आज हामीसँग भएका रोचक तथा मनमष्तिष्कमा रहन सफल विभिन्न देशी-विदेशी निबन्ध, कथा, कविता, उपन्यास तथा दर्शन पढ्छौँ, बुझ्ने कोसिस गर्छौं र छलफलका लागि प्रयासरत रहन आतुर रहन्छौँ । सम्भवतः धेरै यी लेख तथा रचनाहरू महान् दार्शनिक फ्रेडरिक निचको दर्शनबाट पाएका छौँ भन्ने कुरा सायद भुलेका हुनसक्छौँ।

नेपाली भाषा लगायत विश्वभरिका कयौं भाषाका पढिने लेखिने र मनन गरिने विभिन्न विधाका पुस्तकहरू निचको दर्शन पृष्ठभूमिमा लेखिएका छन् । निचको दार्शनिक पृष्ठभूमि बुझ्नका लागि हामी त्यति टाढा जानु पनि पर्दैन । वि.सं. २०२२ मा मदन पुरस्कार जित्न सफल पारिजात (विष्णुकुमारी वाइवा) को ‘शिरिषको फूल’ पुस्तक नै निचको दर्शनको उपहार हो । हाम्रा नेपाली महान् लेखक भनेर चिनिने महाकवि लक्ष्मीप्रसाद देवकोटाका विभिन्न कविता, उपन्यास, लेख तथा साहित्य तथा वि.सं. २०२४ मा मदन पुरस्कार जित्न सफल शंकर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ लगायतका उनका सबै कृतिहरू निचको दर्शनबाट प्रभावित छन्। कवि शिरोमणि लेखनाथ पौड्यालको काल महिमाजस्ता प्रसिद्ध कविता, महामानव भनेर चिनिने बीपी कोइरालाका ‘तीन घुम्ती’ तथा साहित्यकार बालकृष्ण समका लेखहरूमा निचको दर्शनको छाप पाइन्छ ।

जर्मनीका आम मान्छेबाट फ्रेडरिक निच भनेर चिनिने महान आधुनिक दार्शनिक फ्रेडरिक नित्से सन् १९४४ को अक्टोबर १५ को दिन बिहान १० बजे राजधानी बर्लिनदेखि करिब १६८ किलोमिटर दक्षिणको रकेन शहर Röcken bei Lützen को कृषक समुदाय रहने गरेको Leipzig बस्तीमा जन्मिएका थिए । उनी जन्मिदा निचको घरअगाडि रहेको Kirche Rocken नाम गरेको प्रसिद्ध चर्चमा जोडजोडसँग घण्टी बजिरहेको थियो । संयोगले चर्चमा घण्टी कसैले बजायो या त्यसै दैवीशक्तिले बजेको थियो, स्थानीयहरू भन्दै थिए, ‘यो बालक धेरै भाग्यमानी छ । जिससको चाहानाअनुसार बालक जन्मेको खुशीमा घण्टी बजिरहेको छ । यसरी घण्टी बज्नु भगवानले सम्झेको संकेत हो !’

तर दुनियाँलाई के थाहा, त्यही बालक एक दिन ईश्वरलाई मरेको घोषणा गरेर ईश्वरको उत्तराधिकारी आफैँलाई घोषणा गर्दछन् भनेर !

