सुरभि साहित्य प्रतिष्ठान, गोकर्णेश्वर काठमाडौँले वि.सं. २०८० को प्रारम्भमै गोपी मैनालीद्वारा तयार पारिएको ‘रमेश विकल समालोचनात्मक अन्वेषण’ नामक ३२४ पृष्ठको समालोचनाको कृति सार्वजनिकी गरेको छ ।

यसमा १७ वटा शीर्षकमा रमेश विकलको जीवनी र व्यक्तित्व, रमेश विकलको साहित्यिक यात्राको चरण विभाजन, कथाकार, उपन्यासकार, निबन्धकार, बालसाहित्यकार र नाटककार व्यक्तित्वको बहुआयमिक प्रतिभाको विस्तारदेखि लिएर विकलका प्रमुख कृतिहरूको संक्षिप्त विश्लेषण, समकालीन सर्जक र रमेश विकल, समालोचकका आँखामा रमेश विकल, रमेश विकलका पात्रहरू, रमेश विकलको रचनाको अन्तरविधा तुलना, रमेश विकलको रचनाकारिताका प्रमुख प्रवृत्ति, (रमेश विकल र सामाजिक यथार्थवाद, रमेश विकल र प्रगतिवाद, रमेश विकलका रचनामा मनोवैज्ञानिकता, रमेश विकलका रचनामा स्थानीयता), रमेश विकलका विचार, दर्शन र दृष्टिकोण, नेपाली साहित्यमा रमेश विकलको स्थान, निर्धारण र निष्कर्ष सहित साङ्गोपाङ्गो व्याख्या गरिएको छ ।

वि.सं. २०२० असार १ गते कानपुर २ काभ्रेपलान्चोकमा जन्मनु भएका गोपी मैनाली वि.सं. २०३८ मा प्रकाशित आकार पत्रिकाका माध्यमबाट कविता छपाएर नेपाली साहित्यमा प्रवेश गर्नु भएको हो । गोपी मैनाली निजामती सेवाको उच्चतम तहमा पुगेर व्यवस्थापन र प्रशासन क्षेत्रमा विज्ञता हासिल गर्नुभएका एक बौद्धिक लेखक, जो निबन्ध र नियात्रामा दह्रो पकड राख्न सफल हुनुहुन्छ । एउटा हातले प्रशासनका अवयवहरू माथि र अर्को हातले साहित्यका रिडहरू माथि कलमक्रीडा गर्न सिपालु गोपी मैनाली लरतरो काँटको सर्जक होइन । नाम चलेका, कहलिएका साहित्यशास्त्रीहरूले हिम्मत गर्न नसकेको कार्य गोपीले सम्पन्न गर्नु भएको छ, रमेश विकलभित्र प्रवेश गरेर ।

आख्यानको एक संस्था हुनुहुन्थ्यो रमेश विकल । नेपाली साहित्यमा रमेश विकलको अतुलनीय योगदान रहेको छ । रमेश विकलको जीवन शैली, उहाँको आख्यानात्मक आचरण, कथानकीय प्रसङ्ग, पात्र चयन, युगबोध, कालचिन्तन, औपन्यासिक गठन, निबन्धकारिता, नाट्यशिल्प वा बालसाहित्यमा रमेश विकलले पुर्‍याउनु भएका विशिष्ट योगदानमाथि केस्रा केस्रा पहिल्याएर आफ्नो प्राञ्जल भाषा शैलीका माध्यमबाट विश्लेषणात्मक दृष्टिकोण प्रस्तुत गर्ने क्षमता गोपी मैनालीको चमत्कारिक पक्षको उद्घाटन   हो ।

निबन्ध र नियात्रामा आफ्नो ‘दह्रो पहिचान’ देखाउन सफल गोपी मैनालीले समालोचकीय सिद्धान्तका समग्र शास्त्रीय प्रविधिलाई लेखनमा पालन गर्नुभएको देखिन्छ । शोधनायकका उँचाइ र गहिराइलाई निकटबाट अध्ययन र मनन गर्ने शोधार्थी, अध्येता वा सर्वसाधारण पाठकहरूका लागि ‘रमेश विकल समालोचनात्मक अन्वेषण’ भरपर्दो कृतिका रूपमा देखा परेको छ । एम.फिला. वा पिएचडी शोधार्थीहरूले पालन गर्ने अनुरूप यो कृति तयार गरिएको देखिन्छ ।

