलेछ’ बालकविता प्रकृति चित्रणात्मक सुन्दर बालकविता हो । बालोरी लोकलयमा रचित यस बालकवितामा कवि पथिकले फूलको संरक्षण गर्नुपर्ने कुरामा जोड दिँदै प्रकृतिका यस्ता सुन्दर उपहारहरु नासिँदा स्वयम् प्रकृति नै रुने कुराको सङ्केत गरेका छन् । प्राकृतिक सौन्दर्यको महिमा गान गाउँदै वातावरणीय सुरक्षा र संरक्षणप्रतिको चासो कविताको मूल आशय बन्न पुगेको छ ।]
***************************************************************************
२. सपनामा तर्सिएँ
सुनिता देवकोटा
सपनामा तर्सिएँ, उठ्दा लाग्यो डर
टेलिफोन गरिदिनू उता मामाघर
सानो मुनी लिएर खेल्न गएकी
भिरबाट लड्यो भनी निलै भएकी
राम्रोसँग हेर्नुपर्थ्यो खेलमै गयो ध्यान
बुरुक बुरुक उफ्र्यो मुनी धन्नै गयो ज्यान
राम्रो देखेँ, ट्वाल्ल पार्यो भगवानको रूपले
आमासँग पूजा गर्दा च्वास्सै पोल्यो धुपले
फूल सार्ने गमला ल’की थिएँ बोकेर
झ्याम्मै फुट्यो खसेर, हो कि त्यही सोचेर
सपनामा तर्सिएँ, उठ्दा लाग्यो डर
टेलिफोन गरिदिनू उता मामा घर
——————————————————-
[अन्नपूर्ण ६ कास्की, लुम्ले घर भई हाल पोखरा विश्वविद्यालय, स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेस, जनस्वास्थ्य सङ्काय अन्तिम बर्षमा अध्यनरत सुनिता देवकोटा सानैदेखि कविता लेख्ने, चित्र कोर्ने र गीत गाउनमा रुचि राख्ने प्रतिभा हुन् । विगत केही वर्षदेखि चित्रकलामा अभ्यस्त उनी`बार्दली´, चिरिएका पैताला´, `घर फर्कने तिर्खा´, `सिङ्गो जुनको प्रतीक्षा ´जस्ता प्रकाशित साहित्यिक कृतिमा कभर पेन्टिङ गरेकी छिन् । कविता लेख्ने क्रममा पोखरा विश्वविद्यालय (पियु फेयर )मा आयोजित खुल्ला कविता प्रतियोगिता-२०७७ मा दोस्रो, ने .वि संघ NCIT इकाइद्वारा आयोजित खुल्ला कविता प्रतियोगिता -२०८० मा प्रथम र पोखरा विश्व विद्यालयमा आयोजित खुल्ला कविता प्रतियोगिता २०८० मा प्रथम स्थान हासिल गरेकी उनी साहित्य संगम नुवाकोटको विशिष्ट आजीवन सदस्य समेत हुन् साहित्यिक इ-पत्रिका `साहित्यपोस्ट´मा हस्तलिखित कविताकी स्तम्भकार रहेर पनि उनले काम गरेकी छिन् । उनका बालकविताहरू फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा प्रकाशित हुँदै आइरहेका छन् । उनको प्रस्तुत ‘सपनामा तर्सिएँ’ बालकविता बाल मनोविज्ञानमा आधारित छ । बाख्राको मुनी भिरबाट लड्यो कि अथवा फूल सार्ने गमला खसेर फुटेको हो कि भन्ने बाल शङ्का जब निवारण हुन्छ तब सपना हो रहेछ भन्ने कुरा बालपात्रलाई थाहा हुन्छ । यसरी बालपात्रले सपनामा देखेको घटनालाई आधार बनाएर बालमनोविज्ञानको सफल प्रस्तुति रहेको कवितामा देख्न सकिन्छ । कविता बालोरी लोकलयमा रचिएको छ । ]
—————————————————————-
३. रेडियो
रमेशचन्द्र घिमिरे
भन्दाभन्दै कसो–कसो जिब्रो टेडियो
भन्नुपर्ने रेडियो हो भनेँ लेडियो
“यति सानो बट्टाभित्र मान्छे कत्रा होलान् ?
देउता जत्रै होलान् कि या कीरा जत्रा होलान् ?”
यिनै कुरा सोधेको थेँ मैले बाबासँग
मेरो कुरा सुनी बाबा पर्नुभयो दङ्ग
“कीरा त्यहाँ हुँदै हुन्नन् मान्छे अटाउँदैनन्
स्वर्गबाट कसैले’नि देउता पठाउँदैनन्
हावाबाट खबर डाक्ने मिसिन त्यहाँ हुन्छ
त्यै मिसिनले आवाज तान्दा हाम्रो कानले सुन्छ”
बाले पेचले खोलेपछि सँगै हेरियो
भन्न छोडेँ लेडियो भनेँ रेडियो ।
*****************************************
[नेपाली बालकविता लेखनका क्षेत्रमा समर्पित लमजुङे स्रष्टा रमेशचन्द्र घिमिरे (२०२८) का ‘मलाई माया गर्ने को को’, ‘सानी पुतली’ तथा ‘घुमाउने घर’ गरी बालकवितासँग सम्बन्धित तीन ओटा कृति प्रकाशित छन् । उनका करिब दुई दर्जन जति बालकविता तथा अन्य रचनाहरू कक्षा १ देखि ११ सम्मका विद्यालय स्तरीय पाठ्यपुस्तक तथा सन्दर्भ पुस्तकमा मूल पाठ र पाठ्यसामग्रीका रूपमा प्रकाशित छन् । बालकविता लेखनका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनले मकैडाँडा सारिङ साहित्य पुरस्कार, गङ्गा लिगल उत्कृष्ट कबा रचना पुरस्कार लगायतका पुरस्कारहरू प्राप्त गरिसकेका छन् । विद्यालयका बालबालिकाका माझमा एकल बालकविता वाचनमा समेत सहभागी भएका घिमिरे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बालतारा कार्यक्रमबाट सम्मानित पनि भएका छन् । नेपाली बालकविताको विकासका लागि गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमको संयोजन गरेको अनुभव समेत उनमा छ । साहित्यपोस्ट ई-पत्रिकाका स्तम्भकार घिमिरेका प्रायः बालकविताहरू ग्राम्य परिवेशसँग सम्बन्धित छन् । उनको प्रस्तुत ‘रेडियो’ बालकवितामा तोते बोली बोल्ने एउटा बालपात्रले आफ्ना बाबुसँग रेडियोको बनोट र कार्यका बारेमा जिज्ञासा राखेको र पछि बाबुले चित्त बुझ्दो उत्तर दिई बालपात्र सन्तुष्ट भएको प्रसङ्ग आएको छ ।]
————————————————————————————————————
{ यस स्तम्भमा सहभागी हुन चाहनुहुने स्रष्टाहरूले आफ्ना बालकविता, फोटो र बायोडाटा nepalibalkabita@gmail.com ठेगानामा पठाउन सक्नुहुनेछ ।}



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

