साहित्यपोस्टको फेसबुक पेज तथा युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको कार्यक्रम “साहित्यवार्ता : स्रष्टा र सिर्जना” ले युएईको दुबईमा “साहित्यवार्ता स्रष्टा सम्मान, बृहत् कवि गोष्ठी तथा साङ्गीतिक कार्यक्रम” को आयोजना गर्दै छ । कार्यक्रमको मिति आइतबार, २७ अगस्ट २०२३ तोकिएको छ । प्रसारणको ५० औँ शृङ्खला पुगेको अवसरमा आयोजित सो समारोहमा विशिष्ट कवि तथा संस्कृतिविद् तुलसी दिवसज्यूलाई “साहित्यवार्ता विशिष्ट स्रष्टा सम्मान” बाट सम्मान गर्न लागिएको छ । साथै साहित्यपोस्टका प्रधान सम्पादक तथा लेखक अश्विनी कोइराला र गायक राज सिग्देललाई `साहित्यवार्ता स्रष्टा सम्मान´ बाट सम्मानित गरिने छ । यस कार्यक्रममा विशेष साङ्गीतिक प्रस्तुति गायक राज सिग्देलको रहनेछ ।
बृहत् कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको विषयमा केन्द्रित रहेर आजको वार्तामा साहित्यवार्ता : स्रष्टा र सिर्जना, युएईका संयोजक तथा कवि जीवित खड्का मगरसँग साहित्यपोस्टका सहकर्मी जनक कार्कीले गरेको कुराकानी प्रस्तुत छ ।
…
“साहित्यवार्ता : स्रष्टा र सिर्जना” ले युएईको दुबईमा “साहित्यवार्ता स्रष्टा सम्मान, बृहत् कवि गोष्ठी तथा साङ्गीतिक कार्यक्रम” को आयोजना गर्न लागेको छ । विशिष्ट कवि तथा संस्कृतिविद् तुलसी दिवसज्यूलाई “साहित्यवार्ता विशिष्ट स्रष्टा सम्मान” बाट सम्मान गर्न लागिएको छ । साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला सम्मानित हुँदै छन् भने गायक राज सिग्देलको साङ्गीतिक प्रस्तुति रहने छ । नेपालमै एउटा सामान्य कार्यक्रम गर्न त झन्झट छ भने विदेशी भूमिमा यस्तो विशेष र विस्तृत कार्यक्रमको चाँजोपाँजो मिलाउन त झनै कठिन कुरा हो । के कुराले यहाँहरूलाई यस्तो कार्यक्रम गर्न ऊर्जा मिल्यो ?
सर्वप्रथम, प्रिय कवि/पत्रकार जनक कार्कीज्यू अनि साहित्यपोस्टप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
निस्सन्देह ! कार्यक्रम सानो होस या ठुलो, झन्झटिलो अवश्य हुन्छ नै तर झन्झटमै, जोखिममै सार्थक कामहरू हुने भएकाले नै उद्देश्य बोकेर हिँड्नेहरूलाई काम गर्नुको पनि मजा छ । यस्ता अर्थपूर्ण कार्यक्रमको आयोजनामा आनन्द लिइयो भने कहिले झन्झट हुँदैन । झन्झट सम्झियो भने, बोझ सम्झियो भने त गति रोकिहाल्छ । गति रोकिनु भनेको यथास्थितिवादी हुनु रै’छ । जे छ उसैमा रम्नु रमाउनु, केही नयाँ सोचको विकास नहुनु, आँट नआउनु यसका कारक हुन् । र, ऊर्जाको कुरा गर्दा पहिलो कुरो आफैले आफैलाई प्रेरित गर्नुपर्दो रहेछ । विगतमा गरेका केही राम्रा कामहरूको स्मरण गर्ने, अरूका राम्रा कामहरूबाट प्रेरणा लिने ।
परदेशमा सबैभन्दा बढी अभाव समयको हुन्छ । आफ्नो अमूल्य समयलाई व्यवस्थापन गरेर उदाहरणीय कार्यक्रमको तयारीमा हुनुहुन्छ । आर्थिक पक्ष अर्को एउटा तगारो बनिदिन्छ । समय र अर्थलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
