केटो अखबार पढ्दै थियो र उनीहरूको कुरा सुनिरहेको छैन जस्तो लाग्थ्यो, तर ऊ बिचबिचमा आमाको अनुहार हेर्ने गर्थ्यो । आमालाई उसका चम्किला आँखा धेरै मन परे, त्यसैले उनी पनि उसतिर हेरेर मुस्कुराइदिन्थिन् । निकोलाइबारे कुरा गर्दा लुद्मिलाको हृदयमा कुनै वेदना थिएन, आमालाई यो कुरा स्वाभाविकै लाग्यो । समय एकदमै छिटो बग्न थाल्यो । बिहानको खाजा खाइसक्दा मध्याह्न भैसकेको थियो ।

“ओहो, अबेला भैसकेछ !” – लुद्मिलाले भनिन् ।

यत्तिकैमा कसैले हडबडाउँदै ढोका घचघच्याएको आवाज सुनियो । केटो उठ्यो र आँखीभौँ खुम्च्याउँदै लुद्मिलातिर प्रश्न सूचक दृष्टिले हे¥यो ।

“खोलिदेऊ सेर्गेइ ! को होला हँ ?” – लुद्मिलाले बडो शान्त भावले आफ्नो पोसाकको खल्तीभित्र हात पसालिन् र आमालाई भनिन् –

“केही भएर पुलिस आएको रहेछ भने पेलागेया निलोभ्ना, तपाई त्यो कुनामा उभिनुहोला र सेर्गेइ तिमीचाहिँ … ।”

“मलाई थाहा छ !” – केटाले बाहिर निस्कँदै भन्यो ।

आमा मुस्कुराइन् । यी सबै तयारी देखेर उनी कुनै हडबडाहट अनुभव गरिरहेकी थिइनन् – कुनै विपद् आउँदै छ जस्तो लागिरहेको थिएन उनलाई ।

आगन्तुक त्यही होचो कदको डाक्टर थियो ।

“सबैभन्दा पहिलो कुरा त हो, निकोलाइ गिरफ्तार भयो ।” – ऊ छिटो छिटो भन्दै थियो – “ए, निलोभ्ना ! तपाई पनि यहीँ हुनुहुँदो रहेछ ? गिरफ्तारीका बेला तपाई त्यहाँ हुनुहुन्थिएन ?”

“उसले मलाई यता पठाइदियो ।”

“हुँ ! मलाई लाग्छ, यसले काम चल्दैन !… अर्को कुरा के हो भने हिजो राती युवकहरूले भाषणको पाँच सयप्रति साइक्लोस्टाइज गरेर छापेका छन् । नराम्रो छपाइ छैन । सफा, स्पष्ट छ । उनीहरू यी पर्चाहरू आज राती सहरमा बाँड्न चाहन्छन् । म यस कुराको विरोधी छु । मलाई लाग्छ, सहरमा चाहिँ छापिएकै प्रतिहरू बाँडे बेस होला र यी प्रतिहरू कतै अर्कै ठाउँमा पठाउनुपर्ला ।”

“त्यसो भए म यिनै प्रतिहरू लिएर नातासा कहाँ जान्छु !” – आमाले उत्सुकतापूर्वक भनिन् – “दिनोस् मलाई !”
आमा पाभेलको भाषण सकेसम्म छिटो बाँड्न, आफ्नो छोराका शब्दहरूलाई सम्पूर्ण पृथ्वीभरि फैलाउन तत्पर थिइन् । उत्तरको प्रतीक्षामा उनले बडो विनयपूर्ण दृष्टिले डाक्टरको अनुहारमा हेरिन् ।

“खोइ थाहा छैन, अहिले तपाईँले यो काम गर्नु ठिक पर्ला कि पर्दैन !” – डाक्टरले आफ्नो घडी निकालेर हेर्‍यो र अनकनाउँदै भन्यो – “अहिले बाह्र बज्न सत्र मिनेट बाँकी छ । दुई पाँचमा एउटा ट्रेन जाँदै छ । त्यो ट्रेन सवा पाँच बजे त्यहाँ पुग्नेछ । भर्खर साँझ पर्न थालेको हुन्छ, त्यति अबेला भैसकेको हुँदैन । तर मुख्य कुरा यो होइन … ।”

