प्रचिन ग्रीसेली कवि होमरको जन्म र मरणको कुनै निश्चित तिथि छैन । उनको जीवनकाल र जीवनबारे विभिन्न विद्वान्का विरोधाभासयुक्त मत पाइन्छन् । उनी जन्मेको ठाउँबारे विद्वान् सात शङ्कास्पद प्राचीन ग्रीसेली नगरको नाउँ अघि सार्छन् । ती नाउँहरू हुन् स्मीर्ना, ह्रोडस, कोलोनस, सलामिस, चिओस र एथेन्स ।
त्यति हुँदाहुँदै पनि कसैले उनी एसिया माइनरको किनारामा पर्ने कुनै ग्रीसेली उपनिवेशमा जन्मेको अड्कल काटेका छन् भने कसैले चाहिँ आयोनियाको कुनै भागमा जन्मेको पनि मानेका छन् । परम्परागत विश्वास, एतिहासिक तथ्य र उनका अमूल्य कृतिभित्रका प्रसङ्ग र सङ्केतहरू नै होमरका जीवनका स्रोत हुन् । तिनैलाई आधार मानेर उनका जीवनी बारे अन्वेषकहरूले विभिन्न अड्कल काटेका छन् । धेरैजसो विद्वान्का विचारमा होमर ग्रीसेली नगरमा सारङ्गी बजाउँदै हिड्ने दरिद्र र अन्धा कवि थिए ।
इलियड (Iliad) र ओडिसी (Odyssey) उनका दुई अमर महाकाव्य हुन् । हिन्दुको निम्ति बाल्मिकी र वेदव्यासद्वारा संस्कृतमा लेखिएका प्रचिन रामायण र महाभारत जति महान र प्रसिद्ध छन् पश्चिमेली सन्सारका निम्ति इलियड र ओडिसी त्यतीनै महान र प्रसिद्ध मानिन्छन् । होमरका कृति ग्रीसेली संस्कृतिका भण्डार र पश्चिमेली साहित्यका उत्कृष्ट नमूना हुन् ।
आधुनिक अन्वेषकले होमरको मृत्यु क्राइस्टपूर्व ८५० सालतिर भएको अनुमान गरेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।