एक भाइ (जोसेफ निच) र एक बहिनी (एलिजावेथ निच) का दाजु फ्रेडरिक निचका पिताजी (कार्ल लुडविक निच) पादरी थिए। आफ्नो गाउँ समाजमा आइपरेका दुःख-सुखमा काँधमा काँध मिलाएर सहयोग गर्ने सबैका मान्यजन तथा धार्मिक व्यक्तित्वका बाबा र सोझी धार्मिक आमा (फ्रान्जीस्का ओहेलर निच) ले फ्रेडरिक निचलाई पिताजीजस्तै पादरी बनाउन चाहन्थे। दुनियाँको अगाडि फ्रेडरिक निचलाई जिससको भक्त बनाएर जिससकै उत्तराधिकारीजस्तो गराएर भविष्य निर्धारण गरिदिनु धार्मिक बाबाआमाका लागि खुशीको कुरा थियो। सबैलाई भने जस्तो कसलाई पो हुन्छ र ? निच पाँच वर्षको हुँदा उनका भाइको देहान्त भयो । भाइ बितेको केही समयपश्चात निचका बाबा बिरामी परे । बिरामी परेको केही समयपश्चात नै उनी अन्धा हुन पुगे । अन्धो जिन्दगी निकाल्दै गर्दा उनी सिकिस्त बिरामी हुँदै बोल्न र खान पनि नसक्ने अवस्थामा पुगेका बाबाको स्थिति देखेर उनी गहिरो सोचमा परे। निचका बाबा बिस्तारै बिरामीले यसरी जकडिन पुगे कि दिसा लगायत सबै स्याहार गर्नुपर्ने अवस्थामा पुगे । अन्तिममा संसार छोडेर बिदा भए । तड्पी तड्पी मृत्यको मुखमा पुगेका पिताजीको पीडाले निच हैरान भए । सधैँ ईश्वरको सेवा गर्ने, ईश्वर छन्, ईश्वरले हामी सबैको कल्याण गर्छन् भनेर सबैलाई आश्वस्त पार्ने स्वयं पादरीको स्थिति त्यस्तो देखेर निच अति दुःखी हुन पुगे । यी सबै अवस्था देखेर निचको नैतिक प्रश्न ईश्वरमाथि हुन थाल्यो । भएको ईश्वर वा नभएको ईश्वरमाथि निच प्रश्न गर्न थाले ।

निच आफ्नो बाबाको सल्लाहअनुसार पादरी हुन धर्मशास्त्र पढ्न थालेका थिए । धर्मशास्त्र पढ्न त थाले तर पादरी बाबाको पीडादायी मृत्युले उनलाई गम्भिर सोचमा पुर्यायो। के ईश्वर आफ्नै सेवकलाई दुःख दिने गर्दछ ? के ईश्वर सेवा गर्दागर्दै दुःख दिने स्वामी हो ? यथार्थमा ईश्वर को हो ? लेखिएका बाइबल कसले लेखेका हुन् ? के यी बाइबल सत्य हुन् ? सत्य के हो ? यी प्रश्नहरू निचका लागि सधैँका लागि साथी बने ।

नित्सेको जन्म हुँदाका समय तथा हुर्कने समय १८६४/६५ को समय युरोपमा दिनरात गरेर वैज्ञानिक परिवर्तन हुदैथियो । हरेक मान्छे हरेक धार्मिक तथा नैतिक मूल्यका कुरामा प्रश्न राख्न थालेका थिए। यूरोपीय समाज रातदिन युद्धस्तरमा परिवर्तन हुँदै थियो। यस्तो परिवर्तित समयमा साँचो र झुठो के हो भन्ने सम्बन्धमा निचमा गहिरो सोच आउन थाल्यो। यी सबै घटनाक्रमले निचलाई आफ्नो विचार बदल्ने निश्चयमा पुर्याउँदै थियो। धार्मिक पिता र आमाको निर्णयानुसार धर्मशास्त्र पढ्नका लागि भर्ना गरिएका निच परिवर्तनशील तथा बाइबलका बारेमा प्रश्न गर्ने एक जमातको सम्पर्कमा पुगे। बाइबलको आलोचना गर्ने परिवर्तनशील समूहबीच पुग्दा, उनीहरूको विचार सुन्दा, अन्तमा निच धर्मशास्त्रको बदलामा धर्मको उदय र धर्मको इतिहासबारेमा अध्ययन गर्ने निचोडमा पुगे । धर्मको इतिहासबारेमा अध्ययन गर्ने निचोडमा पुगेका निच त्यस दिन देखि चर्च जान छोडदिए । आफ्नै परिवारभित्र इसाइ धर्मको आलोचना गर्न थाले । भन्न थाले, हामी धर्मको गुलाम बन्न पुगेका छौँ, हामी धर्मदेखि स्वतन्त्र हुनु पर्दछ, त्यो समय धर्मको विरूद्धमा यस्तो नकारात्मक भनाई राख्नु एकदम अमर्यादित, अनैतिक तथा समाज विरोधीका रूपमा लिइन्थ्यो। निचको यो निर्णयबाट आमा दुःखी हुन पुगिन् । किनकि आमा अति सोझी र धार्मिक प्रवृत्तिकी थिइन् । निच आफ्नी आमाको मन दुखाइबाट कत्ति पनि विचलित भएनन् । निचकै शब्दबाट भन्नुपर्दा त्यस दिन निच सत्यमा पुगेका थिए । आफूभित्र पुग्दै थिए र उनी व्यक्तिवादी हुँदै थिए । उनी चाँडै नै घोषणा गर्नेवाला थिए कि ईश्वरको मृत्यु भैसक्यो । मरेको ईश्वरको रगतले निचको हात लतपथ भएको छ ! अबदेखि ईश्वरको उत्तराधिकारी आफैँलाई घोषणा गर्दै थिए ।