“होइन, यो मुख्य कुरा होइन !” – लुद्मिलाले आँखीभौँ तन्काउँदै भनिन् ।

“त्यसो भए मुख्य कुरा के हो त ?” – आमाले उनको नजिक सर्दै भनिन् – “राम्ररी काम सिद्ध्याउनु नै मुख्य कुरा होइन र … ।”

लुद्मिलाले आमालाई ध्यानपूर्वक हेरिन्, मानौँ उनको अनुहारमा केही कुरा खोज्दै छिन् ।

“तपाईँका लागि यो काम खतरनाक छ … ।” – लुद्मिलाले निधार पुछ्दै भनिन् ।

“किन र ?” – आमाले हडबडाउँदै सोधिन् ।

“कारण के हो भने … ।“ – डाक्टरले छिटो छिटो र अलि अलमलिँदै भन्यो – “निकोलाइ गिरफ्तार हुनुभन्दा ठिक एक घण्टाअगाडि तपाई घरबाट निस्कनुभएको थियो । तपाई त्यस कारखानामा जानुभएको थियो, जहाँ मान्छेहरू तपाईँलाई नातासाकी काकीका रूपमा चिन्छन् । तपाईँको आगमनपछि तुरुन्तै कारखानामा गैर कानुनी पर्चाहरू देखा परे । यी सबै कुरा तपाईँको घाँटीमा फन्दा कस्न प्रशस्त प्रमाण हुन् ।”

“मलाई कसैले देख्ने छैन !” – आमाले हडबडाउँदै उनीहरूलाई विश्वास दिलाउने कोसिस गरिन् – “फर्किसकेपछि केही भएर समातेर सोधे भनुँला … ।” – उनी एक सेकेन्ड चुप लागिन् ।

“मलाई थाहा छ के भन्नुपर्छ !” – उनले जोडले भनिन् – “म त्यहाँबाट सिधा बस्तीतिर लाग्छु । त्यहाँ मेरो एक जना साथी छ, सिजोभ हो उसको नाम । म भनुँला मुद्दा सकिएपछि म सिधा उसको घर गएँ । भन्छु, दुःखसुख बाँडचुँड गर्न गएकी, उसको पनि भतिजो निर्वासित भएको छ । उसले पनि त्यही कुरा भन्नेछ, ठिक छैन त ?”

उनीहरू सहमत हुँदै छन् भन्ने देखेर आमाले अझ जोडले उनीहरूलाई विश्वास दिलाउन थालिन् र अन्त्यमा उनीहरू राजी भए ।

“लौ हुन्छ, लिएर जानोस् !” – डाक्टरले अनिच्छापूर्वक भन्यो ।

लुद्मिलाले केही भनिनन्, उनी खालि विचार मग्न भएर कोठामा ओहोरदोहोर गरिरहिन् । उनको अनुहार ओइलाएको थियो । उनको गर्दनको मसल तन्किएको देख्दा यस्तो भान हुन्थ्यो, मानौँ आफ्नो टाउको नढल्कोस् भन्नाखातिर उनलाई निकै मेहनत गर्नु परिरहेको छ । आमाले बुझिन्, लुद्मिला पिर मान्दै छिन् ।

“तपाईँहरू बेकारमा मेरा लागि पिर गर्दै हुनुहुन्छ !” – आमाले मुस्कुराउँदै भनिन् – “आफूबारे चाहिँ केही चिन्ता गर्नुहुन्न … ।”

“किन नगर्नु र !” – डाक्टरले जवाफ दियो – “होइन, हामी आफूबारे पनि चिन्ता गर्छौ, नगरी हुन्न ! जो मान्छे बेकारमा आफ्नो शक्ति खेर फाल्छ, उसप्रति हामी एकदम कडा व्यवहार गर्छौ । लौ ठिक छ, त्यसो भए भाषणका प्रतिहरू तपाईँले स्टेसनमा पाउनुहुनेछ ।”

उसले आमालाई सबै कुरा बुझाइदियो, कसरी कहाँ उनले ती पर्चाहरू पाउनेछिन् र त्यसपछि उनको अनुहारमा हेर्दै भन्यो –

“लौ त, म तपाईँलाई सफलताको कामना गर्छु !”

