फ्रन्सेली साहित्यकार ह्युगो २६ फ्रब्रुअरी १८०२ मा फ्रान्सको बेसान्कोँ भन्ने ठाउँमा जन्मेका थिए । उनले प्यारिस र अन्य ठाउँहरूमा शिक्षा प्राप्त गरे । उनका पिता सेनापति थिए । बाबुको ठाँटबाँटबाट प्रभावित भई उनले फौजी जीवन व्यतित गर्ने इच्छा राखेता पनि १७ वर्षकै उमेरमा परिस्थितिले उनलाई एउटा साहित्यकार बनायो । उनी एउटा साहित्यिक संस्थाका संस्थापक भए र बिस वर्ष पुग्ने बित्तिकै उनको पहिलो कविता सङ्ग्रह ओदे ए व्यालेद(Odes et Balladas 1822) प्रकाशित भयो । उनका दुई कविता सङ्ग्रह हन द’आइल्याण्ड (Han d’Island) र बग-जार्गल (Bug-jargal) सन् १८२३ र १८२४ मा प्रकाशित भए ।
कवि, उपन्यासकार र नाटककार ह्युगो रोमान्सेली आन्दोलनका एक अग्रणी थिए । सन् १८३१ मा उनको नोतर-दाम द प्यारिस (Notre-Dame de Paris) प्रकाशित भएपछि साहित्यमा उनी स्थापित भए । सन् १९२९ देखि १९४० सम्म उनले कविताका विभिन्न पुस्तकहरू लेखे । उनको बाल्यकालदेखि नै फ्रान्समा सम्राट नेपोलियनको जगजगी थियो । उनी नेपोलियनको कट्टर समर्थक थिए । राजनीतितर्फ ढल्केपछि उनको लेखन कार्यमा केही शिथिलता आएको थियो । नेपोलियनका प्रशंसक भएता पनि १८४० सम्ममा उनी मानवतावादी भैसकेका थिए । उनी विस्तारै गणतन्त्रका पक्षपाती हुँदै गएका थिए । उनका कृतिमा समसामयिक राजनीतिक, सामाजिक तथा कलाको प्रवृत्तिगत विश्लेषण पाइन्छ ।
कू देता (Coup d’etat 1851) प्रकाशित भएपछि उनले देश छोडेर भाग्नु पर्यो । गुएर्नसी भन्ने ठाउँमा निर्वासत भएपछि उनले तिन प्रसिद्ध उपन्यासहरू ले मिजरेबल्स (Les Miserables 1862),ले ट्राभेल्युर्स द ला मे (Les Travailleurs de la mer 1866) र ल’होम क्वी री (L’Home qui rit 1869) लेखे ।
सन् १८७० मा प्यारिस फिरेपछि १८७६ मा उनी सिनेटका सदस्य चुनिए । उनी एक महान र सम्मानित फ्रान्सेली वयक्तित्व मानिन्थे । फ्रान्सको करेन्सी नोटमा समत उनको तस्विर अङ्कित गरिएको थियो । मे २२, १८८५ मा प्यारिसमा ह्युगोको देहान्त भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।