नुवाकोटको धर्तीमा पहिलोपटक स्पर्श गरेकी जया ओझा  विविध क्षेत्रमा क्रियाशील छिन् । शिक्षण, कानुन व्यवसायी, फिल्म लेखन, गीत लेखनमा सक्रिय छिन् ।   `आवरण´, `अनुराग´ र हालसालै विमोचन भएको `रुमानी´ गरेर हालसम्म उनले तीनवटा उपन्यास प्रकाशनमा ल्याइसकेकी छिन् । पुस्तक वार्तामा जया ओझासँग उनको नयाँ उपन्यासमा केन्द्रित रहेर कुराकानी गरेका छौँ ।

तेस्रो उपन्यासको रूपमा ‘रुमानी’ लिएर आउनुभएको छ । रुमानीमा पाठकलाई कस्तो शृङ्गारी कोसेली बोकेर आएको छ र ?

उपन्यासमा लैङ्गिक र यौनिक सन्दर्भको उठानसँगै प्रेमका आरोह,अवरोह र मानवीय व्यवहार छन्, लैङ्गिक , वर्गीय , जातीय जस्ता विभेदपूर्ण समाजको संरचना भत्काउनका लागि पात्रहरूले  गर्नु परेको सङ्घर्षको कथा छ । प्रेम, विद्रोह,  सङ्घर्ष र सम्बन्धहरूमा आएको प्रेमका मीठा, तीता भावहरू छन्  ।

 

पुरुषार्थको भाष्यले स्वयं पुरुषहरूलाई नै हानी भएको छ भनेर भारतीय महिला अधिकारकर्मी कमला भसीनले भनेकी छिन् । यहाँले पनि उपन्यासमा यसै विषयलाई उठान गर्नुभएको छ । अलिकति तन्काएर भन्दिनु न कसरी पुरुषार्थको संस्कृतिले पुरुषहरू स्वयं कमजोर बनेका छन् र ?

पुरुषार्थको भाष्यले स्वयं पुरुषहरूलाई नै हानी भएको छ । यो सत्य हो । सत्ता, शक्ति र शासन परुषकै भएको हुँदा कतिपय  पुरुषहरूमाथि यी सबै कुरा अभिश्राप भएका छन् । पुरुषले आफूभन्दा जेठी केटी बिहे गर्न नहुने, आफूभन्दा पढेलेखेकी र धेरै कमाउने बिहे गर्न नुहुने, पत्नीको कमाइ खान नुहुने, पत्नी, सन्तान, बुुबाआमा, घर परिवारको जिम्मा पुरुषले नै लिनुपर्ने, मागेर हुन्छ कि चोरेर हुन्छ कि विदेशी भूमिमा पसिना बगाएर हुन्छ कि जसरी पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने, कसैको अगाडि रुन नुहुने, समाज, घरपरिवारको इज्जत पुरुषको चाहिँ काँधमा राखेको छ रे । यस्तै संस्कारले गर्दा पुरुषहरू महिलाभन्दा ज्यादा हिँसामा छन् ।

 

सर्वेक्षणअनुसार ७० प्रतिशत महिलाले यौनजन्य क्रियाकलापमा अर्गाजमको  सुख प्राप्त गर्न सकिरहेका हुँदैनन् । पुरुषप्रधान समाजको उपजले नै हो महिला आफ्नो यौन सुखको बारेमा खुलेर बताउन सक्दैनन् । यहाँले आफ्नो उपन्यासमा खुलेर यौनका विषयमा कुरा गर्ने महिला पात्र निर्माण गर्नुभएको छ । महिलाको यौन सुखको विषयमा  यो समाज किन चुप छ ?

किनकि महिलालाई पहिलेदेखि नै हाम्रो समाजले ‘असल महिला’ र ‘खराब महिला’ भनेर एउटा सीमारेखा कोरी दिएको छ । लोग्नेलाई जुठो खुवाउनु हुँदैन । लोग्नेलाई नामले बोलाउनु हुँदैन । लोग्नेलाई तिमी भन्नु हुँदैन । केटी मान्छे भएपछि लजाउनु पर्छ । सेक्सको कुरा गर्नु हुँदैन । लोग्नेले सेक्स गर्न चाहेको बेलामा तयार हुनुपर्छ । आफूलाई मन लागे पनि भन्नुहुन्न । छाडा भइन्छ, समाज, घरपरिवारको इज्जत नै नारीको योनीमा राखेको छ रे आदि आदि । अनि समाज नै यही मानसिकतामा छन् भने किन बोल्छन्, कस्लाई बोल्छन् र कसरी बोल्छन् । बोलिहाले पनि अर्काको चलिबेटीमाथि अपशब्द बोल्छन् ।

 

उपन्यासको रचना गर्भको कथा सुनाउनोस् न ?