तर बाहिर निस्कँदा ऊ अझै पनि कुनै कुराबाट असन्तुष्ट देखिन्थ्यो । लुन्मिला आमा उभिएनेर आइन् ।

“म बुझ्छु … ।” – आमाले भनिन् ।

आमाको हात समातेर उनी बिस्तारै कोठामा ओहोरदोहोर गर्न थालिन् ।

“मेरो पनि छोरो छ । अहिले ऊ तेह्र वर्षको भैसकेको छ । आफ्ना बुबासँग बस्छ । मेरो लोग्ने सहायक सरकारी अभियोक्ता छ, छोरो उसैसँग बस्छ । म अक्सर सोच्छु, कस्तो होला उसको भविष्य … ?”
उनको स्वर काँप्यो ।

“ऊ एक त्यस्तो व्यक्तिको तालिममा परेको छ, जो ती व्यक्तिहरूको कट्टर शत्रु हो, जसलाई म प्रेम गर्छु, जसलाई म विश्वका उत्कृष्ट मानवहरू ठान्छु । छोरो मेरो शत्रुका रूपमा हुर्किन सक्छ । ऊ मसँग बस्न सक्दैन, म आफ्नो नाम बदलेर बसेकी छु । आठ वर्ष भयो मैले आफ्नो छोरालाई नदेखेको, आठ वर्ष ! कति लामो अवधि त !”
झ्यालअगाडि उभिँदै उनले बाहिर फिका, शून्य आकाशतिर हेरिन् ।

“यदि ऊ मसँग भैदिएको भए म आफूलाई बढी शक्तिशाली अनुभव गर्थे । मेरो हृदयमा यो निरन्तर पीडा हुँदैनथ्यो… बरु मरिदिएको भए पनि मलाई यति पिर पर्दैनथ्यो होला … ।”

“बिचरी, मेरी प्यारी !” – आमाले लामो सुस्केरा हाल्दै भनिन् । उनको हृदय वेदनाले फुट्ला जस्तो भयो ।

“तपाई कति भाग्यमानी त !” – लुद्मिलाले एक कटु मुस्कुराहटसहित अस्पष्ट स्वरमा भनिन् – “आमा र छोरा काँधमा काँध मिलाएर सँगसँगै हिँड्नु कति शानदार कुरा हो । यस्तो कुरा कमै हुन्छ !”

“हो, साँच्ची गजब सानदार कुरा हो !” – पेलागेयाले एक्कासि भनिन् र आफ्नो कुरामा उनी आफैँलाई आश्चर्य लाग्न थाल्यो । फेरि स्वर सानो पार्दै यसरी बोल्न थालिन्, मानौँ उनी कुनै भेद खोल्दै छिन् – “फेरि तपाईँहरू सबै, तपाई, निकोलाइ इभानोभिच र ती सबै जो सच्चाइको बाटामा हिँड्दै छन्, एक–दोस्राको काँधमा काँध मिलाएर हिँड्दै छन् । अचानक मेरा लागि सबै मानिसहरू प्रिय भइदिए । म अब सबैलाई बुझ्छु । तपाईँहरूका भाषणहरू त म राम्ररी बुझ्दिनँ तर अरू सबै कुरा राम्ररी बुझ्छु !”

“हो, तपाईँले ठिक भन्नुभो !” – लुद्मिलाले अस्पष्ट स्वरमा भनिन् – “हो, ठिक भन्नुभो … ।”
आमा लुद्मिलाको छातीमा हात राखेर यति बिस्तारै बोल्दै थिइन्, मानौँ उनी जे जति पनि भन्दै थिइन्, सबै कुरा आफ्ना कल्पना चक्षुले देख्दै छिन् ।

“हाम्रा केटाकेटीहरू विश्वासमा निरन्तर अगाडि बढ्दै छन् ! मैले बुझेअनुसार उनीहरू यस संसारमा, सम्पूर्ण विश्वभरि नै, जताततै एउटै उद्देश्य लिएर अगाडि बढिरहेका छन् । जसको हृदय सबैभन्दा निर्मल छ, जसको मस्तिष्क सबैभन्दा श्रेष्ठ छ, उनीहरू नै पापको विरुद्ध सङ्घर्ष गर्दै छन् र आफ्ना शक्तिशाली खुट्टाले झूट र धोकालाई कुलचँदैछन् । उनीहरू युवा छन् र स्वस्थ छन् । उनीहरूको समस्त शक्ति एकै उद्देश्यप्रति निर्देशित छ – न्याय प्राप्त गर्नु । उनीहरू मानव वेदना भेट्न, पृथ्वीबाट विपद्को नामनिसान हटाउन र कुरूपतामाथि विजय प्राप्त गर्न मैदानमा उत्रेका छन् – उनीहरूको विजय अवश्यम्भावी छ ! कसले हो मलाई भनेको थियो, उनीहरू नयाँ सूर्यको उदय गराउन निस्केका छन् र उनीहरूले त्यो सूर्यको उदय गराइछाड्ने छन् । उनीहरू फुटेको हृदय जोड्न निस्केका हुन् र उनीहरूले जोडिछाड्ने छन् !”