निचको जन्मस्थान रकेन बस्ती प्रकृतिले सुन्दर ठाउँ स्वर्गीय थियो । उनको पारिवारिक पृष्ठभूमि धार्मिक भएकाले ओजस्वी जीवनशैली थियो । पिताजी र भाइको मृत्यु भएता पनि पादरीको छोराको हैसियतले पादरी भै जिन्दगी चलाउन उनलाई कुनै गाह्रो थिएन। पादरीका हैसियतले बाहिरी आवरण जस्तो देखिएता पनि भित्री मोजमस्ती र ऐयासका लागि कसैलाई गुहार्नु पर्ने थिएन। जसरी गौतम बुद्धको जीवनीमा गौतम बुद्धको आफ्नै ऐयासी उनलाई मन परेको थिएन, त्यस्तै गरि निच आफ्नो जिन्दगीको सत्यता र मानवीय जीवनको सत्य खोज्नका लागि फरक किसिमको जिन्दगीको तलाशको निचोडमा पुगेका थिए। गौतम बुद्ध दरबार छोडेका थिए तर निचले भिडलाई छोडेका थिए । गौतम बुद्ध एक्लै निस्किएर शान्तिका खोजीमा निस्किएका थिए भने निच सबैको बीचमा रहेर अलग थिए । निच सबैको बीचमा रहेर पनि फरक र महान् जिन्दगी जिउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने प्रणमा थिए ।

समाजिक मूल्य मान्यता जति कट्टर भएता पनि सत्य भनेको सत्य नै हुन्छ । निच पढ्दै गए । सत्यको पक्षमा लेख्दै गए । कला, साहित्य तथा दर्शनमा रमाउँदै गए । कला, साहित्य, दर्शन तथा इतिहासको अध्ययनपछि बसेल विश्वविद्यालयमा प्राध्यापकका लागि आमन्त्रित निचले सोही विश्वविद्यालयबाट दर्शन विषयमा डक्ट्रेट हुन सफल भएका भए । यथार्थ जिन्दगीको परिचय आफैँबाट मात्र पाइन्छ । त्यसका लागि स्वअध्ययन र विशेष अध्ययनको जरूरी हुन्छ भन्ने निच कहिले पनि उनको जिन्दगीको व्यवधानबाट विचलित भएनन् ।

आफ्ना पिताजीको दुखद् निधनबाट विशेष प्रभावित निच ईश्वरप्रति प्रश्न गर्दै हालसम्म भएका खोज तथा लेखिएका दस्तावेजमार्फत पश्चिमा दर्शन अन्तर्गत सुकरात, एरिस्टोटल, प्लेटो, रूसोजस्ता दार्शनिकहरू पढ्दै अगाडि बढे । निचलाई जर्मनीका लेखक अर्थर सोफेनहावरको प्रसिद्ध पुस्तक The World as Will and Idea ले विशेष प्रभाव पारेको थियो। यस पुस्तक अध्ययनबाट निच अस्तित्ववादितामा अग्रसर हुन पुगेको देखिन्छ । निचका नजिकका साथीहरूमध्ये रिचर्ड वागनर, पाउल री, लु आन्द्रया सालोमी, सिगमण्ड फ्रायड, रेनर मारिया लिर्के जस्ता व्यक्तित्व बीच आफ्ना दर्शन अगाडि बढाएका थिए ।