मैले धेरै महिला साथीहरूसँग यौनबारे कुरा गरेकी छु । एकजना साथीले मलाई सुनाएकी थिइन्, किस नगरी सेक्स हुन्छ भनेर । चलचित्रका यस्ता सिनहरू हेर्दा सबैमा किसबाट सुरु भएको देखिन्थ्यो । वास्तविक जीवनमा किन भएन त ? म अचम्म परेँ । किस नभई सेक्स कसरी ? मैले यही नै जिज्ञासा राखेकी थिएँ । उनले बताएकी थिइन् । त्यो रुल हैन, किस गर्नै पर्छ भन्ने छैन ।

स्वास्थ्य सम्बन्धी लेखहरू र अन्तर्वार्तामा अर्गाजमको कुरा सुनेकी थिएँ । यसको बारे चासो पनि राखेकी थिएँ । कतिलाई यो थाहा रहेनछ । पछि मैले यसको अध्ययन गरेँ । यसैलाई आधार बनाएर एउटा निडर पात्रलाई उपस्थित गराई उपन्यासको विषय बनाएँ । यो उपन्यास सोचेको जस्तै भयो ।

 

कुनै पनि विषयवस्तुलाई लेख्न स्वयं भुक्तभोगी वा अनुभव बटुल्न आवश्यक छ वा समाज पढेर पनि लेख्न सकिन्छ ?

पुरुष लेखकले सुत्केरी व्यथा लागेको पनि लेखेका छन् ।  बिधुवा हुनुको पीडा नि लेखेका छन् । महिला लेखकले पुरुषको भावना पनि लेखेका छन् ।  लेखकहरूले आत्माहरूको कथा पनि लेखेका छन् । सबै अनुभव मात्रै लेख्छन् भन्ने म पटक्कै विश्वास गर्दिनँ । वास्तवमा लेखकले लेख्ने आफ्नो आत्म कथा मात्रै हो । सबैका आत्मकथाको उपन्यास, कथा भनिरहने खालका हुँदैनन् । त्यसैले लेखकले अरूको कथा लेखिदिन्छ । समाजको कथा लेख्छ ।

 

यो उपन्यास लेख्नलाई यहाँले कस्तो किसिमको रिसर्च गर्नुभयो ?

आवश्यक पर्ने सबै किसिमको गरेको छु । डाक्टरहरूसँग स्वास्थ्य सम्बन्धी अन्तरवार्ता लिएकी छु । पाइलटसँग केही टेक्निकल विषयमा सहयोग लिएकी छु । कानुनको बारेमा म आफैँ विद्यार्थी भएँ । पुरुष र उनीहरूको यौन मनोविज्ञानको बारेमा धेरै पुरुष साथीहरूलाई सोधेकी छु । महिलाको यौन विज्ञानका बारेमा महिलाहरूसँग अन्तर्वार्ता लिएकी छु । भाषाको लागि पनि सहयोग लिएकी छु । अनुसन्धानबिना त केही पनि त सम्भव छैन जस्तो लाग्छ ।

 

यहाँलाई लेख्नको लागि कुन समय बढी उपयुक्त लाग्छ ?

म त जुनसुकै बेलामा लेख्न सक्छु । रातभरि पनि लेख्न सक्छु र दिनभरि पनि लेख्न सक्छु । एक महिनासम्म पनि लेखिरहन सक्छु । दुःखको कुरा लेख्ने समय नै छैन आजकल ।

 

लेखक आफूले लेखेको पात्रको जीवन पनि बाँचिरहेको हुन्छ । यहाँलाई आफ्ना पात्रहरूले कत्तिको ह्याङओभर बनाउँछ ?

अनुराग उपन्यास लेख्दा मलाई डिप्रेसन भएको थियो । मलाई त्यो मिस्री पात्रको ह्याङओभर लगभग ४ वर्ष जति नै भयो होला । यदि यो रुमानीकी हेभेन नलेखेकी भए सायद म अझै डिप्रेसनमा हुन्थेँ होला । त्यो पात्र मेरो मुटुमा गडेको छ । आज पनि उसलाई सम्झिदा बरर आँसु झर्छ ।

 

पछिल्लो पटक यहाँले पढेर एकदम मन पराएको कुनै पुस्तक छ ?

खासै आजकल पढ्ने पनि टाइम छैन । टाइम निकालेर पढ्न बस्छु । तीन चार पेज पढेपछि अगाडि बढ्नै सक्दिनँ । जबरजस्ती पढ्छु, खासै कुनै किताबले मनै छुँदैन ।  मलाई साह्रै मन परेको र पढिसकेपछि एकदमै च्व ! र थक्क थक्क लागिरहने एउटा कथा छ, अशोक थापाको सन्तापको धुनुभित्र रहेको छ, डढुवाई बुढी शीर्षकमा ।

 

केही छुट्यो कि ?

छैन हजुर । धेरै धेरै धन्यवाद।