पक्कै पनि ! परदेश जानुको अर्का अर्थ मेसिन जस्तो जिन्दगी बाँच्नु रै’छ । व्यस्त जिन्दगीबाट कलाजीवीहरूले झनै मिनेट मिनेटको सदुपयोग गर्नुपर्ने रै’छ । अँ ,, कुरो हुँदै थ्यो आर्थिक पाटोको । कविज्यू ! सत्य भन्नुपर्दा, मैले भन्दा पनि टिमका साथीहरूको जोस, हिम्मत, समर्थन र समर्पणले नै यो कार्यक्रमको आयोजना सम्भव भएको हो । कुरैकुराको सिलसिलामा एकदिन मैले साथीहरूसँग (दीपराज न्योङ-हाङ, डिजी शर्मा, मुना पाख्रिन) कार्यक्रमको योजनाको प्रस्ताव त राखेँ तर म आफैँ अलमलमा परेँ । हाहाहा … ! किनभने मसित युएईमा कार्यक्रम गरेको अनुभव थिएन । तर दीप सर र डिजी भाइले फेरि झकझकाउनु भो, — ‘तपाईँ उभिनुस् मात्र हामी छौँ ।’ वहाँहरूले यति ढाडस दिइसकेपछि के चाहियो ? रित्तिइसकेको गाडीमा इन्धन भरिए झैँ भयो, गाडी हाइवेमा कुदी पो हाल्यो । तर कार्यक्रम सम्पन्न गर्नलाई आर्थिक पाटो अहम् हुनाले हामीले एकेक तलब खन्याउने सहमति भएपछि मात्रै यो कार्यक्रमले मूर्तरूप लिएको हो । त्यसपछि प्रायोजकहरू खोज्यौँ । प्रायोजक खोज्ने कुरामा प्रमुख व्यवस्थापक दीप राज सरजीको अहम् भूमिका छ । त्यसै गरी साथी-शुभचिन्तकहरूसँग सहयोगको प्रस्ताव राख्यौँ । सहयोगी संस्थाहरू सिर्जना वाचन डबली, अन्तर्राष्ट्रिय नेपाली एकता समाज, सगरमाथा साहित्य प्रतिष्ठान, झापाली एकता समाजसँग सहयोगी संस्थाको रूपमा प्रस्ताव राख्यौँ । यसरी सच्चा मनले हामीलाई हौसला दिने, सहयोग गर्नेहरू सबैप्रति हामी कृतज्ञ छौँ ।
कार्यक्रमको उद्देश्य के हो ?
खासमा, युएईबाट हामीले हरेक हप्ताको एकदिन शनिवार साँझ ०८ देखि ०९ सम्म एकजना अतिथिसँग साहित्यवार्ता गर्छौँ । वहाँहरूका सिर्जनात्मक अनुभव-अनुभूतिहरू सुन्छौँ । त्यस्तो उद्देश्य नै भन्नू ठिक होला या नहोला तर पाठक- श्रोताहरू र स्रष्टाहरूको मिलन केन्द्र होस् भन्ने हाम्रो एक सुषुप्त चाहना । मानौँ कि हामी एउटा स्टेज भयौँ, जहाँ स्रष्टाहरू उभिएर आफूलाई सम्प्रेषित गरून् ! नयाँ पिँडीहरू प्रोत्साहित होउन् ! साथै, साहित्यवार्ताको हरेक ५० शृङ्खला पुगिसकेपछि भविष्यमा पनि कुनै एकजना विशिष्ट स्रष्टालाई सम्मानसहित सार्थक साहित्यिक कार्यक्रम गर्न सकौँ ।
यो कार्यक्रमको टिममा कति जनाले कसरी काम गर्दै हुनुहुन्छ ?
साहित्यवार्ता : स्रष्टा र सिर्जना, युएई टिमभित्र प्रत्यक्ष जोडिएका ७ सदस्य छौँ । कार्यक्रम संयोजक म सहित प्रस्तोता कवि डिजी शर्मा, सल्लाहकारमा कवि/गायक दीपराज न्योङहाङ, स्रष्टा परिचय स्वराङ्कनमा गायिका मुना पाख्रिन हुनुहुन्छ । यसै गरी कार्यक्रमको संरक्षकमा, नेपालबाट साहित्यपोस्टका प्रधान सम्पादक एवम् लेखक आश्विनी कोइरालाज्यू , भाषा सम्पादकमा कवि राजेन्द्र तारकिणी र प्राविधिकमा राज सिटौला । यही टिमले भर्खरै साहित्यपोस्टको फेसबुक पेजमार्फत ५० शृङ्खला सम्पन्न गरेको छ ।
विदेशमा काम गरेर चुपचाप बस्न पनि सकिन्थ्यो । आफ्ना सिर्जनाको पुस्तकतिर लगानी पनि गर्न सकिन्थ्यो । तर तपाईँ र तपाईँको टिम लगातार नेपाली साहित्यको श्रीवृद्धिमा लागेको छ । नेपाली साहित्यमा एउटा स्मरणीय योगदान पुर्याउँदै छ । आफैँ मात्र रमाऊ भन्ने सोचभन्दा एकदम माथि उठ्ने सोच कसरी ल्याउन सकिँदो रहेछ ?