आमालाई आफूले बिर्सिसकेका त्यस प्रार्थनाका याद आयो, जुन उनको हृदयमा फैलँदै थियो र एक नयाँ विश्वासको ज्योति जगमगाउँदै थियो ।

“हाम्रा केटाकेटीहरू सच्चाइ र न्यायको बाटामा अगाडि बढ्दै छन्, मानिसहरूको हृदयमा एक नयाँ प्रेमको सञ्चार गर्दै छन्, उनीहरूलाई एक एक नयाँ स्वर्गको बाटो देखाउँदै छन् र पृथ्वीलाई एक नयाँ जीवनको उदय हुनेछ र यो जीवन समस्त मानव जातिप्रति हाम्रा केटाकेटीहरूको प्रेमले पैदा गर्नेछ । यो प्रेमको ज्योति कसले निभाउन सक्छ ? कसले सक्छ ? कुन शक्तिले यसलाई नष्ट पार्न सक्छ ? कुन शक्तिले यसको सामना गर्न सक्छ ? यस प्रेमलाई पृथ्वीले जन्माएको हो र स्वयम् जीवन यसको विजयका लागि उत्सुक छ – स्वयम् जीवन !”

भावावेशको उद्वेगमा आमाको शक्ति घट्दै थियो र उनी लामो लामो सास फेर्दै एक ठाउँमा गएर बसिन् । लुद्मिला पनि चुपचाप बडो सतर्कतापूर्वक कदम चाल्दै बिस्तारै त्यहाँबाट हटिन्, मानौँ उनलाई कुनै चीज फुट्ला भन्ने डर थियो । उनी बिस्तारै कोठामा ओहोरदोहोर गर्दै थिइन् र आफ्ना निस्तेज आँखाले अगाडिको शून्यतातिर एकटकले हेर्दै थिइन् । यस्तो लाग्थ्यो, उनी अझ अग्ली भइन् र शरीर अझ बढी तन्किएर बढी कोमल देखिन थालिन् । उनको दुब्लो पातलो कठोर अनुहारमा गहन चिन्ताको छाप थियो र हडबडाहटले गर्दा उनले आफ्नो ओठ टम्म बन्द गरेकी थिइन् । कोठाको निस्तब्धताले आमालाई छिटै शान्त पार्‍यो ।

“मैले कुनै नराम्रो कुरा त गरिनँ ?” – लुद्मिलाको चिन्तित अनुहार देखेर आमाले बिस्तारै याचनापूर्ण स्वरमा भनिन् ।
लुद्मिलाले फनक्क फर्केर हेरिन् । यस्तो लाग्यो, मानौँ उनी कुनै कुरा देखेर तर्सेकी छिन् । अनि यसरी आमातिर हात फैलाएर छिटो छिटो बोल्न थालिन्, मानौँ उनी कुनै कुरा रोक्न चाहन्छिन् ।

“होइन, होइन ! तपाईँले जे जति भन्नुभो सबै ठिक छ ! त्यसै रहोस् ! तर भैहाल्यो, अब हामी यो कुरा नगरौँ । जे जति तपाईँले भन्नुभो सबै त्यस्तै रहोस् !” – त्यसपछि अझ शान्त स्वरमा भनिन् – “अब तपाईँले हिँड्ने तरखर गर्न थाल्नुभए हुन्छ, धेरै टाढा पुग्नु छ !”