रमेश विकलको पारिवारिक सम्भ्रान्तता, उहाँको चालिसे परिवारको उद्गम, पिता पुर्खाको कुलीन विरासत, साहित्य लेखन, पाश्चात्य एवम् पूर्वीय साहित्यको अध्ययन र प्रभाव, श्यामप्रसाद र गोविन्द लोहनीसितको सम्पर्क र उहाँहरूबाट थोपरिएको मार्क्सवादी धरातल आदिलाई गोपी मैनालीले सविस्तार विश्लेषण गर्नु भएर विकलको विराट लेखकीय स्वरूपभित्र जो कोही प्रवेश गर्न सकिने द्वारहरू तयार भएका छन् । विरासतमै सुख,  सयल र सम्भ्रान्त उच्च कोटिको जीवन भोग्नुभएका रमेश विकल कम्युनिस्ट दर्शनप्रति आकर्षित हुनु पर्ने प्रसङ्ग सामान्य घटनाका रूपमा लिन सकिन्न ।

रमेश विकलको युवाकाल विश्व कम्युनिस्ट विचारधाराले जकड्न थालेको नेपाल थियो । देशभित्र र देशबाहिरको प्रभाव र संसर्गले उहाँलाई पनि आकर्षित तुल्याउनु अस्वाभाविक थिएन । त्यसैले उहाँले लेखनको विषय सोहीबमोजिम यथार्थवादी धरातलबाट चयन गर्नुभएको हो । विकलले सम्पन्न जीवन भोग गर्नुभएको भए पनि तत्कालीन नेपाली समाज र मुलुकको विषय परिस्थितिलाई नजिकबाट देख्नु भएकाले उहाँ स्थानीय जीवन, समाज, पात्र, घटनादेखि अनदेखा भएर बस्न तयार हुनुभएन ।

यो अस्वीकृति उहाँको समाज रूपान्तरणप्रतिको क्रान्तिकारी कर्म थियो । फलस्वरूप उहाँ ‘गरिब’ कथा लेखेर रमेश विकल हुनुको उपस्थिति कायम गर्न सफल देखिनुहुन्छ । गोपी मैनाली एक विशिष्ट नियात्राकार, कुशल निबन्धकारका अतिरिक्त व्यवस्थापन विज्ञ हुनुहुन्छ । उहाँको कुशल व्यवस्थापनमा आयोजन भएको रमेश विकल माथिको विहङ्गम परीक्षण रौंचिरा पारदर्शितामा परेको अनुभव हुन्छ ।

तारानाथ शर्मा, रत्नध्वज जोशी, प्रतापचन्द्र प्रधान, डा.ईश्वर बराल, डा. दयाराम श्रेष्ठ, डा. खगेन्द्रप्रसाद लुइँटेल, डा. कृष्णहरि बराल, र युवराज मैनाली जस्ता प्रतिष्ठित समालोचकहरूका पर्यवेक्षणमा रहनुभएका रमेश विकल सामाजिक यथार्थको धरातलमा बढी केन्द्रित र यौन मनोविज्ञानका वृत्तमा थप केही सचेत रहेको प्रतीत हुन्छ ।

प्रायः रमेश विकललाई सामाजिक यथार्थवादी र प्रगतिवादी सर्जकका रूपमा व्याख्या, विश्लेषण गरिँदै आएको भए पनि गोपी मैनालीको समालोचकले ‘आलोचनात्मक यथार्थवाद, मनोवैज्ञानिक यथार्थवाद, विसङ्गतिवाद, अस्तित्ववाद, नियतिवाद र नवोन्मेषवादी चिन्तनधाराका परखबाट मूल्याङ्कन गर्ने प्रयास गर्नुभएको छ । जीवनवादी वृत्तमा समन्यायिक समाजशास्त्रको उत्खनन गर्ने क्षमता भएका रमेश विकल जस्ता लेखकहरू आत्मगत मात्र हुँदैनन्, ती वसुधैवकारक हुन्छन् । जीवन र जगतलाई विशिष्ट तवरबाट हेर्ने गुण भएका रमेश विकल जस्ता आख्यानकारहरू स्वगत मात्र हुँदैनन्, ती परात्मचेतक पनि हुन्छन् ।

