बुकर पुरस्कारको जब जब लामो सूची जारी हुन्छ, त्यसपछि मुलुकभरि नै एउटा बहस जन्मन्छ कि आधुनिक बेलायती साहित्यलाई के भइरहेको छ ? गएको मंगलबार बुकर पुरस्कारले लामो सूची जारी गर्दा त्यस सूचीमा चार जना आइरिस लेखकहरू परेका छन् । लेखकहरू त अन्यत्र पनि छन्, अरू पनि पर्नुपर्ने हो तर आइरिसहरू सूचीमा बढी नै परिरहेका छैनन् र ?

सूचीमा हुनेहरूमध्ये द बि स्टिङका लागि पल मरे, हाउ टु बिल्ड अ बोटका लागि एलाइन फिनी, ओल्ड गड्स टाइमका लागि सेबस्टियन बरी र प्रोफेट सङका लागि पल लिन्च सूचीमा परेका छन् । उत्कृष्ट १३ मा यी नाउँ अर्को सूचीमा नपर्न पनि सक्छन् । त्यसो त एन एनराइट, क्लेयर किलरोय, मेगन नोलन र पहिलो कृति निकाल्ने माइकल म्यागीका पुस्तक पनि उत्तिकै प्रभावशाली थिए तर सूचीमा अटाएनन् । किनभने, ती पनि थपिएका भए यो पुरस्कार अंग्रेजी साहित्यको प्रतिस्पर्धा भन्दा पनि आइरिस साहित्यको प्रतिस्पर्धामा परिणत हुने थियो । निर्णायकहरूले तिनीहरूमाथि अन्याय गरे पनि सूचीमा छाँटिदै गएका बेलायती लेखकहरू देख्दा साहित्यप्रेमीहरू अचम्ममा पर्न थालेका छन् । कारण, आइरिस साहित्य साँच्चिकै गज्जबका त होइनन् तर तीभन्दा पनि गएगुज्रेका बेलायती साहित्य रहेछन् भन्ने प्रतीत भइरहेको छ ।

आयरल्यान्डले साहित्यमा यत्रो प्रगति गरिरहेका बेला बेलायती साहित्य भने खुम्चँदै किन गएको होला भन्ने स्वाभाविक प्रश्नमा एउटा गतिलो उत्तर छः त्यो हो, बेलायतले साहित्यलाई गम्भीरतापूर्वक लिएको छैन । जति आयरल्यान्डले साहित्यलाई फलाउन फुलाउन ठूलो लगानी गरिरहेको छ, त्यति बेलायतले गरेको छैन ।

‘हामी साहित्यलाई निकै गम्भीरतापूर्वक लिन्छौँ,’ बेलफास्ट शहरका एक पुस्तक विक्रेता म्यागी भन्छन्, ‘यहाँ काव्यसभा भइरहेको छ भने र कसैले हाच्छ्यूँ मात्र गर्यो भने पनि उसको बिल्ला हुन्छ ।’

बुकफाइन्डर नामक संस्थाले यस्तो व्यवस्था मिलाएको छ कि प्रायः त्यहाँ दिनहुँजस्तो एउटा साहित्यिक जमघट भइरहेकै हुन्छ । त्यहाँ खाने, पिउने, छलफल गर्ने काम भइरहेको हुन्छ ।

अनि लन्डनमा ? यस्तो त दुर्लभ नै हुन्छ । सन् १९८० को दशकमा बेलायतमा साहित्यकार हुनु भनेको शक्तिशाली व्यक्ति हुनु बराबरको थियो । साहित्यकार सबैभन्दा सेक्सी मानिन्थे । त्यो बेलाका मार्टिन एमिसजस्ता साहित्यकारले लन्डनको चमकदमक अझ बढाएका थिए । सोहो पबमा साहित्यकारहरू होहल्ला, पिउने, खाने लगायत गज्जबका आइडियामाथि छलफल गरिरहेका हुन्थे । वर्षमा एक पटक हुने फेबर समर पार्टीमा एक से एक लेखकहरूको घुइँचो हुन्थ्यो।

अहिले ग्रिक स्ट्रिटस्थित हर्कुलस पबमा एकताका साहित्यकार मार्टिन एमिस र उनको टोलीले ककटेल बारलाई गुल्जार बनाएका थिए । यतिबेला प्रख्यात लेखकहरू यस्ता भिडभाडमा देखिन छाडेका छन् । लन्डन विरानो बनेको छ । बेलफास्टमा जन्मिएकी ‘लेजी सिटी’ उपन्यासकार राचेल कोनल्लीको सम्झनामा त्यो बेलाको लन्डन जीवन्त थियो । त्यसको ठाउँ यतिबेला आयरल्यान्डले लिएको छ ।