“हो छिटै हिँड्नु छ ! तपाईँलाई थाहा छैन, मलाई कति खुसी लागिरहेछ ! मान्छेहरूकहाँ आफ्नो छोराले, आफ्नै रगत मासुले बोलेको भाषण लिएर जान पाउँदा मलाई कति खुसी लागिरहेको छ ! यस्तो लाग्दै छ, मानौँ म आफ्नै आत्मा बाँड्न जाँदै छु ।”
यति भनेर आमा मुस्कुराइन्, तर लुद्मिलाको अनुहारमा उनको यस मुस्कुराहटको एक हलुका प्रतिबिम्ब मात्र देखा पर्‍यो । आमालाई लाग्यो, यस आइमाईको संयमले उनको उल्लास कम पार्दै छ र अचानक आमालाई आफ्नो आत्माको सम्पूर्ण ज्वाला लुद्मिलाको कठोर आत्माभित्र पोखिदिने र हर्षको आँधी उर्लिरहेको आफ्नो हृदयप्रति उनको सद्भावना पैदा गर्ने उत्कट इच्छा भयो । उनले लुद्मिलाको दुवै हात आफ्नो हातले बेस्सरी समाउँदै भनिन् –

“प्रिय बहिनी ! यो थाहा पाउँदा कति खुसी लाग्छ भने एक त्यस्तो ज्योति छ, जसले संसारभरका मानिसहरूलाई बाटो देखाउँदै छ । एक दिन त्यस्तो पनि आउनेछ, जब सबै मान्छेहरूले यो ज्योति देख्नेछन् र सच्चा हृदयले यसको अनुसरण गर्नेछन् ।”
आमाको त्यो फराकिलो उदास अनुहारमा कम्पनको एक लहर फैलियो, उनका आँखा चम्कन थाले र यसरी आँखीभौँ फड्कन थाले, मानौँ आँखाको चमक पखेटा लाएर उड्दै छ । उनको दिमागमा उनै महान् विचारहरू घुम्दै थिए, जसमा उनले आफ्नो समस्त आत्मा, आफ्नो सम्पूर्ण अनुभव र सारा वेदना पोखिदिएकी थिइन् । उनी आफ्ना यी विचारहरूको सारतत्वलाई शब्दहरूका कठोर चम्किला स्फटिकहरूमा ढाल्न सफल भएकी थिइन्, जुन उनको शरद्कालीन सन्ध्याजस्तो निर्जन हृदयमा आएर आफ्नो सङ्ख्या बढाउँदै थिए, वसन्तकालीन सूर्यको जस्तो सृजनात्मक शक्तिले आलोकित पार्दै उत्तरोत्तर बढ्दो त्यो ज्योति प्रदिप्तमान हुँदै थियो ।

“यस्तो लाग्छ, मानौँ मानव मात्रका लागि एक नयाँ ईश्वरको जन्म भएको छ । हरेक कुरा सबैका लागि, सबै सबका लागि ! मेरो समझदारीमा तपाईँहरू साथी हुनुहुन्छ, तपाईँहरू सबै एउटै रगतको नाताले बाँधिनुभएको छ, सबै आफन्तहरू सबै एउटै आमाका, सत्यका सन्तान !”

उनी फेरि भावनाको लहरमा पौडन थालिन् । उनी एक छिन थामिइन् र लामो सास फेर्दै आफ्नो हात फैलाइन् र फेरि भन्न थालिन् –

“जब म आफ्नो हृदयमा यो ‘कमरेड’ शब्द दोहोर्‍याउँछु, तब म साँच्ची आफ्नो हृदयमा साथीहरूको पदचाप सुन्न थाल्छु !”
आमाले जे चाहेकी थिइन्, त्यस कुरामा सफल भइन् । लुद्मिलाको अनुहार आश्चर्यजनक रूपले उज्यालो भयो, उनका ओठ काँप्न थाले र आँसुका ठुलठुला थोपाहरू गालमा झर्न थाले ।

आमाले जोडले उनलाई अँगालो मारिन् र अति कोमलतापूर्वक मुस्कुराइन् । आफ्नो हृदयको यस विजयमा उनी एक मधुर आनन्द अनुभव गर्दै थिइन् ।

जब उनीहरू एक–दोस्रासँग बिदा भए, लुद्मिलाले आमाको अनुहारमा हेर्दै बिस्तारै सोधिन् –

“तपाईँको सङ्गत गर्दा मान्छे कति सुखी हुँदो रहेछ भन्ने कुरा तपाईँलाई थाहा छ ?”