अलिकता फराकिलो चिन्तन हुनुपर्छ कि त ! फराकिलो सोच, फराकिलो दृष्टि-चिन्तन हुँदै गयो भने सबै सबै फराकिलो बन्दै जाने हुन् । उद्देश्य, हिँडेको बाटो र पुग्ने गन्तव्य सफा र सुन्दर भयो भने पुग्छ भन्ने लाग्छ । यस्तै यस्तै लाग्छ ।
युएईमा नेपाली साहित्यिक सङ्घसंस्था र लेखकहरूको अवस्था कस्तो देख्नु भएको छ ?
खुसीको कुरा हो कि, नेपाली साहित्यको श्रीवृद्धि युएईमा पनि विभिन्न साहित्यिक संस्थाहरू छन् । सबैले आआफ्नो बर्कतले भ्याएसम्म कामहरू गर्दै आउनुभएको छ । सिर्जना कर्म र नेपाली साहित्यको उत्थानमा लागिरहनुभएको छ ।
प्रवासमा आफ्नो दैनिकी ड्युटी र सारा कामधन्दा सकेर यसरी अलिकता उब्रेको समयलाई सिर्जना कर्ममा लगाउनु अत्यन्तै सुन्दर पक्ष हो । यहाँ सिर्जना वाचन डबली, सगरमाथा साहित्य प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाल समाज लगायत अन्य साहित्यिक सङ्घसंस्था सम्बद्ध साथीहरूको योगदानको कदर गरिनुपर्छ । भोलि कसैले युएई-नेपाली साहित्यबारे खोजी गर्यो भने यी सङ्घ संस्थाहरूको योगदान बिर्सेर पनि भुल्नु हुँदैन । जहाँतक सङ्घसंस्था र प्रवासी लेखकहरूको कुरोमा समर्पण चैँ हुनुपर्छ भन्ने लाग्छ । नाम मात्रको संस्था, नाम मात्रको पद, नाम मात्रैको कलमजीवी भन्दा माथि उठ्न सकिएन भने न सिर्जनात्मक न संस्थागत फड्को मार्न सकिन्छ । संस्था भनेको त एउटा खाली धोद्रा न हो । कर्मवीर माहुरीहरू भएनन् भने धोद्राको के काम ? रानी माहुरी भएन धोद्राको के काम ? आशा गरम युएई नेपाली साहित्य हामी सबैको प्रयासले अझै परिष्कृत हुँदै जानेछ … !
अन्त्यमा एउटा स्वतन्त्र प्रश्न, मन लागेको कुरा भन्नोस् ।
युएई साहित्यमा सम्भवतः पहिलोपटक कोही विशिष्ट कवि तुलसी दिवसजस्तो अत्यन्त सम्मानित, नेपाली साहित्य र संस्कृतिका धरोहर जो आफैँमा राष्ट्रिय/अन्तर्राष्ट्रिय सेलिब्रेटी स्रष्टालाई कार्यक्रममा सम्मान प्रदान गर्न लागिरहेका छौँ, साहित्यवार्ताको गरिमा झन् उँचो भएको आभास गरेको छु । चर्चित लेखक/पत्रकार आश्विनी कोइरालाज्यू, चर्चित गायक राज सिग्देलज्यू, उदीयमान गजलकार इन्दिरा अधिकारी यी सबको संयोजन र युएईभरका स्रष्टाहरूलाई आमन्त्रित गरेर कार्यक्रमलाई बृहत्, ऐतिहासिक र अर्थपूर्ण बनाउने कोसिसमा छौँ । हामी अत्यन्त उत्साहित छौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।