‘नेपाली कथाका आधुनिक कालका प्रथम चरणका प्रयोक्ताको कथा विवेचना’मा डा. ईश्वर बरालले गुरुप्रसाद मैनाली, पुष्कर शमशेर, बालकृष्ण सम, रुपनारायण सिंह, भिक्षुं, लक्ष्मीप्रसाद देवकोटा, आदि देखि तारिणीप्रसाद कोइराला, गोविन्दबहादुर मल्ल ‘गोठाले’ र विजय मल्ल सम्मलाई अटाएर पनि सोही कालखण्डमा रमेश विकललाई समेटिएको देखिँदैन । यो शायद रमेश विकल वाममार्गी लेखक भएकै कारण छुट्नु परेको  कुनै आग्रह देखिन्छ । तथापि पछि आएर उहाँको आख्यान शिल्पी शक्तिलाई देखेर विकलका कथाको आदीश्वर हो सामाजिक चेतना’ भनेर उहाँलाई आधुनिक प्रयोक्ताका हाराहारी उभ्याउने प्रयास गरिएको छ ।

निबन्ध नाटक र बालसाहित्यमा पनि रमेश विकलको कलम उत्तिकै चलेको देखिन्छ ।  तथापि रमेश विकलको प्रमुख पहिचान आख्यानकार व्यक्तित्व हो । यसलाई पुष्टि गर्ने तुलनात्मक आधारहरू प्रस्तुत गर्नुभएको छ गोपी मैनालीले । निबन्ध, नाटक र बालसाहित्यमा उल्लेखनीय योगदान हुँदा हुँदै पनि विकलको आख्यानकार चरित्रताले प्रमुख प्राथमिकता प्राप्त गर्नुको कारण समाज रूपान्तरण तर्फको केन्द्रीय परिप्रेक्ष्यतामा उहाँका अधिकांश कथ्याख्यानले संचेतना र जागरणको कार्य गरेका छन् । सबै विधामा कलम चलाउने स्रष्टाले एउटैमा मात्र आफ्नो विशिष्ट पहिचान स्थापना गर्न सकेमा त्यो अनौठो हुँदैन ।

रमेश विकलको शिक्षा दीक्षा प्राप्त गर्दाका विचलनलाई लिएर चर्चा गरिएको सन्दर्भ रोचक छ । रमेश विकलले आइए उत्तीर्ण नगरी कलेज अफल एजुकेसनको उच्चशिक्षा (विएड) को डिग्री हासिल गर्ने क्रम भारतका महात्मा गान्धीको उच्चशिक्षा लिने प्रक्रियासित मिल्दोजुल्दो रहेको देखिन्छ । गान्धीजीले मेट्रिक उत्तीर्ण गर्ने बित्तिकै बीचको उत्तर मध्यमा तहको योग्यता हासिल नगरी बेलायत गएर केरिष्टर पूरा गरेका थिए । गान्धीजीलाई बीचको इन्टरमिडियट तह (उत्तर मध्यमा) पार नगरी केरिष्टरको डिग्री हासिल गरेको भए पनि सरकारी नोकरीमा आउन वाधा पुगेको थियो । रमेश विकललाई चाहिँ यो समस्या आइपरेको देखिँदैन ।

गोपी मैनाली एक सिद्धहस्त निबन्धकार हुनुहुन्छ । उहाँको समालोचकीय चेतनामा निबन्धकारिताको विशिष्ट छवि प्रवेश भएको देखिन्छ । सरल भाषामा कथाचेत प्रयोग गरी रमेश विकललाई अर्थ्याउन शोध प्रविधिका सबै प्रक्रियाद्वारा तयार पारिएको ‘रमेश विकल समालोचनात्मक अन्वेषण’ नेपाली साहित्यका पाठक, अध्येता र अनुसन्धाताका लागि आधिकारिक ग्रन्थका रूपमा लिन सकिन्छ । गोपी मैनालीको अभिकथनलाई लिएर भन्ने हो भने शोधार्थी र शोधनायकका बीच कुनै ग्याप हुन दिइएको छैन । कृति लेखनप्रति गोपी मैनालीको मान्यतालाई हेरौँ ।

‘समालोचना विधाप्रति मेरा आफ्नै बुझाइ र दृष्टिकोण छ । यो अन्वेषण, अनुसन्धान, विवेचना, मूल्याङ्कनको सङ्गतिपूर्ण कार्य भएकोले जटिल छ । यो महिमा भन्दा माथि, मतभन्दा माथि सन्मार्गको पहिल्याइ हो ।’

यो टिप्पणीले जो कोहीलाई पनि गम्भीर तुल्याउँछ । समालोचना महिमा होइन, मत होइन । वस्तुगत विश्लेषण हो । सन्मार्ग तर्फको तात्त्विक यात्रा हो । त्यसैले यो जटिल छ, चुनौतीपूर्ण छ ।

उहाँले तर, चुनौतीपूर्ण यात्रा यो, सफलतापूर्वक तय गर्नुभएको छ ।