आयरल्यान्डले नयाँ गज्जबका लेखक जन्माउनका लागि उनीहरूमाथि लाग्ने कर मिनाहा गरेको छ । गत वर्षदेखि त आर्ट काउन्सिलहरूलाई साहित्य सम्मेलनका लागि भनेर वार्षिक ७२ लाख ६० हजार १ सय २७ पाउन्ड दिने गरेको छ । लेखकहरूले पाउने विविध सहयोग राशि बढेर ३१ लाख पाउन्ड पुगेको छ ।

त्यसो त बेलायतले पनि यस्ता कार्यक्रम र लेखकहरूलाई हौस्याउन २ करोड ३४ लाख पाउन्ड वार्षिक रूपमा छुट्याउँछ तर पनि लेखकको हातमा भने ३७ लाख पाउन्ड मात्र पुग्छ । जबकि आयरल्यान्डको भन्दा बेलायतको जनसंख्या १० गुणा बढी छ ।

यस्ता सहयोग रकमले लेखकलाई यति ठूलो सहयोग गर्छ कि त्यसैको बलले उनीहरूले नयाँ नयाँ र उम्दा सिर्जना गर्छन् । पछिल्लो समय बुकर पुरस्कारको सूचीमा आयरल्यान्डले राम्रो उपस्थिति जनाउनुमा त्यो पनि एउटा कारण थियो ।

लिन्च, मरे र फिनीजस्ता लेखकहरूका उपन्यास बजारमा आउनु, तिनले राम्रो उपस्थिति जनाउनुको मुख्य कारण नै उनीहरूको उपन्यासमाथि सरकारले नै लगानी गरिदिनु पनि एउटा हो ।

राम्रा उपन्यास सिर्जना गरेर मात्र हुँदैन । ती उपन्यास वा सिर्जनामाथि राम्रो चर्चा परिचर्चा पनि हुनुपर्छ । त्यो राम्रो परिचर्चाको प्रचार प्रसार पनि उस्तै संगठित रूपमा हुनुपर्छ । यो कुरा बुझेका आइरिस संस्थाहरूले पछिल्लो समय ‘द स्टिङिङ फ्लाई’ नामक साहित्य पत्रिकासमेत निकाल्न सहयोग गरिरहेका छन् । सोही पत्रिकाका कारण स्याली रूनीजस्ता अहिलेका पुस्ताले लेख्ने वातावरण र प्रेरणा प्राप्त गरेका थिए ।

आयरल्यान्डको साहित्य जगत मौलाउनुमा रक्सी संस्कृति हो भन्ने धेरैलाई लाग्छ तर त्योभन्दा बढी त्यहाँको पत्रिका मोह बढी हो भन्छन्, आइरिस टाइम्स पत्रिकाका साहित्य सम्पादक मार्टिन डोयल । बेलायतमा केही सीमित मात्रामा साहित्य पत्रिका छन्, जस्तो ‘ग्रान्टा’ र ‘द लन्डन म्यागेजिन’ तर आयरल्यान्डसँग स्टिङिङ फ्लाईजस्ता पत्रिका छन्, जसले नयाँ पुस्तालाई गएको २५ वर्षदेखि हौस्याइरहेको छ । नयाँ पुस्तामा साहित्यप्रति चाह बढाइरहेको छ ।

यो अवस्था यत्तिकै आएको भने होइन । गएका ५० वर्षदेखि लगातार आयरल्यान्डले साहित्य क्षेत्रमा गरेको लगानीको परिणाम हो । पहिला त्यहाँको क्याथोलिक चर्चको प्रभाव ज्यादै ठूलो थियो । अहिले भने प्रभाव खुकुलिँदै गएको छ भने चर्चले पनि नियन्त्रणको कार्यशैलीमा सुधार गर्दै गएको देखिन्छ ।

यता लन्डनमा चाहिँ के कारणले लेखकहरूमा गज्जबका विषय फुर्न छाड्यो ? किन उनीहरू राम्रा पुरस्कारमा नामाङ्कित हुन छाडे ? लन्डनबासीमाथि टिप्पणी गर्दै म्यागी भन्छन्, ‘आइरिसहरूले बडो दुःखले यो प्रभाव आर्जन गरेका हुन् । बेलायतीहरू र खासगरी लन्डनबासीका लागि सबै कुरा चाँदीको चम्मचमा उपलब्ध छ, अझै पनि । उनीहरूले खासै दुःख गर्नु पर्दैन । सबै कुरा बनिबनाऊ छन् । यही कुराले उनीहरूलाई नयाँ जोखिम, नयाँ कुराका लागि फुर्सद छैन ।’

(द टाइम्स पत्रिकामा लउरा ह्याकेटको टिप्पणी ।)